नेभिगेशन
समाज

बालेनको जितमा असली प्रचारक !

ओलीमा सुरुमै पराजयको मानसिकता देखिन्थ्यो, त्यसले पनि बालेन समर्थकलाई बल पुर्यायो ।

काठमाडाैँ । फागुन २१ मा भएको चुनावमा रास्वपा वरिष्ठ नेता बालेन शाहले झापा ५ मा ऐतिहासिक मत पाए । एमालेका ‘सर्वशक्तिमान’ अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेसम्मकै लज्जास्पद हार चखाउन बालेनले झापामा जम्मा जम्मी एक हप्ता पनि बिताएनन् । बालेन झापामा नहुँदा पनि उनको प्रचार भइरहेको थियो । बालेन जहाँ जाँदा पनि झापामा उनको पक्षमा भोट मागिएकै थियो, भौतिक रुपमा होस् वा भर्चुअल रुपमा । फिल्डमा होस् वा इन्टरनेटका स्पेसहरुमा । रास्वपाका सदस्य तथा कार्यकर्ताहरुले त बालेनका लागि भोट माग्ने नै भए, यो कुनै नौलो कुरा भएन । एउटा टिम नै खटिएको थियो, त्यो पनि नियमित काम नै भयो । तर, चुनाव प्रचारमा ती भन्दा पनि शक्तिशाली समूह र व्यक्तिहरु लागिरहेका थिए । यो आलेखमा मैले बालेनको चुनाव प्रचारमा रास्वपाका नेता तथा कार्यकर्ताबाहेक अरु को को खटिएका थिए भनेर चर्चा गर्दैछु ।

सौरभ, भरत दाहाल, दुर्गा प्रसाँई, केपी ओली, शंकर पोखरेल, महेश बस्नेत, हर्क साम्पाङ  र उपेन्द्र यादव बालेनका सबैभन्दा शक्तिशाली प्रचारक देखिएभन्दा आश्चर्य मान्नु हुन्छ होला । तपाईंहरुमध्ये धेरैलाई लाग्न सक्छ बालेनका सबैभन्दा कडा विरोधीहरुलाई प्रचारक भन्न मिल्छ ? हो, उनीहरुलाई सबैभन्दा शक्तिशाली प्रचारक हुन् भनेर भन्न मिल्छ । किन ? त्यसको कारण विस्तारे केलाउँछु ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यदि तपाईहरूले आकर्षणको नियम (law of attraction) सुन्नु भएको छ र त्यो सिद्धान्तले काम गर्छ भन्ने मान्नु हुन्छ भने बालेनलाई शक्तिशाली र अन्यलाई कमजोर देखाउने काम तिनै प्रचारकहरुले गरे । बिनालगानी त्यो तहको प्रचार पाउनु नै बालेको पहिलो रणनीतिक जित थियो । बालेनलाई शक्तिशाली र आफूलाई शक्तिरहित पात्रको रुपमा चित्रण गर्नु चुनावी रणनीतिका हिसाबले कमजोर रणनीति हो । बालेनलाई समुन्द्र पारको समर्थक देखाउने हतारोमा उत्तर र दक्षिणको समर्थन पनि गुम्छ भन्ने आकलन गर्न नसक्दा फाइदा बालेनलाई नै पुगेको देखिन्छ । आकर्षणको बेजोड फाइदा बालेनले लिएको देखिन्छ ।

Ncell
Extreme Energy

आकर्षणको नियमले भन्छ– हामीले जस्तो ऊर्जा ब्रह्माण्डमा पठाउँछौं, त्यस्तै ऊर्जा फिर्ता पाउँछौं । यदि अरुलाई शक्तिशाली देखाउछौं भने अरु नै शक्तिशाली हुन्छ । यो नियम मनको शक्ति र विश्वासमा आधारित छ । प्रतिस्पर्धीले नै प्रतिस्पर्धीलाई शक्तिशाली देख्छ भने प्रतिस्पर्धी स्वाभाविक रुपमा झन् शक्तिशाली बन्दै जान्छ । पुष्टि गर्न नसकिने आरोप र सोबाट हुने प्रचार प्रसारबाट आरोपितलाई नै फाइदा पुग्छ । जो जसले आरोप लगाए पनि कानुनी रुपमा दण्डित गर्न सक्ने आरोप बालेनमाथि लागेकै थिएन, बरु ती आरोपले बालेनकै प्रचार भइरहेको थियो । आम मनोविज्ञानमा उनलाई जबरजस्त शक्तिशाली बनाउन सहयोग पुग्यो । ‘बालेन अँध्यारोमा लुक्छ, जनतासँग आँखा जुधाउन सक्दैन, विदेशबाट परिचालित हो, राष्ट्रद्रोही हो, लुसिफर हो, देश जलाउने पात्र हो’ भन्नेहरुलाई बालेनले ओलीकै किल्लाबाट जवाफ दिए । बालेनले भन्दा पनि झापा ५ का मतदाताले जवाफ दिए । बालेनले आफूमाथि लागेका आरोपको खण्डन गर्नै परेन, मतदाताले नै खण्डन गरिदिए, फागुन २१ मा मतदान गरेर ।

मैले माथि नै उल्लेख गरेका पात्रहरुले जेनजी आन्दोलनदेखि नै बालेनको प्रचार गरिरहेका थिए । फेसबुकबाट, एक्स(ट्विटर)बाट, परम्परागत तथा नयाँ मिडियाहरुबाट । अरु त अरु, झापा ५ मा बालेनले उम्मेदवारी दर्ता गरेपछि ओली स्वयंले बालेनको प्रचार गरिदिए । ओलीले आफूलाई भोट माग्नु भन्दा बढी बालेनको आलोचना गरे । ओलीको आलोचनाले मतदातालाई भने बालेनप्रति थप आकर्षण बढायो । किनभने ओली सुरुमै पराजयको मानसिकता देखिन्थ्यो, त्यसले पनि बालेन समर्थकलाई बल पुर्यायो ।

राजनीति र विज्ञापन बजारको तुलना सबै अर्थमा गर्न मिल्दैन तर केही अर्थमा गर्न अवश्य मिल्छ । विश्वका मुख्य मोबाइल ब्राण्ड हुन् वा अरु कुनै टेक कम्पनी, कसैले पनि आफ्नो सामानको विज्ञापन गर्दा प्रतिस्पर्धी कम्पनीको आलोचना गरेको सुनिएको छैन, देखिएको छैन । उनीहरुले आफ्नै विशेषताहरुको आधारमा आफैसँग निरन्तर प्रतिस्पर्धा गरेरे बजारीकरण गरिरहेको देखिन्छ । उनीहरुले आफ्नो साधन र स्रोतबाट अरुको प्रचार प्रसार गर्न चाहँदैनन् । तर फागुन २१ को निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार र दलदेखि आफूलाई विश्लेषक हुँ भन्नेहरुले बालेनको आलोचना गरिरहे, बालेनको प्रचार गरिरहे । यसबाट स्पष्टै हुन्छ कि, यो चुनावका एक चर्चित उम्मेदवार बालेनका बारेमा निकै बढी प्रचार भयो ।

जब राजनीतिका मुख्य प्रतिस्पर्धीले आफ्नै प्रतिस्पर्धीको बिहान उठेदेखि राति नसुतेसम्म र उसले देख्ने सपनाहरुको समेत कुरा गर्न थाल्छ भन्ने मान्नुस् अर्को प्रतिस्पर्धी साँच्चै बलियो छ । प्रतिस्पर्धीहरुले नै शक्तिशाली देखेको शक्तिलाई आमजनताले झन् शक्तिशाली देख्छन् । यो ठ्याक्कै झापा ५ मा लागु भयो, एमाले र ओलीको लालकिल्लामा बालेनले रास्वपाको निलो झण्डा फहराइदिए । झापामा मात्रै होइन, देशैभर बालेनले रास्वपाको झण्डामुनि चुनावी माहोल सिर्जना गरिदिए । बालेनको नाममा बिना लगानी लाखौं मानिस सडकमा आए, लाखौं मानिसले रास्वपालाई मतदान गरे । यसैलाई भनिन्छ, आकर्षणको नियम ।

भूराजनीतिक हिसाबले नेपाल निकै संवदेनशील छ । चीन र रुसले जसरी आफ्नो देशको सुरक्षा गरिरहेका छन्, त्यो अवस्था नेपालको छैन । भारतले समेत सुरक्षाको लागि रुस र अमेरिकासँग हतियार किनिरहेको छ । युरोपले अमेरिकाबाट खतरा ठानिरहेको छ । लिपुलेकको सन्दर्भमा चीन र भारतले गरेको सम्झौताले पनि हाम्रो कमजोर शक्तिलाई देखाउँछ । युक्रेन, भेनेजुएला, इरानले के भोगिरहेका होलान् ? शक्ति राष्ट्रहरुको जुधाइका कारण नेपाललाई कस्तो असर पर्छ भन्ने त अहिले खाडी क्षेत्रमा उत्पन्न तनाव देखाइरहेको छ ।

नेपालमा विदेशी हस्तक्षेपको रटान निकै पुरानो भइसक्यो । सत्तामा हुँदा हस्तक्षेप नदेख्ने, सत्ताबाट बाहिरिना साथ हस्तक्षेप देख्ने दृष्टिले भ्रम मात्र छर्छ, यथार्थ देखाउँदैन । देशको मुख्य शक्ति जनता हुन् । देशको सुरक्षाको अन्तिम शक्ति सेना हो र संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई छ । जति आरोप लगाए पनि रास्वपाले अभूतपूर्व जित हासिल गर्यो । जति आरोप लगाए पनि बालेनले ऐतिहासिक जित हासिल गरे । अब तपाईं आफैं भन्नुस् त बालेनका असली प्रचारक को रहेछन् ?

लेखक ढकाल अधिवक्ता हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
कांग्रेसले के के गर्यो निर्णय ?

कांग्रेसले के के गर्यो निर्णय ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वतयारी नगर्दा देशभर खाना पकाउने ग्यासको अभाव भएको निष्कर्ष निकालेको छ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारीप्रति प्रचण्डको स्वागत

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन्।