नेभिगेशन
सबै कुरा

मान्छे बेगरका घरहरु

लमजुङ । छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । “मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ”, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका–१० बोराङकी ८७ वर्षिया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीन जस्तै छिन् । उनको घर वरिपरिका झण्डै १५ घरमा ताल्चा झुण्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ ।

Ncell
Extreme Energy

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ । किनभने त्यो गाउँसँग उनको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ । “बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो,” उनी भन्छिन्, “हराउँदै गयो गाउँको रौनक ।” बिहे भएर आएदेखिको  उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर । “कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो”, उनी गाउँको विगत स्मरण गर्दै भन्छिन्, “अहिले घरहरु छन्, बस्ने कोही छैनन् । सबै शहरतिर लागे । सुख र सुविधाले त्यति तान्यो ।” 

छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसा बारीमा फलफुल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उनलाई खल्लो लाग्छ । कुनै समय थियो । “गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फुलफूल टिपेर बिठ्याइँ गरिदिन्थे”, उनको स्मृति बग्दै गयोे, “उतिबेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपथ्र्यो । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिदैनन् ।”

लमजुङको राइनास नगरपालिका–१० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन् । अधिकांश शिक्षक पेशामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । “यहाँका अधिकांश बुबाहरु शिक्षक पेशामै आबद्ध हुनुभयो भने छोराछोरी केहिले यही शिक्षण पेशा अपनाएका छन्”, रमादेवीका छोरा राममणि न्यौपानेले बताए । 

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुन् । उनका अनुसार टोलमा ५५ घरधुरी छन् । यसमध्ये मुस्किलले २६÷२७ घरमा मात्रै घरमुली बसोबास गर्छन् । अरु अधिकांश शहरतिरै त कोही विदेश पलायन छन् । शिक्षकहरु जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ । पाँच जनाको शिक्षक दरबन्दी घटेर अहिले दुई जनामा सिमित हुनुपरेको छ । 

कक्षा शिशुदेखि कक्षा ५ सम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एक जना मात्रै विद्यार्थी पढ्छन् । “गाँउमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?”, उनी भन्छन् । अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ । राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरु रित्तिदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । 

राइनास नगरपालिका–१० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी,  कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेती जस्ता उत्पादन र उद्यमशील काम भएका छन् । यद्यपि पालिकाले योजनाबद्ध ढङ्गमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय शहरमुखी हुन थालेको बताउँछन् ।  बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन् । “छरछिमेकी हुँदा गाहेसारो परेको बेला सहयोगी हात हुन्थे,” उन िभन्छन्,“अहिले विरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।” 

गाउँका युवा पुस्ताहरु रोजगारी र शिक्षा आर्जन गर्नका लागि शहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाद परिवार आउँछन नभए वर्षौदेखि घरले स्याहार नपाएको स्थानीयले बताए । प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उनीहरु तीनैजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौँ पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन् ।  मेरो वरिपरि त सबै घरमा ताला लागेको छ । “छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ”, उनी भन्छन्, “गाउँका टाढाबाढा मान्छेहरु नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।” 

गाउँको छेउँमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बूढाबूढीपछि पुख्र्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । उनको ठूलो छोरो चितवन रोजगारका सिलसिलामा उतै छन् । माइलो र कान्छो काठमाडौँमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरु जोड गरे पनि जन्मेलको थलो छोड्न मन नलाग्ने गरेको उनले सुनाए । “हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौँतिर बस्छौँ”, उनले भने, “किन बस्ने गाउँमा भो अब दुख गर्नु पर्दैन भन्छन् छोराहरु ।” बिरामी परेको बेला सिटामोल समेत पाउन मुस्कील हुने गाँउको दुःख सम्झीदा विष्णुहरीले गाँउको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन् । उनले भने जस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन । 

जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलीविस्तार लगाए । उनको पुर्खौली जिउने आधार खेती किसानी हो । सकि नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीले जस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन् । “अन्न लगायो बाँदरलाई बाख्रा पाल्यो बाघलाई”, उनी किसानले भोग्नु परेको पीडा सुनाउँछन्, “के खाएर बस्ने हो यो गाउँमा ? अनि शहर नपसे के गर्ने ?” 

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना नल्याएको गुनासो गर्छन्। रोजगारको अभाव, उद्यमशीलताका आधारहरु नहुँदा युवा पलयान भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै शहर पस्न थाले । यसले गर्दा गाउँ सुसनान हुँदै गएको उनले सुनाए । 

उनका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ । सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपाने गाउँ स्वर्गजस्तै रहेको बताउँछन् । धुलोधुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । परम्परागत रुपमा धान, गहुँ, मकैखेती गर्दै आएका यहाँका किसानहरुका अहिले अधिकांश जग्गा बाँझै छन् । “खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ । कृषिमा आधुनिकीरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...