नेपाली कांग्रेस विशेष महाधिवेशनपछि ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ चुनावी मैदानमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रथ युवा भनिएका गगन थापा र विश्वप्रकाश शर्माले हाँकिरहेका छन् ।
गगन विश्वका निकटस्थ कांग्रेसीहरु उत्साही देखिएपनि अनुभवी, पाका र देख्दा नै कांग्रेस भनेर चिनिएका शिर्ष नेताहरू अग्रपंक्तिमा नदेखिँदा कांग्रेसको चुनावी क्याम्पेन प्रभावकारी बन्न सकिरहेको छैन । कुनैबेला नेतृत्व हस्तान्तरण र रुपान्तरण नै सबथोक हो भन्नेहरुले नै अहिले पुराना कांग्रेसको अनुहार खोजिरहेका छन् । विशेष महाधिवेशनको मुख्य एजेण्डा नै पुरानो नेतृत्वलाई देखाएर चुनाव लड्न सकिदैन भन्ने थियो । यहीकारण विवादित विशेष महाधिवेशनले कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन गर्यो । चुनावी अभियान जारी रहँदा विपक्षी भारी हुने देखिएपनि अहिले कांग्रेसमा फेरी पुरानाहरुकै खोजी सुरु भएको छ ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद प्रयास भइरहेको र केही दिनमा देउवाको वक्तव्यसम्म भए पनि आउने बताएका थिए । उसो त विशेष महाधिवेशन पक्षधरले भनेको मुख्य कुरा यहाँ स्मरणीय छ– देउवा नेतृत्वमा रहे चुनावमा मत माग्न जान सकिन्न । देउवाको अनुहार नबिक्ने भइसक्यो, त्यसकारण नयाँ अनुहार चाहियो ।
यसो भनेर पार्टीको ठुलो पंक्तिलाई बाहिर राखेरै विशेष महाधिवेशन गरेको, आफूखुसी टिकट वितरण गरेको र केन्द्रीय समिति बनाएका नेताहरु नै अहिले शेरबहादु देउवाको साथ खोज्न खोजिरहेका छन् । यसले प्रश्न उठाउँछ – देउवाको अनुहार विक्दैन भन्नेहरू अहिले किन देउवा नै खोजिरहेका छन् ? यसले प्रष्ट हुन्छ, की कांग्रेसीहरु अझै देउवाकै अनुहार खोजिरहेका छन् ।
देउवाको अनुहार विक्छ त्यसैले उनलाई खोजिँदैछ । चुनावी अभियानमा हिँड्दा देउवाको खोजी भएको छ, माग भएको छ । त्यसैले उनलाई खोजिँदैछ । उसो त अझ विर्सनै नहुने कुरा के छ भने देउवाको अनुहार विक्दैन भन्नेहरू ०७९ को निर्वाचनमै पनि देउवाका कारण पार्टी कमजोर भयो भनिरहेका थिए । तर त्यस्तो तर्क न त तर्कसँगत थियो, न त परिणामअनुकूल । किनकी देउवाकै नेतृत्वमा कांग्रेसले लडेको ७९ को निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो । धेरै मत प्राप्त गर्याे । स्थानीय तह र प्रदेशमा पनि कांग्रेस बलियो बन्यो । देउवाका आफ्नै कमजोरीहरु छन् । सत्तामा रहँदा देउवाले गरेको शक्ति अभ्यासलाई स्वभाविक मान्न सकिदैन । यद्यपि कांग्रेसको आन्तरिक राजनीतिमा देउवाको भूमिका र प्रभाव नभएको होइन । एउटा राजनीतिक सत्य के हो भने, देउवाले आफ्नो निर्वाचन क्षेत्र बाट सधै निर्वाचन जितिरहे । लगातार ७ पटक एउटै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने कीर्तिमान देउवाकै नाममा छ । सत्ता राजनीतिमा विकृत अभ्यासको आरोपबाट देउवामुक्त छैनन् तर लोकतन्त्रप्रतिको प्रतिवद्धतामा देउवा अरुभन्दा कमजोर देखिदैनन् ।
देउवा बरू आफू गुमनाम हुन तयार भए, तर, चुनावको संघारमा पार्टीलाई असर पर्ला कि भनेर टिकट वितरण देखि कुनै पनि कुरामा चासो राखेनन् । अहिले चुनावको अभियानमा देउवा मात्र होइन , कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंहका विरासत धानेका नेतापुत्रहरू पनि किनाराकृत छन् । प्रकाशमान सिंह, शशांक कोइराला देउवाको मौनतामा मौनता मिसाइरहेका छन् । तर, उनीहरूमा पनि उहीँ चिन्ता चुनावमा पार्टी कमजोर नहोस् ।
देउवा आफै दूधले नुहाएका नेता भने होइनन् । देउवाको राजनीतिलाई हेर्दा उनले ‘पार्टी त जिताए, तर पद्धति बिगारे’ भन्ने विश्लेषण धेरैको छ । उनी चुनावी अंकगणित मिलाउन माहिर भए पनि सुशासन र नैतिक राजनीतिको कसीमा भने सधैँ कमजोर देखिँदै आएका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा जलेको पैसाको थुप्रो अहिले पनि धेरैले सम्झिरहेका छन् । देउवा आफू बाहिर निस्कँदा जलेको पैसाको, हिसाव जनताले खोज्छन् भनने बुझेरै हुनुपर्छ, देउवा बरु मौन नै छन् । षड्यन्त्रको तानाबाना भन्दा परै छन् । जेनजी आन्दोलनपछि देउवाले धेरै व्यहोरे । आफ्नै घरमा देउवा दम्पत्तिले भौतिक आक्रमणमा पर्नुपर्यो । घर जल्यो । सम्पत्ति जल्यो । र पनि देउवाले जेनजी आन्दोलनलाई आरोपित गरेनन् । निकटस्थहरुसँग देउवा आफूलाई जेनजीले बचाएको बताउने गर्छन् ।
देउवाको अनुपस्थितिले पुराना कांग्रेसीहरुमा एउटा रिक्तता भने देखिन्छ । २०४८ सालदेखि ७ पटक जनअनुमोदित भएका र ०७९ को चुनावमा पार्टी पहिलो बनाएका शेरबहादुर देउवा नदेखिँदा उनका समर्थक र सूदूरपश्चिमले न्यास्रो मानेकै देखिन्छ । देउवा मौन रहँदा नेपाली कांग्रेसभित्रको एउटा ठूलो तप्का अहिले ‘प्रतीक्षा र अन्योल’ को बीचमा छ ।
शेरबहादुर देउवा यस्ता नेता हुन्, जो धेरै बोल्दैनन्, जब बोल्छन् वा कदम चाल्छन्, त्यसले राजनीतिको दिशा नै बदलिदिन्छ । तर, अहिले उनी मौन छन् । पार्टी जसको हातमा छ, उनीहरूले देउवालाई सम्मानजनक रूपमा आग्रह गर्दै चुनावी अभियानमा ल्याउन सकेका छैनन् । उसो त उनीहरुले आग्रह गरेपनि जेनजी आन्दोलनमा खाएको आक्रमणको चोट र जलेको नोटको मारबाट देउवा उठन सकेका छैनन् ।
यसकारण खोजिँदैछन् देउवा
देउवा यसपटकको चुनावमा उम्मेद्वार छैनन् । उनी नहुँदा गृहजिल्ला डडेल्धुरामात्रै होइन सिंगो सुदूरपश्चिममा चुनावी माहोल बन्न सकेको छैन । कर्णाालीले पनि देउवाको अनुपस्थिति निको मानेको छैन । सुदूरपश्चिमको हकमा त देउवाको एउटा भ्रमण वा सन्देशले मात्रै पनि सुस्ताएको संगठनमा प्राण भर्न सक्छ । नेपाली कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहस जति तातो भए पनि निर्वाचनको मैदानमा होमिँदा फेरि पनि शेरबहादुर देउवाकै ’लिगेसी’ र सुदूरपश्चिममा उनको पकड निर्णायक हुने पक्का छ । यो बुझेकैले अहिलेको कांग्रेस नेतृत्व देउवा खोजिरहेको छ । तर, देउवाको खोजीले प्रश्न उठ्छ, कांग्रेस कसरी बदलियो ? बदलिएको हो भने उही देउवाको खोजी कांग्रेस किन गर्दैछ ।
सुदूरपश्चिममा कांग्रेस र देउवा ४ दशकदेखि पर्यायवाची शब्दजस्तै बनेको छ । सूदूर अब दूर नही भनेर गीत गाउने अवस्था उनै देउवाले बनाएको भन्दा अत्युक्ति नहोला । भारत नभई नेपाल आउन नसकिने अवस्थाको अन्त्य गर्दै भौतिक विकास गरेर सुदूरपश्चिमलाई सिंहदरबार जोड्ने प्रणेता उनै देउवा हुन् । जसलाई सुदूरपश्चिमवासीले विर्सिन सक्ने कुरै छैन । हजार कमजोरी बीच पनि उनले गरेका यीनै कामले उनलाई ४ दशक सत्ताको केन्द्रमा राखेको सत्य हो ।
सुदूरपश्चिममा देउवा केवल एक नेता मात्र होइनन्, उनी त्यहाँका जनताका लागि आफ्नै मान्छे हुन् । देउवा नहुँदा सुदूरपश्चिममा कांग्रेसको चुनावी माहोल सुस्ताउनुको मुख्य कारण दोस्रो तहको सशक्त नेतृत्वको अभाव पनि हो । देउवाले विगत पाँच दशकदेखि बनाएको व्यक्तिगत सम्बन्ध र कार्यकर्तासँगको सिधा पहुँचलाई विस्थापित गर्न सक्ने अर्को नेता सुदूरपश्चिममा अझै स्थापित हुन सकेको छैन । न त अहिले कांग्रेस नेतृत्व सम्हाल्नेहरूले नै सुदूरपश्चिमको विश्वास जित्न सकेका छन् ।
२०७९ को निर्वाचन परिणामलाई हेर्ने हो भने पनि सुदूरपश्चिममा कांग्रेस पहिलो शक्ति बन्यो । १६ संघीय सिटमध्ये कांग्रेसले एक्लै ७ सिट जित्नुमा देउवाको गृहजिल्ला डडेलधुरा र वरपरको प्रभावले ठूलो काम गरेको थियो । २०७४ मा वाम गठबन्धनको लहरमा देशभर कांग्रेस बढारिँदा सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ जित्ने एक्लो नेता देउवा नै थिए । अहिले कांग्रेस बदलेको र देश बदल्छौं नारा बोक्नेहरूले भावी प्रधानमन्त्रीमा सभापति गगन थापालाई अघि सारेका छन् ।
अर्का प्रधानमन्त्रीका उमेदवार घोषित रास्वपका बालेन शाह ‘सूदूर अब दूर नहि भन्दै सुदूरका पहाड चढिसक्दा कांग्रेसको वर्तमान मूल नेतृत्वमा सुदूर चढ्न सकेको छैन । सभापति थापा सर्लाही ४ मा सिमित बन्दा महामन्त्रीद्वय गुरूराज घिमिरे मोरङ र प्रदीप पौडेल काठमाडौं ५ को आफ्नै क्षेत्रमा सिमित छन् । अबकी बार गगन सरकार को नारा पूरा गर्न सुदूरपश्चिमको बलियो साथ चाहिन्छ नै । त्यसैले पनि अहिले कांग्रेसभित्र गुपचुप खोजिँदैछन् देउवा । देउवालाई डडेलधुराको भएकाले मात्र खोजेको भने होइन सुदूरपश्चिमले ।
नेतृत्व परिवर्तनको रहर र आवश्यकता आफ्नै ठाउँमा होला, तर इतिहास र जनअनुमोदनलाई नजरअन्दाज गरेर हिँड्दा गन्तव्य भेट्न मुस्किल पर्छ । गगन–विश्वको जोस र देउवाको होस नमिल्दासम्म ‘बदलिएको कांग्रेस’ को नाराले मूर्तता पाउन सहज छैन । जसरी एउटा ठूलो जहाजलाई आँधीबेहरीमा अनुभवी क्याप्टेनको जरुरत पर्छ, कांग्रेसको चुनावी रथलाई पनि अहिले देउवाको अनुभव र सन्तुलनको उत्तिकै खाँचो छ । गुटगत राजनीतिले थला पर्ने गरेको कांग्रेस देउवालाई नजरअन्दाज गर्दा अर्को भड्खालोमा पर्न सक्छ । उसो त कांग्रेसभित्रै चर्चित एउटा भनाई यहाँ सान्दर्भिक हुन्छ, ‘कांग्रेसलाई अरु कसैले हराउन सक्दैन, हराउने कांग्रेसले नै हो ।’
कांग्रेसले जति नै आफूलाई बदलिएको दावी गरेपनि,ऊ सुध्रिएको छैन । हिजो देउवा हटायौं अब भोट देउ भन्ने नयाँ नेतृत्व अब फेरी देउवाको भिडियो सन्देश वा वक्तव्यको प्रतीक्षा गरिरहेको छ । नेपाली समाजमा एउटा उखान छ, बाघ बुढो र स्याल तन्नेरी । कांग्रेसमा अहिले त्यस्तै भएको छ ।
तन्नेरीहरु जति नै बलिया भयौं भनेर कुदेपनि अन्ततः जितका लागि बुढो बाघकै खोजी रहेका छन् । कांग्रेका जानकारीहरु देउवा अहिले झैं मौन बसिरहने हो भने सुदुरपश्चिममा ‘नील’ हुने खतरा देखिएरहेका छन् । हिजो सभापति बन्न देउवालाई पाखा लगाएका गगन थापा अब प्रधानमन्त्री बन्न उनै देउवाको शरणमा परे भने आश्चर्य मान्नुपर्दैन ।