नेभिगेशन
सबै कुरा

टुट्दैछ प्रेम, भत्किँदैछ परिवार र समाज !

काठमाडौँ । पार्टी प्यालेसको एउटा कुनाबाट एकजना युवक हतारिँदै स्टेजतर्फ चढ्न दौडिन्छन् । अगाडि र पछाडि क्यामेराका ताँती हुन्छन् । हुटिङ गर्ने दर्शक पनि टन्नै हुन्छन् । स्टेजको छेउ नजिक पुगेपछि ति युवकले मास्क खोल्छन् र सबैले उनलाई चिन्छन् विष्णु सापकोटा । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


सरप्राइज मुद्रामा स्टेजको सोफामा बसेकी चर्चित गायिका एलिना चौहान जुरुक्क उठ्छिन् । 

हतास र हतारमा दौडिएका सापकोटा स्टेजमा चढ्छन् र घुँडा टेकेर गुलाबको एक मुठा चौहानको हातमा थमाउँछन् । मेहन्दीमा सजिएकी एलिनालाई विष्णुको सरप्राइजपछि पार्टी प्यालेसको हलमा ताली र हुटिङको वर्षा हुन्छ । पृष्ठभूमिमा बजिरहेको हुन्छ उनै एलिनाले गाएको गीत ‘सोचिनँ सुहाउँछाै सुहाउन्नौँ, यति थाहाछ बाँचुन्जेल रुहाउन्नौँ ।’

एलिनालाई लिन विष्णु ४ वैशाखमै जहाजमा जन्ती लिएर झापा गएका थिए । वैशाख ५ मा उनीहरूको भव्य विवाह भयो । सयौँ आफन्त, परिवार र शुभचिन्तकका साथ उनीहरूले विवाह गरे । विवाहपछिको झण्डै साता दिन त उनीहरूकाे विवाहको उत्सव पार्टी नै चल्यो । हिन्दु धर्मअनुसार अग्नि साक्षी राखेर सात जुनी सँगै हुने कसम खाएर भव्य विवाह गरेको २८३ दिनमै एलिनाले विष्णुविरुद्ध गत माघ १८ गते सम्बन्ध विच्छेद्धको मुद्दा हालिन र २९ माघमा अदालतले उनीहरूको जोडीलाई छुट्याइदियो । 

000

नायिका वर्षा सिवाकोटीले काठमाडौँको रानीवनमा रहेको एक भिल्लामा २०७९ वैशाख ९ गते भव्य विवाह गरिन् । अमेरिका बस्ने आशिष गेलालसँग विवाह भएको ९ महिनामै वर्षाको पनि विवाह अन्त्य भयो । विवाह सम्बन्ध बिग्रिएकोबारे अनेकन चर्चाबीच उनको तत्कालीन श्रीमान् आशिष गेलालले अर्को विवाह गरेको तस्विर बाहिरिएको थियो । त्यसपछि विवाहबारे एक सञ्चार माध्यममा बोल्दै वर्षाले कानुनी रूपमै आफूहरू अलग भएको जानकारी दिएकी थिइन । 

एलिना र वर्षा पछिल्लो समय समाजले डिभोर्सबारे चासो र चर्चामा आएका केही पात्र मात्रै हुन् । कलाकारिता तथा सङ्गित क्षेत्रका लोकप्रिय अन्य कयौँ प्रतिभाहरूको निजी जीवनमा सङ्कट आएको समाचार पछिल्लो दशकमा बाहिरिएका छन् । गायक राजेशपायल राई, निशान भट्टराई, गायिका अन्जु पन्त, अभिनेत्रीहरू रेखा थापा, अरुणिमा लम्साल, रिमा विश्वकर्मा लगायत कयौँ कलाकारहरूको वैवाहिक जीवन केही वर्षको अन्तरालमा अन्त्य भएको छ । कलाकारिता र सङ्गित क्षेत्रका सार्वजनिक व्यक्तित्व भएका कारण उनीहरूको विवाह जोडिनु र सकिनु सार्वजनिक चासो र खपतको विषय भएको छ । 

तर, पछिल्लो केही वर्षको सम्बन्धविच्छेद सम्बन्धी राष्ट्रिय तथ्याङ्कहरूले कलाकार र सार्वजनिक व्यक्तिको मात्रै होइन् समाजमा विवाह अन्त्य हरेक घरको कारुणिक कहानी बनिरहेको छ । विवाह अन्त्यको धार्मिक परिकल्पनै नभएको समाजमा हुर्किएको नेपाली समाजमा फैलिरहेको यो भयानक रोगको बेलैमा उपचार नखोजे दीर्घकालिन रुपमा समाज, परिवार र व्यक्ति जटिल अवस्थाबाट जुग्रिनु पर्ने चिन्ता समाजशास्त्री र मावनशास्त्रीहरुको छ । 

पछिल्लो ५ वर्षमा एकअर्कासँग छुट्टिनु पर्यो भन्दै एक लाख ४० हजार ६८२ विवाहित जोडी अदालतको ढोकामा पुगेका छन् । ति मध्ये एक लाख ४ हजार ८३१ जोडिले छुट्टिने नछुट्टिने निर्णय लिइसकेको तथ्याङ्क छ । गत वर्ष मात्रै देशभर ४० हजार १ सय ८३ जनाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । दायर भएका मुद्दामध्ये ३० हजार १ सय ३१ मुद्दा टुगिंएको छ भने १० हजार ५२ मुद्दा अदालतमा विचाराधिन छ । 

सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा काठमाडौँमा

देशभरको तथ्याङ्क केलाउने हो भने सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता हुने गरेका छन् । पछिल्लो ४ वर्षमा काठमाडौँ जिल्ला अदालतमा मात्रै १५ हजार ३ सय ८६ वटा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७५/७६ अनुसार काठमाडौँ जिल्ला अदालतमा ३ हजार ६ सय ६९ मुद्दा दर्ता भएकामा २ हजार ६ सय ५५ फर्छयौट भएका छन् भने बाँकी १ हजार १४ रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा काठमाडौँ जिल्ला अदालतमा ३ हजार १५ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ हजार ६ सय ७६ मुद्दा फछर््यौट भएका छन् भने १ हजार ३ सय ३९ मुद्दा बाँकी रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएका ३ हजार ८ सय २८ सम्बन्ध विच्छेदका मुद्दामध्ये २ हजार १ सय ७६ मुद्दा फछर््यौट भएका छन् । त्यस्तै १ हजार ६ सय ६३ मुद्दा बाँकी रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएका ५ हजार १ सय ७४ सम्बन्ध विच्छेदका मुद्दामध्ये ३ हजार ४ सय १२ मुद्दा फछर््यौट भएका छन् । त्यस्तै १ हजार ७ सय ६२ मुद्दा बाँकी रहेका छन् । 

अदालतका अधिकारीहरुकाअनुसार वैदेशिक रोजगारी सम्बन्ध विच्छेदको मुख्य कारणको रुपमा रहेको देखिएको छ । अदालतका प्रवक्ता दिपक कुमार श्रेष्ठका अनुसार जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये करिब आधा मुद्दा वैदेशिक रोजगारीसँग जोडिएर आएका छन् । 

‘पछिल्ला वर्षको तथ्याङ्क र प्रवृत्ति हेर्ने हो भने अदालतमा धेरैजसो वैदेशिक रोजगारीसँग जोडिएर सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको पाइन्छ,’ प्रवक्ता श्रेष्ठ भन्छन्, ‘श्रीमान वा श्रीमतिले वास्ता गरेन, लामो समयदेखि सम्पर्कमा आएन, अर्को पक्ष विदेश हुँदा घरमा घरमा घरुलु हिंसा सहन पर्यो जस्ता विषय अत्याधिक आउँछन् ।’ 

पारिवारिक बेमेल, असमझदारी, कानुनको सहजता पनि सम्बन्ध विच्छेदको कारण देखिएको प्रवक्ता श्रेष्ठले बताए । 


उनकाअनुसार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुलाई हेर्ने हो भने २५ देखि ४० वर्ष समुहका ठूलो संख्याका युवाहरु सम्बन्ध विच्छेदका लागि अदालत पुगेको देखिन्छ । त्यस्तै वृद्धाअवस्थामा पुगेका व्यक्ति पनि सम्बन्घ विच्छेदका लागि अदालत आउने गरेका छन् ।

‘६५ वर्ष उमेर काटेका व्यक्तिहरु पनि अदालतमा सम्बन्ध विच्छेद गराइपाउँ भन्दै आएका प्रशस्तै उदाहरण छन् ।’ प्रवक्ता श्रेष्ठले भने, ‘हिजोआज त पुरुषले समेत सम्बन्ध विच्छेदका लागि अदालत जाने प्रावधान भएका कारण पनि अदालतमा मुद्दा दर्ता हुने संख्या बढ्दो रहेको पाइन्छ ।’  

भत्किँदैछ समाजको संरचना !

नेपाली समाज विशेषतः हिन्दु धर्मलाई अङ्गाल्ने र हिन्दु धर्ममा सम्बन्ध विच्छेदको अवधारणा नै नभएको अध्येताहरुको भनाइ छ । सात जन्म सँगै हुने कसम खाएर विवाह गर्ने परम्परा रहेको नेपाली समाजमा जुन अनुपातमा सम्बन्ध विच्छेद भइरहेको छ, त्यसले समाजको संरचनामा नै परिवर्तन ल्याउने अवस्था देखिएको समाजशास्त्रीहरु बताउँछन् । 

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र संकायका उपप्राध्यापक र अध्येता समेत रहेका टंकमणी पौडेल पछिल्लो समयको सम्बन्ध विच्छेदको तथ्यांक नियाल्दा यसले समाजको सम्पूर्ण संरचना भत्काउँदै लगेको बताउँछन् । उनी भन्छन्, ‘डिभोर्स समाजको उपज हो । त्यसैले सम्बन्ध विच्छेदलाई समाजको सामाजिक, आर्थिक, राजनीतिक क्रियाकलापसँग जोडेर हेर्नुपर्छ । हिजोको समाजमा विवाहलाई एउटा बलियो कशीका रुपमा लिइन्थ्यो । तर नेपाली समाजमा पछिल्लो समय परिवार, नातेदारी र विवाह कमजोर हुँदै आएको छ । यसरी परिवारभित्रको संरचना भत्किनु नै समाजको सम्पूर्ण संरचना भत्किनु हो ।’ 


समाजको सामाजिक संरचना खल्बलिँदा त्यसले एउटा व्यक्तिलाई मात्रै नभएर समाजको बहुपक्षीय क्षेत्रमा सकारात्मक र नकारात्मक दुवै असर गर्ने समाजशास्त्री बताउँछन् । ‘हामीले परिवारलाई अर्थतन्त्रको एउटा आधारका रुपमा लिन्छौँ । तर त्यहि परिवार टुक्रिएपछि परिवार, समाज र राष्ट्रको अर्थतन्त्र के हुन्छ?’, समाजशास्त्री पौडेल प्रश्न गर्छन्, ‘पारिवारिक बेमेलले त्यो व्यक्तिको जीवनमा त प्रभाव पारेकै हुन्छ । त्यसले आगामी पुस्तालाई समेत नराम्रो असर पार्ने गर्छ ।’

त्यस्तै उनी फेसनझैँ अघि बढिरहेको सम्बन्ध विच्छेदलाई विज्ञको टोली बनाएर, कारण पहिचान गरि त्यसलाई न्यूनिकरण गर्नुपर्ने बताउँछन् । 

समाजमा भएको वृहत्तर परिवर्तन नै सम्बन्ध विच्छेदको कारण भएको मानशास्त्रीहरु बताउँछन् । हिजोको सङ्कुचित समाजमा शिक्षा र प्रविधिको अभाव हुँदा मानिसहरुले विवाहलाई एउटा ठूलो जिम्मेवारीका रुपमा लिने गरेको तर पछिल्लो समयमा विवाहलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको उनीहरूको ठम्माई छ । 

‘हिजो बसाइँसराईँ दर कम थियो । मानिसहरु निश्चित परिधिभित्रै जीवन कटाउँथे । शिक्षादिक्षा र आर्थिक जिम्मेवारी एक जनाको हुने गर्थ्याे भने अर्कोले घरपरिवार सम्हाल्थ्यो ।’, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र संकायकी उपप्राध्यापक उमा भण्डारी भन्छिन्, ‘आज समाज र समाजको प्रवृत्तिले ठूलो छलाङ हानेको छ । व्यक्तिका जिम्मेवारी सिमित छैनन् । यसले को भन्दा को कम भन्ने प्रवृत्ति हावी भएको छ । व्यक्तिमा आएको सामाजिक र मानसिक चेतनास्तरको परिवर्तनले सम्बन्ध विच्छेदतर्फ डोहोर्याइरहेको देखिन्छ ।’ 


त्यस्तै प्रेमविवाह गरेका जोडीहरुमा धेरैजसो डिभोर्सको समस्या देखा परेको उनीहरु बताउँछन् । ‘जसले प्रेमविवाह गरेका छन्, उनीहरूले विवाहलाई सामान्य रुपमा लिने गरेको पाइन्छ । विवाहलाई सामान्य रुपमा लिनेले सम्बन्ध विच्छेदलाई पनि सामान्य रुपमा लिँदा डिभोर्स बढेको पाइन्छ ।’, उपप्राध्यापक भण्डारी भन्छिन्, ‘विदेशतिर हेर्ने को भने प्रत्येक उमेर समूहका व्यक्तिलाई परामर्श दिइन्छ । त्यसैगरि नेपालमा विवाह गर्ने समयमा केटाकेटीलाई उचित परामर्श दिने कुनै संस्था वा निकाय नहुँदा विवाह हुने र सामान्य कुरामा पनि डिभोर्स हुने गरेको पाइन्छ ।’ 

त्यस्तै नेपाली समाजमा डिभोर्स हिजोका दिनमा पनि सामान्य नरहेको र आज पनि असामान्य रहेको उनी बताउँछिन् । सामाजिक अवधारणामा आएको परिवर्तन र मानिसको सोचाई नै डिभोर्सको कारण भएको मानवशास्त्रीको धारणा छ ।

भयावह सम्बन्ध विच्छेदका तथ्याङ्क

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभर २३ हजार ८ सय ४९ जोडिले एकअर्कासँग छुट्टिने निर्णय गरेका थिए । जसमध्ये १६ हजार ९ सय ४४ मुद्दा किनारा लागेको थियो भने ६ हजार ९ सय ५ मुद्दा किनारा लाग्न बाँकी थिए । 

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा देशभर २१ हजार ६ सय ४९ जनाले सम्बन्ध विच्छेद गरि पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेका छन् । जसमध्ये १३ हजार १ सय ११ मुद्दाको फछर््यौट भइसकेको छ भने ८ हजार ५ सय ३८ मुद्दा बाँकी रहेका थिए । 

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालभर २७ हजार ४ सय २५ मुद्दा भएका छन् । दर्ता भएका मुद्दामध्ये १७ हजार ५ सय ६७ मुद्दाको फछ्र्यौट भएको छ भने ९ हजार ८ सय ५८ मुद्दाको फैसला हुन बाँकी छ । 


त्यस्तै अदालतको वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा देशभर ३७ हजार ४ सय ३४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २७ हजार ७८ मुद्दाको फछ्र्यौट भएको छ भने १० हजार ३ सय ५६ मुद्दा बाँकी रहेका छन् । 

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा देशभर ४० हजार १ सय ८३ जनाले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् । दायर भएका मुद्दामध्ये ३० हजार १ सय ३१ मुद्दा फछ्र्यौट भएका छन् भने १० हजार ५२ मुद्दा बाँकी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेको बयान: चालकले धन्न इन्जिन बन्द गरे‍‍‍‍ 

खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेको बयान: चालकले धन्न इन्जिन बन्द गरे‍‍‍‍ 

“घटना सम्झिँदा सपनाजस्तो लाग्छ । सबैको होस् उडिसकेको थियो । म अगाडिको सिटमा बसेको थिएँ”, उनले भने, “यस्तो दुर्घटना हुँदा पनि बाँच्न सकियो । चालकले तत्कालै इञ्जिन अफ...
निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने,समानुपातिक सांसदको प्रमाणपत्र वितरण पनि एकै दिन

निर्वाचन प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई बुझाइने,समानुपातिक सांसदको प्रमाणपत्र वितरण पनि एकै दिन

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ ।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

उक्त बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा निर्वाचनको समीक्षा र आगामी दिनमा पार्टीले अपनाउने रणनीति र आगामी महाधिवेशनबारे छलफल...