नेभिगेशन
समाज

संसदमा हर्क साम्पाङः  संसदीय अभ्यास कि हर्कवादको प्रदर्शन ?

काठमाडौँ । जेनजी आन्दोलनले राष्ट्रिय राजनीतिमा स्थापित गरेका दुई मुख्य पात्र हुन्– बालेन शाह र हर्क साम्पाङ । जेनजी आन्दोलनसम्म यी दुई नेताबीचको सम्बन्ध घनिष्ट थियो । तर, अहिले उनीहरुका बीचमा पानी बाराबार जस्तो छ । रास्वपा वरिष्ठ नेता बालेन प्रधानमन्त्री छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसदमा विपक्षी बेन्चमा छन् । कुनैबेलाका घनिष्ट मित्र बालेनसँग हर्क अहिले असन्तुष्ट छन् । बालेनसँग हर्क असन्तुष्ट भएको गएको भदौदेखि नै हो । पहिले सडक र सामाजिक सन्जालमार्फत बालेनको विरोध गर्थे, अहिले सदनमै हर्कले बालेनको विरोध गरिरहेका छन् । 

संसदको बजेट अधिवेशन सुरु भएयता प्रतिनिधिसभाको बैठक अवरुद्ध नभएको दिन नै छैन । र, अवरोध गर्नेमा मुख्य नेता छन्– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राई । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वैशाख २८ गते संसदको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यही दिन बसेको अर्को बैठकमा विपक्षीहरुले सदन अवरोध गरिहाले । बहाना थियो– राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरिरहँदा प्रधानमन्त्री बालेन शाह बैठकबाट बाहिरिए । 

Ncell
Extreme Energy

त्यसपछिका बैठकमा नीति तथा कार्यक्रममा छलफल भयो । छलफलपछि प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीले जवाफ दिए । छलफल र जवाफ दिनेसम्मका बैठकमा पनि पटक पटक विपक्षी दलहरुले अवरोध गरिरहे । ती अवरोधमा पनि अग्रमोर्चामा थिए हर्क साम्पाङ । 

जेठ ४ गतेको बैठकमा त हर्क साम्पाङ फरक शैलीमा प्रस्तुत भए । सभामुखले बैठक सुरु गर्नासाथ हर्क र उनको पार्टीका सांसदहरु प्लेकार्ड बोकेर रोस्टम घेराउन गर्न पुगे । नाराबाजी गरे । हर्क र उनको पार्टीका सांसदहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो–
– प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ
– प्रश्नदेखि भाग्न पाइँदैन 
– जनमतलाई सम्मान गर 
– संसद छलेर अध्यादेश ल्याउन बन्द गर 
– संसदीय जिम्मेवारी बहन गर । 

संसदीय व्यवस्थामा विपक्षीहरुले अवरोध गर्नु, प्रधानमन्त्री, मन्त्री, सरकार र सभामुखसँग जवाफ माग्नु नयाँ होइन । संसारका अन्य देशमा पनि विपक्षीहरुले सरकारमाथि दबाब सिर्जना गर्छन्, रोस्टम घेर्छन्, सरकारसँग जवाफ माग्छन् । नेपालमा पनि यस्तो अभ्यास हुँदै आएको छ । 

तर, हर्क साम्पाङले जसरी विरोध प्रदर्शन गरिरहेका छन् र जसरी संसद बैठक अवरोध गरिरहेका छन्, त्यो भने नौलो छ, शैली फरक छ । संसद बैठकमै प्लेकार्ड देखाएर नाराबाजी गरेपछि जेठ चार गते नै सभामुख डीपी अर्यालले यसरी विरोध गर्न नपाइने भन्दै सचेत गराए । 

त्यसपछि पनि हर्क साम्पाङ र उनको पार्टीका सांसदहरु रोकिएनन् । ५ गतेको बैठकमा पनि उसैगरी पर्चा देखाए । ६ गतेको बैठकमा पनि त्यही गरे । बारम्बार प्लेकार्ड देखाउँदै प्रदर्शन गरेपछि सभामुखले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को व्यवस्था सुनाउँदै संसदको मर्यादा मर्यादा कायम राख्न चेतावनी दिए । त्यसैगरी सभामुखले नियम ३० प्रति पनि ध्यानाकर्षण गराए । 

संसदको मर्यादाविपरीत दैनिकजसो संसद अवरुद्ध गर्ने श्रम संस्कृति पार्टीका सांसदहरुको शैलीप्रति सभामुख पनि असन्तुष्ट बन्दै गएका छन् । त्यसैले त उनले कहिले नियम २० को कुरा उठाउँछन्, कहिले नियम ३० प्रति ध्यानाकर्षण गराउँछन् । 

नियमले संसदको मर्यादा उल्लंघन गर्न नहुने बताउँछ । नियम ३० ले त मर्यादा उल्लंघन गर्ने सांसदलाई सभामुखले कारबाही गर्न सक्ने व्यवस्था दर्शाउँछ । सभामुख चेतावनी दिइरहन्छन्, हर्कले टेर्दैनन् । यदि यस्तै अवस्था रहिरह्यो भने हर्क र उनको पार्टीका सांसदहरुलाई सभामुखले कारबाही गर्न सक्छन् । सभामुखले उनीहरुलाई निलम्बनसमेत गर्न सक्छन् । के अवस्था यस्तै आएको हो त ? 

कतिपयले भन्न थालेका छन्, हर्कले बालेनसँग पुरानो रिस साँधिरहेका छन् । संसदमा बारम्बार बालेन खोज्नुको कारण त्यही हो । हर्कले बालेनसँग किन बदला लिन खोजिरहेका छन्, त्यो केहीबेरमा भन्छु, भिडियो हेरिरहनु होला । त्यो भन्दा पहिला, सभामुखले हर्कलाई ध्यानाकर्षण गराइरहेको नियम २० र नियम ३० मा के छ, त्यो हेरौं । 
नियम २० मा के छ ? 
सभामुखले साम्पाङलाई चेतावनी दिँदै सम्झाएको नियमावलीको २० को खण्ड ‘झ’ मा भनिएको छ, ‘कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कार्य गर्न नहुने ।’  यस्तै, नियमावलीको २१ को खण्ड ‘क’मा सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले नाम बोलाएपछि वा इसारा गरेपछि मात्रै बोल्नुपर्ने उल्लेख छ ।

सभामुखको बुझाइ छ– हर्क साम्पाङले यी दुवै नियमको उल्लंघन गरिरहेका छन् । यस्तो अवस्थामा सभामुखले के गर्न सक्छन् ? त्यसको व्यवस्था नियम ३० मा उल्लेख छ । 

नियम ३० मा भनिएको छ, ‘बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ ।’ 
नियम ३१ मा नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने उल्लेख छ । सभामुखको आदेशपछि सम्बन्धित सांसद बैठकबाट निस्कनुपर्ने छ, अन्यथा मर्यादापालकले बैठक कक्षबाट बाहिर निकाल्ने छन् । 

त्यसपछि पनि त्यस्तै अवस्था रह्यो भने सभामुखले नियम ३२ अनुसार कुनै पनि सदस्यलाई समायावधि तोकेर निलम्बन गर्न सक्ने छन् । 

हर्क साम्पाङले संसदमा जे जसरी प्रदर्शन गरिरहेका छन् र सभामुखले जुन जुन नियमतर्फ ध्यानाकर्षण गराइरहेका छन्, त्यसलाई लिएर हर्क साम्पाङ जुनसुकै दिन निलम्बनमा पर्न सक्ने अड्कल धेरैले गर्न थालेका छन् । 
संसद जनताबाट निर्वाचित सर्वोच्च थलो हो । संसदले सरकार बनाउँछ, कानुन बनाउँछ, जनताका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँछ, अनि सरकारलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउँछ । यति महत्वपूर्ण निकायमा रहने सांसदहरुको बोली, व्यवहार र भूमिका मर्यादित हुनुपर्छ । यसमा विवादै रहेन । 

संविधानको धारा ७६ को उपधारा १० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरु संसदप्रति व्यक्तिगत र सामूहिक रुपमा जवाफदेही बन्नुपर्छ । यसमा पनि दुईमत रहेन । 

वैशाख २८ को बैठकपछि प्रधानमन्त्री सदनमा गएका छैनन् । विपक्षमा रहेका कांग्रेस, एमाले, नेकपा र राप्रपाले पनि सदनमा प्रधानमन्त्रीको उपस्थिति खोजिरहेका छन्, प्रधानमन्त्रीबाट जवाफ खोजिरहेका छन् । अरु विपक्षी दलहरुले मर्यादित रुपमा प्रदर्शन गरिरहँदा, आफ्नो कुरा भनिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ किन यति धेरै आक्रोशित भएका हुन् ? यसको केही पृष्ठभूमि छ । 

केही अघिसम्म बालेन र हर्कबीचको सम्बन्ध असाध्यै राम्रो थियो । यसअघिको स्थानीय तह चुनावमा बालेन काठमाडौंमा र हर्क धरानमा मेयर चुनिँदा दुवै स्वतन्त्र उम्मेदवार थिए । यी दुईबीच संयोग अर्को पनि थियो र उनीहरु दुवै जनाको चुनाव चिन्ह लौरो थियो । चुनावपछि उनीहरुको चर्चा सर्वत्र छायो । त्यतिबेलै कतिपयले भनेका थिए– बालेन र हर्क मिलेर अगाडि बढेमा वैकल्पिक शक्ति बन्न सक्छ ।

तर, जेनजी आन्दोलनले जसरी मुलुकको राजनीतिलाई फरक कोर्समा डाइभर्ट गर्यो, बालेन र हर्कको सम्बन्धलाई पनि डाइभर्ट गरिदियो । तत्कालीन दुई मेयरबीच टकराव बढ्यो । जेनजीहरु बालेनलाई प्रधानमन्त्री बनाउन चाहन्थे, हर्क साम्पाङ आफैं प्रधानमन्त्री बन्न चाहन्थे । हर्कले त भदौ २५ गते आफूलाई प्रधानमन्त्री बनाइयोस् भनेर आर्मी हेडक्वार्टर पुगेरै सेनापतिसँग वार्ता पनि गरे । धरानबाट काठमाडौं आएर सेनापतिसँग वार्ता गर्दासमेत बालेनले हर्कलाई समर्थन गरेनन्, उल्टै सुशीला कार्कीलाई समर्थन गरिदिए । 

हो, बालेनले सुशीलालाई समर्थन गरेपछि यी दुई बीचको सम्बन्धमा दरार आयो । जब बालेनले सुशीला कार्कीलाई समर्थन गरे, त्यसपछि हर्कले बालेनमाथि खनिन थाले । त्यसपछि त हर्कले फेसबुकमा छिनछिनमा  बालेनविरुद्ध लेख्न थाले, पोस्ट गर्न थाले । 

अन्तरिम मन्त्रिपरिषदमा तीन मन्त्री नियुक्त भएकै दिन हर्कले बालेनविरुद्ध फेसबुकमा लेखे, ‘हिजो सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु भनेर साँच्चै जलाइदिने र अहिलेको गृहमन्त्रीबीचमा कुनै सम्बन्ध छ कि संयोग मात्रै हो ? यसमा उनको बुझाइ थियो– बालेनले आफ्ना सल्लाहकारलाई गृहमन्त्री बनाएका थिए । 

हर्कले फेसबुकमा बालेनप्रति असन्तुष्टि वर्षारहँदा त्यतिबेला बालेनले हर्क लक्षित एउटा पोस्ट गरे । त्यसमा बालेनले भनेका थिए–‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एकतर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रु लभ ।’ 

बालेनको यो पोस्टले पनि हर्क साम्पाङको चित्त बुझेन । कित्ताकाट नै सुरु भयो । हर्क साम्पाङले आफ्नै नेतृत्वमा गत मंरिमा श्रम संस्कृति पार्टी खोले । धरान उपमहानगरको मेयरबाट राजीनामा दिएर चुनाव लडे । यता, चुनावअघि बालेन रास्वपामा प्रवेश गरे । रास्वपाको वरिष्ठ नेता बने । चुनावअघि नै रास्वपाले बालेनलाई भावी प्रधानमन्त्री घोषणा गर्यो, चुनावपछि प्रधानमन्त्री बनायो । 

जेनजी आन्दोलनताका प्रधानमन्त्री बन्न नचाहेका बालेन चुनावपछि प्रधानमन्त्री बने । उतिबेला प्रधानमन्त्री बन्न चाहेका हर्क साम्पाङ सात जना सांसदसहित प्रतिपक्षमा छन् । परिस्थिति यस्तो आयो– बालेनले समग्र सत्ता सम्हाल्दा हर्क साम्पाङले उनै बालेनलाई संसदमा आइदेऊ, आफ्ना प्रश्नको जवाफ देऊ भन्दै दिनहुँ प्रदर्शन गर्न परिरहेको छ । 

श्रम संस्कृति पार्टीकै नेताहरुले भनिरहेका छन्– संसदमा पार्टीका सांसदहरुले गरेको विरोध प्रदर्शन पार्टीको नीति बमोजिम नै हो । स्वयं हर्क साम्पाङले पनि सदनमा गरेको प्रदर्शनकै कारण कुनै कारबाही भोग्नु परे तयार छु भनेर भनिरहेका छन् । उनीमाथि कारबाही होला वा नहोला, त्यो देखिँदै जाला । तर, हर्क साम्पाङ र उनको पार्टीले अँगालेको नीति हर्कवाद के हो, त्यसबारेमा पनि जानौं । 

गएको मंसिर १६ गते नै सुनसरीमा आयोजित पत्रकार सम्मेलनमा साम्पाङले हर्कवादको परिभाषा सुनाए । उनका अनुसार हर्कवादको परिभाषा यस्तो छ–

‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’

हर्कवादको थप व्याख्या गर्दै उनी भन्छन्– यही देशको ढुंगा र माटोमा श्रम रोपेर देशको स्वाधीनता, सम्प्रभूता, समृद्धि, सुख र खुसीसहितको सुनौलो भविष्य फलाउने सूत्र पनि हर्कवाद हो । 

कुनै पनि राजनीतिक दलले श्रमलाई मुल नीति बनाउनु राम्रो हो । तर, त्यही नीतिलाई नेता विशेषको नाम जोडेर प्रचार गरिनुले राम्रो सन्देश नजाला । किनभनेर नेताका नाम जोडिएका धेरै ‘वाद’ र पथ नेपालको राजनीतिमा असफल भइसकेका छन् । सशस्त्र संघर्षबाट आएको माओवादीले कुनै बेला प्रचण्डपथ अँगाल्यो । अहिले न माओवादी छ न प्रचण्डपथ । कम्युनिस्ट पार्टीहरुले नै माओवाद, लेलिनवाद र माक्र्सवादको बखान गाइरहे । तर, ती वादहरु जनताको मनबाट हराउँदै गए । जबसम्म दलहरुले नेपाल र नेपालीलाई उपयुक्त हुने विचार, सिद्धान्त वा वाद अवलम्बन गर्दैनन्, तबसम्म नेपाल र नेपालीको हित हुँदैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेसँगै को को जाँदैछन् नयाँ दिल्ली ?

रवि लामिछानेसँगै को को जाँदैछन् नयाँ दिल्ली ?

लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य...
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा

आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो ।
पर्यटकको रोजाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष

पर्यटकको रोजाइमा कोशी टप्पु वन्यजन्तु आरक्ष

भ्रमण गर्नेमा आन्तरिक पर्यटक ११ हजार २१४ र सार्क मुलुकबाट ४२ महिला र ४५ पुरुष गरी ८७ जना तथा अन्य मुलुकबाट १५१ महिला र १५१ पुरुष गरी ३०२...
ईपीएस अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले गरे काठमाडौँमा प्रदर्शन(तस्बिरहरु)

ईपीएस अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले गरे काठमाडौँमा प्रदर्शन(तस्बिरहरु)

‘पास गरेकोलाई कोरिया पठाऊ’, ‘रोजगारको अधिकार सुनिश्चित गर’ लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्।