नेभिगेशन
समाज

पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास

यहाँ ५ लाख, १० लाख, २० लाख गुमाउनु सामान्य जस्तै हो । भनौँ कसरी भनौँ, नभनौँ असह्य पिडा दिएको छ ।

इन्टरनेटको एउटा यस्तो दुनियाँ । जहाँ जति धेरै घुस्यो त्यति धेरै रहस्यहरु खुल्दै जान्छन् । मानिसहरुलाई यस्तो जालमा फसाइन्छ त्यहाँ पुगेपछि सजिलै फर्कनै सक्दैनन् । उनीहरुले आफूलाई त्यो दुनियाँको लत लागेकै पत्तै पाउँदैनन् । यतिसम्मकी उनीहरु त्यहाँ पुगेपछि आफ्नो बैंक खाता रित्तिदै गएको समेत पत्तो हुँँदैन । त्यो दुनियाँको लत यति खतरनाक छ कि उनीहरु २४ सै घण्टा त्यही दुनियाँमा हराउँछन् । यो दुनियाँले विशेषतः सोझा महिलाहरुलाई आफ्नो टार्गेट बनाउँछ । सबै जाने बुझेका मानिसहरु पनि यहाँ फसेकै हुन्छन् । यहाँ ५ लाख, १० लाख, २० लाख गुमाउनु सामान्य जस्तै हो । तर न कसैलाई भन्न सकिएको छ, न कतै उजुरी दिन नै सकिएको छ । भनौँ कसरी भनौँ, नभनौँ असह्य पिडा दिएको छ । मानिसहरु भित्रभित्रै उकुुमुकुस भएका बाँच्न बाध्य भएका छन् । कसैले बोल्ने आँट गर्यो भने उसलाई ज्यान मार्नेसम्मको धम्की दिइन्छ । त्यतिमात्र होइन उनीहरुले प्रधानमन्त्री नै आफ्नो पकेटमा रहेको दावी गर्छन् । आज हामी इन्टरनेट भित्रको एउटा यस्तो दुनियाँको बारेमा खुलासा गर्दैछौँ जसले मानिसहरुलाई लोभको संसारमा फसाएर लुट मच्चाईरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इन्टरनेटको त्यो दुनियाँको नाम हो पोप्पो लाइभ । कुनै समय पोप्पोको दुनियाँको हिस्सा बनेका थिए परिवर्तित नाम सुजन । आफ्ना साथीबाट उनले यो एपको बारेमा थाहा पाए  । काठमाडौँमा राम्रै व्यवसाय गरिरहेका उनले यो एपको लत लागेको पत्तै पाएनन् । लत मात्रै लागेको भए त केही थिएन । ख्यालख्यालैमा १२ लाख रुपैयाँ गुमाएको समेत भेउ पाएनन् । ‘सुरुमा साथीले यसको बारेमा सुनाएको थियो । ब्यापारमा फुर्सद भएको समयमा यो एपमा छिर्ने गरेको थिए । १, २ हजार गर्दागर्दै १२ लाख रुपैयाँ सकियो ।’ उनले सुनाए । 

Ncell
Extreme Energy

उनको काठमाडौँमा राम्रै व्यवसाय छ । फुर्सदमा टाइम पास गर्न इन्टनेटमार्फत पोप्पोको दुनियाँमा हराउँदा वास्तविक दुनियाँबाट नै निकै पर पुगेको सुजन बताउँछन् । ‘म त बल्ल तल्ल निस्किएँ । तर यसले धेरैको बिचल्ली पारेको छ ।’

यही दुनियाँमा हराएर परिवार नै बिर्सिका अर्का पात्र हुन्, प्रदीप (नाम परिवर्तन) । दुबई मा राम्रो कमाई गरिहेका थिए । उनले पनि साथीले भनेकै भरमा यसको बारेमा थाहा पाएका थिए । तर यसरी हराए कि उनले आफ्नो संसार नै बिसै । ‘कफी सपमा काम गर्थेँ । कमाई पनि राम्रै थियो । तर नेपाल फर्कदा जम्मा १२ हजार बोकेर आए ।’ पैसा खै त परिवारले सोध्दा कमाइ भएन भन्ने जवाफ दिए । ‘कमाई त थियो नी ! पोप्पो ले लुट्यो भनौँ भने पतयाउँदैनन् । त्यही भएर कमाइ नै भएन भन्दिएँ । अब अर्को देश जाने हो । अप्लाई भएको छ ।’ 

उनको कमाइ नभएको होइन, उनको पैसा पोप्पोले लुटेको हो भन्ने कुरा उनलाई र पोप्पोका एजेन्टलाई बाहेक अरु कसैलाई थाहा छैन । 

अर्का व्यक्ति परिवर्तित नाम पवनको पनि आफूले १० वर्षमा काम गरेर कमाएको रकम यही पोप्पोले केही समयमै सक्काइदियो । उनले त कमाएको पैसा त सके नै सहकारी ऋण काढेर समेत पोप्पोलाई लुटाए । ‘ट्राभल काम गरेको निकै वर्ष भयो । भविष्यको लागि १० लाख रुपैयाँ जति जोगाएको थिएँ । अहिले त थप ६ लाख रुपैयाँ ऋण छ ।’ उनले सुनाए । सहकारीबाट ऋण लिएको रकमको मासिक २० हजारको दरले किस्ता तिरिहेका छन् उनी । 

परिवर्तित नाम एन्जिलाको पनि कहानी उस्तै छ । उनले पनि पनि पोप्पोलाई मोटो रकम लुटाएकी छिन् । ‘मलाई यस्तो लत लागेको थियो कि अफिसमा काम गर्दा समेत यही दुनियाँ भित्रै हुन्थेँ ।’ उनले पनि पोप्पोमा पैसा गुमाएको परिवारलाई थाहा छैन । ‘घर थाहा भयो भने त म सक्किगयो नी । के भनेर कन्भिन्स गर्नु ? पत्याउन पर्यो नी ।’ 

उनीहरु त केही प्रतिनिधि पात्र मात्रै हुन् । हामीसँग सम्पर्कमा आएका अधिकांसको गुनासो उस्तै छ । कतिले आफ्नो सारा सम्पत्ति सकेका छन्, कतिको श्रीमान्ले पैसा गुमाएको श्रीमतीलाई थाहा छैन, कतिको श्रीमतीले रकम गुमाएको श्रीमान्लाई थाहा छैन । ‘मैले त श्रीमान्ले कमाएको २५ लाख बढी गुमाएको छु । सुन पनि गयो । मैले कसरी श्रीमान्लाई कसरी भन्नु ? यसले त मेरो डिभोर्स नै होला जस्तो छ ।’ एक महिलाले आफ्ना पीडा सुनाईन् । 

पोप्पोबाट लुटिएकाको कहानी यति कहाली लाग्दो छ कि उनीहरु लुटिएको कुरा उनीहरुलाई बाहेक कसैलाई थाहा छैन । अझ कति पीडितहरु त आफू ठगिएको बारे बताउनै चाहदैनन् । समाजमा इज्जत जाने डरले, परिवारमा सम्बन्ध बिग्रने डरले, हजारौँ मानिसहरु प्रयोगकर्ताहरु भित्र भित्रै पिल्सिएर बसेका छन् । 

के हो पोप्पो लाइभ

यो एपले आफूलाई लाइभ स्ट्रिमिङ एप भनेर परिचित गराएको छ । सुरुमा यो एप खोल्दा त्यस्तै नै लाग्छ पनि  । लाखौँ प्रयोगकर्ताहरु यो एपमा लाइभ बसिरहेका हुन्छन् । टिकटकमै जस्तै यहाँ पनि गिफ्ट साटासाट चलिरहेको हुन्छ । 

तर जब तपार्इं बिस्तारै लाइभ बस्दै जानुहुन्छ, अनी यो एपका भित्री रहस्यहरुबारे जानकार बन्दै जानुहुन्छ । तपाईँलाई सुरुमा लाग्छ यो पैसा कमाउने एप हो । अब तपाईँले पैसा कमाउनको लागि यसले तय गरेका लेभलहरु पार गर्नुपर्छ । सुरुमा तपाईँले अरु मानिसहरुले होस्ट गरेको लाइभमा जोइन हुनुपर्छ । अनी तपाईँले लाइभ होस्ट गरेर  बसेकाहरुलाई गिफ्ट दिनुपर्छ । त्यो गिफ्ट सित्तैमा पाइदैन । तपाईँले किन्नुपर्ने हुन्छ । जसका लागि यो एपका एजेन्टहरुबाट क्वाइन किन्नुपर्ने हुन्छ । १ लाख क्वाइन किन्नको लागि नेपाली १६०० रुपैयाँ पर्छ । 

अनी तपाईँले त्यो क्वाइनलाई गिफ्टमा कन्भर्ट गरेर लाइभ बसेकाहरुलाई दिन सक्नुहुन्छ । 

अब तपाईँले अरुले गिफ्ट पाएर थुप्रै क्वाइन जम्मा गरेको देख्नुहुन्छ । तपाईँलाई पनि लाइभ बस्न मन लाग्छ । तर लाइभ बस्न त्यति सजिलो छैन, त्यहाँ तोकिएका ४ स्टेप पार गर्नुपर्छ । अधिकतम क्वाइन किनेर खर्च गरेपछि तपाईँले लेभल ४ पार गर्नुहुन्छ । अब तपाईँले आफैँले होस्ट गरेर फेस लाइभ गर्न पाउनुहुन्छ ।  

यहाँ पुगेपछि तपाईँले के थाहा पाउनुहुन्छ भने लाइभ बसेर मात्र पैसा कमाउन सजिलो रहेनछ । किनभने तपाईँले लाइभ बसेबापत पैसा कमाउन कम्तीमा १ लाख क्वाइन जम्मा गर्नुपर्छ । त्यो जम्मा हुन तपाईँलाई कम्तिमा पनि ५० दिन लाग्छ । किनभने जो कोहीले तपाईँलाई सजिलै कोइन फाल्दैनन् । दैनिक १२ घण्टाभन्दा बढी समय लाइभ बसेर तपाईँले १ लाख पुर्याईहाल्नुभयो भने पनि तपाईँले त्यसलाई डलरमा कन्भर्ट गरेर प्राप्त गर्नुहुन्छ मात्र १० डलर । त्यसको पनि १ प्रतिशत रकम कटौती हुन्छ ।  

तपाईँ लाइभ बस्दैगर्दा पोप्पोले तपाईँलाई अर्को पैसो कमाउने सर्टकर्ट बिधि खुल्ला गरिसकेको हुन्छ । त्यो हो गेम खेल्ने । अर्को अर्थमा भन्नुपर्दा जुवा खेल्ने । लाइभ बसेर पैसा कमिदैन भन्ने बुझेका प्रयोगकर्ताहरु अब गेमतिर आकर्षित हुन थाल्छन् । त्यहाँ स्पिन गरेर खेल्ने खेल हुन्छ । यसमा पनि क्वाइन किन्नु अनिवार्य नै छ । तपाईँले १६०० रुपैयाँमा किनेको १ लाख क्वाइन गेमका लागि कन्भर्ट गर्दा ७० हजार क्वाइन मात्र हुन्छ । अब तपाईँले आफूसँग भएको क्वाइन दाउमा राखेर स्पिन गर्दै गेम खेल्न थाल्नुहुन्छ । लगातार ५ पटक ६ पटकसम्म स्पिन गर्दा तपाईँले एउटै संकेत पार्नुभयो भने तपाईँले हालेको दाउ बराबरको क्वाइन जित्नुहुन्छ र पछि त्यसलाई पैसामा कन्भर्ट गराउन सक्नुहुन्छ । 

यहाँनिर रोचक कुरा के छ भने नयाँ प्रयोगकर्ताले सुरुसुरुमा आफूले हानेको दाउ जित्छन् । लाइभ बसेर पैसा कमाउन नसकेका उनीहरु गेम खेलेर पैसा कमाइदो रहेछ भनेर दंग पर्छन् । नयाँ प्रयोगकर्तालाई यो एपले यसरी विश्वास दिलाईदिन्छ कि उसलाई यो एपको कुलत लाग्छ । अब उसको कन्फिडेन्स बढ्दै जान्छ । उ जोस्सिदै ठूलो ठूलो दाउ खेल्दै जान्छ । जोसै जोसमा उसले आफ्नो बैंक खाता रित्तिएको पत्तै पाउँदैन । सबै सक्किएपछि बल्ल उसले थाहा पाउँछ म ठगिएँ भनेर । 

महिलाहरु टार्गेटमा

यो एपले पुरुषलाई भन्दा महिलालाई बढी टार्गेट गरेको प्रस्ट देखिन्छ । यो एपमा फेस लाइभ होस्ट गर्नको लागि पुरुषहरुले ४ ओटा लेभल पार गर्नुपर्छ । तर महिलाहरुका लागि कुनै लेभल तोकिएको छैन । पहिलो चरणको भेरिफिकेसनपछि उनीहरुले सिधै फेस लाइभ होस्ट गर्न सक्छन् । 

यो एपबाट पीडित भएकाहरु पनि यसले सोसल मिडियामा अधिक सक्रिय भएका गृहिणी महिलालाई बढी टार्गेट गरेको बताउँछन् । यसबाट लाखौँ नेपाली महिलाहरु पीडित भएको हुनसक्ने उनीहरुको अनुमान छ । 

लाइभ स्ट्रिमिङ भनेर प्रचार, भित्र जुवाको अड्डा

गुगल स्टोरबाट मात्रै पोप्पो लाइभ एप १ करोड बढी डाउनलोड भएको छ । एपको नाम लेखिएको छ ‘पोप्पो लाइभ–लाइभ स्ट्रिम’ । त्यस्तै वेबसाइटमा पनि ‘लाइभ स्ट्रिमिङ प्लेटफर्म’ भनेर खुलाएको छ । विश्वभरका देशहरूलाई जोड्ने, वास्तविक मानवीय समुदाय निर्माण गर्ने र रमाइलो तथा रोचक मनोरञ्जन प्लेटफर्म तयार पार्ने, उच्चस्तरीय अनलाइन स्टारहरू निर्माण गर्ने उद्देश्य रहेको यो एपको दावी छ । त्यस्तै यसले आम मानिसहरूको स्टार बन्ने सपनालाई निरन्तर प्रयासमार्फत साकार पार्न चाहेको दावी गर्छ । संसारभरका व्यक्तिसँग सम्बन्ध स्थापना गर्न र नयाँ साथीहरु बनाउन यो एपले सहयोग गर्ने वेबसाइटमा बताइएको छ । तर भित्र यसले प्रयोगकर्ताहरुलाई जुवा खेलाएर लुटिरहेको छ । 

वेबसाइटमा यो कसले कहाँबाट सञ्चालन गरेको हो भन्ने केही उल्लेख गरेको छैन । वेबसाइटको अन्तमा लेखिएको छ, ‘यो वेबसाइट आधिकारिक रूपमा सञ्चालन गरिएको होइन । यो तपाईं जस्तै पोप्पो एजेन्सी पार्टनरद्वारा सञ्चालित हो ।’ यसबाटै थाहा हुन्छ यो एपको नियत के हो भनेर । 

सिमित एजेन्टले मात्र बेच्न पाउँछन् क्वाइन

यो एपको नेपालमा सिमित मात्र एजेन्ट छन् । उनीहरुले मात्र यो एपका लागि क्वाइन बेच्न पाउँछन् । एजेन्ट बन्न पनि उनीहरुको भिन्दै नियम छ । सुरुमा उनीहरुले ५० लाख क्वाइन बराबरको रकम डिपोजिट गर्नुपर्ने हुन्छ । जसको लागि करिब ७७ हजार नेपाली रुपैयाँ लाग्छ । उनीहरुसँग ५ जना एक्टिभ होस्ट अनिवार्य हुनुपर्छ र हप्तामा कम्तिमा १० घण्टा लाइभ बसेको हुनुपर्छ । तर उनीहरुले यो क्राइटएरिया पार गरेपनि सबैले एजेन्ट बन्न पाउँदैनन् । 

क्वाइन खरिद विक्रिमा डिजिटल वालेटको प्रयोग

पोप्पो लाइभले नियुक्त गरेका एजेन्टहरुलाई क्वाइन खरिदको रिक्वेस्ट आएपछि उनीहरु ह्वाट्एपमा सम्पर्कमा आउँछन् । उनीहरुले ह्वाट्एपमै खाताको क्यूआर कोड पठाउँछन् । उनीहरुले सो क्रममा नेपालमा चलेका अधिकांस डिजिटल प्लेटफर्मको प्रयोग गर्छन् । एउटै एजेन्टसँग भिन्दाभिन्दै वालेटका दजनौँ आइडी हुन्छन् । एउटै एजेन्टले फरक–फरक अकाउन्टको क्युआर पठाउने गर्छन् ।

कतिपयले त कम्पनीको खाताको समेत क्युआर कोड पठाउने गरेका छन् । धेरै रकमको क्वाइन खरिद विक्रि हुँदा उनीहरुले कम्पनीको खाता प्रयोग गर्ने गरेको देखिन्छ । किनभने कम्पनीको खातामा ठूलो रकमको ट्रन्जेक्सन गर्न सकिन्छ । 

थप भिडियोमा


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन...
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

गत हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका थिए । उनीहरूले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम...
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

प्रहरीसँग सम्बन्धित १० हजार ९७५ वटा गुनासो दर्ता भएका छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित पाँच हजार ४५, गृह मन्त्रालयसँग सम्बन्धित तीन हजार १२८, एकीकृत डाटा व्यवस्थापन...