नेभिगेशन
समाज

जब विश्वकपको ट्रफी नै चोरी भयो…

काठमाडाैँ । सन् १९६६ मार्च २० । बेलायतको वेस्ट मिनिस्टरमा ‘स्पोर्टस् विथ स्ट्याम्स’ प्रदर्शन भइरहेको थियो, जसमा ट्रफी पनि राखिएको थियो । सबै दर्शक उत्साहित थिए । तर,  अचानक ट्रफी चोरी भयो । आयोजक चिन्तित थिए । त्यही बेला चेल्सी क्लबका अध्यक्षसमेत रहेका फुटबल एसोसिएसनका अध्यक्ष जो मियर्सलाई एउटा फोन आयो । फोन गर्नेले मियर्सलाई स्ट्यामफोर्ड ब्रिजमा एउटा प्याकेज छाडिएको जानकारी दियो, जसमा ट्रफी फिर्ता गर्न १५ हजार पाउन्ड फिरौती मागिएको थियो ।

प्रहरी, आयोजक सबै ट्रफीको खोजीमा लागे । एक हप्तासम्म कुनै पत्तो लागेन । २७ मार्च आइतबारका दिन दक्षिण लन्डनको ब्युला हिलमा डेभिड कोर्बेट नामका व्यक्ति पिकल्स नाम गरेको कुकुर लिएर हिँडिरहेका थिए । त्यही बेला अचानक पिकल्सले अखबारले बेरिएको अवस्थामा ट्रफी फेला पार्यो । ट्रफी एउटा पार्क गरिराखेको कारको अगाडिको पांग्रानजिक फ्याँकिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुकुरका मालिक कोर्बेटले पुरस्कारस्वरुप ५ हजार पाउन्ड दाबी गरे । र पिकल्सलाई नेसनल केनाइन डिफेन्स लिगद्वारा रजत पदक प्रदान गरियो । पछि पिकल्सलाई ‘ब्लु पिटर’ जस्ता टेलिभिजन कार्यक्रममा पनि अतिथिका रुपमा बोलाइयो । डग अफ दि इयर घोषणा गरियो । र, पाल्तु जनावरको खाना उत्पादक कम्पनी स्पिलर्सले वर्षभरिका लागि निःशुल्क खाना उपलब्ध गरायो ।

Ncell
Extreme Energy

यो ट्रफी त्यही थियो, जुन सन् १९३० देखि १९७० सम्म विजेता टोलीलाई प्रदान गरिएको थियो । जसलाई जुल्स रिमेट ट्रफी पनि भनिन्थ्यो । ट्रफीमाथि चोरहरुको आँखा लाग्ने शृंखला अझै रोकिएन । सन् १९२१ देखि १९५४ सम्म फिफाका अध्यक्ष रहेका जुल्स रिमेटले तीन पटक प्रतियोगिता जित्ने टोलीले ट्रफी सधैँका लागि आफ्नो साथमा राख्न पाउने नियम बनाएका थिए । त्यसैले सन् १९७० को जितपछि यो ट्रफी ब्राजिलसँगै रह्यो । तर सन् १९८३ तिर रियो दि जेनेरियोस्थित फुटबल संघको कार्यालयबाटै चोरी भयो र त्यसपछि कहिल्यै फेला परेन, चोरले ट्रफीको सुन पगालेर बेचेको आशंका गरियो । एक पटक फिफाले एउटा लिलामीमा उक्त ट्रफी भएको आशंकामा ३ लाख ११ हजार डलर तिरेको थियो,  तर पछि त्यो नक्कली भएको खुल्यो । सन् २०१५ मा जुरिचस्थित फिफा मुख्यालयको बेसमेन्ट स्टोरेजमा यस ट्रफीको स्टोन बेस फेला परेको थियो । तर,  बाँकी भाग अझै पनि हराइरहेको छ ।

ब्राजिललाई स्थायी रूपमा जुल्स रिमेट ट्रफी हस्तान्तरण गरिएपछि फिफालाई विजेताहरूलाई दिनका लागि नयाँ ट्रफी आवश्यक थियो । नयाँ ट्रफीका लागि डिजाइन प्रतियोगिता आयोजना गरिँदा ५३ वटा मध्येबाट उत्कृष्ट डिजाइन छनोट गरियो । इटालियन मूर्तिकार सिल्भियो गाज्जानिगाद्वारा निर्मित यस ट्रफीमा दुई खेलाडीहरूले विश्वलाई उचालेको कलात्मक स्वरूप देखाइएको छ। यो ट्रफी १८ क्यारेटको सुनबाट बनेको छ र यसको तल्लो भागमा हरियो रंगको मालाकाइटका दुईवटा पट्टीहरू छन् ।
सुरुका वर्षहरूमा विजेता टोलीहरूले यो ट्रफी आफ्नो साथमा राख्न पाउँथे, तर सन् २००६ को विश्वकपदेखि भने विजेताहरूले पुरस्कार वितरण समारोहमा मात्र सक्कली कप प्राप्त गर्छन् । त्यसपछि फिफाले उनीहरूलाई एउटा प्रतिकृति प्रदान गर्दछ, जसलाई टोलीले आफ्नो महासंघको ट्रफी क्याबिनेटमा प्रदर्शन गर्न सक्छन् ।

कसरी सुरु भयो फिफा विश्वकप ? 

१९२० को दशकमा फुटबल खेल तीव्र रूपमा व्यावसायिकतातर्फ बढ्दै थियो । खेलाडीहरूले पैसा लिएर खेल्न थालेका थिए । तर, ओलम्पिकको नियम अनुसार त्यहाँ केबल एमेच्योर अर्थात् सोखिन वा पैसा नलिई खेल्ने खेलाडीले मात्र भाग लिन पाउँथे । यसले गर्दा ओलम्पिकमा उत्कृष्ट खेलाडीहरू समेट्न गाह्रो हुँदै गयो र ओलम्पिक भावनासँग फुटबलको व्यावसायिकता मेल खाएन । ओलम्पिकको यही प्रतिबन्ध र विवादका कारण फिफाले एउटा छुट्टै र खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सोच बनायो, जहाँ व्यावसायिक र एमेच्योर दुवैथरीका खेलाडीले खेल्न पाउन् । तत्कालीन फिफा अध्यक्ष जुल्स रिमेटले ओलम्पिकभन्दा बाहिर एउटा छुट्टै फुटबल प्रतियोगिता गराउने योजना अघि सारे । रिमेटकै विशेष पहलका कारण उनलाई विश्वकपका पिताका रुपमा चिनिन्छ ।

२६ मे १९२८ मा फिफाको कङ्ग्रेसले आधिकारिक रूपमा प्रत्येक चार वर्षमा विश्व फुटबल च्याम्पियनसिप अर्थात् विश्वकप आयोजना गर्ने निर्णय गर्यो । फिफाले पहिलो विश्वकप आयोजना गर्ने जिम्मा उरुग्वेलाई दियो । किनभने उरुग्वेले लगातार दुई पटक सन् १९२४ र १९२८ मा ओलम्पिकमा स्वर्ण जितेर आफूलाई उत्कृष्ट साबित गरिसकेको थियो र सन् १९३० मा उरुग्वेले आफ्नो स्वतन्त्रताको शतवार्षिकी पनि मनाउँदै थियो । त्यसमाथि  उरुग्वेले सहभागी हुने टोलीहरूको यात्रा खर्च बेहोर्ने वाचा पनि गरेको थियो । अन्ततः १३ जुलाई १९३० देखि उरुग्वेमा पहिलो फिफा विश्वकप सुरु भयो । यो पहिलो संस्करणमा कुनै छनोट खेल भएनन् । फिफाको निमन्त्रणामा केवल १३ वटा देशहरू- दक्षिण अमेरिकाबाट ७, युरोपबाट ४ र उत्तर अमेरिकाबाट २ सहभागी भएका थिए । यात्रा लामो र खर्चिलो भएकाले धेरै युरोपेली देशहरू त्यतिबेला उरुग्वे जान मानेका थिएनन् ।

पहिलो विश्वकपमा घरेलु टोली उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराउँदै पहिलो उपाधि जितेको थियो । पहिलो विश्वकपदेखि अहिले मेक्सिको, क्यानडा र अमेरिकामा जारी विश्वकपसम्म आइपुग्दा यो प्रतियोगिता ४८ टोलीमा बिस्तार भइसकेको छ भने विश्वभर सबैभन्दा बढी हेरिने प्रतियोगितामध्ये एक बनेको छ । फिफाले सन् १९९१ देखि महिला विश्वकप पनि आयोजना गर्दै आएको छ ।  

पहिलो विश्वकपका कारण सन् १९३२ मा भएको ओलम्पिकमा फुटबललाई समावेश गरिएन । यद्यपि १९३६ मा फुटबल ओलम्पिकमा पुनः फर्कियो र त्यसयता ओलम्पिकको पनि नियमित हिस्सा बन्दै आएको छ । त्यसो त १९३० मा पहिलो विश्वकप हुनुअघि पनि फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएकै थिए,  जसमा सन् १८७२ मा इंग्ल्यान्ड र स्कटल्यान्डबीच भएको फुटबललाई पहिलो अन्तर्राष्ट्रिय फुटबल मानिन्छ । त्यसअघि यो खेल ग्रेट ब्रिटेनबाहिर विरलै खेलिन्थ्यो । १८९५ मा त्यतिबेलाका प्रख्यात इंगलिस र स्कटिस क्लबहरु सन्डरल्यान्ड एफसी र हार्ट अफ मिडलोथिएन एफसीबीच खेल भएको थियो, जुन खेल सन्डरल्यान्डले जितेको थियो । ब्रिटिश टापुबाहिर पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल जुलाई १९०२ मा मोन्टेभिडियोमा उरुग्वे र अर्जेन्टिनाबीच भएको थियो ।

सन् १९०४ को २१ मे मा फेडेरेसन इन्टरनेसनल दि फुटबल एसोसिएसन अर्थात् फिफाको स्थापना भयो,  जसमा फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, स्पेन, स्वीडेन र स्वीट्जल्यान्डका फुटबल संघहरु सहभागी भएका थिए र जर्मनीले पनि आबद्ध हुने प्रतिबद्धता जनाएको थियो । फुटबलको लोकप्रियता बढ्दै जान थालेपछि यसलाई १९०० र १९०४ को ग्रिष्मकालीन ओलम्पिकमा ओलम्पिक काउन्सिलको मान्यताप्राप्त खेलको रुपमा समावेश गरियो । त्यसपछि १९०८ को ग्रीष्मकालीन ओलम्पिकमा फिफाको रेखदेखमा आधिकारिक ओलम्पिक प्रतियोगिता बन्यो । अर्थात् २० औं शताब्दीको सुरुदेखि नै फुटबल पनि ओलम्पिकको एउटा प्रमुख खेल बन्दै आयो । सन् १९०६ मा फिफाले ओलम्पिक संरचनाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने प्रयास गरेको थियो । उक्त प्रतियोगिता स्वीट्जरल्यान्डमा भए पनि त्यसपछि निरन्तरता पाएन । फिफा इतिहासमा उक्त प्रतियोगितालाई असफल प्रतियोगिताका रुपमा लिइन्छ । सन् १९०६ मा फिफाले ओलम्पिक संरचनाभन्दा बाहिर एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने प्रयास गरेको थियो । स्विटजरल्यान्डमा प्रतियोगिता पनि भयो । तर, त्यसले निरन्तरता पाएन । फिफा इतिहासमा उक्त प्रतियोगितालाई असफल प्रतियोगिताका रुपमा लिइन्छ । 

विश्वयुद्धको असर 

सन् १९३८ को फ्रान्स विश्वकपपछि जर्मनीमा नाजी पार्टी सत्तामा आउँदै थियो । एडोल्फ हिटलरले सन् १९४२ को प्रतियोगिता जर्मनीमा आयोजना गर्न फिफासमक्ष अनुरोध गरेका थिए, तर दोस्रो विश्वयुद्ध सुरु भएपछि आयोजक राष्ट्र तय हुनुअघि नै फिफाले उक्त प्रतियोगिता रद्द गर्यो । विश्वयुद्धका कारण सन् १९४६ को विश्वकप पनि रद्द भयो ।

युद्धको अन्त्यसम्म आइपुग्दा कुनै पनि देशले सन् १९५० को प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएनन् । अन्ततः ब्राजिल अघि सर्यो र प्रतियोगिताका लागि रियो दि जेनेरियोमा आफ्नो अहिलेको प्रसिद्ध मराकाना स्टेडियम निर्माण गर्यो । २ लाख दर्शक क्षमताका लागि बनाइएको यो रङ्गशाला त्यतिबेला विश्वकै सबैभन्दा ठूलो थियो। यद्यपि, प्रतियोगिता चलिरहँदा पनि यसको निर्माण कार्य जारी नै थियो।

१९५० को विश्वकप दक्षिण एसियाका लागि पनि खास मानिन्छ ।  विश्वकप इतिहासमै भारत छनोट भयो, कारण– भारतको समूहमा रहेका फिलिपिन्स,  इन्डोनेसिया र बर्माले नाम फिर्ता लिँदा भारत स्वतः छनोट भएको थियो । तर, भारत  खर्च तथा अभ्यासको अभाव देखाउँदै ब्राजिल गएन ।

यस वर्ष विश्वकप पहिलो पटक तीनवटा देशहरू— अमेरिका, क्यानडा र मेक्सिको—ले संयुक्त रूपमा आयोजना गरेका छन् । यससँगै मेक्सिको तीन पटक १९७०, १९८६ र २०२६  विश्वकप आयोजना गर्ने पहिलो देश पनि बनेको छ । यसैगरी, ब्राजिल, इटाली, फ्रान्स, जर्मनी र अमेरिकाले दुई पटक  आयोजना गरेका छन् । अमेरिकाले पहिलो पटक सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो । ‘यूएस सकर’ का अनुसार १९९४ को विश्वकप फिफा इतिहासमै सबैभन्दा बढी दर्शक उपस्थित भएको प्रतियोगिता थियो।

सन् २०२६ को प्रतियोगिता बाहेक २२ वटा विश्वकपहरूमध्ये युरोपले ११ पटक यसको आयोजना गरिसकेको छ । एसियामा पहिलो पटक सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । त्यसको आठ वर्षपछि, सन् २०१० मा दक्षिण अफ्रिकाले १९औँ फिफा विश्वकप आयोजना गर्दा यो प्रतियोगिता पहिलो पटक अफ्रिका महादेशमा पुगेको थियो।

यो अन्तर्राष्ट्रिय खेल उत्सव सामान्यतया मे, जुन वा जुलाई जस्ता गर्मी महिनामा हुने गर्दछ । तर, पुरुष विश्वकपको इतिहासमा पहिलो र एकमात्र विश्वकप सन् २०२२ मा नोभेम्बर र डिसेम्बर महिनामा आयोजना गरियो,  जतिबेला कतार आयोजक बनेको थियो ।

विश्वकप आयोजना गर्नु आयोजक मुलुकको अर्थतन्त्रका लागि निकै फाइदाजनक हुन्छ । यो प्रतियोगिता विश्वकै सबैभन्दा लोकप्रिय खेलकुद उत्सवहरूमध्ये एक हो—जहाँ लाखौँ मानिसहरू प्रत्यक्ष खेल हेर्न यात्रा गर्छन् र अर्बौ मानिस टेलिभिजनमा खेल हेर्छन् । सन् २०२२ मा, अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेल विश्वभरका १.५ अर्ब मानिसले टेलिभिजनमा हेरेका थिए भने प्रतियोगिता अवधिभर ५ अर्बभन्दा बढी मानिसले खेल हेरेका थिए ।

विश्वकपका आधिकारिक गीतहरू 

सन् १९६२ देखि प्रत्येक विश्वकपमा एउटा एन्थम सङ् पनि समावेश गर्न थालियो, जसले खेलप्रति थप चासो जगाउन र दर्शकहरूमा जोस भर्न मद्दत गर्दछ । आधिकारिक गीत राख्ने पहिलो देश चिली थियो, जहाँ ‘एल रक डेल मुन्डियल’ गाइएको थियो। वर्षौँदेखि, प्रख्यात कलाकारहरूले फिफाका लागि मौलिक गीतहरू रेकर्ड गराएका छन् जसले व्यापक सफलता पाएका छन् । सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले कप अफ लाइफ रेकर्ड गराएका थिए । सन् २०१०  मा दक्षिण अफ्रिकामा आयोजित प्रतियोगिताका लागि शाकिराले वाका वाका गीत गराइन्, जुन युट्युबमा सर्वाधिक धेरैपटक हेरिएको गीत बनेको छ । आजका मितिसम्म शाकिराको यो गीत ४ अर्ब ५७ करोड पटक हेरिएको छ । विगतका प्रतियोगिताहरूमा एउटा मात्र साझा गीत हुने गर्थ्यो, तर यसपटक एउटा मुख्य गीतका साथै आयोजना हुने सबै १६ वटा सहरहरूको आफ्नै छुट्टाछुट्टै गीत रहेको छ । सोनिक आईडी  भनिने यी १६ वटा गीतहरू स्थानीय डिजे र कलाकारहरूले तयार पारेका हुन् ।

विश्वकपका मस्कटहरू

सन् १९६६ को इङ्ल्याण्ड विश्वकपमा थिम सङसँगै मस्कट (प्रतीक चिन्ह) को पनि सुरुआत गरियो । पहिलो मस्कट एउटा सिंह थियो, जसले बेलायती झण्डा अङ्कित जर्सी लगाएको थियो । त्यसयता प्रत्येक प्रतियोगितामा देखा पर्दै आएका मस्कटहरूमा कार्टुन जनावर,  कलात्मक फलफूलदेखि अमूर्त आकारहरू सम्म समावेश छन्, जसले आयोजक देशको संस्कृति र सम्पदा झल्काउँछ । यसपटकको प्रतियोगितामा तीनवटा मस्कटहरू समावेश छन्, जसमा क्लच द बाल्ड इगल (अमेरिका), मेपल द मुस (क्यानडा) र जायू द जागुआर (मेक्सिको) छन् । 

पेले र म्याराडोना 

ब्राजिलका लिजेन्ड खेलाडी पेले विश्वकप इतिहासकै सबैभन्दा सफल खेलाडी मानिन्छन् । उनी तीन पटक विश्वकप १९५८, १९६२ र १९७०  जित्ने विश्वकै एक मात्र खेलाडी हुन् ।  सन् १९५८ को विश्वकप खेल्दा उनी मात्र १७ वर्ष २३९ दिनका थिए, जुन विश्वकपमा गोल गर्ने र उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान हो । १९८६ को विश्वकपमा अर्जेन्टिनाका डिएगो म्याराडोनाले इ्रग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा दुई वटा यस्ता गोल गरे, जसलाई फुटबल इतिहासमै सबैभन्दा बढी चर्चा गरिन्छ । पहिलो गोल म्याराडोनाले रेफ्रीको आँखा छलेर हातले बल नेटभित्र छिराएका थिए। पछि उनले यसलाई अलिकति म्याराडोनाको टाउको र अलिकति भगवानको हातको मद्दतले भएको गोल भनेका थिए। दोस्रो गोल त्यसको ठीक ४ मिनेटपछि म्याराडोनाले गरे । उनले एक्लै बल ड्रिबल गर्दै इङ्ल्यान्डका ५ जना डिफेन्डर र गोलकिपरलाई छक्याउँदै गोल गरेका थिए, जसलाई फिफाले गोल अफ द सेन्चुरी अर्थात् शताब्दीकै उत्कृष्ट गोल घोषणा गर्‍यो।

विश्वकपका रोचक रेकर्ड 

सन् १९७० को विश्वकपलाई पहिलो पटक टेलिभिजनमा रंगीन रुपमा देखाइएको थियो, जुन विश्वकप ब्राजिलले जितेको थियो । ब्राजिल १९३० देखि अहिलेसम्म अर्थात् २३  पटक नै विश्वकपमा सहभागी हुने एक मात्र टिम बनेको छ । यसबाहेक जर्मनी २१ पटक, अर्जेन्टिना १९ र इटाली र मेक्सिको २१–२१ पटक सहभागी भएका छन् । विश्वकप सुरुआतमा १३ टिम सहभागी भएकोमा २४, ३२ हुँदै अहिले ४८ मुलुक सहभागी छन् ।

तर पदक जित्ने मुलुकको संख्या जम्मा ८ छ । विश्वकप इतिहासमा सबैभन्दा बढी पदक जित्ने रेकर्ड ब्राजिलको नाममा छ । ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ गरी सर्वाधिक ५ पटक विश्वकप जितेको छ । विश्वकप जित्ने देशको सूचीमा जर्मनी, इटाली, अर्जेन्टिना, फ्रान्स, उरुग्वे, इंग्ल्यान्ड र स्पेन छन् ।

ब्रिटानिका डट कमका अनुसार विश्वकपमा कुनै पनि खेलमा सबैभन्दा बढी गोलको रेकर्ड सन् १९५४ को विश्वकपमा छ । अस्ट्रिया र स्वीट्जरल्यान्डबीचको खेलमा १२ गोल भएको थियो, जसमा अस्ट्रियाले ७ र स्वीजरल्यान्डले ५ गोल गरेका थिए ।  यस्तै, सन् १९८२ को विश्वकपमा एल साल्भाडोरविरुद्धको खेल हंगेरीले १०–१ ले जितेको थियो । एउटै विश्वकपमा बढी गोल गर्ने रेकर्ड भने हंगेरीको नाममा छ । हंगेरीले १९५४ को विश्वकपमा २७ गोल गरेको थियो । सबै सहभागी मुलुकले गरेको कुल गोलको रेकर्ड भने सन् २०२२ को कतार विश्वकप रहेको छ । उक्त विश्वकपमा कुल गोल १ सय ७२ भएको थियो । सबैभन्दा धेरै रेड कार्डको रेकर्ड २००६ को विश्वकपमा पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा थियो, जहाँ रेफ्रीले ४ वटा रेड कार्ड देखाएका थिए भने धेरै यलो कार्डको रेकर्ड २०२२ मा नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको खेलमा १८ वटा यलो कार्ड देखाइएको थियो । र, अहिलेसम्म धेरै यलो कार्ड पाउने मुलुकको रेकर्ड अर्जेन्टिनाको नाममा छ । अहिलेसम्म अर्जेन्टिनाले १ सय २९ वटा यलो कार्ड पाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
समयानुकूल र प्रभावकारी कानून मस्यौदा गर्न कानून मन्त्री गौतमको आग्रह

समयानुकूल र प्रभावकारी कानून मस्यौदा गर्न कानून मन्त्री गौतमको आग्रह

बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम...
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

भट्ट चैत १९ गते रअग्रवाल चैत २२ गते पक्राउ परेका थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ रअग्रवाललाई २५ अर्ब ५९ करोड...
विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस,  अरुको पनि खोजी गरिँदै

विदेशी पीआर लिएका दुई कर्मचारीलाई कारबाही सिफारिस, अरुको पनि खोजी गरिँदै

सूचनाअनुसार मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा समाप्त भएपछि पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी आवासीय अनुमति र  स्थायी आवासीय अनुमति...
अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः  अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुधारको जग बसाल्ने बजेट ल्याएका छौँः अर्थमन्त्री वाग्ले

नेपाल चेम्वर अफ कमर्शले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री वाग्लेले अर्थतन्त्र सुधारको परिस्थिति स्थापित गर्ने र जग बसाल्ने गरि सरकारले बजेट ल्याएको बताएका हुन्।