नेभिगेशन
सबै कुरा

शिक्षाको उज्यालो खोज्दै हजुरआमाहरु

काठमाडाैँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुगिन् । उनी ओखलढुङ्गाको रातमाटेमा जन्मिएकी हुन् । सानोमा उनले विद्यालय टेक्नै पाइनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उनले भनिन्, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।” उनका चार सन्तानमध्ये जेठी छोरी राष्ट्रिय वाणिज्य बैङ्कमा जागिरे छन्। कान्छी छोरी र जेठो छोरो अष्ट्रेलिया छन् । कान्छो इन्जिनीयरिङ अध्ययनरत छन् । उनको श्रीमानको पेशा शिक्षण हो ।

Everest cinsult

पढाइ नहुँदा नीराले जीवनमा धेरै हन्डर भोग्नुपर्‍यो । श्रीमानको कमाइमा मात्र कति भर पर्नु भनेर छोराछोरी हुर्काउँदै उनले चप्पल उद्योगमा चार वर्ष काम गरिन् । नाम लेख्न नजान्दा सबै ठाउँमा  ल्याप्चे लगाउनुपथ्र्यो । “अरु सबै लेखपढ गर्न जान्ने थिए । म मात्रै अनपढ । अनपढ हुनु भनेको त मान्छे नै नहुनु जत्तिकै पो रहेछ”, उनले भनिन्।

एक वर्षअघिको कुरा हो । उनले छिमेकी दिदी कलम कापी बोकेर साँझमा घर फर्कँदै गरेको देखिन् । ती दिदीलाई सोध्दा बालकुमारी माध्यमिक विद्यालयमा पढेर आएको सुनाइन् । वयस्क उमेरका मान्छेलाई दैनिक दुई घण्टा पढाइ हुने खबर सुनेपछि उनी भोलिपल्टैदेखि जान तयार भइन् । 

पढ्न गएको पहिलो दिन उनी कक्षा कोठामै रुइन्। “सबै पढ्न लेख्न जान्ने देखेँ, मलाई क, ख पनि नआउने”, पहिलो दिन सम्झिँदै उनले भनिन् “मेरो जिन्दगी त बेकार नै रहेछ भन्ने लाग्यो अनि म त रोएँ ।” लगातार एक वर्ष कक्षा धाइसकेपछि उनको जीवनमा अहिले उज्यालो छाएको छ ।

हिजोआज उनलाई दिउँसोको धरधन्दा सकिनेबित्तिकै कापी कलम बोकेर स्कुल जाने हतारो हुन्छ । बेलुकी चारदेखि छ बजेसम्म सञ्चालन हुने कक्षामा सक्रिय भएर हुन्छ। नाम लेख्न, सामान्य लेखपढ गर्न, कतै बाहिर निस्किदा साइनबोर्डहरु पढ्न मज्जाले आउँछ उनलाई । घरायसी किनमेल गर्दा जोड, घटाउ, गुणन, भाग गर्न अरुलाई सोध्नु पर्दैन । “अहिले त फेसबुक पनि चलाउन जान्ने भएकी छु”, मुसुक्क हाँस्दै उनले भनिन्, “पढ्ने हुटहुटी यस्तो जागेर आयो कि एसइईसम्मै पढ्ने रहर लागेको छ ।”

कपनकै स्थायी बासिन्दा गङ्गा ढुङ्गानाको कपाल फुलिसके । उमेरले ६३ औं वसन्त टेकिसक्यो । नातिले यसपालि एसइई पास ग¥यो । उनी पनि नीराकी सहपाठी हुन् । सिन्धुपाल्चोक माइत भएकी उनको बिहे नौ वर्षमै भयो । “विद्यालय जाने र पढ्ने कुरा थाहा पाउनु त परै जावस् । बिहे के हो भन्ने थाहा नहुने उमेरमै बिहे भयो”, उनले ती दिन सम्झिइन्, “छोरी मान्छेको जात बिहे गरेर अरुको घर जाने र छोराछोरी जन्माउने मात्रै होला जस्तो लाग्थ्यो ।”

उमेर बढ्दै जाँदा थाहा भयो पढाइको महत्व । साइनबोर्ड पढ्न नजान्दा काठमाडौँमै पटकपटक हराउनुपर्यो । कुनै गाडी चढ्न खोज्दा कता जाने हो भनेर सोध्नुपर्ने बाध्यता । उनका पाँच नातिनातिना हुर्किसके । उनी पनि एक वर्षदेखि बालकुमारी माविमै सञ्चालित अनौपचारिक शिक्षा कक्षामा पढिरहेकी छिन् । 

छोरी मान्छेले पढ्यो भने पोइला जान्छन् भन्ने सुनेकी उनी बुढेसकालमा पढ्न पाउँदा औधी खुसी छिन् । कक्षा दुईसम्मको किताब पढ्न सक्ने भएकी छिन् उनी । “पढाइ भन्ने कुरा नमरेसम्म काम लाग्ने रहेछ । पढ्नु जान्नुको मज्जा बुझेपछि पढाइ छोड्नै मन छैन”, उनी भन्छिन् । 

काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ४४ वर्षिया निरु पराजुलीसँग पढाइलेखाइ नहुँदाका मर्मस्पर्शी घटना छन् । लेखपढ नभए पनि गीत गाउन, कविता भन्नमा उनको सानैदेखि रुची थियो । विसं २०५५ मा धादिङको एउटा साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर पाइन् । उक्त कार्यक्रममा कविता भन्ने पालो आयो उनको। मञ्चमा जाँदा खै त कविता ? भनेर सोधियो । उनले मलाई लेख्न आउँदैन मुखैले भन्छु भन्दा अवसर दिइएन । उनले आयोजकसँग धेरै अनुरोध गरेपछि कविता वाचन गर्न पाइन् । उनको मौखिक कवितालाई निर्णायकले लेख्य रुपमा उता¥यो र पुरस्कृत ग¥यो ।

“पढ्न लेख्न जान्नैपर्ने रहेछ भन्ने महत्व मैले त्यसैबेला महशुस गरेँ”, उनले भनिन्, “लेख्नै नजान्नेको कविता पनि पुरस्कृत भयो भनेर धेरैले कुरा काटे । त्यहाँदेखि मलाई पढाइको भोक जागेको हो । तर, पढ्ने अवसर पाइएन ।” काभ्रेको कोशीपारि धुसेनीमा जन्मिएकी उनलाई बुबाआमाले पढ्नै नदिएको भने होइन । चार दिदीबहिनीमा साहिंली निरुले त्यतिबेला पढ्ने मन गरिनन् ।

उनकी जेठी छोरी बेलायतमा छिन्। कान्छीको बिहे भइसक्यो । छोरो सानै छ । सुरुमा विकल्प महिला शिक्षा ज्ञान केन्द्रमा पढ्न थालेकी उनी पनि एक वर्षदेखि बालकुमारी माविमा सञ्चालित सन्ध्याकालीन अनौपचारिक कक्षामा सहभागी भएकी हुन् । अहिले गीत, कविता आफ्नै डायरीमा लेख्छिन्। सामान्य अङ्ग्रेजी लेख्न, पढ्न आउँछ । मोबाइलमा फेसबुक चलाउन सक्छिन् । “पढ्न जानेपछि जो कोहीको अगाडि बोल्न डर नलाग्ने रहेछ”, उनको अनुभव छ, “मनमा लागेका सबै कुरा गीत कविताको माध्यमबाट लेख्नु सजिलो हुने रहेछ ।”

उमेरले तीन बिसा (६० वर्ष) नाघ्ने तरखर गरिसक्यो देवकी ढकालको । तर, उनमा पढ्ने जोश १६ वर्षे झैँ छ । “पढ्ने कुरा सम्झिँदा त भर्खर १५ कटेकी छु जस्तो लाग्छ”, जोशिलो हुँदै उनले भनिन्, “मलाई त कम्तिमा एसइई पास गर्न पाए कस्तो हुन्थ्यो भन्ने पो लाग्दैछ ।”

सिन्धुपाल्चोकको सिन्धुकोट सिन्धुमसुरे माइत भएकी देवकीको लाखेपोखरीमा बिहे भयो । पछि काठमाडौँ आएकी उनको स्थायी बसोबास बुढानीलकण्ठ नगरपालिका–१२ मा छ । श्रीमान बितिसकेपछि उनी एक्लो जस्तो भएकी थिइन् । एक वर्षदेखि अनौपचारिक शिक्षामा कक्षा लिइरहेकी उनी कक्षाकै ‘ट्यालेन्ट’ मध्येकी एक हुन् ।

अहिले उनलाई सामान्य लेखपढ, हिसाब गर्न आउँछ । अस्पतालमा शय्या नं हेर्न, बैङ्कमा भौचर भर्न आफैँ सक्ने भएकी छिन् । कुन रुटको बस कता जान्छ भन्ने हेर्ने बित्तिकै थाहा पाउँछिन् । “मलाई त पनातिसँगै भए पनि एसइई दिउँ जस्तो लाग्दैछ”, उनले भनिन्।

अनौपचारिक शिक्षाको अवधारणा राम्रो भए पनि यसलाई थप व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ । अहिले कक्षा सञ्चालन भइरहेको विद्यालयमा कक्षाकोठा साँघुरो छ । बेलोबलामा सबैजना कक्षामा अट्नै गाहे हुन्छ । भर्खरै पढ्न आउने र एक वर्षदेखि पढिसकेका एकै ठाउँमा हुँदा पढाइको तालमेल नमिल्ने उनको गुनासो छ ।

तेह्र वर्षको उमेरमा बिहे गरेर २०५४ को स्थानीय निकाय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी देवकीलाई पढ्नु भनेको जीवनलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानु रहेछ भन्ने लागेको छ । “पढ्नलाई उमेरले नछेक्ने रहेछ । लेखपढ नगरी मरेको भए त स्वर्ग पनि गइन्न थियो कि जस्तो लाग्न थालेको छ”, उनी भन्छिन्।

उल्लिखित पात्रहरुभन्दा जेठी छिन् गोमा आचार्य । कपनमै बस्ने आचार्य ६९ वर्षकी भइन् । उनी पनि नीरा, गङ्गा, निरु र देवकीकै सहपाठी हुन् । बाह् वर्षको उमेरमा बिहे गरेकी उनी २०४५ सालमा काठमाडौँ आएकी हुन् । एक वर्षअघि कखरा पढ्न थालेकी उनले औँठाछापबाट मुक्ति पाएकी छिन् । “अर्को सालदेखि त भत्ता पाउँछु भनेका छन् । सबै कागजात बुझाइसकेँ”, उनले भनिन्, “अब भत्ता बुझ्ने बेला ल्याप्चे गर्नुपर्दैन, नाम लेख्न सक्छु ।”

सोलुखुम्बुको नेचासल्यानमा जन्मिएर ओखलढुङ्गाको च्यानम बिहे गरेकी दुर्गा अधिकारी ५३ वर्षकी भइन् । सानोमा दाजुले पढेपछि हुन्छ भन्ने लागेर उनी स्कुल गइनन् । सत्र वर्षमा बिहे भएको उनले त्यसपछि मात्र पढाइको महत्व बुझिन्। उनी सानो हुँदा कक्षा चारसम्म विद्यालय गएकी हुन्। त्यतिखेर पाटीमा माटो दलेर सिटाले लेख्नुपथ्र्यो । पढाइमा खासै ध्यान दिइनन् ।

अहिले दुर्गाले अनौपचारिक शिक्षाको कक्षा लिइरहेकी छिन् । एक वर्षमा जोड, घटाउ, गुणन, भाग गर्न सक्ने भइन् । ए, बी, सी, डी जानिन्। मोबाइल चलाउन सिक्दै छिन् । “नातिनातिनासँगै स्कुल जाउँ कि भनेको थिएँ तर त्यतिखेर जान सकिएन”, उनले भनिन, “अहिले पढ्न पाउँदा खुसी छु । तर, हामीले पढे अनुसार कक्षा चढ्दै जाने भए हुन्थ्यो ।”

बालकुमारी मावि फैँकामा उनीहरुजस्ता ४५ जना वयस्क र वृद्धा उमेरका महिला अनौपचारिक शिक्षाअन्तर्गत वडाले सञ्चालन गर्दै आएको कक्षामा पढछिन् । उनीहरुलाई ‘निरन्तर शिक्षा तह–१’ पुस्तक पढाउने गरेको स्वयंसेवी शिक्षिका रीता सिलवालले बताइन् । उक्त पुस्तकमा कक्षा एकदेखि दुई सम्मका विद्यार्थीले पढ्नेस्तरका नेपाली, अङ्ग्रेजी र गणितका पाठ्यसामग्री समावेश छन् । 

सामान्य लेखपढसमेत नभएका धेरै गृहिणी महिलाहरु कक्षामा आउन चाहेको उनको भनाइ छ । “यदि दिउँसो ११ बजेदेखि ३ बजेभित्र कक्षा सञ्चालन गर्ने हो भने कपनमै एक सय ५० जति गृहिणीहरु पढ्न आउँछन्”, उनले भनिन्, “तर हामीसँग त्यति सङ्ख्यामा पढाउने कक्षा कोठा र पढाउने जनशक्ति छैन ।”

बूढानीलकण्ठ–१२ मा अनौपचारिक शिक्षा कक्षा २०७० सालदेखि सुरु भएको हो । त्यतिखेर वडा नं १० मा बिन्दा गौतम, सावित्री भट्टराईलगायतका महिलामैत्री भन्ने एउटा मञ्च थियो । सोही मञ्चको नेतृत्वमा अनौपचारिक शिक्षा कक्षा सञ्चालन भएको हो । 

अहिले तीन वटा वडामा दुईजना स्वयम्सेवी शिक्षिकाहरुले पढाउँदै आएका छन् । उनीहरुलाई मासिक आठ हजार तलब सुविधा वडाले उपलब्ध गराएको छ । विविध कारणले सानोमा विद्यालय जान नपाएका गृहिणी महिलाहरु यी कक्षाका लक्षित समूह हुन् । “शिक्षा त्यस्तो शक्तिशाली हतियार हो, जसको माध्यमबाट तपाईं संसार बदल्न सक्नुहुन्छ”, भन्ने दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको भनाइ झैँ शिक्षाप्रति उनीहरुले देखाएको उत्साहले पक्कै समाज रुपान्तरणमा सहयोग गर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

नेपाल गरिखाने मान्छेहरूको देश हो भन्ने बनाउँछौँः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

त्यस्तै उनले इमानदार उद्योगी व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन नदिन काम गर्ने प्रतिवद्धता जनाएका छन् । ‘राज्यका कारण रोजगारी सृजना गर्नेले अब दुःख हैरानी पाउँदैन त्यसको...
सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्री रावलको चेतावनी: मार्ग प्रशस्त गर्नु, अर्को आउँछ

मन्त्री रावलले भनिन्,'जनतालाई सहज सेवा दिन सरकार जुनसुकै चुनौतीहरू पनि सामना गर्न पनि तयार छ, सरकारले खटाएको ठाउँमा जान्न भन्ने छुट कसैलाई छैन,नजाने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्छ ।
प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

प्रमुख प्रशासकीय अधिकृत विहीन रहेका ४ वटा उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।
काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

काठमाडौँका पूर्व सीडीओ छवि रिजाललाई  हाजिर जमानीमा रिहा गर्ने निर्णय

रिजाल जेनजी आन्दोलन भएको समयमा काठमाडौँका सीडीओ थिए । उनीमाथि भदौ २३ को आन्दोलन दवाउन दमन गरेको आरोप छ ।

भर्खरै