नेभिगेशन
समाज

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

काठमाडौँ । बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रसुवा र नुवाकोटको दोसाँध बेत्रावतीमा भदौ १० गते आएको विनाशकारी बाढीले सयौँ घरपरिवारलाई उठीबास लगायो । कैयन् परिवार टुक्रियो । प्रियजन बाढीको भेलमा मिसिए । कतिको शव फेला परे, कतिको परेनन्, खोजी अझै भइरहेको छ ।

Ncell
Extreme Energy

कति शव त फेला परे पनि पहिचान हुन सकेनन् । पहिचान हुन नसकेका शव सरकारी दफनमा परेका छन् । त्यसमाथि ट्याग लगाइएको छ ।

ती बेनामे शवहरूले भनिरहनेछन्, भोटेकोशी भेलबाढीका अनेकानेक कथाहरू, युगौंसम्म ।

त्यसो त, भोटेकोशी, त्रिशूली, फलाखु किनारमा अनगिन्ती कथा छन् ।

छुटेका चप्पल, छुटेका झोला, छुटेका दैला, छुटेका अनुहार, छुटेका शरीर, भग्न छत, खण्डहर धुरीले बेग्लाबेग्लै कथा भनिरहेका छन् । भनिरहने छन् ।

बगरमा बिलीन जीवनहरू फेला पर्ने सम्भावना क्षीण बनेपछि कतिपय परिवारले कुशको शव बनाएर आफ्ना प्रियजनको अन्तिम संस्कार गरिसकेका थिए । काजकिरिया सुरु भइसकेको थियो ।
तर ११ औँ दिनमा बेत्रावतीले एउटा यस्तो खबर दियो, जसले मृत्युको अँध्यारोबीच जीवनको सानो उज्यालो देखाइदियो ।

बाढीले घरसहित बगाएर लगेको एउटा घरभित्रबाट ६४ वर्षीया वृद्धा जीवितै भेटिइन् ।

उद्धारकर्ताले सुने– बचाऊ बचाऊको आवाज

तर, विश्वासै लागेन । सुरुमा उनीहरुले भन्ठाने– सायद प्रतिध्वनि होला...

सायद हावाको आवाज होला...तर, त्यो आवाज जीवनको थियो ।
० ० ०

केही दिनअघिसम्म घरका झ्यालबाट बिहानको घाम छिथ्र्यो । घर उज्यालिन्थ्यो ।

आँगनमा मानिसहरूको आवतजावत चल्थ्यो । बालबच्चाको ओठमा छाएको कोमल मुस्कानले दैलो उज्यालो हुन्थ्यो ।

चुह्लोमा आगो बल्थ्यो । घरका धुरी, छतमा चराबचेराका चिर्बिरचिर्बिरले घरको शोभा बढाउँथ्यो । घरका चोटाकोठामा परिवारको आवाज गुञ्जिन्थ्यो ।

भदौ १० गते आएको बाढीले त्यो सबै सम्झनामा सीमित गरिदियो ।

नदी एक्कासि बेगवान बन्यो ।

बजारहरू एकसाथ खण्डहर बने ।

चार पुस्ताको ओत बनेको घर एकाएक भग्न बन्यो ।

नदीले बनाएको सभ्यता र मान्छेले बनाएको इतिहास एकसाथ लेदोले छोपियो ।

जीवनका सारा चिनारीहरू हिलोमुनि छोपिए ।

चारतले एउटा घर पनि बाढीले बगाएर आफ्नो ठाउँबाट करिब ५० मिटर पर पुर्‍यायो ।

चार तलामध्ये तीन तला हिलो र माटोले पुरिएको थियो । माथिल्लो तलाको केही भाग मात्रै बाहिर देखिन्थ्यो ।
उद्धार टोली त्यही क्षेत्रमा लगातार खोजी गरिरहेको थियो ।

उद्धारकर्मी निरन्तर त्यहीँ थिए । 

घर–घर खोज्दै,

चियाउँदै,

नदीको आवाज उछिनेर चिच्याउँदै,

ढुंगा पन्छाउँदै ।

हिलो खोतल्दै ।

कहिलेकाहीँ एउटा शव भेटिन्थ्यो । कहिलेकाहीँ केही भेटिँदैनथ्यो । तर खोजी रोकिएको थिएन ।

उद्धारकर्मीका अनुसार उनीहरूले ‘सर्च अपरेसन’ गरिरहेका थिए । प्रत्येक घर–घरमा बोलाउँदैै, हेर्दै, पस्दै हिँडिरहेका थिए । लगातार उनीहरूले यो काम गरिरहेका थिए ।

बाढीको एघारौँ दिन, भदौ २० गते– शनिबार दिउँसो करिब एक बजे ।  उद्धार टोली बाढीले बगाएको त्यही घरतिर पुग्यो । हिलो र भग्नावशेषको बीचमा केही खोज्दै गर्दा अचानक एउटा आवाज सुनियो । पहिलोपटक सुन्दा त्यो आवाज के हो, छुट्याउनै कठिन थियो ।

उद्धारकर्मीले भन्ठाने–

सायद हावा भग्नावशेषमा ठोक्किँदा आएको प्रतिध्वनि ।

सायद कुनै वस्तु खस्दा निस्किएको आवाज ।

तर उद्धारकर्ताको कानले फेरि केही सुन्यो ।

मानिसको जस्तो आवाज ।

अझ ध्यान दिएर सुन्दा—

‘बचाऊ... बचाऊ...’

त्यसपछि उद्धार टोली एकाएक सतर्क भयो ।

माटोमुनि जीवन हुनसक्ने सम्भावनाले उनीहरूको खोजीलाई अझ तीव्र पार्यो । हातहरू अझ छिटो चल्न थाले । 

उद्धारकर्ता अनुभव सुनाउँदै भन्छन्– कता–कताबाट इकोइङ भ्वाइस हो कि, ‘बचाऊ–बचाऊ’ भनेको हो कि, महिलाको जस्तो आवाज सुनियो ।

उनीहरूका अनुसार आवाज माथिल्लो तलाको आधा देखिएको झ्यालतिरबाट आएको थियो ।

तर झ्यालसम्म पुग्नु पनि सहज थिएन ।

घरको ठूलो भाग हिलोमा पुरिएको थियो ।

उद्धारकर्ताहरूले झ्याल काट्ने निर्णय गरे ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली अघि बढ्यो । झ्याल काटियो । भग्नावशेष पन्छाइयो । र, उद्धारकर्मीहरू घरभित्र प्रवेश गरे ।

त्यहाँ उनीहरूले जे देखे, त्यो आफैँमा एउटा दैवी चमत्कारजस्तै थियो । भोटेकोशीले दया गरेजस्तो, भगवानले हात थामेजस्तो अपत्यारिलो दृश्य मौजुद थियो ।

० ० ० ०

हिलोले आधा शरीर पुरिएकी एक महिला । टाउको र शरीरको थोरै भाग मात्रै बाहिर । उनी जीवित थिइन् । र, बोल्न समेत सकिरहेकी थिइन् ।

उनी थिइन्—

६४ वर्षीया चण्डिका श्रेष्ठ ।

उद्धारकर्मीको अनुभवअनुसार त्यहाँ पस्दा उनको शरीर आधा हिलोमा दबिएको थियो । थोरै शरीर र टाउको देखिएको अवस्थामा फेला पारेका उद्धारकर्मीले फेला पारेका थिए ।

साबेलका साबेल हिलो निकालियो । एक–एक गरी ढुंगा पन्छाइयो । सास फेर्न गाह्रो नहोस् भनेर सावधानी अपनाइयो । उनलाई धेरै बोल्न दिइएन । किनकि शरीर कमजोर थियो । हिलोले लामो समयदेखि थिचिरहेको शरीर कुनै पनि बेला थप संकटमा पर्न सक्थ्यो ।

तथापि उनको चेतना थियो । आवाज थियो । र सबैभन्दा ठूलो कुरा—

११ दिन हिलोमा दबिँदा पनि उनी जीवित थिइन् ।

हिलोले थिचेको शरीर हिँड्न सक्ने अवस्थामा थिएन । 

चण्डिकाको उद्धारमा करिब ४० देखि ४५ मिनेट लाग्यो ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त १० जनाको टोली थियो । नेपाल प्रहरीको टोली पनि सँगै थियो । झ्याल काटेर भित्र पसेका उद्धारकर्मीले अन्ततः चण्डिकालाई हिलोबाट बाहिर निकाले । बाहिर निकाल्दा त्यो केवल एउटी महिलाको उद्धार थिएन । त्यो एउटा परिवारको आशाको पुनर्जन्म थियो ।

० ० ०

चण्डिकाका दुई छोरा छन्—आशिष र अनिश ।

दुवै काठमाडौंमै बस्थे । बेत्रावतीमा वृद्ध आमाबुवा—चण्डिका र उनका श्रीमान् आनन्द श्रेष्ठ—बस्दै आएका थिए ।

भदौ १० गते बाढी आयो । बाढीले घर बगायो । आमाबुवा दुवै बेपत्ता भए ।

बाढीको विभीषिकाबीच छोराहरूले धुइँपाताल खोजे । उद्धारकर्मी गुहारे । बलिन्द्रधारा आँसु झारे । तर आठ दिनसम्म खोज्दा पनि कुनै खबर आएन । सबै थकित थिए । 
समय बित्दै गयो । आशा क्षीण हुँदै गयो ।

अन्ततः तीन दिनअघि, बाढीको आँठौँ दिन, कुशको शव बनाएर चण्डिका र आनन्दको अन्तिम संस्कार गरियो ।

छोराहरू काजकिरियामा बसे ।

परम्परागत रीतिथितिअनुरूप मृत्युको संस्कार सुरु भइसकेको थियो ।

तर शनिबार बिहान आएको एउटा फोनले सबै कुरा उल्टाइदियो ।

फोनमा एउटै खबर थियो—

‘आमा भेटिनुभयो ।’

पहिलोपटक सुन्दा छोराहरूले पत्याउन सकेनन् ।

किनकि उनीहरूले त आमाको अन्तिम संस्कार गरिसकेका थिए ।

कुशको शव बनाएर आमाको मृत्यु स्वीकारिसकेका थिए ।

तर केहीबेरमै फोनहरू आउन थाले–

एकपछि अर्को,

सबैको एउटै खबर, उस्तै लयमा–

चण्डिका श्रेष्ठ जीवित भेटिनुभयो ।

सम्धीका अनुसार चण्डिका भेटिनुभयो भन्ने खबर आयो तर सुरूमा त विश्वास नै लागेन । तर लगातार फोन आउन थालेपछि नपत्याइ सुखै भएन ।

० ० ०

सकसका ११ दिन । एघार दिनसम्म हिलो र भग्नावशेषभित्र । बाहिर संसारले उनलाई मृत ठानेर संस्कार गरिसकेको थियो । तर उनी भने त्यहीँ कतै जीवनसँग लडिरहेका थिए ।

११ दिनसम्म उनले के खाइन्? कसरी बाँचिन् ? कसरी सास धानिन् ? कसरी ११ दिनसम्म आशा जोगाइराखिन् ? यी प्रश्नहरूको जवाफ अहिले पनि पूर्ण रूपमा खुलेको छैन ।

तर एउटा कुरा स्पष्ट छ— मानिसको जीवन र आशाको सीमा हामीले अनुमान गरेभन्दा धेरै परसम्म रहेछ । मृत्यु र जीवनको दूरी कल्पना गर्न नसकिने रहेछ । हिमाली ज्वारभाटाले हजारौं जीवन निल्दा पनि एउटा दियालो जोगिनसक्दो रहेछ ।

० ० ०
जुन परिवारमा केही दिनअघि आमाबुवाको नाममा शोक थियो, त्यही परिवारमा शनिबार अचानक खुसीको खबर पुग्यो । काजकिरियामा बसेका छोराहरूले किरियाघर छाडे । कोरा फुकाले । पुरोहितले विधि पूरा गरेर काजकिरिया फुकुवा गराए ।

यो परिवारमा खुसी पूर्ण रुपमा फर्किसकेको छैन ।

यसकारण कि, चण्डिकाका श्रीमान् आनन्द श्रेष्ठ अझै बेपत्ता छन् । उनको सास–लास टुंगो लागेको छैन ।

जीवनको अँध्यारोमा पूर्ण चन्द्रको उज्यालो आयो । सूर्यको आभा फर्कन बाँकी छ । त्यो दीप्ति निभिसकेको छ कि आशा अझै बाँकी छ ? अहँ केही थाहा छैन ।

० ० ० 

चण्डिकाको घर बाढीले आफ्नो ठाउँबाट उखेलेर लगेको थियो । स्थानीयका अनुसार उनको घर नारायणलाल डंगोलको घरभन्दा करिब ७० मिटर पछाडि थियो । बाढीले घरलाई बगाएर अझ करिब ५० मिटर पर पु¥यायो ।

त्यहीँ पुरिएको थियो घर । त्यही घरभित्र थिइन् चण्डिका । र ११ दिनपछि त्यही घरबाट उनको उद्धार भयो ।

०  ० ०

चण्डिका भेटिएको खबरले एउटा अर्को प्रश्न पनि जन्माएको छ ।

यदि ११ दिनपछि पनि भग्नावशेषभित्रबाट मान्छे जीवित भेटिन सक्छ भने—

बाढीले बगाएका अरू घरहरूको अवस्था के छ ?

हिलोमुनि अरू जीवनको शेष बँचेको पो छ कि ?

कुनै आवाज अझै सुन्न बाँकी छ कि ?

कुनै आमाबुबा आफ्ना सन्तानको प्रतीक्षामा छन् कि ?

कुनै सन्तानले अझै आफ्ना अभिभावकलाई पर्खिरहेका छन् कि ?

बेत्रावती र त्रिशूली क्षेत्रमा अहिले यही प्रश्न उठेको छ ।

र त स्थानीय भन्छन्, बेत्रावतीको प्रत्येक घरमा खोजतलास हुनुपर्‍यो । बाढीले बगाएपछि सम्पर्कमा नआएकाहरूको अधिकांश परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरियामा बसेका छन् ।

न तिनको मुर्र्झाएको अनुहारमा यसै गरी खुसी फर्कन्छ कि ?

बेत्रावतीमा मात्रै ५०० भन्दा बढी घर थिए ।

बाढीले कति घर बगायो ? कति मानिस बेपत्ता छन् ? कति घरभित्र कति कथा पुरिएको छ ? यसको पूर्ण हिसाब अझै बाहिर आएको छैन । तर चण्डिकाको उद्धारले एउटा कुरा भने फेरि सम्झाएको छ—
खोजी रोक्नु हुँदैन ।

किनकि भग्नावशेष मौन हुन सक्छ ।

हिलो मौन हुन सक्छ । तर त्यसभित्र जीवनले अन्तिम क्षणसम्म आवाज दिइरहेको हुन सक्छ । कहिलेकाहीँ त्यो आवाज यति मधुरो हुन्छ कि हामीलाई प्रतिध्वनि जस्तो लाग्छ ।

नदीले सुसेलेजस्तो लाग्छ । बाढी थर्थराएजस्तो लाग्छ । मेघ गडगडाएजस्तो लाग्छ ।

तर उद्धारकर्ताको कानले त्यो आवाज ठम्याउन सक्यो भने—

मृत्यु ठानिएको ठाउँबाट पनि जीवन फर्किन सक्छ, चण्डिका जसैगरी ।
० ०  ०

चण्डिकाको उद्धारको खबरले प्रधानमन्त्री बालेन शाहलाई पनि भावुक बनायो । ११ औँ दिनमा भएको चण्डिकाको उद्धारले सिंगो देशलाई आशा दिएको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।

उनका अनुसार खोज तथा उद्धारमा राज्य अझै डटेर लागिरहेको छ । बाढीले प्रभावित क्षेत्रमा ज्येष्ठ नागरिकसहित धेरै मानिसले आफ्नो ज्यान जोखिममा राखेर परिवारका सदस्यलाई जोगाएको प्रसंग पनि उनले उल्लेख गरेका छन् ।

उनले ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नभएको महसुस गर्न आग्रह गर्दै राज्य साथमा रहेको बताएका छन् ।

० ० ०

बेत्रावतीको हिलोबाट चण्डिकालाई उद्धार गरिएसँगै सर्वत्र एउटा प्रश्न उठिरहेको छ–  ‘अझै कोही जीवित छ कि ?’

र उद्धारकर्ताहरूको जवाफ छ—

‘खोजी जारी छ ।’

बिहान होस् या साँझ ।

ढुंगाको चेप होस् या हिलो ।

उद्धारकर्मीहरू अझै घर–घर पुगिरहेका छन् ।

अन्धकार सुरुङ नियालिरहेका छन् ।

चनाखोपूर्वक आवाज सुनिरहेका छन् ।

ढुंगा पन्छाइरहेका छन् ।

माटो खोतलिरहेका छन् ।

हिलो फालिरहेका छन् ।

किनकि ११ दिनपछि चण्डिका भेटिएको यो कथा केवल एउटा उद्धारको कथा होइन—

यो आशा मर्न नदिने उज्यालो दियालो हो । 

यो जीवन अन्त्य हुन नदिने पुनर्जन्म हो ।

निष्पट्ट अँध्यारोमा टुप्लुक्क उदायो जून हो ।

भोटेकोशी र त्रिशूलीको भेलमा डुबुल्की खाएका जीवनहरु यसैगरी फर्किऊन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलविद्युतका सुरुङमा निरन्तर खोजी

जलविद्युतका सुरुङमा निरन्तर खोजी

नेपाली सेनाले ब्रेक थ्रु नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ ।
कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

कांग्रेसले फेरि सार्‍यो वडा अधिवेशन, महाधिवेशन के हुन्छ ?

असन्तुष्ट पक्षलाई समेट्न महाधिवेशनको मिति पनि परिवर्तन हुनसक्ने कांग्रेसका नेताहरुले बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

मनास्लु र लार्के पदमार्गमा नजान प्रशासनले गर्‍यो आग्रह

गोरखाको चुमनुव्री गाउँपालिका–४ नामरुङस्थित थेराङ्खोलामा आइतबार बिहान बाढी आएको छ।