नेभिगेशन
समाज

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सोलुखुम्बु । सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला र सङ्घीय राजधानी काठमाडौँबीचको सडक सम्पर्क टुटेको छ । निरन्तरको वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत सोलुदूधकुण्ड नगरपालिका–११ सिस्नेरीको साल्मे क्षेत्रमा शुक्रबार दिउँसो करिब २० मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका अनुसार सडकको ठूलो हिस्सा भासिएर क्षतिग्रस्त भएपछि ठूलासाना सबै सवारीसाधन सञ्चालन गर्न सकिएको छैन । 

Ncell
Extreme Energy

“करिब २० मिटर सडक भासिएको छ । माथिबाट आएको पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरे पनि पुनः तलबाट सडक भासिएर क्षति भएको छ”, प्रजिअ थापामगरले भने ।

पहिरो हटाएपछि फेरि भासियो सडक

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरुमा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएपछि जेसिबीको प्रयोग गरी पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास गरिएको थियो । तर पहिरो हटाएपछि सडकको तल्लो भाग कमजोर भई पुनःभासिएपछि सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको हो । 

निरन्तर वर्षा भइरहेकाले भासिएको सडक तत्कालै पुनःनिर्माण गरी यातायात सञ्चालनमा ल्याउन चुनौती देखिएको छ । सडकको तल्लो भागमा थप क्षति हुनसक्ने भएकाले काम अघि बढाउनसमेत समस्या भइरहेको प्रशासनले जनाएको छ ।

सडक खुलाउन सडक डिभिजन कार्यालय हर्कपुरसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी थापामगरले बताए । उनका अनुसार क्षतिग्रस्त सडकमा ग्याबियन संरचना निर्माण गरी सडकको तल्लो भाग संरक्षण गर्ने तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग निर्माण गर्ने विषयमा छलफल भइरहेको छ । 

“पहिरो ठूलो गएको छ । सडकको संरचनामा क्षति पुगेकाले तत्काल सामान्य रूपमा पहिरो हटाएर मात्र यातायात सञ्चालन गर्न सकिने अवस्था छैन । ग्याबियन भर्ने र सम्भावित वैकल्पिक मार्ग निर्माण गर्ने विषयमा सडक डिभिजनसँग समन्वय भइरहेको छ”, उनले भने ।

जिल्लाको मुख्य स्थलमार्ग अवरुद्ध

सोलुखुम्बु प्रवेश गर्ने मुख्य स्थलमार्ग अवरुद्ध भएपछि जिल्लाबाट बाहिरिने तथा जिल्ला भित्रिने यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन् । सडक अवरुद्ध भएपछि काठमाडौँ तथा अन्य जिल्लाबाट सोलुखुम्बु आउने यात्रुले बीच बाटोमै रोकिनुपर्ने अवस्था आएको छ भने जिल्लाबाट बाहिरिने यात्रु पनि समस्यामा परेका छन् ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री तथा अन्य आवश्यक सामग्रीको ढुवानीसमेत प्रभावित हुनसक्ने स्थानीयको भनाइ छ । सडक लामो समय अवरुद्ध भएमा जिल्लाको यातायात तथा आपूर्ति व्यवस्थामा समस्या पर्नसक्ने जानकारहरू बताउँछन् ।

सोलुखुम्बुका स्थानीयका लागि सिद्धिचरण राजमार्ग जिल्ला बाहिरिने प्रमुख स्थलमार्ग हो । सगरमाथा क्षेत्र जाने पर्यटक, स्थानीय बासिन्दा, सरकारी तथा गैरसरकारी सेवामा आवतजावत गर्ने व्यक्ति र व्यवसायीसमेत यही सडकमार्गमा निर्भर छन् ।

हरेक वर्ष पहिरोको जोखिम

सिस्नेरी क्षेत्र वर्षायाममा पहिरो तथा सडक अवरोधका कारण संवेदनशील मानिन्छ । विगतमा पनि यस क्षेत्रमा पहिरो जाँदा पटकपटक सडक अवरुद्ध हुँदै आएको प्रशासनले जनाएको छ । तर यसपटक सडक भासिएको स्थान भने विगतमा पहिरो जाने स्थानभन्दा नयाँ रहेको प्रमुख जिल्ला अधिकारी थापामगरले जानकारी दिए । यसले सडकको तल्लो भागमा जमिन कमजोर हुँदै गएको र निरन्तरको वर्षाले भू–क्षयको जोखिम बढाएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी थापामगरका अनुसार माथिबाट आएको पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास गरिए पनि सडकको तल्लो भाग नै भासिएपछि समस्या थप जटिल बनेको हो ।

वर्षा नरोकिँदा पुनःस्थापनामा चुनौती

सडक मर्मतका लागि आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि निरन्तरको वर्षाले काम गर्न कठिनाइ भइरहेको छ । सडकको भासिएको भागमा तत्काल ग्याबियन संरचना निर्माण, सडकको तल्लो भागमा भरान तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग तयार गर्नुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ । तर वर्षा जारी रहेसम्म थप पहिरो तथा सडक भासिने जोखिमसमेत रहेकाले सडक पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ ।

सडक कहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने यकीन नभएको प्रशासनले जनाएको छ । सडक डिभिजन कार्यालयबाट प्राविधिक टोलीको मूल्याङ्कन तथा आवश्यक व्यवस्थापनपछि मात्र पुनःस्थापनाको समयबारे स्पष्ट हुने प्रमुख जिल्ला अधिकारी थापामगरले बताए । 

यात्रुलाई सावधानी अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालयले सडकको अवस्था सामान्य नभएसम्म जोखिम मोलेर सिस्नेरी क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । सडक खुलाउन आवश्यक समन्वय भइरहेकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक व्यवस्थाबारे सम्बन्धित निकायबाट प्राप्त सूचना पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

सोलुखुम्बुको मुख्य स्थलमार्ग नै अवरुद्ध भएपछि अहिले जिल्लाको सडक सम्पर्क वर्षाजन्य विपद्को प्रत्यक्ष प्रभावमा परेको छ । लगातारको वर्षा नरोकिए थप स्थानमा पहिरो तथा सडक अवरोध हुनसक्ने भएकाले जिल्लाका जोखिमयुक्त सडकखण्डमा निगरानी बढाउनुपर्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली हाल...

भर्खरै