काठमाडौं । सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।
सामाजिका सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ– जसले यही भनिरहेको छ । यही सम्झाइरहेको छ ।
भाइरल भिडिओमा एक यात्रुवाहक बस कच्ची सडक हुँदै पहिराको नजिक आइपुग्छ ।
जसै बस पहिरो काट्न लाग्छ, अकस्मात पहिराको थाप्लोबाट भीमकाय ढुंगो उछिट्टिँदै बस भएतिर आउँछ ।
पहिरो छल्न र गाडीको भार कम गर्न ओर्लिएका यात्रुबीच भागदौड मच्चिन्छ । कोलाहल छाउँछ ।
उछिट्टिएर आएको ढुंगाले बसको अघिल्लो भाग ठूलो ठक्कर दिँदै खोलातिर खस्छ । बस बाटो छोडेर पहिरोतिर हुत्तिन्छ ।
यो कुनै काल्पनिक घटनावर्णन होइन ।
यो बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा एक्कासि आइपरेको विपत्ति हो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशील खड्का यो घटनाका प्रत्यक्षदर्शी हुन् । सामाजिक सञ्जालमा सर्वत्र फैलिएको भिडिओ उनैले खिचेका हुन् ।
उनका अनुसार मध्यपश्चिम यातायातको भे १ ख २८३१ नम्बरको बस सुर्खेतबाट जुम्लाका लागि छुटेको थियो । कर्णाली करिडोरअन्तर्गत बाजुराको भुकाहा खोलाको पहिरोग्रस्त क्षेत्र पुग्दा बसमा ९ जना यात्रु, चालक र सहचालक थिए ।
उक्त भुकाहा खोला पहिरो गइरहने ठाउँ हो । त्यस ठाउँमा पुग्नेबित्तिकै यात्रु, चालक, सहचालक भगवानको नाम पुकार्छन् ।
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने त्यस ठाउँमा मध्यपश्चिम यातायातको उक्त बस पुग्नेबित्तिकै स्टार्ट बन्द भयो ।
स्टार्ट बन्द भएपछि चालकले जुक्ति लगाउँदै पछाडिरहेको ट्रकको अघिल्लो भागमा डोरी बाँधेर बसलाई तान्न थालिएको थियो ।
पत्रकार सुशील खड्काका अनुसार ट्रकले पछाडि तान्दा अचानक डोरी चुँडियो र बस कच्ची सडकको दलदलजस्तो ठाउँमा फस्न पुग्यो ।
त्यसपछि त्यही बसमा सवार यात्रु र रोकिएका गाडीका अन्य यात्रुहरूसमेत भएर बसलाई दलदलबाट पाखा लगाउन ठेल्दै थिए । सोही क्रममै सडकमाथिको पहिरोबाट भीमकाय ढुंगा उछिट्टिएर आएको थियो ।
उक्त पहाडजत्रो ढुंगाले बसको अघिल्लो भाग क्षतविक्षत तुल्याउँदै सडकबाट तल खसालेको थियो । सुरूमा ढुंगाले सडकबाट छेउ लगाए पनि केही समयपछि आएको सुख्खा पहिरोले बसलाई पहिराको बीचमा पुर्याएको थियो ।
बस अहिले पूर्णरूपमा क्षतिग्रस्त छ ।
पत्रकार खड्का अनुसार चालक दुई सेकेन्डले मृत्युबाट बाँचेका थिए । भिडिओमा बताइएअनुसार उक्त बसका चालक पहिरो झर्दासम्म बसभित्रै थिए । माथिबाट ठूलो ढुंगा उछिट्टिएको देखेपछि हाम फालेर ज्यान जोगाएका थिए ।
बसबाट सबै यात्रु ओर्लिएको र पहिरोबाट ढुंगा गुल्टिएको भेउ पाएर चालक हाम फाल्न भ्याएकाले सोमबार भुकाहा खोलाले मानवीय क्षतिको साक्षी बस्नु परेन । त्यहाँ मृत्युको शोधधुन बजेन ।
तर सामाजिक सञ्जालमा सेयर भइरहेको उक्त विपत्तिको दृश्यले सडक मार्गको आवरणको मृत्यु मार्गको चित्र देखाएको छ । र, सबको मन कँपाएको छ ।
केही दिनअघि कर्णाली प्रदेशको मनै कुँड्याउँने यस्तो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । जहाँ केही महिलाहरू पहिरो छिचोल्दै आफ्नो गन्तव्यतर्फ गइरहेका हुन्छन् । केही पुरूषहरू पहिरोवारि नै बसेर ढुंगा लड्छ कि लड्दैन भनेर नियालिरहेका हुन्छन् ।
महिलाहरू पहिरोग्रस्त ठाउँको बीचबीच के पुगेका हुन्छन्, अचानक ढुंगा गुड्न थालिहाल्छ ।
वारिबाट मानिसहरू ‘फर्ककर्क.. ढुंगा खस्न लाग्यो...’ भनेर चिच्याउँछन् ।
त्यही बेला ठूलो ढुंगा गुल्टँदै महिला भएतिर आउँछ ।
समूहभन्दा केही अगाडि रहेकी महिला ज्यान जोगाउन दौडन्छन् । उनी ढुन्मुनिँदै तल पुग्न भ्याएकाले उक्त विपत्तिबाट जोगिन्छिन् ।
मृत्युको भुँवरीबाट महिलाहरू बालबाल बँचेको कहालीलाग्दो भिडिओ सोसल मिडियामा अहिले पनि दौडिरहेको छ ।
नेपालले सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय फड्को मारेको साँचो हो । पहिले हप्तौंसम्म हिँडेर छिचोल्नुपर्ने दूरी आज सडक मार्गले जोडेका छन् । एक दिनमै पुग्न सकिने बनाइदिएका छन् ।
सबै जिल्ला सदरमुकामका सडकको पहुँच पुगेको छ । ठूला नदीपिच्चे करिडोर बनेका छन् । हुलाकी, महेन्द्र राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी गरी पूर्वपश्चिम फैलिएका चारवटा राजमार्ग बन्न लागे । उत्तर–दक्षिण जोड्ने सडक पनि यही रफ्तारमा बनिरहेका छन् ।
देशका कुनै डाँडा बाँकी छैन, जहाँ डोजरले नचिथोरेका होस् ! बाटो नपुर्याइएको होस् !
आर्थिक सर्वेक्षणअनुसार २०८२ को फागुनसम्म नेपालमा ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । जसमध्ये कालोपत्रे सडककै हिस्सा बढी छ । २०८२ फागुनसम्म २० हजार ४५६ किलोमिटर कालोपत्रे सडक बनेको छ । ग्रावेल ७६०२ किलोमिटर बनेको छ । कच्ची सडकको लम्बाइ ८ हजार ७४८ छ ।
झण्डै ३७ हजार किलोमिटर सडक बने पनि यी सडक सुरक्षित छन् ?
हाम्रो कष्टकर यात्रालाई सवारी साधनले सुगम तुल्याउँदै लगे पनि हामी सुरक्षित यात्रा गरिरहेका छौं त ? कतै हामीलाई दुर्घटनाले बाटो ढुकेर त बसेको छैन ? हाम्रो सडक धराप थापेजस्ता छ छैनन् ?
दिनहुँ हुने डरलाग्दा दुर्घटना, विपत्ति, बाढी, पहिरोका घटनाले यही प्रश्न मात्रै उठाएका छैनन्। हाम्रो यात्रा सुरक्षित नरहेको उत्तर पनि दिएका छन् ।
अझ दुःखलाग्दो कुरा हातपाखुरा बजारेर परिवार पाल्ने र देशलाई पनि योगदान दिने उमेरसमूहका मानिसहरूले सडक दुर्घटनाबाट ज्यान गुमाइरहँदा कसैको पनि मन पोलेको छैन । जसको प्रत्यक्ष असर घरको चुह्लोचौकामा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, देशको ढुकुटीमा परिरहेको छ ।
श्रमसीप खर्चेर परिवार पाल्ने मानिसलाई सिंगै परिवार लागेर स्याहार्नुपर्ने विडम्बनापूर्ण दृश्य पनि समाजमा देखिन्छ ।
सडक दुर्घटनाले कसरी मानिसहरूको ज्यान निलिरहेको छ ? नागरिकहरू कसरी खँजाहा बनिरहेका छन् भन्ने थाहा पाउन एकैछिन पछिल्लो केही दिन यताको दुर्घटनाको तथ्यांक हेरौं ।
नेपाल प्रहरीका अनुसार साउन १६ गते सवारी दुर्घटनाबाट २४ घण्टामा ८ जनाको ज्यान गएको थियो । ९० जना घाइते थिए । साउन १७ गते ३ जनाको मृत्यु ९८ जना घाइते थिए । साउन १८ गते ९ जनाको मृत्यु ९५ जना घाइते थिए । साउन १९ गते २ जनाको मृत्यु १०५ जना घाइते थिए । साउन २० गते ४ जनाको मृत्यु १०० जना घाइते थिए । साउन २१ गते ७ जनाको मृत्यु १०४ जना घाइते, साउन २२ गते ५ जनाको मृत्यु १०८ जना घाइते थिए । साउन २३ गते ४ जनाको मृत्यु, ११६ घाइते र साउन २४ गते ५ जनाको मृत्यु, १२७ घाइते थिए ।
प्रहरीकै तथ्यांक केलाउँदा सवारी दुर्घटनाबाट नेपालमा २४ घन्टामा सरदर ६ जनाको मृत्यु र सयजनाभन्दा बढी घाइते हुन्छन् ।
पछिल्लो १८ वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या कहालीलाग्दो छ ।
आर्थिक वर्ष २०६५–०६६ यता सवारी दुर्घटनामा ३९ हजार ५७० जनाको ज्यान गएको छ । दुई लाख ६६ हजार ६४७ सवारी साधन गम्भीर दुर्घटनामा परेका छन् ।
यसबाट अंगभंग हुने नागरिकको संख्या ८३ हजार १२ जना पुगेको छ ।
आर्थिक वर्ष २०८२–०८३ मा सबैभन्दा बढी २९ हजार ९८८ सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा बढी २ हजार ९९३ जना नागरिकको मृत्यु भएको छ ।
१८ वर्षको तथ्यांक केलाउँदा सवारी दुर्घटनाको संख्या करिब २.९ गुणाले बढेको देखिएको छ । मृत्यु करिब ६.२ प्रतिशतले बढ्दै आएको देखिन्छ ।
के कारणले देशले काम गरेर खाने, उत्पादनशील उमेर समूहका मानिसहरू सडक दुर्घटनामा गुमाइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ ।
पछिल्लो दशकमा हाम्रो ध्यान बाटो खन्नेमै गयो । जोखिमयुक्त भूबनोट, पानीको निकास, खोला, खोल्सा, नदीको बहाव जस्ता आधारभूत कुरा नबुझी जहाँ मन लाग्यो त्यहाँ हेभी उपकरण प्रयोग गरेर बाटो खन्दा ती विपदका कारक बनिरहेका छन् । दुर्घटनाको माध्यम बनिरहेका छन् ।
नेपालका डाँडाकाँडालाई विश्वकै कान्छो पहाड भनिन्छ । २४ घन्टामा १५० भन्दा कम मिलिमिटर वर्षा हुँदा नै ठूलो पहिरो चलेर जुरेजसरी गावैँ बगाउन सक्छ । सिमलतालको सिँदुरे गहिरोजस्तो खोल्सो उर्र्लिएर दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसालिदिनसक्छ । झ्याप्ले खोलाजस्तो ठाउँमा पहाडै बगेर पचासौं जना मानिसको मृत्यु हुनसक्छ ।
यस्तो संवेदनशील बनोटयुक्त पहाडमा ठूला उपकरणहरू प्रयोग गरेर बाटो खन्न नहुने विज्ञहरूले औंल्याइरहेका छन् । हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्र हो । पहिरो थामिएपछि बसेका बस्ती छन् । पहाडी बनोट छन् । वनउपवन पनि छन् । भूकम्प, भूस्खलनले थिलोथिलो बनाएको संरचना छन् ।
यस्तो संवेदनशील क्षेत्रमा बिनाइन्जिनिरिङ सडक खन्नु जोखिमयुक्त हुने पूर्वाधारविद्हरूले बताउँदै आएका थिए ।
एकै झलकमा काम देखिइहाल्ने हुँदा तीनै तहको सरकारको प्रतिस्पर्धा मोटरबाटो खन्नमै छ ।
जसले पनि दुर्घटना निम्त्याउन सघाउ पुर्याइरहेको छ ।
बाजुराको भुकाह खोलाको जस्तो दुर्घटना यसैका कारण पनि हुन्छ ।
त्यसैले विश्व बैंकले सुरक्षित सडकको अवधारणा कार्यान्वयन गर्न नेपाललाई सुझाव दिएको थियो ।
सडक निर्माण गर्दा नै ‘सेफ सिस्टम’ दृष्टिकोण अपनाउन,
निर्माण भइसकेका र नयाँ बन्ने सडकहरूको नियमित सुरक्षा अडिट गरी उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी सुधार गर्न सुझाव दिँदै आएको थियो ।
पहाडी सडकहरूको घुम्ती र भीर भएका स्थानमा बलियो क्र्यास बियरिङ, सडकको किनारामा सुख्खा पहिरो, पहिरोग्रस्त, जोखिमयुक्त ओरालो, घुम्ती बताउने आदि चेतावनी चिह्नहरू र पर्याप्त प्रकाशको व्यवस्था गर्न भनेको थियो ।
यसबाहेक हाम्रो यातायात क्षेत्रमा अर्को ठूलो समस्या छ– माटे सडक खनिनसक्दै गाडी चलाउन बस समितिहरूलाई अनुमति दिइहाल्ने । यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ । अझ चाडपर्वका बेला भर्खरै खनेका, सफा नगरिएका, हिले ट्र्याकमा खचाखच यात्रु ओसार्दा दुर्घटना भइरहेका छन् ।
यसबाहेक सवारी साधनको नियमित परीक्षण पनि हुने गरेको देखिँदैन । सरकारी एवम् नियमनकारी निकायले यान्त्रिक परीक्षण प्रबन्ध पनि गर्न सकेको छैन ।
सवारी साधनहरूको प्राविधिक अवस्था (ब्रेक, टायर, लाइट आदि) जाँच गर्ने प्रणालीलाई अनिवार्य र प्रभावकारी बनाउने हो भने पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
यस्तै, लाइसेन्स प्रणालीमा सुधार ल्याउन पनि विश्व बैंकले नै सुझाएको थियो । चालक अनुमति पत्र वितरण प्रक्रियालाई थप वैज्ञानिक र कडा बनाउने, जसमा चालकको सीप र ट्राफिक नियमको ज्ञान अनिवार्य रूपमा परीक्षण गर्ने हो भने पनि दुर्घटनाको अंक घटाउन सकिन्छ ।
हामीकहाँ अहिले पनि सडक हेर्ने निकायको जुलुस छ भन्दा फरक पर्दैन । यातायात व्यवस्था विभागदेखि सुरक्षाअंगसमेत सडकमै खटिएका छन् ।
तर दुर्घटनाका बेला सडक सुरक्षा प्रहरीको एक्लो जिम्माको क्षेत्रजस्तो देखिन्छ । गौँडागौँडामा बसेर सुरक्षा जाँचदेखि दुर्घटनाका बेला उद्धारसम्ममा प्रहरी मात्रै खटिएको हुन्छ ।
अपजसको भागिदार पनि प्रहरी मात्रै हुने गरेको छ ।
जबकि नियमनकारी निकाय प्रहरी मात्रै होइन यातायात व्यवस्था विभाग नै हो ।
निकायको भीड तर परिणाम भने शून्य हुने अवस्था चिर्न विश्व बैंकले नै नेतृत्वदायी निकायको स्थापना गर्न सुझाएको थियो ।
सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न र विभिन्न सरकारी निकायबीच समन्वय गर्न एक शक्तिशाली केन्द्रीय सडक सुरक्षा परिषद् वा निकायको गठन गर्न भनेको थियो ।
बहस चले पनि सरकारले यसलाई कार्यान्वयनमा ल्याएको देखिँदैन ।
यसका अतिरिक्त सडक सुरक्षासम्बन्धी विद्यमान कानुनहरूलाई अद्यावधिक गर्ने, इजाजतभन्दा बढी यात्रु ओसारपसार, तीव्र गतिमा रोक लगाउने, सिट बेल्टको प्रयोग गर्न लगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यविरुद्ध कडा सजायको व्यवस्था गर्ने जस्ता क्रियाकलापले पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
बाढी, पहिरोजस्ता विपत्ति टार्न नसकिएला तर सरकार, व्यवसायी, चालक र यात्रु स्वयम्को लापरवाहीले हुने सडक दुर्घटना न्यून गर्न सकिन्छ ।
एकैछिनको हतारो, अरू सवारीलाई उछिन्ने स्वभाव, दुई चारजना यात्रु भने पनि बढी हाल्छु भन्ने लोभ, हेलचेक्र्याइँ, सानै खोला–पहिरो त हो नि पार गरिहाल्छु नि भन्ने हेपाहा प्रवृत्ति जीवनभर पछुताउने कारण बन्न सक्छ ।
बर्खाको बेला छ– सोची, हेरी, मौसम बुझी यात्रा गरौं । सरोकारवाला निकाय त यहाँ सधैँ निदाइ नै रहन्छन् ।
* * *