नेभिगेशन
सबै कुरा

‘सगरमाथाको चुचुरो टेकेपछि संसार जिते झैँ भयो’ - अनाेज थापा

काठमाडौँ । धादिङ गजुरीका अनाेज थापा पर्यटन क्षेत्रमा लागेको १२ वर्ष भयो । पथ प्रदर्शक ( ट्रेकिङ गाइड ) का रुपमा नेपालका हिमाली क्षेत्रमा आउने पर्यटकलाई घुमाउने थापाले विशेष गरेर अन्नपूर्ण क्षेत्रमा लामो समय काम गरे ।पथ प्रदर्शकका रुपमा विदेशीलाई नेपालको हिमाल र हिमाली कथाबारे वर्णन गर्दा गर्दै उनको मनमा आफू पनि आरोही बन्ने सपना पलाउँथ्यो । ‘गाइडका रुपमा हिमालका फेदिमा पुग्दा एक दिन यो हिमाल चढ्न पाए भन्ने हुन्थ्यो,’ अनुज भन्छन्, हिमाल आरोहण गर्नेहरूसँग जिस्क्याउँदै लौन मलाई पनि कसैले हिमाल चढाइदेऊ भन्थे । तर जसले पनि मलाई हिमाल चढ्न हिँड्नु पर्छ । बोकेर त कसले चढाउँछ र भन्थे ।’ पद यात्राकै क्रममा अनुजको भेट इलाइट एक्सपेडका किर्तिमानी आरोही मिङ्गमा ग्याबु शेर्पा (मिङ्गमा डेविट) सँग भेट भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

पदयात्रामा हिँडिरहेका युवा गाइड अनुजलाई निर्मल पुर्जासँगै काम गर्न अफर गरे । अनुजले त्यसलाई स्वीकार गरे । सहकार्य सुरु भएकै वर्ष उनले इलाईटबाट अमादब्लम हिमाल चढे । ६ हजार मिटर मात्रै उचाइ तर चढ्नका लागि कठिन र प्राविधिक रुपमा जटिल मानिने हिमाल उनले गत वर्ष चढे । निम्सले उनलाई एभरेष्ट चढ्नु पर्छ भनेर प्रेरणा दिए ।

नभन्दै अनुज यो सिजन आरोहण दलको सदस्यको रुपमा सगरमाथाको उचाइ चुमे । बि.स. २०८१ जेठ ७ ( २० मे, २०२४ ) मा उनले सगरमाथाको सफल आरोहण गरे ।  अर्थात २६ वर्षको उमेरमै सगरमाथाको सफल आरोहण गरेका अनुज आफ्नो सगरमाथा अनुभवलाई अविष्मरणीय मान्छन् । सगरमाथाको आरोहण गरेर चुचुरो चुमेपछि संसार जितेको अनुभव भएको उनी सुनाउँछन् ।

सगरमाथाको चुचुरोमा ४५ मिनेट बिताएका उनले आफूलाई तल ओर्लिन मनै नलागेको समेत सिधाकुरालाई बताएका छन् । सगरमाथा आरोहणका आरोह र अवरोहबारे उनीसँगको संवाद विस्तृतमा यहाँ प्रस्तुत गरिएको छ ।      

 स्वास्थ्य कस्तो छ ? यात्रा कस्तो भयो ? 

एक पटक खोकी र टाउको पनि नदुखी काठमाडौं फर्केको छु । सारै मज्जा आयो । निकै राम्रो छ । ठिक छ । भगवानको कृपाले राम्रो भयो । 

आरोहण यात्रामा कति दिन बिताउनु भयो ? सगरमाथा क्षेत्रमा ?

काठमाडौं हुँदै नाम्चे, गोक्यो हुँदै चोलापास पुगियो । त्यसपछि बेस क्याम्प पुगियो । आरोहणका लागि कम्पनीबाट आउनु भएका विदेशी पाहुनाहरू पनि त्यहाँ आइपुग्नु भयो । आरोहणको तयारी, आरोहण लगायतका सबै काम सकिएर ६५ दिनमा काठमाडौं फर्कियौँ ।     

सगरमाथाको चुच्चोमा पुग्दा समय कस्तो थियो ? तपाईंको के सोचिरहनु भएको थियो  ?

क्याम्प ४ बाट हामी राति  ११ बजेतिर हिँड्यौँ । मौसम एकदमै बिग्रिएको थियो । हावा हुन्डरी र हिउँ परिरहेको । हात खाला कि खुट्टा खाला की भन्ने डर थियो । तर, जुत्ता र पञ्जा राम्रो भएका कारण पञ्जालाई हिटिङ गरेर अगाडि बढेँ । फर्किनु पर्ने जस्तो त्यो ३ घण्टाको मौसममा हिँड्नु पर्दा मनमा डर र भय पनि थियो । तर, बिस्तारै उज्यालो हुन थाल्यो । मौसम पनि राम्रो हुन थाल्यो । बाल्कोनी पुगेको थिएँ । सूर्योदय भयो । पुरै तिब्बत रातो थियो । मैले यति राम्रो सूर्योदय कहिल्यै देखेको थिइन । त्यो साँच्चै म्याजिकल थियो । 


अब नयाँ आशा र उत्साह पलायो । केही साथीहरू चुचुरो पुगेर फर्किदै थिए, कोही जाँदै थिए । बाटोमा फर्किएकालाई सोध्थे कति समय लाग्छ ? उनीहरूले भन्थे ३० मिनेट, एक घण्टा..यस्तै यस्तै । म  बिहान १० बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेँ । जब चुचुरो पुगेँ खुसीले आँखा रसायो । हिमालमा ट्रेकिङ गरेको १०/१२ वर्षको अनुभव थियो । गत वर्ष मात्रै सगरमाथा क्षेत्रमा पुगेको मान्छे म दोस्रो पटक सो क्षेत्रमा पुगेकै बेला सगरमाथाको चुचुरोमा पुगेँ । यो सबै मेरो साथीहरू, र आफन्त र परिवारको मायाको कारण हो । सगरमाथा देखेको महिनामै चुचुरोमा पुगेपछि म पुगेँ भन्ने कुरोले मलाई भावुक बनायो । घर परिवार, आफन्त, साथीभाइ सम्झिएँ । अब एकछिन बस्नु पर्छ भनेर टपमा बसेँ । 

तपाईं चुचुरोमा कति समय बस्नु भयो ?    

म चुचुरोमा ४५ मिनेट बसेँ । फोटो भिडियो खिचे । चुचुरोमा आइपुगेका अन्य आरोहीहरूको फोटो र भिडियो पनि खिचेँ । चुचुरोमा बस्दा अक्सिजन नलगाई बस्न सकिन्छ की सकिन्न भनेर प्रयास गरे । सकिने रहेछ ।

झण्डै एक घण्टा संसारको अग्लो ठाउँमा बिताई रहँदा मनमा के खेलिरहेको थियो ?

खासमा मलाई त्यो ठाउँबाट ओर्लिनै मन नै थिएन । चुचुरोमा पुगेपछि सबै दुःख भुलिने रहेछ । संसार जिते जस्तो भएको थियो । तर, अर्को सत्य यात्रा त आधी मात्रै भएको थियो । फर्किनु पर्यो । समयको महत्व त बुझ्नु पर्यो ।
आरोहण सुरुआत कै दोस्रो पटकमा सगरमाथाको चुचुरोमा पुगिसक्नु भयो । विश्वको सर्वोच्च शिखरमा पुग्ने आँट कसरी आयो ? पृष्ठभूमि बताइदिनुहोस् न । 
सबैभन्दा पहिला त आँट जुटाएँ । पोहोर साल एभरेष्ट पहिलो पटक गएको हुँ । मलाई मिङ्मार डेभिड दाइ र निम्स दाइले आँट दिनुभएको हो । म ट्रेकिङ गरेको १०/१२ वर्ष भयो । म १८/१९ वर्षदेखि ट्रेकिङ गर्न थालेको हो । ट्रेकिङ गर्ने क्रममा अन्नपूर्ण धेरै घुमेँ । आफ्नै काम गर्थे पहिला स्वतन्त्र रुपमा ।

त्यो गर्दागर्दै डेभिड दाइसँग भेट भएपछि दाइलाई मैले मलाई काम दिनुस् भने । म तपाईँको भारी बोकिदिन्छु मलाई हिमाल चढ्न लिएर जानुस् न दाइ भनेँ । त्यो क्रममा डेभिड दाइले मलाई, ‘मैले तिमीलाई लिएर त जाने । तर, मैले नै तिमीलाई बोकेर ल्याउनुपर्यो भने के गर्ने भाइ भन्नुभयो ।’ त्योसँगै मेरो स्काउटको ट्रेनिङ, बाहिरतिर हिँडिरहेको भएर ज्यानले पनि धेरै साथ दियो । त्यो सँगसँगै डोरी खेलाइरहेको बानी, इक्युपमेन्ट ( हातहतियार)सँग खेलिरहेको बानी, अनि सामान जुटाउन पनि मलाई गाह्रो भएन । यसपालि मलाई मिङ्मार डेभिड दाइले सहयोग गर्नुभयो । पोहोर साल जाँदाचाहिँ म निम्स दाइको टिमलाई बेस क्याम्पमा सर्भ गर्न बसेको थिएँ । पोहोर साल जाँदा पनि मलाई मेरो ज्यानले साथ दिएको थियो । तलमाथि गर्दा मलाई चाहिँ मेरो ज्यानले लेक पचाउँछ है भन्ने लागेको थियो । पोहोर साल पनि लगभग ७०/८० दिन एभरेष्ट बेस क्याम्प बसेको थिएँ, त्यो बेला नै माथि ( चुचुेरो ) जान पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । 

पहिलो पटक यसपालि खुम्बु आइसफल तर्दा मलाई डर लागेको थियो । खुम्बु आइसफल रातीराती तर्छौँ । पहिलो पटक खुम्बु आइसफल तर्दा त रातिको समय थियो । हाम्रा साथीहरू तुफान हिँड्नुभयो । शेर्पा दाजु भाइहरू यति चाँडो हिँड्नुहुन्छ कि सँगै हिँड्नै नसक्ने । तपाईँहरू जाँदै गर्नुस् न म आउँदै गर्छु भनेर हाम्रो क्याम्प टु को कुक दाइलाई मैले दाई तपाईँ म सँगै जानुपर्छ है भनेँ । त्यसपछि उहाँ सँगसँगै बिस्तारै गएँ ।

फस्ट रोटेसन गएँ आएँ । मलाई एकदमै रहर थियो खुम्बु आइसफल देख्दा चाहिँ एकदमै रमाइलो अनि डरलाग्दो ठाउँ । के गर्ने, कसो गर्ने, मेरो स्किलले भ्याउँदैन होला जस्तो लाग्थ्यो तर त्यस्तो भएन । मेरो पहिलेदेखिको क्लाइम्बिङ स्किल, ज्यान पनि मोटोघाटो छैन, ज्यानले साथ दियो । म स्काउटमा तालिम पनि गरिरहने भएका कारण पनि सजिलो भयो । जे होस्, सजिलो भयो उकाली ओराली गर्दाखेरी । हल्का टेक्निकल पार्टहरुमा पनि सक्ने, गाउँघर नि डुलिरहेको हुनाले सहज बन्यो । हिमालकै छोरो भएकाले पनि त्यस्तो  धेरै गाह्रो चाहिँ भएन । 



समिट जाँदाखेरी तीन ठाउँ भासियो खुम्बु आइसफल । खुट्टा कामेको थियो एकचोटी तर त्यसबाहेक ६/७ पटक खुम्बु आइसफल तरेँ र क्याम्म ‘फोर’ सम्म रोटेसनमा पनि गएको थिएँ । क्याम्प ‘फोर’ रोटेसनमा गएका कारण समिट नजिक पनि देखिएको थियो । यहीँ त रहेछ नी भन्ने लागेको थियो, त्यही भएर भित्रभित्रै मनोबल बलियो बनाएर गएको थिएँ । म जसरी पनि जान्छु किनकि मैले प्रतिनिधित्व गरेर मेरो साथीभाइ, मेरो घरपरिवार थुप्रो जनालाई चाहिँ मैले लिएर जाँदै गरेको छु भन्ने लागेको थियो । त्यही मनोबलले म सगरमाथाको चुचुरोमा पुग्न सफल भएका हुँ । 

तपाईँलाई खुम्बु आइसफल तर्दा एकदमै डर लागेको थियो भन्नुभयो । त्यो बेला के भएको थियो ?

मेरो त्यो पहिलो पटक थियो नि त । साथीभाइहरू छिटोछिटो जाने । हिजोमात्रै बाटो खुलेको, आज सामान पुर्याउन जाने है भन्ने भयो । अनुज तिमी जाने माथि ? भनेर दाइले सोध्नुभयो । मलाई पनि हेर्न मन थियो । ‘जाउँ न म पनि जान्छु’ भनेँ । हल्का सामान बोकेर, खानेकुरा सहित लगभग ८/१० किलोको सामान बोकेर म यात्रा गर्न सुरु गरेँ । हामीले करिब १० बजेतिर बेस क्याम्पबाट यात्रा सुरु गर्यौँ ।

दाइहरू अघिअघि लागिसक्नु भएको थियो । मलाई चाहिँ बिस्तारै बिसाएर हिँड्ने बानी छ । यसो २ मिनेट बिसाउँदा दाजुहरू डाँडा काटिसकेको हुने । धन्न एउटा दाइ हुनुहुन्थ्यो, उहाँलाई साथी बनाएर बिस्तारै बिस्तारै गएको हो । पहिलोपटक भएर होला डर लागेको । त्यो आइस कतिबेला भत्किने हो थाहा छैन । कहाँनेर के हुने हो थाहा छैन, बाटो कति टाढा छ भन्ने पनि थाहा छैन । त्यो कारणले पहिला डर लागेको थियो ।

दिउँसोको समयमा किन जोखिमपूर्ण रहेछ खुम्बु आइसफल ?

खुम्बु आइसफल सबै आइसको ढिक्का, त्यसमाथि पनि मुभिङ आइस । त्यो ग्लेसियर चाहिँ जतिबेला पनि मुभिङ भइरहेको हुन्छ । फ्रजाइल हुन्छ रातिको समय हिँड्नुको कारण चाहिँ रातिमा त्यो जमेर दह्रो बन्छ अनि जाँदा भत्किँदैन । सजिलो हुन्छ । दिउँसो हिँड्दा चाहिँ घामका किरण परावर्तन भएर आउने र हिँड्न गाह्रो हुने र भासिने हुँदो रहेछ । त्यही भएर राति हिँड्न चाहिँ उपयुक्त हुने रहेछ । 

यो भन्दा पहिले तपाईँले कुनै हिमालको आरोहण गर्नुभएको थियो ?

मैले गत वर्ष नोभेम्बरमा त्यही खुम्बु रिजनकै आमादब्लम ( ६,८१२ मिटर ) को हिमाल आरोहण गरेको थिएँ । यो हिमाललाई चाहिँ ‘टेक्निकल माउन्टेन’ पनि भनिन्छ । अन्य हिमालसँग दाँजो गर्ने हो भने त्यो हिमाल चढ्न एकदमै ‘क्लाइम्बिङ स्किल’ चाहिन्छ । त्यो हिमाल चढेर अलिकति हौसला मिल्यो । त्यो हिमाल चढ्न पनि अफिसबाटै समानहरु मिलेको थियो । मैले अहिलेसम्म हिमाल चढ्नलाई खासै सामान किनेको छैन । अफिसले नै धेरैजसो उपलब्ध गराइदिनु हुन्छ । सुरुमा चढ्न गाह्रो हुन्छ नै तर पनि आफूले गरेको मेहेनत, परिश्रमको फल चाहिँ मैले अहिले पाएँ झैँ लाग्छ ।

के अब फेरि सगरमाथा चढ्ने रहर छ ?

यो चाहिँ समयले बताउँछ । अस्ति त गएर आएँ, फेरी अर्को वर्ष जान्छु जस्तो लागेको छ किनकि मैले समिटबाट त्यत्ति राम्रो दृश्य देख्न पाएको थिइनँ । त्यसका लागि भएपनि एकचोटी चाहिँ जाने रहर छ । 

हिमाल आरोहण गर्ने मान्छेलाई रेकर्डको लोभ हुन्छ भन्छन्, तपाईँलाई चाहिँ त्यस्तो छ छैन ?

रेकर्ड नै बनाउँछु भन्ने चाहिँ छैन । तर, हिमालको यात्रा गर्दागर्दै रेकर्ड नै भएछ भने चाहिँ छुट्टै कुरा हो । तर, रेकर्डको पछि लाग्यो भने हिमाल जस्तो ठाउँमा ज्यान जाने जोखिम हुन्छ किनकि हिमालमा एकदमै रिस्क छ । आफ्नो ज्यानले नि साथ छोड्न सक्छ वा ‘न्याचुरल क्यालामेटिस्’ पनि हुन सक्छ । त्यसैले रेकर्डको पछि लाग्यो भने हिमालमा पछि पर्न पनि सकिन्छ । त्यसैले मलाई रेकर्डको लोभ छैन । 

हिमाल बारे यो देशले, राज्यले, नागरिकले बुझेको हिमाल र तपाईँले बुझेको हिमाल बीच फरक के छ ? हिमाल के हो ?

मलाई चाहिँ राज्य अनि नागरिकले हिमाललाई बुझेझैँ लाग्दैन किनकि हाम्रा लागि हिमाल अनि हिमालयन रेन्ज भनेको हाम्रो सम्पत्ति हो । हामीले हिमाललाई बचाइराख्यौ भने हामी मात्र नभएर हाम्रा पछिल्ला पुस्तालाई समेत यसले सहयोग गर्नेछ । हाम्रा पुस्ताको समेत भविष्य सुरक्षित छ । हाम्रा पुस्ताले नेपालमै प्रगति गर्न सक्छन्, विदेश जानु पर्दैन । 


हिमालमा हिउँ पग्लिँदै गइरहेको छ, अब चट्टान मात्र बाँकी रहँदैछ । विदेशीहरू जुन दृश्यका लागि आउँछन्, त्यो दृश्य नरहला । ग्लोबल वार्मिङ देखि लिएर हामी फोहोर गर्छौँ । यो बाहेक धेरै कुराहरू छन्, जुन सबै कुरा हाम्रो नियन्त्रणमा छैनन् । 
तर, पनि हामीले यी हिमाललाई बचाइराख्न के गर्न सकिन्छ भनेर सरोकारवाला सबैले एउटा प्लान एण्ड पोलिसी बनाएर अघि बढ्न पर्छ । हिमाल संरक्षणका लागि केही गर्न सक्यौँ भने चाहिँ भोलिका दिनमा राम्रो हुन्छ । हामी अनि नेपालको माथिल्लो बेल्टमा रहेका अधिकांश नागरिक तिनै हिमालमा निर्भर भएको अवस्था छ । 

भारी बोकेर हुन्छ कि, गाइड गरेर हुन्छ कि घरपरिवार पालिरहनुभएको छ । अझ आजभोली त देशभरका नागरिकहरू जीवन चलाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हिमालसँग जोडिरहनुभएको छ । हिमालमा रोजगारीको अवसर एकदमै धेरै छ । त्यसैले फेरी भन्दै छु, हिमाललाई संरक्षण गरेर राख्यो भने, हामी र हाम्रो आगामी पुस्ता विदेश जानु पर्दैन । हिमाललाई माया गर्न सकियो भने चाहिँ हिमालले हामीलाई पुग्छ । 

तपाईँहरू हिमालमा हुनुहुन्छ । तपाईँहरू जे गरिरहनुभएको छ त्यो नेपाली सञ्चार माध्यमको प्राथमिकतामा छ की छैन ? 

हो, त्यति धेरै छैन् । तपाईंले भनेजस्तै हाम्रो प्राथमिकतामा समाचार परे हुन्थ्यो भन्ने लाग्छ । हाम्रो प्राथमिकतामा चाहिँ अब कहाँ जाने ? यो ठाउँको अहिलेको स्थिति के छ ? अर्थात मौसमी रिर्पोटिङ भइदिए हुन्थ्यो ।  बाटोघाटो बुझ्थ्यौ । तर, हामी सिधै लोकल मान्छेलाई फोन गर्छौँ । हाम्रो लागि लोकल मान्छे सबैभन्दा ठूलो सञ्चार माध्यम हुन । हाम्रो लागि हिमालकै न्युज सबैभन्दा महत्वपूर्ण हुन्छ । के हुँदै छ त ? मुख्य त हिमालकै विषयमा जान्न खोज्छौँ ।  

अन्तमा केही भन्न चाहनुहुन्छ ? 

नेपाल र नेपाल बाहिर भएका सबैले देशलाई माया गर्न नछाड्नु । जन्मभूमिलाई माया गर्न नछाडौँ । विदेशमा हुनुहुन्छ भने नेपाल घुम्न आउनुस् । देशमै हुनुहुन्छ भने नेपाल घुम्नुस् । यत्ति भन्न चाहन्छु । 

  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी साधन अब अनलाइनबाटै दर्ता गर्न सकिने

उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुभारम्भ गरे । नयाँ प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकले अनलाइनबाटै आफ्नो...
सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

पर्यटन विभागले आज विज्ञप्ति जारी यही वैशाख १५ गते पहिचान नखुलेको मानव शव फेला परेको जनाएको छ । विभागका महानिर्देशक रामकृष्ण लामिछानेले सो शवलाई विभाग, नेपाल पर्वतारोहण सङ्घ...
अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

“हामी केटाकेटी हुँदा २०–२२ भैँसी चराएको । अन्तु डाँडा, बुधेडाँडा, उनीउटार, तकपत, छिरुवातिरका भैँसी चराउन र पानी खुवाउन यहाँ ल्याइन्थ्यो”, स्थानीय खगराज घिमिरेले भने, “दुई बजेपछि अन्धकार हुने...
अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

जसमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमन पर्यटक संख्याको करिब ३१ प्रतिशत हो।