काठमाडौँ । भनिन्छ– इतिहास खोतल्न जरूरी छैन, अब त्यहाँ भेटिनलायक कुरा केही छैन । तर हामीकहाँ परिस्थिति अलि भिन्न छ ।
हाम्रो वर्तमान इतिहासले ल्याइपु¥याएको विन्दु हो । इतिहासतिर फर्कंदा हामीले धेरै भेट्टाउँछौँ । इतिहासमा धेरैथोक लुकाइएका छन् । इतिहासरूपी खाडलभित्र नसुल्झिएका रहस्यका चाङ छन् । आङ सिरिङ्ग तुल्याउने घटना छन् । शासन सत्ता हत्याउन भाइभारदारबीच मच्चाइएको रक्तपातका इतिवृत्तान्त छन् । सत्ताको घरभित्रजस्तो लाग्ने तर देशदुनियाँमा दूरगामी प्रभाव पार्ने परिघटना छन् । जसका कारण र रहस्य सुल्झन बाँकी छन् ।
त्यस्तै मध्येको एउटा घटना हो– राजदरबार घटना। तत्कालीन राजा वीरेन्द्रको वंश नै नाश गरिएको उक्त घटनाको २५ हिउँद बितिसकेको छ । दरबारभित्रको पारिवारिक जमघटमा नरसंहार मच्चाइएको उक्त घटनामा १० जनाको मृत्यु भयो। ५ जना सख्त घाइते भए । घाइतेमध्ये कतिपय अहिले पनि गोलीको छर्रा बोकेर हिँडेका छन्। शल्यक्रियाको घाउमा पूरा खाटा बसिसकेको छैन ।
हाम्रो सन्दर्भमा राजपरिवारभित्र यस्ता घटना नौलो होइन। आश्चर्यजनक परिघटना होइन। शासनसत्ताको शिरमा पुग्दा राजदरबारभित्र तरबार, गोली चल्ने गरेका थिए। शासनसत्तामा आउन भाइभारदारहरूबीच पनि काटाकाटका घटना हुने गरेका थिए। विक्रम संवत् १९०३ भदौ ३१ को कोत पर्व, १९०३ कात्तिक १२ गतेको भण्डारखाल पर्व, १९०४ साउनको औलो पर्व, यी मात्रै होइन, लामो शृंखला छ ।
जहाँ विशुद्ध शासन सत्ता हत्याउन रचिएका भाइभारदार, शासक–प्रशासकबीच रचिएको षड्यन्त्र, धोकाधडी र त्यसले निम्त्याएको रक्तपातपूर्ण इतिहास जोडिएको छ ।
२०५८ सालको दरबार हत्याकाण्डबारे इतिहासकारहरूको फरक मत छ। कतिपयले यसलाई दरबारभित्रै झगडाको रूपमा बुझेका छन्। जहाँ खलपात्र बनाइएको छ– तत्कालीन युवराज दीपेन्द्रलाई । आफूभित्र हुर्कंदो असन्तुष्टि, पारिवारिक बेमेल, विवाहको तहमा पुग्न लागिसकेको सम्बन्धमा दरबारबाटै आएको रोकावट र त्यसबाट पिल्सिँदै आहत बनेका दीपेन्द्रले नै घटना घटाएका हुन् भन्ने कतिपयको मत छ। तत्कालीन सरकारले बनाएको सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको जाँचबुझ समितिले पनि दीपेन्द्रलाई नै दोषी ठह¥याएको थियो।
तर बहुसंख्यक नागरिकहरूले त्यो प्रतिवेदन मान्न तयार भएनन्। एक जना दीपेन्द्रले, ९ जनाको ज्यान जाने र ५ जना गम्भीर घाइते अवस्था सिर्जना गर्न नसक्ने भन्दै शंकाको सुइ विभिन्न ठाउँतिर तेर्स्याए ।
छानबिन समितिले घटनाको सम्पूर्ण कारक दीपेन्द्र नै भनिसकेकाले उक्त घटनाबारे थप अध्ययनन, अनुसन्धान, अभियोजन, तहकिकात केही पनि भएन। किनभने घटनाको तीन दिनपछि दीपेन्द्रको मृत्यु घोषणा गरिएको थियो। मूच्र्छित अवस्थामा रहेका भनिएका दीपेन्द्रलाई सो अवधिमा राजा घोषणा गरिएको थियो ।
त्यसले पनि घटनालाई थप शंकास्पद बनायो । र, आजपर्यन्त शंकाकै घेरामा छ । आफ्ना प्राणप्रिय राजारानी र उनको परिवारको वियोगमा आज पनि नागरिक आहत छन् । सत्यतथ्य पत्ता लागोस् भनेर उनीहरू प्रार्थना पनि गरिरहेका छन् ।
तत्कालीन राजा वीरेन्द्र बहुसंख्यकको आँखामा प्रिय थिए । नेपाललाई शान्तिक्षेत्र देश बनाउन चाहने, नागरिकका अधिकार धेरै कुण्ठित तुल्याउन नचाहने, २०३६ साल होस् या २०४६ सालमा परिवर्तन छिटो आत्मसात गर्ने, नागरिकको भावनासँग संवाद, साक्षात्कार गर्न रूचाउने जस्तो व्यक्तित्वका रूपमा राजा वीरेन्द्रलाई नागरिकले बुझेका थिए ।
त्यसैले पनि उनका शान्त, सुशील, सौम्य छवि आम नागरिकको मनमा गढेर रह्यो । जसका कारण उनको वंश विनाशले वर्णन गर्नै नसकिने गरी पीडा दियो । शोकमा सारा देश स्तब्ध बन्यो । उनीहरूका घरमा एकतमासले शोकधुन बजिरह्यो । प्रिय राजाको वियोगमा नागरिकहरूले केश मुण्डन गरे । सिंगो देशले नै आशौच बा¥यो । अढाइ दशकसम्म पनि उक्त वियोगको व्यथा आलै छ ।
कोको मारिए ?
घटनास्थलमै वा उपचारका क्रममा पछि अस्पतालमा मृत घोषित गरिएका सदस्यहरूः
१. श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह देव (तत्कालीन राजा)
२. श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मी देवी शाह (तत्कालीन रानी)
३. श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (घटनापछि अस्पतालमा मृत घोषित)
४. श्री ५ अधिराजकुमार निराजन वीर विक्रम शाह (राजा वीरेन्द्रका कान्छा छोरा)
५. श्री ५ अधिराजकुमारी श्रुति राज्य लक्ष्मी देवी शाह (राजा वीरेन्द्रकी छोरी)
६. श्री ५ अधिराजकुमार धीरेन्द्र वीर विक्रम शाह (राजा वीरेन्द्रका भाइ – अस्पतालमा निधन)
७. श्री ५ अधिराजकुमारी शान्ति सिंह (राजा वीरेन्द्रकी दिदी)
८. श्री ५ अधिराजकुमारी शारदा शाह (राजा वीरेन्द्रकी बहिनी)
९. कुमार खड्ग विक्रम शाह (राजकुमारी शारदाका पति)
१०. राजकुमारी जयन्ती शाह (राजा वीरेन्द्रकी भदै/काकाकी छोरी)
भीषण आक्रमणमा परेर पनि जीवित रहन सफल भएका सदस्यहरूः
१. श्रीमती कोमल राज्य लक्ष्मी शाह (तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रकी पत्नी÷पूर्वरानी)
२. श्री ५ अधिराजकुमारी शोभा शाही (राजा वीरेन्द्रकी बहिनी)
३. कुमार गोरखविक्रम शाह (राजकुमारी श्रुतिका पति/राजा वीरेन्द्रका ज्वाइँ)
४. श्रीमती केतकी चेस्टर (राजा वीरेन्द्रकी भदै/काकाकी छोरी)
५. डा. राजीव शाही (शाही परिवारका सदस्य/ज्वाइँ – सोही समयमा उद्धारमा खटिएका)
पचासको दशकको उत्तराद्र्धमा भएको यस घटनाले नेपालको राजनीतिमा फरक मोड लियो । राजै असुरक्षित रहने देशको परिचय पायो ।
तत्कालीन सरकाले बनाएको जाँचबुझ समितिको प्रतिवेदन कोही मान्न तयार भएनन् । घटनाको सत्यतथ्य पर्गेल्न माग भइरह्यो । त्यसपछि सिंहासनमा आएका राजा ज्ञानेन्द्रतिर पनि शंकाको सुइ नतेर्सिएको होइन । घटनामा उनकी पत्नी सख्त घाइते भएकी थिइन् । घटनास्थलमै रहेका भनिएका पारस सुरक्षित रहनु, वीरेन्द्रको परिवार, उनका छोरीज्वाइँलगायतको छानीछानी हत्या हुनुले नागरिकको मनमा आशंकाको डेरा जमाएको थियो ।
त्यसैले आम नागरिकले थप छानबिन, अनुसन्धान र निरूपणको माग गरेका थिए । बदलिँदो राजनीतिक आयामसँगै यो घटना सेलाउँदै गयो। २०६२–६३ को आन्दोलन र परिवर्तनपछि यो विषयलाई दाउपेचको विषय बनाइयो। २०६२–०६३ को आन्दोलनले गद्दिच्युत गराएका राजा चलखेल गर्न खोजे, सक्रिय हुन खोजे भने दरबार हत्याकाण्डको ‘छानबिन गराउँ’ भन्दै उनलाई तर्साउने कामबाहेक अरु विषय अघि बढेन।
मंगलबार सुधन गुरूङ पुनः गृहमन्त्री बनेसँगै यो विषय चर्चामा छ । दोस्रोपटक गृहमन्त्रीको कार्यभार सम्हाल्दै गर्दा उनले राजदरबार हत्याकाण्डको अनुसन्धान गर्ने उद्घोष गरे । आगोको फिलिङ्गोजस्ता रापिला गृहमन्त्रीको उद्घोषले नागरिकमा पुनः आशा सञ्चार गरेको छ। प्राणप्रिय राजारानी र नारायणहिटीभित्रै मारिएका राजपरिवारका अरू सदस्यले न्याय पाउँछन् कि भनेर नागरिकहरूको आशा जागेको छ ।
दरबार हत्याकाण्डसँग जोडिएका थुप्रै प्रश्न अनुत्तरित छन् । सरकारले चाहने हो भने नारायणहिटी हत्याकाण्डको पाँच कोणबाट अनुसन्धान हुनसक्ने देखिन्छ । त्यसबारे हामी विस्तृतमा चर्चा गर्नेछौँ ।
हत्याकाण्ड भएको २५ वर्ष पूरा भइसकेको छ । समय निकै घर्किसकेको र घटनासँग जोडिएका भौतिक प्रमाणहरू; जस्तै त्रिभुवन सदन भत्काइसकेकाले प्राचीन र पुरातन शैलीबाट अनुसन्धान गर्न अब निकै जटिल छ । तत्कालीन सभामुख तारानाथ रानाभाट र सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय सम्मिलित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले नै गोली चलाएको र पछि आफैँलाई गोली हानेको निष्कर्ष निकाले पनि आम नागरिकमा अझै पनि यसप्रति ठूलो आशंका र अविश्वास छ ।
यसकारण आधुनिक विज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय गुप्तचर निकायसमेतको सहयोगको आधारमा यो घटनाको पुनरवलोकन वा अनुसन्धान गर्ने आधारहरू अझै पनि जीवित छन् ।
फरेन्सिक र डिजिटल प्रमाणहरूको पुनरवलोकन
यसलाई विश्वभरि कोल्ड केस (लामो समयसम्म सुल्झन नसकेको वा विवादित रहेको मुद्दा) का रूपमा लिएर आधुनिक फरेन्सिक प्रविधि प्रयोग गर्न सकिने आधार रहेको विश्लेषक बताउँछन् । त्यतिबेला ठूलो गल्ती के भएको थियो भने तत्कालीन सरकारले मृतकहरूको पोस्टमार्टम गरेन । गोली लागेका सबैलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी पु¥याइएको थियो । सबैको मृत्यु त्यहीँ घोषणा गरियो ।
योसँग जोडिएका अन्य फरेन्सिक जाँच, ब्यालिस्टिक रिपोर्टको पुनः जाँच हुनसक्छ । राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायतका शवहरूको घाउको प्रकृति (Wound Ballistics) र फेला परेका गोलीका खोकाहरूको आधुनिक सफ्टवेयर र अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा पुनः जाँच गर्न सकिने आधार रहेको विज्ञहरूको भनाइ छ ।
यस्तै गोलीको दिशा र कोण (Trajectory Analysis)को अध्ययन–अन्वेषण हुनसक्छ । जस्तो, दीपेन्द्रले आफैलाई गोली हानेको भनिएको दाबीमा उनको दाहिने वा देब्रे हात कुन प्रयोग भएको थियो र गोली कुन कोणबाट छिरेको थियो भन्ने कुराको वैज्ञानिक सिमुलेसन (3D Animation/Reconstruction) गर्न सकिने प्रशस्त वैज्ञानिक आधार रहेको विज्ञहरूको भनाइ छ ।
जीवित साक्षीहरूको बयान र पोलिग्राफ टेस्ट
घटनास्थलमा उपस्थित रहेका, घाइते भएका वा सो समयमा दरबारको सुरक्षा र उपचारमा खटिएका धेरै पात्रहरू अहिले पनि जीवित छन् । घटनामा घाइते भएका शाही परिवारका सदस्यहरू कोमल शाह, शोभा शाही, गोरख विक्रम शाह, केतकी चेस्टर, डा. राजीव शाही र पूर्वयुवराज पारस, तत्कालीन एडीसीहरू, अंगरक्षक तथा दरबारका सुसारेहरूसँग पूर्ण सुरक्षा र गोपनीयताको ग्यारेन्टी गरेर न्यायिक आयोगमार्फत फेरि बयान लिन सकिन्छ । त्यसका आधारहरू बाँकी नै छन्। जुन अब बन्ने न्यायिक समितिले गर्न सक्छ । साक्षीहरूको सहमतिमा आधुनिक ‘लाइ डिटेक्टर’ वा ‘नार्को एनालिसिस’ जस्ता प्रविधि प्रयोग गरी विगतको बयान र सत्यताको सम्परीक्षण गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय गुप्तचर निकायका वर्गीकृत दस्ताबेजको माग
दरबार हत्याकाण्ड भू–राजनीतिक संवेदनशीलतासँग पनि गाँसिएको आशंका अहिले पनि गरिन्छ । विश्वका ठूला शक्ति राष्ट्रका गुप्तचर निकायहरूसँग सो समयको नेपालको राजनीतिक र दरबारभित्रको हलचलको सूक्ष्म रेकर्ड हेर्न सकिन्छ । नेपाल सरकारले त्यस्ता गुप्तचर निकायसँग सो कालखण्डका ‘वर्गीकृत सूचना वा दस्तावेज’ छिकाउन कूटनीतिक अनुरोध गर्न सक्छ। २५ वर्षको अवधि पुगिसकेकाले कतिपय देशमा यस्ता दस्ताबेजहरू कानुनतः सार्वजनिक गर्ने प्रावधान पनि नहुने होइन ।
अत्याधुनिक डिजिटल र टेलिकम्युनिकेसन आर्काइभको खोजी
घटना हुनुअघि र सोही रात दरबार भित्र र बाहिर भएका टेलिफोन संवादहरू जस्तै; स्याटेलाइट फोन वा भिएचएफ सञ्चार समेतको रेकर्ड अर्को महत्वपूर्ण कडी बन्न सक्छ। तत्कालीन समयमा नेपालमा मोबाइल प्रविधि भर्खरै सुरु हुँदै थियो र दरबारमा वायरलेस तथा स्याटेलाइट सञ्चारको प्रयोग हुन्थ्यो। ती सञ्चारका लग वा रेकर्डहरू कतै सुरक्षित भए/नभएको प्राविधिक जाँच गर्न सकिन्छ ।
शक्तिशाली र स्वतन्त्र उच्चस्तरीय न्यायिक आयोगको गठन
विगतका छानबिनहरू हतारमा र राजनीतिक दबाबका बीच जनआक्रोश शान्त पार्न मात्र गरिएको आरोपको अहिले पनि खण्डन हुन सकेको छैन। अबको अनुसन्धानका लागि क्षणिक स्वार्थ, लाभहानी, राजनीतिक स्वार्थभन्दा माथि उठेका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फरेन्सिक विज्ञ, पूर्वन्यायाधीश र सुरक्षा विशेषज्ञहरू सम्मिलित एक पूर्ण अधिकारसम्पन्न, निष्पक्ष र साधनस्रोत सम्पन्न नयाँ आयोग गठन गर्न सकिन्छ। उक्त आयोगलाई दरबारका तत्कालीन सैनिक फाइल र गुप्तचर विभाग, एजेन्सीका गोप्य दस्ताबेजहरू अध्ययन गर्ने पूर्ण स्वतन्त्रता हुनुपर्छ । यी कोणका आधारमा राजदरबार हत्याकाण्डबारे नयाँ निष्कर्षमा पुग्न नसकिने होइन । तर यसका लागि दृढ इच्छाशक्ति र चुनौती पन्छाउने साहस चाहिन्छ । जुन सुधन गुरूङमा देखिन्छ । उनका निकट विगतका गतिविधि त्यसका सबुत हुन् ।