पोखरा । ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति खोज्छ’ यही उक्तिलाई सात वर्षीय भारतीय बालक तेगबीर सिंहले चरितार्थ गरिदिएका छन् ।
विश्वकै चुनौतीपूर्ण र सुन्दर पदमार्गमध्येको एक मानिने अन्नपूर्ण सर्किटअन्तर्गत पाँच हजार ४१६ मिटर उचाइको थोरङ्लापास सफलतापूर्वक पार गर्दै उनले विश्वकै सबैभन्दा कान्छो पदयात्रीको कीर्तिमान कायम राखेका हुन् ।
भारतको पञ्जाबस्थित रोपडका तेगबीरले सात वर्ष छ महिनाको उमेरमा यो ऐतिहासिक उपलब्धि हासिल गरे । यसअघि यो कीर्तिमान दुबईका इभान क्रुस्कोभका नाममा थियो, जसले सात वर्ष १० महिनाको उमेरमा यो उचाइ पार गरेका थिए ।


आफ्नो बुबाका साथ अप्रिल ११ मा सुरु भएको तेगबीरको यात्रा अप्रिल १८ को बिहान ९ः२५ बजे थोरङ्ला पासको चुचुरोमा पुगेर टुङ्गियो । करिब २३० किलोमिटर लामो यो पदयात्रा सहज थिएन । माइनस १३ डिग्री सेल्सियससम्मको कठ्याङ्ग्रिदो चिसो, अपर्याप्त अक्सिजन र चुनौतीपूर्ण भौगोलिक अवस्थालाई उनको इच्छाशक्ति र साहसले सजिलै छिचोल्न सफल भयो ।
यति सानो उमेरका तेगबीरलाई न त हाइअल्टिच्युड (लेक लाग्ने) समस्या भयो, न त उनी कतै थाके । पदयात्रा सकेर पोखरा फर्किएका उनी लेकसाइडको एक होटलमा भेटिँदा निकै प्रफुल्ल मुद्रामा देखिए । टेबुलमा बसेर कागजको जहाज बनाउँदै खेलिरहेका उनी आफ्नो उचाइप्रतिको मोहलाई निर्दोष ढङ्गले व्यक्त गरिरहेका थिए । “मलाई नेपालमा यात्रा गर्दा निकै रमाइलो लाग्यो, मलाई हिमाल पहाड निकै मन पर्छ,” उनले उत्साहित हुँदै भने, “मलाई यहाँको दालभात र गार्लिक सुप धेरै मनपर्यो ।” यो यात्राले मेरो आत्मविश्वास अझ बढाएको छ, तेगबीरले आफ्नो अनुभव सुनाए ।
पदयात्राका ‘ट्रेकिङ गाइड’ दलबहादुर गुरुङ (दुले) ले यात्राका क्रममा बालक तेगबीरको जिज्ञासु स्वभाव र थकान महसुस नगरी निरन्तर हिँडिरहने क्षमताको खुलेर प्रशंसा गरे । “मेरो दशक लामो ट्रेकिङ अनुभवमा तेगबीर जस्तो सानो उमेरको बालकलाई पहिलोपटक गाइड गर्दै थिएँ । सुरुमा यति सानो बालक कसरी हिँड्ला भन्ने लागेको थियो तर यात्रा सुरु भएपछि ऊ निकै साहसी, जिज्ञासु र रमाइलो स्वभावको देखियो,” गुरुङले भने ।
उनका अनुसार, यात्राभर तेगबीरले देखेको प्रत्येक पहाड र हिमालतर्फ औँल्याउँदै त्यहाँ पुग्न कति दिन लाग्छ ? त्यो ठाउँ कस्तो छ ? भनेर जिज्ञासा राख्ने गर्दथे । थकाइ लाग्यो कि भनेर सोध्दा ऊर्जाका साथ लागेको छैन भन्दै जवाफ दिन्थे । गुरुङले उनमा देखिएको उत्साह, सहनशीलता, प्रकृतिप्रतिको प्रेम र अनुशासन आफूलाई अत्यन्त मन परेको बताए ।
यात्रामा सँगै रहेका भरिया यम गुरुङले पनि तेगबीरको चञ्चल स्वभाव, प्रकृतिप्रेम र निरन्तर हिँड्न सक्ने क्षमताको प्रशंसा गर्दै भने। “उसको ऊर्जा र सकारात्मक सोचले यात्रालाई अझ सहज र रमाइलो बनायो । हामीलाई सात वर्षको बालकसँग यात्रा गरेका छौँ भन्ने आभास उसले दिएनन्, कत्ति थाकेनन्, रमाइलो कुराकानी गर्दै अघि बढ्यौँ ।”
उनका बुबा सुखिन्दरदिप सिंहका अनुसार छोराको यो सफलताको पछाडि कडा अनुशासन, नियमित शारीरिक व्यायाम र सन्तुलित आहारको ठूलो भूमिका छ । सुखिन्दर दिप हाल मेडिकल एडमिनिस्ट्रेटिभ क्षेत्रमा कार्यरत हुनुहुन्छ भने आमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहनुभएको छ ।
तेगबीरको यो पहिलो साहसिक यात्रा भने होइन । यसअघि नै उनले अफ्रिकाको माउन्ट किलिमन्जारो र युरोपको माउन्ट एल्ब्रसको सफल आरोहण गरिसकेका छन् । सानै उमेरदेखि विश्वका चर्चित हिमाली गन्तव्यहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएका उनले सन् २०२४ मा पाँच वर्षको उमेरमा उनले करिब १० दिनको ट्रेक पूरा गर्दै पाँच हजार ३६४ मिटर उचाइमा रहेको ‘एभरेष्ट बेस क्याम्प’ पुगेका थिए ।
सोही वर्ष उनले अफ्रिकाको सबैभन्दा अग्लो शिखर ‘माउन्ट किलिमन्जारो’ पनि आरोहण गर्दै एसियाकै कान्छो आरोहीमध्ये एक बन्न सफल भए । त्यसपछि छ वर्ष सात महिनाको उमेरमा उनले युरोपको ‘माउन्ट एल्ब्रस’ चढे भने सात वर्ष छ महिनामा नेपालकै चर्चित अन्नपूर्ण राउन्डअन्तर्गत पर्ने पाँच हजार ४१६ मिटर उचाइको थोरङलापास पार गर्दै संसारकै सबैभन्दा कान्छोमध्ये एकको कीर्तिमान कायम गरे ।
सन् २०१८ सेप्टेम्बर २४ मा जन्मिएका तेगबीरले सानो उमेरमै अन्तरराष्ट्रिय स्तरको उदीयमान पर्वतारोही, पदयात्रीका रूपमा स्थापित गर्न सफल भए । “हामीले उसलाई कहिल्यै रेकर्डका लागि दबाब दिएनौँ,” पिता सिंह भन्नुहुन्छ “केही कुरा रेकर्डभन्दा पहिला आफ्नो रुचि र आत्मविश्वाससँग जोडिन्छ । उसले आफ्नो रुचिलाई साहस र सफलतामा बदल्यो, यसैमा हामी खुसी छौँ,” उहाँ भन्नुहुन्छ, “आत्मविश्वास भए असम्भव भन्ने केही रहेनछ भन्ने पुष्टि तेगबीरले गरेको छ ।”
नेपालको प्राकृतिक सुन्दरता र यहाँको आतिथ्यताले पनि निकै प्रभावित पारेको उहाँको भनाइ छ । “नेपाल थोरै खर्चमा अद्भुत आनन्द लिन सकिने ठाउँ रहेछ,” तेगबीरका बुबाले अनुभव सुनाए । “समुद्र सतहदेखि विश्वको अग्लो हिमालसम्मको दृश्यलाई छोटो समयमै कैद गर्न सकिने सुन्दरता विश्वमा सायदै पाइन्छ ।” उनले यात्राका क्रममा नेपालीको सहयोगी भावनाको पनि खुलेर प्रशंसा गर्नुभयो, “मेरो छोराले निकै ढिलो खाना खान्छ तर होटलका मानिसहरूले पटक–पटक खाना तताएर मुस्कुराउँदै ल्याएर दिन्थे । हामीले तिरेको पैसाभन्दा उनीहरूको सेवा र व्यवहार धेरै माथि पायौँ ।”
कक्षा ३ मा अध्ययनरत तेगबीरको हिमाल पदयात्रामा देखाएको उत्साह र क्षमता हेर्दा भविष्यमा अझ ठूला साहसिक यात्रातर्फ अघि बढ्ने बुबा बताउछन् । नेपालमा नेपाल सरकारले १६ वर्षमुनिका बालबालिकालाई पर्वतारोहण अनुमति नदिने व्यवस्था भएका कारण उसले १६ वर्ष नपुग्दासम्म सगरमाथा जस्ता हिमाल मात्र होइन, कुनै पनि शिखर आरोहण गर्नबाट उनी वञ्चित हुने भन्दै अरू देशमा विकल्प खोज्न बाध्य बनाएको बताए ।
उमेर सीमामा केही लचकता अपनाउनुपर्ने सुझाव उनको छ । “यदि कुनै बालबालिकासँग राम्रो ट्र्याक रेकर्ड र अनुभव छ भने अभिभावकको जिम्मेवारीमा जोखिम स्वीकृतिसहित आरोहण अनुमति दिनुपर्छ,” सिंहले भने “कम्तीमा छ हजार मिटरसम्मका गैरप्राविधिक हिमालहरूमा यस्तो व्यवस्था लागू भए, बालबालिकाले सानै उमेरदेखि आफ्नो सपना पछ्याउने अवसर पाउने थिए ।” - जमुना वर्षा शर्मा / रासस