नेभिगेशन
सबै कुरा

रावणलाई जितेको खुसियालीमा बागलुङमा नाचिन्छ हनुमान नाच (भिडियो सहित)

बागलुङ । गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन् । नाच्नेहरू ‘हनुमानको स्वरूप’मा उत्रिन्छन् भने विभिन्न तालमा बाजा बजाउँदा अन्य व्यक्तिहरूको पनि शरीरमा कम्पन पनि हुने गर्छ । उनीहरूले ‘वीर चढेको भनिन्छ । उनीहरू अचेत जस्तै बनेर हल्लिन्छन् । नाचमा सहभागी पुजारीले वीर उठेका हनुमानलाई नियन्त्रणमा लिन्छन् । हनुमान नाचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् ।

Ncell
Extreme Energy

दुई÷दुई जनाको जोडी बनाएर सङ्गीतको तालमा नाच्नुलाई हनुमान नाचको रूपमा लिइन्छ । हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो । भूपतिन्द्र मल्लको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले संरक्षण गरेका हुन् । खर्चिलो नाचको रूपमा रहेको यो नाच व्यवस्थापनमै कठिन भएपछि तीन वर्षमा देखाइने नाच बिस्तारै पाँच वर्ष, सात वर्ष र अहिले नौ वर्षमा पुगेको स्थानीय मुकेशचन्द्र राजभण्डारी बताउँछन् ।  

यस नाच रामायण कथामा आधारित रहेको हनुमान नाच र देखाउने तालका कारण बुझ्न र देख्न सकिन्छ । रामको सेवकका रूपमा रहेको हुनमान रहेको भन्दै नाच शुभारम्भको दिन बागलुङ बजार परिक्रमासँगै बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित राम मन्दिर परिक्रमा गरेर फर्कने राजभण्डारीको भनाइ छ । अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

भक्तपुरका नेवार समुदाय १७६८ सालमा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेको पाइन्छ । बीचमा केही वर्ष हराएको नाचले २०१३ सालदेखि निरन्तरता पाउन थालेको हो । बागलुङ बजारको नारायण चोकबाट सुरु हुने उक्त नाचमा बागलुङ बजार हुँदै उपल्लाचौरको राम मन्दिर पुगेर फर्कने गरिन्छ । मङ्गलबारदेखि सुरु गरिएको हनुमान नाच चैतसम्म नाचिने हनुमान नाच संरक्षण परिषद् बागलुङले जनाएको छ । 

कोरोना कहरलगायतका कारण बीचमा केही वर्ष नाच रोकिएको मूल व्यवस्थापक ईश्वर मलेपतीले जानकारी दिए । २०७२ सालमा विधिवत नाचिएको नाच अहिले आएर नाचिन थालिएको छ । हनुमान नाच संरक्षण परिषद् बागलुङको पहलमा यहाँका नेवार समुदायका युवाहरू साउन महिनादेखि नै यसको तयारीमा जुटेका थिए ।

यस नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवा हनुमानको भेषधारण गरी नाच्ने गर्दछन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यसवर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडि सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताए । हनुमान नाचमा कलाकार बनेर सहभागी हुन कडा अनुशासन र आचारसंहिता पालना गर्नुपर्ने हुन्छ । नाचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने गरिन्छ ।  

बागलुङ नगरपालिका–३ नारायणचोकको भीमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हुनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने मूल व्यवस्थापक मलेपतीले बताए । “यो नाच नेपालबाटै लोप हुने अवस्थामा छ, संरक्षणका लागि ढिलै भएपनि नाच देखाउन थालिएको छ” उनले भने  । उनका अनुसार हुनमानको मूर्ति लिएर बजार परिक्रममा गरी नारायणचोक चौतारीमा स्थापना गर्ने र नाच विर्सजन गरेपछि पुनः मूर्तिलाई हनुमान मन्दिरमा लगेर राख्ने परम्परा रहेको छ । 

बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । हनुमान नाचमा १० ताल हुने गरेको मलेपतीको भनाइ छ । कुनै पनि ताल बजाउँदा कलाकारहरूले बरिब दुई इन्चको मोटाइ भएको १।५ फिट लामो गोलो आकारको डण्डीको एक छेउको टुप्पा भूईंमा टेकाई अर्को छेउमा आफ्नो दुवै हातले टेकी घोप्टो अवस्थामा अनुशासित र मर्यादित ढङ्गबाट अखेडामा रहनु पर्दछ । यसमा पहिलो ताल, सलामी ताल, छ ताल, १२ ताल, १६ ताल, घेरा हाल्ने ताल, आठ ताल, भजन ताल र २४ ताल र प्रस्थान ताल रहेका छन् । 

रामायण कथामा रहेको राम वनवास भएको समयमा सीतालाई हरण गरेपछि रावणले रामसँग गरेको टकरावलाई लिएर नाचको उदय भएको मानिन्छ । पौराणिक ग्रन्थ रामायणअनुसार मर्यादा पुरुष भगवान रामचन्द्रकी पत्नी सीतालाई लङ्काका राजा रावणले हरण गरी लग्दा हनुमानको सहयोगबाट सीतालाई फर्काउन सफल भएको खुसीयालीमा हनुमान नाचिएको इतिहास रहेको छ । 

हनुमानले रामका भाइ लक्ष्मण बेहोस हुँदा सञ्जीवनी बुटीका लागि पर्वतै उचाली उनको प्राण बचाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । वीर हनुमानमा निहित पराक्रम, विरता, अनुशासन, भक्तिभावलाई नृत्यको माध्यमबाट आराधना र प्राथना गर्नाले शक्ति मिल्छ भन्ने हिन्दू धर्मावलम्बीहरूको विश्वासले मल्लकालदेखि नै यो नाच नाचिने गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बडीमालिकामा द्रुत गतिमा टेलिफोन र इन्टरनेट पुर्‍याउन सञ्चारमन्त्रीले दिए निर्देशन

बाजुरा जिल्लाको विकट पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई कडा निर्देशन दिएका छन् ।
निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

निजामती कर्मचारीमा व्यापक 'रिफम' गर्दै सरकार, सचिव सहित पुराना १० हजार कर्मचारीलाई एकैपटक घर पठाइँदै

विशेषगरी सचिव, सहसचिव र उपसचिव तहका अधिकांश कर्मचारीहरू यो प्रावधानले अवकाशमा जानेछन् । यो व्यवस्था लागु हुँदा साथ ५० भन्दा सचिव स्वत अवकाशमा जाने छन् भने ६० प्रतिशतबढी...
कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

कीर्तिपुर होल्डिङ सेन्टरमा सीप सिक्दै सुकुम्बासी बस्तीका युवा(तस्बिरहरु)

सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधा स्वामी व्यास सत्संग होल्डिङ सेन्टरमा  आएका ४२ वर्षीय रबानी अन्सारीले सोही होल्डिङ सेन्टरमा बस्दै आएका सुमिन मगर, विजय मगर र आशिष श्रेष्ठलाई...
सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

सुरक्षित गर्भपतन सेवा असुरक्षितः रोकिएन अकालमा आमाहरुको मृत्यु

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर एक लाख पाँच हजार बढी महिलाले गर्भपतन सेवा लिएका  थिए । तीमध्ये २० वर्ष माथिका औषधि...