नेभिगेशन
समाज
सम्पादकीय

जेनजी आन्दोलनले देखाएको बाटो

काठमाडौं। एक वर्षअघि माइतीघरबाट उठेको एउटा शान्त, सौम्य विद्रोहले एक दिनमै नेपालको सत्ता हल्लाइदियो। त्यो जुलुसमा न पदको आकांक्षा थियो, न सत्ताको लालसा। हातमा किताब बोकेका स्कुले पोसाकका विद्यार्थी थिए, प्लेकार्ड बोकेका युवाहरू थिए र आवाजमा एउटै माग गुञ्जिएको थियो—सुशासन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०८२ भदौ २३ गते नयाँ बानेश्वरमा त्यही आवाजमाथि राज्यले निर्मम गोली चलायो। कलिला छाती र टाउकोमा ताकेर चलाइएका गोलीले संसद भवनअगाडि नै १९ युवाको ज्यान लियो। 

Ncell
Extreme Energy

तर गोलीले आवाज दबाएन, झन्झन् वेगवान रूपमा फैलायो। भोलिपल्ट सडकमा उत्रिएको आक्रोशले संसददेखि सिंहदरबारसम्म सत्ता र शक्तिका प्रतीकहरूलाई एकसाथ हल्लाइदियो। दुई तिहाइको बलमा उभिएको सरकार दुई दिनमै घुँडा टेक्न विवश भयो।

त्यो केवल सरकार परिवर्तन थिएन। त्यो राजनीतिक अहंकारविरुद्धको युवाविद्रोह थियो। दशकौँदेखि लोकतन्त्रको नाममा सत्ता चलाइरहेका दलहरूलाई नयाँ पुस्ताले सोध्यो—लोकतन्त्र भनेको चुनावमा मत हाल्ने अधिकार मात्रै हो कि राज्यलाई जवाफदेही बनाउने अधिकार पनि हो?

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक राज्यमा नागरिकले सडकमा रगत बगाएर माग्नुपर्ने विषय पनि होइनन्, यी।

तर एक वर्षपछि प्रश्न उही छ—जेनजीले के पाए ?

राजनीतिक परिवर्तन भयो। संसद विघटन भयो। नयाँ निर्वाचन भयो। नयाँ शक्तिको बलियो सरकार बन्यो। संसदमा युवाहरूको उपस्थिति बढ्यो। जेनजी आन्दोलनका सहिद परिवारका सदस्यसमेत संसदमा पुगे। संसद परिसरमा स्मारक पार्क निर्माण हुँदैछ। 

यी उपलब्धि सामान्य होइनन्, असाधारण नै हुन्।

तर परिवर्तनको असली परीक्षा स्मारक र सत्ताको फेरबदलमा हुँदैन। परीक्षा नागरिकको जीवनमा हुन्छ। 

सुशासन कति आयो? भ्रष्टाचार कति घट्यो? रोजगारीका लागि विदेशिने युवाको संख्या कति घट्यो? राज्यका निकाय कति निष्पक्ष र उत्तरदायी बने? भदौ २३ को नरसंहारका दोषीहरू कानुनको कठघरामा कति पुगे? यी प्रश्नको उत्तरले मात्रै जेनजी विद्रोह सफल भयो कि भएन भन्ने फैसला गर्नेछ।

सबैभन्दा ठूलो खतरा फेरि उही पुरानो रोग दोहोरिनु हो—व्यक्ति फेरियो, प्रवृत्ति नफेरिनु। सत्ता फेरियो, तर सत्ता सञ्चालनको संस्कार उस्तै रहनु। एउटा दलको ठाउँमा अर्को दल आउनु तर राज्य संयन्त्रमा राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र बिचौलियाको प्रभाव कायम रहनु।

जेनजी विद्रोहको सार कुनै दलको विजय होइन। त्यो नागरिक चेतनाको विजय हो। त्यसैले यसको स्वामित्व पनि कुनै एउटा दल वा नेताले मात्र लिन सक्दैन। लिनु पनि हुँदैन।
एक वर्षअघि युवाहरूले सडकबाट एउटा प्रश्न उठाएका थिए—राज्य कसका लागि? त्यसको उत्तर आजको सरकारले व्यवहारबाट दिनुपर्छ।

भोटेकोशीको भेलबाढीले देश फेरि शोकमा छ। एक वर्षअघि सडकमा रगत बगेको थियो, आज नदीमा जीवन बगेको छ। दुवै घटनाले राज्यलाई एउटै पाठ दिएका छन्—नागरिकको जीवनभन्दा ठूलो सत्ता होइन। राजनीति पनि होइन।

अब नेपाली जनताले फेरि विद्रोह गर्न नपरोस्। आफ्ना अधिकारका लागि फेरि सडकमा रगत बगाउने दिन नआओस्। राज्यले नागरिकलाई सुन्ने, जवाफ दिने र जोगाउने संस्कार सिक्नुपर्छ।

जेनजी विद्रोहको एक वर्षमा सबैभन्दा ठूलो उपलब्धि यही हो—नागरिक अब पहिलेको जस्तो मौन छैन। र, सबैभन्दा ठूलो बाँकी काम पनि यही हो—त्यो जागरणलाई सुशासनमा बदल्नु।

यी काममा युवा नेतृत्वको मौजुदा सरकार सफल बनोस्! यसमै जेनजी आन्दोलनको सफलता निहित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
राहत कोषमा कांग्रेसको १ करोड

राहत कोषमा कांग्रेसको १ करोड

रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।