काठमाडौँ । बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।
रसुवा र नुवाकोटको दोसाँध बेत्रावतीमा भदौ १० गते आएको विनाशकारी बाढीले सयौँ घरपरिवारलाई उठीबास लगायो । कैयन् परिवार टुक्रियो । प्रियजन बाढीको भेलमा मिसिए । कतिको शव फेला परे, कतिको परेनन्, खोजी अझै भइरहेको छ ।
कति शव त फेला परे पनि पहिचान हुन सकेनन् । पहिचान हुन नसकेका शव सरकारी दफनमा परेका छन् । त्यसमाथि ट्याग लगाइएको छ ।
ती बेनामे शवहरूले भनिरहनेछन्, भोटेकोशी भेलबाढीका अनेकानेक कथाहरू, युगौंसम्म ।
त्यसो त, भोटेकोशी, त्रिशूली, फलाखु किनारमा अनगिन्ती कथा छन् ।
छुटेका चप्पल, छुटेका झोला, छुटेका दैला, छुटेका अनुहार, छुटेका शरीर, भग्न छत, खण्डहर धुरीले बेग्लाबेग्लै कथा भनिरहेका छन् । भनिरहने छन् ।
बगरमा बिलीन जीवनहरू फेला पर्ने सम्भावना क्षीण बनेपछि कतिपय परिवारले कुशको शव बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गरिसकेका थिए । काजकिरिया सुरु भइसकेको थियो ।
तर ११ औँ दिनमा बेत्रावतीले एउटा यस्तो खबर दियो, जसले मृत्युको अँध्यारोबीच जीवनको सानो उज्यालो देखाइदियो ।
बाढीले घरसहित बगाएर लगेको एउटा घरभित्रबाट ६४ वर्षीया वृद्धा जीवितै भेटिइन् ।
उद्धारकर्ताले सुने– बचाऊ बचाऊको आवाज
तर, विश्वासै लागेन । सुरुमा उनीहरुले भन्ठाने– सायद प्रतिध्वनि होला...
सायद हावाको आवाज होला...तर, त्यो आवाज जीवनको थियो ।
० ० ०
केही दिनअघिसम्म घरका झ्यालबाट बिहानको घाम छिथ्र्यो । घर उज्यालिन्थ्यो ।
आँगनमा मानिसहरूको आवतजावत चल्थ्यो । बालबच्चाको ओठमा छाएको कोमल मुस्कानले दैलो उज्यालो हुन्थ्यो ।
चुह्लोमा आगो बल्थ्यो । घरका धुरी, छतमा चराबचेराका चिर्बिरचिर्बिरले घरको शोभा बढाउँथ्यो । घरका चोटाकोठामा परिवारको आवाज गुञ्जिन्थ्यो ।
भदौ १० गते आएको बाढीले त्यो सबै सम्झनामा सीमित गरिदियो ।
नदी एक्कासि बेगवान बन्यो ।
बजारहरू एकसाथ खण्डहर बने ।
चार पुस्ताको ओत बनेको घर एकाएक भग्न बन्यो ।
नदीले बनाएको सभ्यता र मान्छेले बनाएको इतिहास एकसाथ लेदोले छोपियो ।
जीवनका सारा चिनारीहरू हिलोमुनि छोपिए ।
चारतले एउटा घर पनि बाढीले बगाएर आफ्नो ठाउँबाट करिब ५० मिटर पर पुर्यायो ।
चार तलामध्ये तीन तला हिलो र माटोले पुरिएको थियो । माथिल्लो तलाको केही भाग मात्रै बाहिर देखिन्थ्यो ।
उद्धार टोली त्यही क्षेत्रमा लगातार खोजी गरिरहेको थियो ।
उद्धारकर्मी निरन्तर त्यहीँ थिए ।
घर–घर खोज्दै,
चियाउँदै,
नदीको आवाज उछिनेर चिच्याउँदै,
ढुंगा पन्छाउँदै ।
हिलो खोतल्दै ।
कहिलेकाहीँ एउटा शव भेटिन्थ्यो । कहिलेकाहीँ केही भेटिँदैनथ्यो । तर खोजी रोकिएको थिएन ।
उद्धारकर्मीका अनुसार उनीहरूले ‘सर्च अपरेसन’ गरिरहेका थिए । प्रत्येक घर–घरमा बोलाउँदैै, हेर्दै, पस्दै हिँडिरहेका थिए । लगातार उनीहरूले यो काम गरिरहेका थिए ।
बाढीको एघारौँ दिन, भदौ २० गते– शनिबार दिउँसो करिब एक बजे । उद्धार टोली बाढीले बगाएको त्यही घरतिर पुग्यो । हिलो र भग्नावशेषको बीचमा केही खोज्दै गर्दा अचानक एउटा आवाज सुनियो । पहिलोपटक सुन्दा त्यो आवाज के हो, छुट्याउनै कठिन थियो ।
उद्धारकर्मीले भन्ठाने–
सायद हावा भग्नावशेषमा ठोक्किँदा आएको प्रतिध्वनि ।
सायद कुनै वस्तु खस्दा निस्किएको आवाज ।
तर उद्धारकर्ताको कानले फेरि केही सुन्यो ।
मानिसको जस्तो आवाज ।
अझ ध्यान दिएर सुन्दा—
‘बचाऊ... बचाऊ...’
त्यसपछि उद्धार टोली एकाएक सतर्क भयो ।
माटोमुनि जीवन हुनसक्ने सम्भावनाले उनीहरूको खोजीलाई अझ तीव्र पार्यो । हातहरू अझ छिटो चल्न थाले ।
उद्धारकर्ता अनुभव सुनाउँदै भन्छन्– कता–कताबाट इकोइङ भ्वाइस हो कि, ‘बचाऊ–बचाऊ’ भनेको हो कि, महिलाको जस्तो आवाज सुनियो ।
उनीहरूका अनुसार आवाज माथिल्लो तलाको आधा देखिएको झ्यालतिरबाट आएको थियो ।
तर झ्यालसम्म पुग्नु पनि सहज थिएन ।
घरको ठूलो भाग हिलोमा पुरिएको थियो ।
उद्धारकर्ताहरूले झ्याल काट्ने निर्णय गरे ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली अघि बढ्यो । झ्याल काटियो । भग्नावशेष पन्छाइयो । र, उद्धारकर्मीहरू घरभित्र प्रवेश गरे ।
त्यहाँ उनीहरूले जे देखे, त्यो आफैँमा एउटा दैवी चमत्कारजस्तै थियो । भोटेकोशीले दया गरेजस्तो, भगवानले हात थामेजस्तो अपत्यारिलो दृश्य मौजुद थियो ।
० ० ० ०
हिलोले आधा शरीर पुरिएकी एक महिला । टाउको र शरीरको थोरै भाग मात्रै बाहिर । उनी जीवित थिइन् । र, बोल्न समेत सकिरहेकी थिइन् ।
उनी थिइन्—
६४ वर्षीया चण्डिका श्रेष्ठ ।
उद्धारकर्मीको अनुभवअनुसार त्यहाँ पस्दा उनको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा फेला पारेका उद्धारकर्मीले फेला पारेका थिए ।
साबेलका साबेल हिलो निकालियो । एक–एक गरी ढुंगा पन्छाइयो । सास फेर्न गाह्रो नहोस् भनेर सावधानी अपनाइयो । उनलाई धेरै बोल्न दिइएन । किनकि शरीर कमजोर थियो । हिलोले लामो समयदेखि थिचिरहेको शरीर कुनै पनि बेला थप संकटमा पर्न सक्थ्यो ।
तथापि उनको चेतना थियो । आवाज थियो । र सबैभन्दा ठूलो कुरा—
११ दिन हिलोमा दबिँदा पनि उनी जीवित थिइन् ।
हिलोले थिचेको शरीर हिँड्न सक्ने अवस्थामा थिएन ।
चण्डिकाको उद्धारमा करिब ४० देखि ४५ मिनेट लाग्यो ।
सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त १० जनाको टोली थियो । नेपाल प्रहरीको टोली पनि सँगै थियो । झ्याल काटेर भित्र पसेका उद्धारकर्मीले अन्ततः चण्डिकालाई हिलोबाट बाहिर निकाले । बाहिर निकाल्दा त्यो केवल एउटी महिलाको उद्धार थिएन । त्यो एउटा परिवारको आशाको पुनर्जन्म थियो ।
० ० ०
चण्डिकाका दुई छोरा छन्—आशिष र अनिश ।
दुवै काठमाडौंमै बस्थे । बेत्रावतीमा वृद्ध आमाबुवा—चण्डिका र उनका श्रीमान् आनन्द श्रेष्ठ—बस्दै आएका थिए ।
भदौ १० गते बाढी आयो । बाढीले घर बगायो । आमाबुवा दुवै बेपत्ता भए ।
बाढीको विभीषिकाबीच छोराहरूले धुइँपाताल खोजे । उद्धारकर्मी गुहारे । बलिन्द्रधारा आँसु झारे । तर आठ दिनसम्म खोज्दा पनि कुनै खबर आएन । सबै थकित थिए ।
समय बित्दै गयो । आशा क्षीण हुँदै गयो ।
अन्ततः तीन दिनअघि, बाढीको आँठौँ दिन, कुशको शव बनाएर चण्डिका र आनन्दको अन्तिम संस्कार गरियो ।
छोराहरू काजकिरियामा बसे ।
परम्परागत रीतिथितिअनुरूप मृत्युको संस्कार सुरु भइसकेको थियो ।
तर शनिबार बिहान आएको एउटा फोनले सबै कुरा उल्टाइदियो ।
फोनमा एउटै खबर थियो—
‘आमा भेटिनुभयो ।’
पहिलोपटक सुन्दा छोराहरूले पत्याउन सकेनन् ।
किनकि उनीहरूले त आमाको अन्तिम संस्कार गरिसकेका थिए ।
कुशको शव बनाएर आमाको मृत्यु स्वीकारिसकेका थिए ।
तर केहीबेरमै फोनहरू आउन थाले–
एकपछि अर्को,
सबैको एउटै खबर, उस्तै लयमा–
चण्डिका श्रेष्ठ जीवित भेटिनुभयो ।
सम्धीका अनुसार चण्डिका भेटिनुभयो भन्ने खबर आयो तर सुरूमा त विश्वास नै लागेन । तर लगातार फोन आउन थालेपछि नपत्याइ सुखै भएन ।
० ० ०
सकसका ११ दिन । एघार दिनसम्म हिलो र भग्नावशेषभित्र । बाहिर संसारले उनलाई मृत ठानेर संस्कार गरिसकेको थियो । तर उनी भने त्यहीँ कतै जीवनसँग लडिरहेका थिए ।
११ दिनसम्म उनले के खाइन्? कसरी बाँचिन् ? कसरी सास धानिन् ? कसरी ११ दिनसम्म आशा जोगाइराखिन् ? यी प्रश्नहरूको जवाफ अहिले पनि पूर्ण रूपमा खुलेको छैन ।
तर एउटा कुरा स्पष्ट छ— मानिसको जीवन र आशाको सीमा हामीले अनुमान गरेभन्दा धेरै परसम्म रहेछ । मृत्यु र जीवनको दूरी कल्पना गर्न नसकिने रहेछ । हिमाली ज्वारभाटाले हजारौं जीवन निल्दा पनि एउटा दियालो जोगिनसक्दो रहेछ ।
० ० ०
जुन परिवारमा केही दिनअघि आमाबुवाको नाममा शोक थियो, त्यही परिवारमा शनिबार अचानक खुसीको खबर पुग्यो । काजकिरियामा बसेका छोराहरूले किरियाघर छाडे । कोरा फुकाले । पुरोहितले विधि पूरा गरेर काजकिरिया फुकुवा गराए ।
यो परिवारमा खुसी पूर्ण रुपमा फर्किसकेको छैन ।
यसकारण कि, चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठ अझै बेपत्ता छन् । उनको सास–लास टुंगो लागेको छैन ।
जीवनको अँध्यारोमा पूर्ण चन्द्रको उज्यालो आयो । सूर्यको आभा फर्कन बाँकी छ । त्यो दीप्ति निभिसकेको छ कि आशा अझै बाँकी छ ? अहँ केही थाहा छैन ।
० ० ०
चण्डिकाको घर बाढीले आफ्नो ठाउँबाट उखेलेर लगेको थियो । स्थानीयका अनुसार उनको घर नारायणलाल डंगोलको घरभन्दा करिब ७० मिटर पछाडि थियो । बाढीले घरलाई बगाएर अझ करिब ५० मिटर पर पु¥यायो ।
त्यहीँ पुरिएको थियो घर । त्यही घरभित्र थिइन् चण्डिका । र ११ दिनपछि त्यही घरबाट उनको उद्धार भयो ।
० ० ०
चण्डिका भेटिएको खबरले एउटा अर्को प्रश्न पनि जन्माएको छ ।
यदि ११ दिनपछि पनि भग्नावशेषभित्रबाट मान्छे जीवित भेटिन सक्छ भने—
बाढीले बगाएका अरू घरहरूको अवस्था के छ ?
हिलोमुनि अरू जीवनको शेष बँचेको पो छ कि ?
कुनै आवाज अझै सुन्न बाँकी छ कि ?
कुनै आमाबुबा आफ्ना सन्तानको प्रतीक्षामा छन् कि ?
कुनै सन्तानले अझै आफ्ना अभिभावकलाई पर्खिरहेका छन् कि ?
बेत्रावती र त्रिशूली क्षेत्रमा अहिले यही प्रश्न उठेको छ ।
र त स्थानीय भन्छन्, बेत्रावतीको प्रत्येक घरमा खोजतलास हुनुपर्यो । बाढीले बगाएपछि सम्पर्कमा नआएकाहरूको अधिकांश परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरियामा बसेका छन् ।
न तिनको मुर्र्झाएको अनुहारमा यसै गरी खुसी फर्कन्छ कि ?
बेत्रावतीमा मात्रै ५०० भन्दा बढी घर थिए ।
बाढीले कति घर बगायो ? कति मानिस बेपत्ता छन् ? कति घरभित्र कति कथा पुरिएको छ ? यसको पूर्ण हिसाब अझै बाहिर आएको छैन । तर चण्डिकाको उद्धारले एउटा कुरा भने फेरि सम्झाएको छ—
खोजी रोक्नु हुँदैन ।
किनकि भग्नावशेष मौन हुन सक्छ ।
हिलो मौन हुन सक्छ । तर त्यसभित्र जीवनले अन्तिम क्षणसम्म आवाज दिइरहेको हुन सक्छ । कहिलेकाहीँ त्यो आवाज यति मधुरो हुन्छ कि हामीलाई प्रतिध्वनि जस्तो लाग्छ ।
नदीले सुसेलेजस्तो लाग्छ । बाढी थर्थराएजस्तो लाग्छ । मेघ गडगडाएजस्तो लाग्छ ।
तर उद्धारकर्ताको कानले त्यो आवाज ठम्याउन सक्यो भने—
मृत्यु ठानिएको ठाउँबाट पनि जीवन फर्किन सक्छ, चण्डिका जसैगरी ।
० ० ०
चण्डिकाको उद्धारको खबरले प्रधानमन्त्री बालेन शाहलाई पनि भावुक बनायो । ११ औँ दिनमा भएको चण्डिकाको उद्धारले सिंगो देशलाई आशा दिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
उनका अनुसार खोज तथा उद्धारमा राज्य अझै डटेर लागिरहेको छ । बाढीले प्रभावित क्षेत्रमा ज्येष्ठ नागरिकसहित धेरै मानिसले आफ्नो ज्यान जोखिममा राखेर परिवारका सदस्यलाई जोगाएको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।
उनले ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नभएको महसुस गर्न आग्रह गर्दै राज्य साथमा रहेको बताएका छन् ।
० ० ०
बेत्रावतीको हिलोबाट चण्डिकालाई उद्धार गरिएसँगै सर्वत्र एउटा प्रश्न उठिरहेको छ– ‘अझै कोही जीवित छ कि ?’
र उद्धारकर्ताहरूको जवाफ छ—
‘खोजी जारी छ ।’
बिहान होस् या साँझ ।
ढुंगाको चेप होस् या हिलो ।
उद्धारकर्मीहरू अझै घर–घर पुगिरहेका छन् ।
अन्धकार सुरुङ नियालिरहेका छन् ।
चनाखोपूर्वक आवाज सुनिरहेका छन् ।
ढुंगा पन्छाइरहेका छन् ।
माटो खोतलिरहेका छन् ।
हिलो फालिरहेका छन् ।
किनकि ११ दिनपछि चण्डिका भेटिएको यो कथा केवल एउटा उद्धारको कथा होइन—
यो आशा मर्न नदिने उज्यालो दियालो हो ।
यो जीवन अन्त्य हुन नदिने पुनर्जन्म हो ।
निष्पट्ट अँध्यारोमा टुप्लुक्क उदायो जून हो ।
भोटेकोशी र त्रिशूलीको भेलमा डुबुल्की खाएका जीवनहरु यसैगरी फर्किऊन् ।