नेभिगेशन
समाज

कांग्रेसमा ‘तन्नेरी स्याल र बुढो बाघ’ को कथा: देउवाको मौनता, गगनलाई बाधा !

नेपाली कांग्रेस विशेष महाधिवेशनपछि ‘बदलियो कांग्रेस, बदल्छौं देश’ भन्ने नाराका साथ चुनावी मैदानमा छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रथ  युवा भनिएका गगन थापा र विश्वप्रकाश शर्माले हाँकिरहेका छन् ।

गगन विश्वका निकटस्थ कांग्रेसीहरु उत्साही देखिएपनि अनुभवी, पाका र देख्दा नै कांग्रेस भनेर चिनिएका शिर्ष नेताहरू अग्रपंक्तिमा नदेखिँदा कांग्रेसको चुनावी क्याम्पेन प्रभावकारी बन्न सकिरहेको छैन । कुनैबेला नेतृत्व हस्तान्तरण र रुपान्तरण नै सबथोक हो भन्नेहरुले नै अहिले पुराना कांग्रेसको अनुहार खोजिरहेका छन् । विशेष महाधिवेशनको मुख्य एजेण्डा नै पुरानो नेतृत्वलाई देखाएर चुनाव लड्न सकिदैन भन्ने थियो । यहीकारण विवादित विशेष महाधिवेशनले कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन गर्यो । चुनावी अभियान जारी रहँदा विपक्षी भारी हुने देखिएपनि अहिले कांग्रेसमा फेरी पुरानाहरुकै खोजी सुरु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कांग्रेस प्रवक्ता देवराज चालिसेले  निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद प्रयास भइरहेको र  केही दिनमा देउवाको वक्तव्यसम्म भए पनि आउने बताएका थिए । उसो त विशेष महाधिवेशन पक्षधरले भनेको मुख्य कुरा यहाँ स्मरणीय छ– देउवा नेतृत्वमा रहे चुनावमा मत माग्न जान सकिन्न । देउवाको अनुहार नबिक्ने भइसक्यो, त्यसकारण नयाँ अनुहार चाहियो । 

Ncell
Extreme Energy

यसो भनेर पार्टीको ठुलो पंक्तिलाई बाहिर राखेरै विशेष महाधिवेशन गरेको, आफूखुसी टिकट वितरण गरेको र केन्द्रीय समिति बनाएका नेताहरु नै अहिले शेरबहादु देउवाको साथ खोज्न खोजिरहेका छन् । यसले प्रश्न उठाउँछ – देउवाको अनुहार विक्दैन भन्नेहरू अहिले किन देउवा नै खोजिरहेका छन् ? यसले प्रष्ट हुन्छ, की कांग्रेसीहरु अझै देउवाकै अनुहार खोजिरहेका छन् । 

देउवाको अनुहार विक्छ त्यसैले उनलाई खोजिँदैछ । चुनावी अभियानमा हिँड्दा देउवाको खोजी भएको छ, माग भएको छ । त्यसैले उनलाई खोजिँदैछ । उसो त अझ विर्सनै नहुने कुरा के छ भने देउवाको अनुहार विक्दैन भन्नेहरू ०७९ को  निर्वाचनमै पनि देउवाका कारण पार्टी कमजोर भयो भनिरहेका थिए । तर त्यस्तो तर्क न त तर्कसँगत थियो, न त परिणामअनुकूल । किनकी देउवाकै नेतृत्वमा कांग्रेसले लडेको ७९ को निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो । धेरै मत प्राप्त गर्याे  । स्थानीय तह र प्रदेशमा पनि कांग्रेस बलियो बन्यो । देउवाका आफ्नै कमजोरीहरु छन् । सत्तामा रहँदा देउवाले गरेको शक्ति अभ्यासलाई स्वभाविक मान्न सकिदैन । यद्यपि कांग्रेसको आन्तरिक राजनीतिमा देउवाको भूमिका र प्रभाव नभएको होइन । एउटा राजनीतिक सत्य के हो भने, देउवाले आफ्नो निर्वाचन क्षेत्र बाट सधै निर्वाचन जितिरहे । लगातार ७ पटक एउटै निर्वाचन क्षेत्रबाट चुनाव जित्ने कीर्तिमान देउवाकै नाममा छ । सत्ता राजनीतिमा विकृत अभ्यासको आरोपबाट देउवामुक्त छैनन् तर लोकतन्त्रप्रतिको प्रतिवद्धतामा देउवा अरुभन्दा कमजोर देखिदैनन्  ।  

देउवा बरू आफू गुमनाम हुन तयार भए, तर, चुनावको संघारमा पार्टीलाई असर पर्ला कि भनेर टिकट वितरण देखि कुनै पनि कुरामा चासो राखेनन् । अहिले चुनावको अभियानमा देउवा मात्र होइन , कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंहका विरासत धानेका नेतापुत्रहरू पनि किनाराकृत छन् । प्रकाशमान सिंह, शशांक कोइराला देउवाको मौनतामा मौनता मिसाइरहेका छन् । तर, उनीहरूमा पनि उहीँ चिन्ता चुनावमा पार्टी कमजोर नहोस् । 

देउवा आफै दूधले नुहाएका नेता भने होइनन् । देउवाको राजनीतिलाई हेर्दा उनले ‘पार्टी त जिताए, तर पद्धति बिगारे’ भन्ने विश्लेषण धेरैको छ । उनी चुनावी अंकगणित मिलाउन माहिर भए पनि सुशासन र नैतिक राजनीतिको कसीमा भने सधैँ कमजोर देखिँदै आएका छन् । जेनजी आन्दोलनका क्रममा उनको घरमा जलेको पैसाको थुप्रो अहिले पनि धेरैले सम्झिरहेका छन् । देउवा आफू बाहिर निस्कँदा जलेको पैसाको, हिसाव जनताले खोज्छन् भनने बुझेरै हुनुपर्छ, देउवा बरु मौन नै छन् । षड्यन्त्रको तानाबाना भन्दा परै छन् । जेनजी आन्दोलनपछि देउवाले धेरै व्यहोरे । आफ्नै घरमा देउवा दम्पत्तिले भौतिक आक्रमणमा पर्नुपर्यो । घर जल्यो । सम्पत्ति जल्यो । र पनि देउवाले जेनजी आन्दोलनलाई आरोपित गरेनन् । निकटस्थहरुसँग देउवा आफूलाई जेनजीले बचाएको बताउने गर्छन् । 

देउवाको अनुपस्थितिले पुराना कांग्रेसीहरुमा एउटा रिक्तता भने देखिन्छ ।  २०४८ सालदेखि ७ पटक जनअनुमोदित भएका र ०७९ को चुनावमा पार्टी पहिलो बनाएका शेरबहादुर देउवा नदेखिँदा उनका समर्थक र सूदूरपश्चिमले न्यास्रो मानेकै देखिन्छ । देउवा मौन रहँदा नेपाली कांग्रेसभित्रको एउटा ठूलो तप्का अहिले ‘प्रतीक्षा र अन्योल’ को बीचमा छ ।

शेरबहादुर देउवा यस्ता नेता हुन्, जो धेरै बोल्दैनन्, जब बोल्छन् वा कदम चाल्छन्, त्यसले राजनीतिको दिशा नै बदलिदिन्छ । तर, अहिले उनी मौन छन् ।  पार्टी जसको हातमा छ, उनीहरूले देउवालाई सम्मानजनक रूपमा आग्रह गर्दै चुनावी अभियानमा ल्याउन सकेका छैनन् । उसो त उनीहरुले आग्रह गरेपनि जेनजी आन्दोलनमा खाएको आक्रमणको चोट र जलेको नोटको मारबाट देउवा उठन सकेका छैनन् । 

यसकारण खोजिँदैछन् देउवा 
देउवा यसपटकको चुनावमा उम्मेद्वार छैनन् । उनी नहुँदा गृहजिल्ला डडेल्धुरामात्रै होइन सिंगो सुदूरपश्चिममा चुनावी माहोल बन्न सकेको छैन । कर्णाालीले पनि देउवाको अनुपस्थिति निको मानेको छैन । सुदूरपश्चिमको हकमा त देउवाको एउटा भ्रमण वा सन्देशले मात्रै पनि सुस्ताएको संगठनमा प्राण भर्न सक्छ ।  नेपाली कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहस जति तातो भए पनि निर्वाचनको मैदानमा होमिँदा फेरि पनि शेरबहादुर देउवाकै ’लिगेसी’ र सुदूरपश्चिममा उनको पकड निर्णायक हुने पक्का छ । यो बुझेकैले अहिलेको कांग्रेस नेतृत्व देउवा खोजिरहेको छ । तर, देउवाको खोजीले प्रश्न उठ्छ, कांग्रेस कसरी बदलियो ? बदलिएको हो भने उही देउवाको खोजी कांग्रेस किन गर्दैछ ।

सुदूरपश्चिममा कांग्रेस र देउवा ४ दशकदेखि पर्यायवाची शब्दजस्तै बनेको छ ।  सूदूर अब दूर नही भनेर गीत गाउने अवस्था उनै देउवाले बनाएको भन्दा अत्युक्ति नहोला । भारत नभई नेपाल आउन नसकिने अवस्थाको अन्त्य गर्दै भौतिक विकास गरेर सुदूरपश्चिमलाई सिंहदरबार जोड्ने प्रणेता उनै देउवा हुन् । जसलाई सुदूरपश्चिमवासीले विर्सिन सक्ने कुरै छैन । हजार कमजोरी बीच पनि उनले गरेका यीनै कामले उनलाई ४ दशक सत्ताको केन्द्रमा राखेको सत्य हो । 

सुदूरपश्चिममा देउवा केवल एक नेता मात्र होइनन्, उनी त्यहाँका जनताका लागि आफ्नै मान्छे हुन् । देउवा नहुँदा सुदूरपश्चिममा कांग्रेसको चुनावी माहोल सुस्ताउनुको मुख्य कारण दोस्रो तहको सशक्त नेतृत्वको अभाव पनि हो । देउवाले विगत पाँच दशकदेखि बनाएको व्यक्तिगत सम्बन्ध र कार्यकर्तासँगको सिधा पहुँचलाई विस्थापित गर्न सक्ने अर्को नेता सुदूरपश्चिममा अझै स्थापित हुन सकेको छैन । न त अहिले कांग्रेस नेतृत्व सम्हाल्नेहरूले नै सुदूरपश्चिमको विश्वास जित्न सकेका छन् । 

२०७९ को निर्वाचन परिणामलाई हेर्ने हो भने पनि सुदूरपश्चिममा कांग्रेस पहिलो शक्ति बन्यो । १६ संघीय सिटमध्ये कांग्रेसले एक्लै ७ सिट जित्नुमा देउवाको गृहजिल्ला डडेलधुरा र वरपरको प्रभावले ठूलो काम गरेको थियो । २०७४ मा वाम गठबन्धनको लहरमा देशभर कांग्रेस बढारिँदा सुदूरपश्चिमबाट प्रत्यक्षतर्फ जित्ने एक्लो नेता देउवा नै थिए । अहिले कांग्रेस बदलेको र देश बदल्छौं नारा बोक्नेहरूले भावी प्रधानमन्त्रीमा सभापति गगन थापालाई अघि सारेका छन् ।

अर्का प्रधानमन्त्रीका उमेदवार घोषित रास्वपका बालेन शाह ‘सूदूर अब दूर नहि भन्दै सुदूरका पहाड चढिसक्दा कांग्रेसको वर्तमान मूल नेतृत्वमा सुदूर चढ्न सकेको छैन । सभापति थापा सर्लाही ४ मा सिमित बन्दा महामन्त्रीद्वय गुरूराज घिमिरे मोरङ र प्रदीप पौडेल काठमाडौं ५ को आफ्नै क्षेत्रमा सिमित छन् । अबकी बार गगन सरकार को नारा पूरा गर्न सुदूरपश्चिमको बलियो साथ चाहिन्छ नै । त्यसैले पनि अहिले कांग्रेसभित्र गुपचुप खोजिँदैछन् देउवा । देउवालाई डडेलधुराको भएकाले मात्र खोजेको भने होइन सुदूरपश्चिमले । 

नेतृत्व परिवर्तनको रहर र आवश्यकता आफ्नै ठाउँमा होला, तर इतिहास र जनअनुमोदनलाई नजरअन्दाज गरेर हिँड्दा गन्तव्य भेट्न मुस्किल पर्छ । गगन–विश्वको जोस र देउवाको होस नमिल्दासम्म ‘बदलिएको कांग्रेस’ को नाराले मूर्तता पाउन सहज छैन । जसरी एउटा ठूलो जहाजलाई आँधीबेहरीमा अनुभवी क्याप्टेनको जरुरत पर्छ, कांग्रेसको चुनावी रथलाई पनि अहिले देउवाको अनुभव र सन्तुलनको उत्तिकै खाँचो छ । गुटगत राजनीतिले थला पर्ने गरेको कांग्रेस देउवालाई नजरअन्दाज गर्दा अर्को भड्खालोमा पर्न सक्छ । उसो त कांग्रेसभित्रै चर्चित एउटा भनाई यहाँ सान्दर्भिक हुन्छ, ‘कांग्रेसलाई अरु कसैले हराउन सक्दैन, हराउने कांग्रेसले नै हो ।’  

कांग्रेसले जति नै आफूलाई बदलिएको दावी गरेपनि,ऊ सुध्रिएको छैन । हिजो देउवा हटायौं अब भोट देउ भन्ने नयाँ नेतृत्व अब फेरी देउवाको भिडियो सन्देश वा वक्तव्यको प्रतीक्षा गरिरहेको छ । नेपाली समाजमा एउटा उखान छ, बाघ बुढो र स्याल तन्नेरी । कांग्रेसमा अहिले त्यस्तै भएको छ ।

तन्नेरीहरु जति नै बलिया भयौं भनेर कुदेपनि अन्ततः जितका लागि बुढो बाघकै खोजी रहेका छन् । कांग्रेका जानकारीहरु देउवा अहिले झैं मौन बसिरहने हो भने सुदुरपश्चिममा ‘नील’ हुने खतरा देखिएरहेका छन् । हिजो सभापति बन्न देउवालाई पाखा लगाएका गगन थापा अब प्रधानमन्त्री बन्न उनै देउवाको शरणमा परे भने आश्चर्य मान्नुपर्दैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रबि लामिछानेको निम्तो हर्क साम्पाङ्गले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा सहभागी नहुने

रबि लामिछानेको निम्तो हर्क साम्पाङ्गले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा सहभागी नहुने

महाधिवेशनमा विशिष्ट अतिथिको रुपमा सहभागी भई शुभकामना दिन सभापति रबि लामिछानेले पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित नहुने जानकारी गराएका हुन् ।
रास्वपाका महाधिवेशन प्रतिनिधिहरुको सूची आज सार्वजनिक हुँदै

रास्वपाका महाधिवेशन प्रतिनिधिहरुको सूची आज सार्वजनिक हुँदै

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज बेलुकासम्म सूची सार्वजनिक गरिने गरी तयारी भइरहेको बताए ।
कसले फुटाउँदैछ कांग्रेस ?

कसले फुटाउँदैछ कांग्रेस ?

तेह्रौं र चौधौं महाधिवेशनबाट सभापति चुनिएका देउवाको फोटो त केन्द्रीय कार्यालयमा छ, तर, उनको नाम कांग्रेसको क्रियाशील सदस्यको सूचीमा अद्यावधिक गरिएको छैन । देउवा पछिल्लो पटक सभापति चुनिँदा...
प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेकाे ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।