नेभिगेशन
समाज

अल्पमतको दम्भले बहुमतको संसद बन्धक !

काठमाडौँ । संसद्को मुख्य काम हो– सरकार बनाउने र देशका लागि आवश्यक कानुन तथा नीति नियम निर्माण गर्ने । फागुन २१ मा चुनिएको संसदले नयाँ सरकार त बनायो, अरु काम भने अगाडि बढ्न सकेको छैन । किन ? यसको कारण होे– विपक्षीको निरन्तर विरोध, निरन्तर अवरोध । बर्खे अधिवेशन सुरु भएयता संसदमा तमासा चलिरहेको छ । 

संसदको बर्खे अधिवेशन सुरु भएको २० दिन बित्न लाग्दा प्रतिनिधिसभाका कुनै पनि बैठक सहज रुपमा चल्न सकेको छैन । ०४६ मा बहुदल आएपछि संसदमा यस्तै विरोधमात्रै भयो, काम भएन भनेर लोकतन्त्रदेखि गणतन्त्रसम्म व्यवस्था परिवर्तनको लहर चल्यो । गणतन्त्रपछि पनि कानुन बनाएर डेलिभरी दिनुको साटो विगतकै विरोध र राजनीतिक लफडाले निरन्तरता पायो । पुराना दलहरुको त्यस्तै कार्यशैलीको प्रतिफल थियो– जेनजी विद्रोह । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी विद्रोहले पुरानो सत्ता ढाल्यो, चुनावमा जनताले रास्वपालाई झण्डै दुईतिहाइ बहुमत दिए । रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बने । अब त सदनको शैली फेरिएला भन्ने थियो । तर, सुशासन र समृद्धिको दिशामा अगाडि बढिरहेको सरकारको मिसनमा सुरुवाती चरणमै संसद् बाधक देखिएको छ। 

Ncell
Extreme Energy

कानुन बनाउने महत्वपूर्ण जिम्मेवारीलाई बिर्सेर विपक्षी दलहरुले हरेक दिन कुनै न कुनै निहुँ बनाएर सदन अवरोध गरिरहेका छन् । विपक्षीको मुद्दा पनि अनेक छन्– कहिले प्रधानमन्त्रीको पहिरन, कहिले प्रधानमन्त्रीको उपस्थिति । कहिले प्रधानमन्त्री बोल्नु पर्यो भन्छन्, कहिले प्रधानमन्त्रीले बोलेको मिलेन भन्छन् । कहिले बहुमतले अल्पमतलाई हेप्यो भन्छन्, कहिले प्रधानमन्त्रीले माफी माग्नु पर्यो भन्छन् । कहिले सभामुखमाथि जाइलाग्छन्, कहिले संसदकै कुर्ची र माइकमा रिस फेर्छन् । बाहना पनि अकेन छन् विपक्षीका । 

२८ वैशाखमा सुरु भएको संसदको बर्खे अधिवेशन पहिलो दिनदेखि अहिलेसम्म प्रधानमन्त्री बालेनकै वरिपरि केन्द्रित छ । संसदमा आगामी आर्थिक वर्षका लागि बजेट पेश भइसकेको छ । यतिबेला बजेटमाथि घनिभूत छलफल हुनुपर्ने हो । बजेटमा जनताका अपेक्षा सम्बोधन भए भएनन् बहस हुनुपर्ने हो । बजेटका हरेक विषयमा विपक्षीले सरकारको ध्यानाकर्षण गराउनु पर्ने हो, सरकारसँग जवाफ माग्नु पर्ने हो । तर, भइरहेको छ के ? 

प्रधानमन्त्रीलाई झुकाएरै छाड्ने विपक्षीको अडानले बजेटजस्तो संवेदनशील विषयमा पनि सदनमा छलफल हुन सकेको छैन । विवाद प्रतिनिधिसभामा छ, असर राष्ट्रियसभामा समेत परिरहेको छ । कामकुरो एकातिर कुम्लो बोकी कतातिर भने जस्तै अवस्था छ अहिले संसदको । 

विपक्षीहरु किन विरोधमा ? अब यसको पनि चिरफार गरौं 

२१ फागुनको चुनावबाट आएको नयाँ प्रतिनिधिसभाको पहिलो अधिवेशन चैत १९ देखि २७ गतेसम्म चल्यो । पहिलो अधिवेशनमा खासै विवाद भएन । किनभने त्यतिबेला सभामुख, उपसभामुख, समिति सभापतिहरु, संसदका पदाधिकारी चयन गर्नुपर्ने थियो । यसमा सिधासिधी बहुमतको निर्णय हुन्थ्यो । निकै सानो संख्यामा रहेका विपक्षीको यसमा खासै भूमिका नै थिएन । तै पनि पहिलो अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन नगरेको भन्दै विपक्षीले प्रश्न उठाएका थिए । 

दोस्रो अधिवेशनको पहिलो दिन वैशाख २८ देखि नै विपक्षी बेन्चबाट विरोध सुरु भयो । राष्ट्रपतिले संयुक्त सदनको बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बीचमै हिँडेको विषयलाई विपक्षी दलले प्रतिनिधिसभामा उठाए । प्रधानमन्त्रीको पोशाक, राष्ट्रपतिले नीति कार्यक्रम पढिरहँदा अर्थमन्त्रीसँग प्रधानमन्त्रीले कानेखुसी गरेर र राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएको जस्ता मुद्दा विपक्षीले उठाए । 

नीति कार्यक्रम पढ्दा उठेर हिँडेको विषयमा जवाफ मागिरहेका विपक्षी दलले ३० गते प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्रीलाई नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिँदा विपक्षीले अवरोध गरिहाले । प्रतिनिधिसभा नियमावलीको नियम ३८(३) बमोजिम नै प्रधानमन्त्रीले अर्थमन्त्रीलाई तोकेका थिए, तर, विपक्षीले प्रधानमन्त्री नै चाहिने अडान विपक्षीले लिए । बल्ल बल्ल सहमति भयो, अर्थमन्त्रीले प्रस्ताव पेश गरे । छलफल र जवाफमा प्रधानमन्त्री नै चाहिने अर्को सर्त विपक्षीले राखे । सभामुखले नियमावलीप्रति ध्यानाकर्षण गराइरहेपछि विपक्षी पछि हटे, ३१ वैशाखमा छलफल सुरु भयो । छलफल सकियो, जवाफको पालो आयो । जवाफका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई तोके, विपक्षीले प्रधानमन्त्री नै खोजे । अवरोधकै बीच अर्थमन्त्रीले जवाफ दिए, नीति तथा कार्यक्रम पारित गरियो । 
नीति कार्यक्रम पारित भयो । अब पालो आयो– विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको । 

छलफलका लागि जेठ ४, ५, ६ गतेको समय तोकियो । जेठ ४ सम्म आइपुग्दा त विपक्षीहरु वेल घेराउसम्म पुगे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित सांसदहरुले प्रधानमन्त्री चाहियो भनेर प्लेकार्ड देखाउँदै वेल घेराउ गरे । निरन्तर वेल घेराउ र प्लेकार्ड प्रदर्शन गरेपछि सभामुखले कारबाही गर्नेसम्मको चेतावनी दिए । 

हुँदा हुँदा अवस्था यस्तो आयो– सदनमा न विधेयक पेश हुन पाउँछ, न छलफल हुन पाउँछ । अवरोधकै बीच पर्यटनमन्त्रीले पर्यटन विधेयक पेश गरे । आधा शताब्दीपछि बन्न लागेको नयाँ पर्यटन ऐनमा पनि विपक्षीका सांसदहरुको रुचि देखिएन । त्यही भएर त रास्वपा सांसद जगदिश खरेलले रोष्ट्रमबाटै भनिदिए– तामासा । 

विपक्षीहरुले मुद्दा थपे । प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउन सभामुखसँग माग गरे । सदन फेरि यसैमा अल्झिन थाल्यो । जेठ १५ गते सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरे । त्यो बैठकमा प्रधानमन्त्री बालेन उपस्थित थिए । त्यतिमात्र होइन १७ गते प्रधानमन्त्री सरप्राइज दिएर सदन आइपुगे । प्रतिनिधिसभामा उठेका विषयमा जवाफ दिन समय मागे । सभामुखले समय दिएपछि सदनको रोष्ट्रमबाट दलीय आधारमा आएका प्रश्नको जवाफ दिए ।

सदनमा उपस्थित भएर प्रधानमन्त्रीले जवाफ त दिए, तर, त्यो पनि नियमावलीविपरीत भएको विपक्षीले अर्को निहुँ खोजे ।

संसदीय व्यवस्था विधिको व्यवस्था हो । विधि संसदले नै बनाउने हो । तर, अवस्था यस्तो आयो– सदनले नै बनाएको विधि विपक्षी सांसदहरुले उल्लंघन गरे । परिस्थिति यहाँसम्म पुग्यो कि सभामुखले, जबरजस्ती सदन चलाउनु पर्यो ।

नियमावलीमा पनि आफ्नै ढिपी 

प्रधानमन्त्री बालेनप्रतिको आक्रोश विपक्षीले प्रतिनिधिसभा नियमावलीमा पनि साँधे । नियमावलीको मस्यौदा प्रतिवेदन सदनमा पेश भइसकेको थियो । सत्र गतेको बैठकबाट नियमावली मस्यौदा प्रतिवेदन पारित गर्ने कार्यसूची थियो । विपक्षीले सदन चल्नै दिएनन् । विपक्षी सांसदहरुको माग थियो– फेरि दफावार छलफलका लागि समितिमै पठाइयोस् । तर, हाउसको बहुमतले स्वीकारेन । सभामुखले निर्णयार्थ पेश गरे । 
त्यसपछि त संसदमा अर्को हंगामा सुरु भयो । 

धकेलाधकेला, कुर्सी उचाल्ने, टेबलमाथि उक्लिने, माइक फ्याँक्ने, सभामुखको आसनको टेबल नै पल्टाउने, के के हो के के ? 

के जनताले संसदमा यस्तै होस् भन्ने चाहेका होलान् ? 

विपक्षीले जतिसुकै अवरोध, तोडफोड र धकेलाधकेल गरे पनि संशोधित नियमावली बहुमतले पारित भयो । 
 
फेरि प्रधानमन्त्रीकै कुरामा लफडा

पहिले प्रधानमन्त्री चाहियो, प्रधानमन्त्री आए । प्रधानमन्त्रीले बोल्नु पर्यो भने, प्रधानमन्त्री बोले– सोधेका प्रश्नको जवाफ दिए । अहिले जवाफ मिलेन भन्दैछन्, नियमावलीअनुसार मिलेन भन्दैछन् ।  
बहुमतले नियमावली पारित गर्यो, सकियो । विपक्षीले अड्को धाप्ने एउटै मुद्दा पाएका छन्– सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्ति । प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षीहरु एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा अब प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिएर सदनका सबै कामकारवाही ठप्प पारेका छन् । 

सभामुख डोलप्रसाद अर्याल र सत्तारुढ रास्वपाले बजेटलाई प्राथमिकता दिएर सदन चलाउन अनुरोध गरे पनि विपक्षी दल प्रधानमन्त्रीको विवादित अभिव्यक्तिभन्दा बजेट ठूलो नभएको तर्क गरेर माफी नमागेसम्म चल्न नदिने अडानमा छन् । 

के भन्छन् विपक्षी दलका पदाधिकारी ? 

प्रधानमन्त्री बालेन्द्र शाह सुरुदेखि नै सदनप्रति उत्तरदायी नभएको र स्थापित संसदीय परम्पराहरुको सम्मान नगरेको साझा बुझाइ विपक्षी दलहरुको छ । त्यसैले सुरुदेखि नै प्रधानमन्त्रीकै कारण विपक्षीले सदनमा कराउनु परेको धारणा उनीहरुको छ । यसबीचमा उनीहरु पटक पटक बसेर साझा धारणा नै बनाएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकले ‘सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीले संसदमा बोलेको कुरा राष्ट्रघाती अभिव्यक्ति हो भन्ने निष्कर्ष निकाल्यो । नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीले संसदबाट देशवासीको नाममा माफी माग्नुपर्ने अडानमा विपक्षी दलहरु कायम छन् । 

विपक्षीहरुले एकपछि अर्को अडान राख्दै सदन अवरोध गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले बजेटमाथिको छलफल र कानुन निर्माणमा अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत छ । रास्वपा कानुन निर्माणमा लाग्न चाहन्छ । तर, सदनको अहिलेको अवस्थाले कानुन निर्माणले गति लिन्छ भनेर विश्वास गर्न सकिने अवस्था छैन । यसको संकेत त राष्ट्रियसभाले गरिसकेको छ । प्रतिनिधिसभामा उत्पन्न विवादको असर राष्ट्रिय सभामा परेको छ । प्रतिनिधिसभाले पारित गरिसकेको विधेयक राष्ट्रिय सभामा पेश हुन पाएको छैन । के जनताले चाहेको संसद यस्तै हो ? 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

भारतको ३ दिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।
निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध...
आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

प्रधानमन्त्री वालेन्द्र शाहको  सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।
ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

हत्याको आरोपमा ईश्वरीका श्रीमान् ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर शनिबार बालाजुबाट पक्राउ परेका थिए । ईश्वरीको माइतिको जाहेरीका आधारमा थप ३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको...