नेभिगेशन
सबै कुरा

भूकम्पमा आफूसँगै पुरिएकी बहिनी बचाउन नसकेको आत्मग्लानीले गल्दै जुनी

“मलाई बहिनीले दिदी बचाउनूस् भनिरहिन् । म आफैँ पुरिएकी थिएँ । मेरो सास रोकिएको थियो । म बोल्नै र हलचल गर्न सकिरहेकी थिइनँ । मैले टुलुटुलु हेर्नुबाहेक केही गर्न सकिनँ । मैले उनलाई बचाउन सकिनँ । मैले बहिनीलाई मेरै कारणले गुमाएँ” भन्दै चित्कारिएको आवाजले मङ्गलबार नेपालगञ्जस्थित भेरी अस्पतालको वार्ड स्तब्ध थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो साथीजस्तै बहिनी गुमाएको पीडामा होस फर्किएदेखि छट्पटाउने गर्छिन जाजरकोट भेरी नगरपालिका–१ की जुनी विष्ट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दुु भएर गएको भूकम्पमा जुनीले बहिनी मात्रै गुमाइनन्, आफैँ पनि घाइते बनेकी छिन् ।  

Extreme Energy

जुनीको देब्रे हातको नशामा बढी चोट लागेकाले देब्रे हात चल्दैन । खुट्टा उपचार भएको चौथो दिनदेखि बिस्तारै चल्न थालेको छ तर हिँड्डुल गर्न सक्दिनन् । उनलाई अहिले शय्याबाट झर्न र चढ्न सहारा दिनुपर्छ । सुतेकै अवस्थामा पनि शय्यामा फर्कनसमेत नसक्ने जुनीलाई बहिनीको शोकले झन् थलाउँदै लगेको छ । 

भूकम्पमा परेर अर्को जीवन पाएकी १७ वर्षीया जुनी बहिनीलाई बचाउन नसकेकामा आत्मग्लानी गरिरहेकी छिन् । शनिबारदेखि भेरी अस्पतालमा उपचाररत जुनीले ‘बहिनी बचाउन सकिनँ’ भन्दै डाँको छाडेर रोइरहन्छिन् । 

अस्पतालका मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार जुनी उनको रेखदेखमा आएका आफन्तसँग पनि बोल्दिनन् । “दिनभरि कि सलले मुख छोपेर सुत्नुहुन्छ कि त बहिनी बचाउन नसकेको गुनासो आफैँसँग गर्दै भक्कानिएर रुनुहुन्छ”, डाँगिले भनिन्, “जुनीलाई शारीरिक चोटभन्दा बढी बहिनीलाई आँखै अगाडि गुमाउनु पर्दाको मानसिक चोट धेरै छ ।”

जुनीलाई भूकम्प केवल आफ्नो घरमा मात्र आएको र भूकम्पमा बहिनी मात्रै पुरिएको भन्ने लागिरहेको मनोसामाजिक परामर्शकर्ता डाँगीले बताइन् । अस्पतालमा भर्ना भएदेखि आजसम्म तीन चरणमा जुनीसँग कुरा गरिसकेको जनाउँदै उनले पहिलो र दोस्रो चरणमा उनी बोल्दै नबोलेको र तेस्रो चरण सामान्य चिनाजानमा मात्रै केन्द्रित रहेको बताईन् । 

“कुराकानी गर्न लागेको आज तेस्रो दिनमा मात्रै उहाँले मसँग मनमा गुम्सिएका पीडालाई भक्कानिँदै खोल्नुभयो । उहाँलाई आफूलाई लागेको चोटभन्दा पनि धेरै माया गरेर सँगै हुर्किएकी बहिनीलाई गुमाएकामा लागेको रहेछ ।”

भूकम्प जानुअघि शुक्रबार रातिसँगै खाना खाएर दुई बहिनी एउटै ओछ्यानमा भुइँतलामा सुतेका कुराकानीका क्रममा जुनीले बताएको डाँगीले उल्लेख गरिन् । सुत्ने बेला शनिबार गाउँमा लागेको मेला हेर्न जाने र मेलामा जाँदा दिदीको नयाँ कुर्तासुरुवाल बहिनीले लगाउने सल्लाह भएकामा बहिनीको त्यो चाहना अधुरै रहेको भन्दै जुनी अस्पतालको शय्यामा भक्कानिने गरेको छिन् । 

“जुनी नबोल्दा कसैसँग पनि बोल्नुहुन्न । उहाँलाई जति नै बोलाए पनि केही जवाफ दिनुहुन्न । तर आफ्नै सुुरमा एकोहोरो बहिनीलाई सम्झिएर डाँको छोडेर रुनुहुन्छ”, मनोसामाजिक परामर्शकर्ता डाँगीले भनिन्, “.उनको शरीरमा लागेको चोट औषधिले बिस्तारै निको हुँदै जान्छ । तर उहाँमा मनोसामाजिक समस्या बढी देखिएकाले यो समस्याबाट बाहिर निकाल्न अति नै संवेदनशील भएर कुरा गर्नुपर्ने हुन्छ ।” 

परामर्शको चार दिनपछि डाँगीसँग मात्रै मनका कुरा बताउँदै जुनीले बुबा रोजगारीको सिलसिलामा विदेश गएको, आमा र भाइलाई सामान्य चोट लागेको बताएकी छिन्। जुनीले आफूले पनि स्टाफ नर्सको पिसिएलमा नाम निकालेको कुराकानीका क्रममा बताएको डाँगीले जानकारी दिइन् । डाँगिका अनुसार जुनीले बहिनी गुमाएको शोकमा खाना, पानी, औषधीलगायत केही पनि नखाइदिनाले उनको शारीरिक चोट निको हुन समय लागेको छ । “जुनीको मन र मस्तिष्कमा लागेको आघात निको पार्न उहाँसँग परमर्श र कुराकानी गर्नु नै उत्तम उपाय हो”, डाँगी भन्छिन्।

भेरी अस्पतालमा अहिले ४९ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा भूकम्पमा परी घाइते भएका ५३ जनालाई उपचारका लागि ल्याइएको थियो । 

“तीनजना निको भई घर फर्कनुभएको छ भने एकजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो”, प्रजिअ पोखरेलले भने, “उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त छ । धेरैको स्वास्थ्य सोधारोन्मुख हुँदै गइरहेको छ ।”


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२४ घण्टामा दुई हजार १४४ सवारीचालक ट्राफिक कारबाहीमा, करिब २० लाख राजस्व सङ्कलन

२४ घण्टामा दुई हजार १४४ सवारीचालक ट्राफिक कारबाहीमा, करिब २० लाख राजस्व सङ्कलन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३...
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...
मौसम अपडेटः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

मौसम अपडेटः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ ।...