नेभिगेशन
सिधाकुरा विशेष

ज्यानमारा सडक, १८ वर्षमा सडक दुर्घटनाबाट झण्डै ४० हजारले गुमाए ज्यान

काठमाडौं । सुदूरबासीलाई बचाउन सरकार आउँदैन काल आफै सचेत हुनुपर्छ ।

सामाजिका सञ्जालमा अहिले एउटा भिडिओ भाइरल छ– जसले यही भनिरहेको छ । यही सम्झाइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भाइरल भिडिओमा एक यात्रुवाहक बस कच्ची सडक हुँदै पहिराको नजिक आइपुग्छ ।

Ncell
Extreme Energy

जसै बस पहिरो काट्न लाग्छ, अकस्मात पहिराको थाप्लोबाट भीमकाय ढुंगो उछिट्टिँदै बस भएतिर आउँछ ।

पहिरो छल्न र गाडीको भार कम गर्न ओर्लिएका यात्रुबीच भागदौड मच्चिन्छ । कोलाहल छाउँछ ।

उछिट्टिएर आएको ढुंगाले बसको अघिल्लो भाग ठूलो ठक्कर दिँदै खोलातिर खस्छ । बस बाटो छोडेर पहिरोतिर हुत्तिन्छ ।

यो कुनै काल्पनिक घटनावर्णन होइन ।

यो बाजुराको  जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा एक्कासि आइपरेको विपत्ति हो ।

नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुशील खड्का यो घटनाका प्रत्यक्षदर्शी हुन् । सामाजिक सञ्जालमा सर्वत्र फैलिएको भिडिओ उनैले खिचेका हुन् ।

उनका अनुसार मध्यपश्चिम यातायातको भे १ ख २८३१ नम्बरको बस सुर्खेतबाट जुम्लाका लागि छुटेको थियो । कर्णाली करिडोरअन्तर्गत बाजुराको भुकाहा खोलाको पहिरोग्रस्त क्षेत्र पुग्दा बसमा ९ जना यात्रु, चालक र सहचालक थिए ।

उक्त भुकाहा खोला पहिरो गइरहने ठाउँ हो । त्यस ठाउँमा पुग्नेबित्तिकै यात्रु, चालक, सहचालक भगवानको नाम पुकार्छन् ।

जगन्नाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने त्यस ठाउँमा मध्यपश्चिम यातायातको उक्त बस पुग्नेबित्तिकै स्टार्ट बन्द भयो ।

स्टार्ट बन्द भएपछि चालकले जुक्ति लगाउँदै पछाडिरहेको ट्रकको अघिल्लो भागमा डोरी बाँधेर बसलाई तान्न थालिएको थियो ।

पत्रकार सुशील खड्काका अनुसार ट्रकले पछाडि तान्दा अचानक डोरी चुँडियो र बस कच्ची सडकको दलदलजस्तो ठाउँमा फस्न पुग्यो ।

त्यसपछि त्यही बसमा सवार यात्रु र रोकिएका गाडीका अन्य यात्रुहरूसमेत भएर बसलाई दलदलबाट पाखा लगाउन ठेल्दै थिए । सोही क्रममै सडकमाथिको पहिरोबाट भीमकाय ढुंगा उछिट्टिएर आएको थियो ।

उक्त पहाडजत्रो ढुंगाले बसको अघिल्लो भाग क्षतविक्षत तुल्याउँदै सडकबाट तल खसालेको थियो । सुरूमा ढुंगाले सडकबाट छेउ लगाए पनि केही समयपछि आएको सुख्खा पहिरोले बसलाई पहिराको बीचमा पुर्‍याएको थियो ।

बस अहिले पूर्णरूपमा क्षतिग्रस्त छ ।

पत्रकार खड्का अनुसार चालक दुई सेकेन्डले मृत्युबाट बाँचेका थिए । भिडिओमा बताइएअनुसार उक्त बसका चालक पहिरो झर्दासम्म बसभित्रै थिए । माथिबाट ठूलो ढुंगा उछिट्टिएको देखेपछि हाम फालेर ज्यान जोगाएका थिए ।

बसबाट सबै यात्रु ओर्लिएको र पहिरोबाट ढुंगा गुल्टिएको भेउ पाएर चालक हाम फाल्न भ्याएकाले सोमबार भुकाहा खोलाले मानवीय क्षतिको साक्षी बस्नु परेन । त्यहाँ मृत्युको शोधधुन बजेन ।

तर सामाजिक सञ्जालमा सेयर भइरहेको उक्त विपत्तिको दृश्यले सडक मार्गको आवरणको मृत्यु मार्गको चित्र देखाएको छ । र, सबको मन कँपाएको छ ।

केही दिनअघि कर्णाली प्रदेशको मनै कुँड्याउँने यस्तो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । जहाँ केही महिलाहरू पहिरो छिचोल्दै आफ्नो गन्तव्यतर्फ गइरहेका हुन्छन् । केही पुरूषहरू पहिरोवारि नै बसेर ढुंगा लड्छ कि लड्दैन भनेर नियालिरहेका हुन्छन् ।

महिलाहरू पहिरोग्रस्त ठाउँको बीचबीच के पुगेका हुन्छन्, अचानक ढुंगा गुड्न थालिहाल्छ ।

वारिबाट मानिसहरू ‘फर्ककर्क.. ढुंगा खस्न लाग्यो...’ भनेर चिच्याउँछन् ।

त्यही बेला ठूलो ढुंगा गुल्टँदै महिला भएतिर आउँछ ।

समूहभन्दा केही अगाडि रहेकी महिला ज्यान जोगाउन दौडन्छन् । उनी ढुन्मुनिँदै तल पुग्न भ्याएकाले उक्त विपत्तिबाट जोगिन्छिन् ।

मृत्युको भुँवरीबाट महिलाहरू बालबाल बँचेको कहालीलाग्दो भिडिओ सोसल मिडियामा अहिले पनि दौडिरहेको छ ।

नेपालले सडक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय फड्को मारेको साँचो हो । पहिले हप्तौंसम्म हिँडेर छिचोल्नुपर्ने दूरी आज सडक मार्गले जोडेका छन् । एक दिनमै पुग्न सकिने बनाइदिएका छन् ।

सबै जिल्ला सदरमुकामका सडकको पहुँच पुगेको छ । ठूला नदीपिच्चे करिडोर बनेका छन् । हुलाकी, महेन्द्र राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी गरी पूर्वपश्चिम फैलिएका चारवटा राजमार्ग बन्न लागे । उत्तर–दक्षिण जोड्ने सडक पनि यही रफ्तारमा बनिरहेका छन् ।

देशका कुनै डाँडा बाँकी छैन, जहाँ डोजरले नचिथोरेका होस् ! बाटो नपुर्‍याइएको होस् !

आर्थिक सर्वेक्षणअनुसार २०८२ को फागुनसम्म नेपालमा ३६ हजार ८०६ किलोमिटर सडक निर्माण भएको छ । जसमध्ये कालोपत्रे सडककै हिस्सा बढी छ । २०८२ फागुनसम्म २० हजार ४५६ किलोमिटर कालोपत्रे सडक बनेको छ । ग्रावेल ७६०२ किलोमिटर बनेको छ । कच्ची सडकको लम्बाइ ८ हजार ७४८ छ ।

झण्डै ३७ हजार किलोमिटर सडक बने पनि यी सडक सुरक्षित छन् ?

हाम्रो कष्टकर यात्रालाई सवारी साधनले सुगम तुल्याउँदै लगे पनि हामी सुरक्षित यात्रा गरिरहेका छौं त ? कतै हामीलाई दुर्घटनाले बाटो ढुकेर त बसेको छैन ? हाम्रो सडक धराप थापेजस्ता छ छैनन् ?

दिनहुँ हुने डरलाग्दा दुर्घटना, विपत्ति, बाढी, पहिरोका घटनाले यही प्रश्न मात्रै उठाएका छैनन्। हाम्रो यात्रा सुरक्षित नरहेको उत्तर पनि दिएका छन् ।

अझ दुःखलाग्दो कुरा हातपाखुरा बजारेर परिवार पाल्ने र देशलाई पनि योगदान दिने उमेरसमूहका मानिसहरूले सडक दुर्घटनाबाट ज्यान गुमाइरहँदा कसैको पनि मन पोलेको छैन । जसको प्रत्यक्ष असर घरको चुह्लोचौकामा मात्र होइन, राष्ट्रिय अर्थतन्त्र, देशको ढुकुटीमा परिरहेको छ ।

श्रमसीप खर्चेर परिवार पाल्ने मानिसलाई सिंगै परिवार लागेर स्याहार्नुपर्ने विडम्बनापूर्ण दृश्य पनि समाजमा देखिन्छ ।

सडक दुर्घटनाले कसरी मानिसहरूको ज्यान निलिरहेको छ ? नागरिकहरू कसरी खँजाहा बनिरहेका छन् भन्ने थाहा पाउन एकैछिन पछिल्लो केही दिन यताको दुर्घटनाको तथ्यांक हेरौं ।

नेपाल प्रहरीका अनुसार साउन १६ गते सवारी दुर्घटनाबाट २४ घण्टामा ८ जनाको ज्यान गएको थियो । ९० जना घाइते थिए । साउन १७ गते ३ जनाको मृत्यु ९८ जना घाइते थिए । साउन १८ गते ९ जनाको मृत्यु ९५ जना घाइते थिए । साउन १९ गते २ जनाको मृत्यु १०५ जना घाइते थिए । साउन २० गते ४ जनाको मृत्यु १०० जना घाइते थिए । साउन २१ गते ७ जनाको मृत्यु १०४ जना घाइते, साउन २२ गते ५ जनाको मृत्यु १०८ जना घाइते थिए । साउन २३ गते ४ जनाको मृत्यु, ११६ घाइते र साउन २४ गते ५ जनाको मृत्यु, १२७ घाइते थिए ।

प्रहरीकै तथ्यांक केलाउँदा सवारी दुर्घटनाबाट नेपालमा २४ घन्टामा सरदर ६ जनाको मृत्यु र सयजनाभन्दा बढी घाइते हुन्छन् ।

पछिल्लो १८ वर्षमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या कहालीलाग्दो छ ।

आर्थिक वर्ष २०६५–०६६ यता सवारी दुर्घटनामा ३९ हजार ५७० जनाको ज्यान गएको छ । दुई लाख ६६ हजार ६४७ सवारी साधन गम्भीर दुर्घटनामा परेका छन् ।

यसबाट अंगभंग हुने नागरिकको संख्या ८३ हजार १२ जना पुगेको छ ।

आर्थिक वर्ष २०८२–०८३ मा सबैभन्दा बढी २९ हजार ९८८ सवारी साधन दुर्घटनामा परेका छन् । आर्थिक वर्ष २०७८–०७९ मा सबैभन्दा बढी २ हजार ९९३ जना नागरिकको मृत्यु भएको छ ।

१८ वर्षको तथ्यांक केलाउँदा सवारी दुर्घटनाको संख्या करिब २.९ गुणाले बढेको देखिएको छ । मृत्यु करिब ६.२ प्रतिशतले बढ्दै आएको देखिन्छ ।

के कारणले देशले काम गरेर खाने, उत्पादनशील उमेर समूहका मानिसहरू सडक दुर्घटनामा गुमाइरहेको छ भन्ने प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ । 

पछिल्लो दशकमा हाम्रो ध्यान बाटो खन्नेमै गयो । जोखिमयुक्त भूबनोट, पानीको निकास, खोला, खोल्सा, नदीको बहाव जस्ता आधारभूत कुरा नबुझी जहाँ मन लाग्यो त्यहाँ हेभी उपकरण प्रयोग गरेर बाटो खन्दा ती विपदका कारक बनिरहेका छन् । दुर्घटनाको माध्यम बनिरहेका छन् । 

नेपालका डाँडाकाँडालाई विश्वकै कान्छो पहाड भनिन्छ । २४ घन्टामा १५० भन्दा कम मिलिमिटर वर्षा हुँदा नै ठूलो पहिरो चलेर जुरेजसरी गावैँ बगाउन सक्छ । सिमलतालको सिँदुरे गहिरोजस्तो खोल्सो उर्र्लिएर दुईवटा यात्रुवाहक बस त्रिशूलीमा खसालिदिनसक्छ । झ्याप्ले खोलाजस्तो ठाउँमा पहाडै बगेर पचासौं जना मानिसको मृत्यु हुनसक्छ ।

यस्तो संवेदनशील बनोटयुक्त पहाडमा ठूला उपकरणहरू प्रयोग गरेर बाटो खन्न नहुने विज्ञहरूले औंल्याइरहेका छन् । हाम्रो देश भूकम्पीय जोखिमको क्षेत्र हो । पहिरो थामिएपछि बसेका बस्ती छन् । पहाडी बनोट छन् । वनउपवन पनि छन् । भूकम्प, भूस्खलनले थिलोथिलो बनाएको संरचना छन् ।

यस्तो संवेदनशील क्षेत्रमा बिनाइन्जिनिरिङ सडक खन्नु जोखिमयुक्त हुने पूर्वाधारविद्हरूले बताउँदै आएका थिए ।

एकै झलकमा काम देखिइहाल्ने हुँदा तीनै तहको सरकारको प्रतिस्पर्धा मोटरबाटो खन्नमै छ ।

जसले पनि दुर्घटना निम्त्याउन सघाउ पुर्‍याइरहेको छ ।

बाजुराको भुकाह खोलाको जस्तो दुर्घटना यसैका कारण पनि हुन्छ ।

त्यसैले विश्व बैंकले सुरक्षित सडकको अवधारणा कार्यान्वयन गर्न नेपाललाई सुझाव दिएको थियो ।

सडक निर्माण गर्दा नै ‘सेफ सिस्टम’ दृष्टिकोण अपनाउन,

निर्माण भइसकेका र नयाँ बन्ने सडकहरूको नियमित सुरक्षा अडिट गरी उच्च जोखिम रहेका क्षेत्र पहिचान गरी सुधार गर्न सुझाव दिँदै आएको थियो ।

पहाडी सडकहरूको घुम्ती र भीर भएका स्थानमा बलियो क्र्यास बियरिङ, सडकको किनारामा सुख्खा पहिरो, पहिरोग्रस्त, जोखिमयुक्त ओरालो, घुम्ती बताउने आदि चेतावनी चिह्नहरू र पर्याप्त प्रकाशको व्यवस्था गर्न भनेको थियो ।

यसबाहेक हाम्रो यातायात क्षेत्रमा अर्को ठूलो समस्या छ– माटे सडक खनिनसक्दै गाडी चलाउन बस समितिहरूलाई अनुमति दिइहाल्ने । यसले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ । अझ चाडपर्वका बेला भर्खरै खनेका, सफा नगरिएका, हिले ट्र्याकमा खचाखच यात्रु ओसार्दा दुर्घटना भइरहेका छन् ।

यसबाहेक सवारी साधनको नियमित परीक्षण पनि हुने गरेको देखिँदैन । सरकारी एवम् नियमनकारी निकायले यान्त्रिक परीक्षण प्रबन्ध पनि गर्न सकेको छैन । 

सवारी साधनहरूको प्राविधिक अवस्था (ब्रेक, टायर, लाइट आदि) जाँच गर्ने प्रणालीलाई अनिवार्य र प्रभावकारी बनाउने हो भने पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

यस्तै, लाइसेन्स प्रणालीमा सुधार ल्याउन पनि विश्व बैंकले नै सुझाएको थियो । चालक अनुमति पत्र वितरण प्रक्रियालाई थप वैज्ञानिक र कडा बनाउने, जसमा चालकको सीप र ट्राफिक नियमको ज्ञान अनिवार्य रूपमा परीक्षण गर्ने हो भने पनि दुर्घटनाको अंक घटाउन सकिन्छ ।

हामीकहाँ अहिले पनि सडक हेर्ने निकायको जुलुस छ भन्दा फरक पर्दैन । यातायात व्यवस्था विभागदेखि सुरक्षाअंगसमेत सडकमै खटिएका छन् ।

तर दुर्घटनाका बेला सडक सुरक्षा प्रहरीको एक्लो जिम्माको क्षेत्रजस्तो देखिन्छ । गौँडागौँडामा बसेर सुरक्षा जाँचदेखि दुर्घटनाका बेला उद्धारसम्ममा प्रहरी मात्रै खटिएको हुन्छ ।

अपजसको भागिदार पनि प्रहरी मात्रै हुने गरेको छ ।

जबकि नियमनकारी निकाय प्रहरी मात्रै होइन यातायात व्यवस्था विभाग नै हो ।

निकायको भीड तर परिणाम भने शून्य हुने अवस्था चिर्न विश्व बैंकले नै नेतृत्वदायी निकायको स्थापना गर्न सुझाएको थियो । 

सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्न र विभिन्न सरकारी निकायबीच समन्वय गर्न एक शक्तिशाली केन्द्रीय सडक सुरक्षा परिषद् वा निकायको गठन गर्न भनेको थियो ।

बहस चले पनि सरकारले यसलाई कार्यान्वयनमा ल्याएको देखिँदैन ।

यसका अतिरिक्त सडक सुरक्षासम्बन्धी विद्यमान कानुनहरूलाई अद्यावधिक गर्ने, इजाजतभन्दा बढी यात्रु ओसारपसार, तीव्र गतिमा रोक लगाउने, सिट बेल्टको प्रयोग गर्न लगाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यविरुद्ध कडा सजायको व्यवस्था गर्ने जस्ता क्रियाकलापले पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।

बाढी, पहिरोजस्ता विपत्ति टार्न नसकिएला तर सरकार, व्यवसायी, चालक र यात्रु स्वयम्को लापरवाहीले हुने सडक दुर्घटना न्यून गर्न सकिन्छ ।

एकैछिनको हतारो, अरू सवारीलाई उछिन्ने स्वभाव, दुई चारजना यात्रु भने पनि बढी हाल्छु भन्ने लोभ, हेलचेक्र्याइँ, सानै खोला–पहिरो त हो नि पार गरिहाल्छु नि भन्ने हेपाहा प्रवृत्ति जीवनभर पछुताउने कारण बन्न सक्छ ।

बर्खाको बेला छ– सोची, हेरी, मौसम बुझी यात्रा गरौं । सरोकारवाला निकाय त यहाँ सधैँ निदाइ नै रहन्छन् ।

* * *

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।