काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपाने र सागर ढकालले उद्धारमा हस्तक्षेप गरेको र भ्रामक सूचना फैलाएको भन्दै रसुवाको त्रिशूली ३ ए जनलविद्युत् आयोजनासँग जोडिएका इन्जिनियर तथा प्राविधिकहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले संयुक्तरुपमा प्रधानमन्त्री वालेन्द्र शाह र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई ध्यानाकर्षण पत्र पठाएका छन् । उनीहरुले ध्यानाकर्षण पत्रमा सांसदद्वय न्यौपाने र ढकालको टनेल साइटमा उपस्थितिको वैधतामाथि पनि प्रश्न उठाएका छन् । दुबै सांसदले साइटमा उद्धारकर्मीलाई अनावश्यक निर्देशन दिने, अनावश्यक फोन गरेर दु:ख दिने, फिल्डको वास्तविकताभन्दा फरक र भ्रामक सूचना दिएर झुटो आशा दिइ पीडित परिवारको भावनासँग खेलवाड गरेको भन्दै फिर्ता बोलाउन माग गरेका छन् ।
ध्यानाकर्षण पत्रमा सांसद न्यौपाने र ढकालले सुरुङभित्र अक्सिजन पठाइएको, उद्धारका विभिन्न चरण पूरा भइसकेको वा उद्धार सहज अवस्थामा पुगेको भनेर फेसबुकमा लेखेर वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरिरहेको गुनासो इन्जिनियरहरुको छ ।
सांसदद्वय न्यौपाने र ढकाल राज्यले खटाउनेभन्दा सत्तारुढ सांसदको रवाफ देखाउँदै आफै जबरजस्ती उद्धार गर्न परिचालित हेलिकप्टर चढेर साइट पुगेका थिए । इन्जिनियरहरुकाअनुसार दुवै सांसदले अनावश्यक रुपमा कर्मचारी थर्काउने, काम गरिरहेका इन्जिनियरहरुलाई हस्तक्षेप गर्ने, साइटमा रमिते बनेर यसो गर, उसो गर भन्ने गरेपछि सबै आजित भएका छन् । उनीहरुको हस्तक्षेपले कामै गर्न गाह्रो भएको गुनासो सबै इन्जिनियरहरुको छ ।
यस्तो छ प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई लेखेको ध्यानाकर्षण पत्र
विषय: त्रिशूली - ३ ए उद्धार कार्यमा फैलाइएको भ्रामक सूचना तथा अनावश्यक प्राविधिक हस्तक्षेप सम्बन्धमा तत्काल ध्यानाकर्षण
त्रिशूली–३ ए आयोजनामा भइरहेको उद्धार कार्य अत्यन्त संवेदनशील, जटिल र पीडादायी अवस्थामा पुगेको छ। सुरुङभित्र आफ्नै सहकर्मी तथा प्राविधिकहरू थुनिएको अवस्थामा हामी सबैको एउटै प्राथमिकता हुनुपर्छ–उहाँहरूलाई सकुशल घर फर्काउनु।
तर, यही संवेदनशील परिस्थितिमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट माननीय श्री सागर ढकालज्यू र माननीय श्री राम न्यौपानेज्यू लगायतबाट उद्धार कार्यसम्बन्धी अपुष्ट, अतिरञ्जित तथा वास्तविक साइटको अवस्थासँग मेल नखाने सूचनाहरू सार्वजनिक भइरहेका छन् । यस्ता सूचनाले उद्धारको वास्तविक अवस्था अस्पष्ट बनाउनुका साथै पीडित परिवार र आम नागरिकमा झूटो आशा र त्यसपछि थप निराशा सिर्जना गरिरहेको छ।
विशेषगरी सुरुङभित्र अक्सिजन पठाइएको, उद्धारका विभिन्न चरण पूरा भइसकेको वा उद्धार सहज अवस्थामा पुगेको जस्तो देखाउने सञ्जालका पोस्टहरूले वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरिरहेका छन्। उद्धार भइरहेको देखाउने पोस्ट गर्नु र वास्तवमै उद्धारको सम्भावना बढाउने प्राविधिक काम गर्नु दुई फरक कुरा हुन् ।
माननीयज्यूहरूलाई एउटा गम्भीर प्रश्न
यदि माननीय सागर ढकालज्यू र माननीय राम न्यौपानेज्यूसँग यस उद्धारका लागि विशेष प्राविधिक विशेषज्ञता, अनुभव र स्पष्ट समाधान छ भने त्यो विशेषज्ञता अहिले सामाजिक सञ्जालमा होइन, उद्धारस्थलमा परिणाम रूपमा देखिनुपर्छ ।
किनकि Excavator वा Dozer कहाँ सार्ने भन्ने निर्देशन दिनु मात्र प्राविधिक विशेषज्ञता होइन ।
सुरुङको संरचना, geological condition, access point, ventilation, सम्भावित secondary collapse debris stability, उपलब्ध entry route, equipment access र उद्धारमा संलग्न जनशक्तिको सुरक्षाबीचको सम्बन्ध बुझेर निर्णय लिनु नै वास्तविक प्राविधिक विशेषज्ञता हो ।
हामी यस आयोजनाको विकास प्रक्रियासँग प्रत्यक्ष रूपमा जोडिएका इन्जिनियर तथा प्राविधिकहरू हौं। त्यसैले साइटको वास्तविक अवस्था, संरचना र जोखिमलाई नजिकबाट बुझ्ने हाम्रो अनुभवलाई पनि बेवास्ता गरिनु हुँदैन।
नेपाल विद्युत् प्राधिकरणको भूमिकाबारे स्पष्टता आवश्यक छ
नेपाल विद्युत् प्राधिकरणका प्राविधिक तथा कर्मचारीहरू घटनापछि सुरुदेखि नै उद्धार तथा साइट व्यवस्थापनम निरन्तर खटिएका छन् । लजिस्टिक सहयोग, उपकरण, विद्युत् आपूर्ति, प्राविधिक समन्वय तथा आवश्यक स्रोत–साधन उपलब्ध गराउने कार्यमा नेपाल विद्युत् प्राधिकरणले सम्भव भएसम्म सबै प्रकारको सहयोग गर्दै आएको छ ।
यसको पुष्टि विपद् व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित निकायबाट गर्न सकिन्छ । माननीय गृहमन्त्रीज्यू स्वयंले समेत संकटको समयमा नेपाल विद्युत् प्राधिकरणले गरेको प्रतिक्रिया तथा सहयोगको प्रशंसा गर्नुभएको विषय पुनः पुष्टि गर्न सकिन्छ ।
त्यसैले नेपाल विद्युत् प्राधिकरण सहयोग नगरेको वा साइटमा बसेर केही नगरेको जस्तो भाष्य निर्माण गर्नु वास्तविकतामाथि अन्याय मात्र होइन, उद्धारमा दिनरात खटिरहेका प्राविधिकहरूको मनोबलमाथि समेत प्रहार हो ।
जिम्मेवारी हस्तान्तरण गर्ने हो भने स्पष्ट रूपमा गरियोस्
नेपाल विद्युत् प्राधिकरण आफ्नो जिम्मेवारीबाट भागिरहेको छैन । आवश्यक स्रोत, उपकरण र प्राविधिक जनशक्ति उपलब्ध गराइएमा प्राधिकरणका प्राविधिकहरू आफ्नो जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा तयार छन् ।
तर यदि सरकारको निष्कर्ष नेपाल विद्युत् प्राधिकरणबाट उद्धारको जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने हो भने त्यो निर्णय स्पष्ट रूपमा गरियोस् । नेपाल विद्युत् प्राधिकरण नेपाल सरकारलाई आवश्यक सहयोगसहित जिम्मेवारी हस्तान्तरण गर्न तयार छ ।
र त्यसपछि सरकारलाई उपयुक्त लागेमा उक्त जिम्मेवारी माननीय श्री राम न्यौपानेज्यू र माननीय श्री सागर ढकालज्यू लगायत आफूलाई विशेषज्ञका रूपमा प्रस्तुत गर्ने व्यक्तिहरूलाई नै औपचारिक रूपमा हस्तान्तरण गर्न सकिन्छ ।
तर त्यस अवस्थामा सामाजिक सञ्जालमा दाबी गर्ने मात्र होइन - उद्धारको कार्ययोजना, प्राविधिक निर्णय, कार्यान्वयन र परिणामको जवाफदेहिता पनि स्पष्ट रूपमा लिनुपर्छ ।
दुवै माननीयज्यूलाई तत्काल फिर्ता बोलाइयोस्
यस संवेदनशील अवस्थामा माननीय श्री सागर ढकालज्यू र माननीय श्री राम न्यौपानेज्यूलाई तत्काल उद्धारस्थलबाट फिर्ता बोलाई उहाँहरूको स्पष्ट भूमिका र जिम्मेवारी निर्धारण गरियोस् ।
यदि उहाँहरूसँग उद्धार कार्यका लागि उपयोगी प्राविधिक विशेषज्ञता, अनुभव वा व्यवहारिक समाधान छ भने त्यसलाई स्थापित Command and Coordination System भित्र समन्वयपूर्वक प्रयोग गरियोस्।
तर यदि उहाँहरूको उपस्थितिले सहयोगभन्दा अनावश्यक हस्तक्षेप, भ्रम र समन्वयको समस्या सिर्जना गरिरहेको छ भने, कृपया उहाँहरूलाई तत्काल साइटबाट फिर्ता बोलाई आधिकारिक प्राविधिक टोलीलाई निर्बाध रूपमा गर्न दिइयोस् ।
विशेषज्ञका रूपमा प्रस्तुत हुने हो भने विशेषज्ञको जिम्मेवारी पनि लिनुपर्छ । केवल Excavator र Dozer सार्ने निर्देशन वा सामाजिक सञ्जालमा उद्धार भइरहेको देखाउने पोस्टले विशेषज्ञता प्रमाणित गर्दैन ।
अहिले चर्चित बन्ने समय होइन ।
अहिले आफूलाई विशेषज्ञ प्रमाणित गर्ने समय होइन ।
अहिले सुरुङभित्र रहेका हाम्रा साथीहरूलाई जीवित र सुरक्षित रूपमा बाहिर निकाल्ने समय हो ।
सम्माननीय प्रधानमन्त्रीज्यू तथा माननीय ऊर्जामन्त्रीज्यू समक्ष तत्काल अनुरोध
१. त्रिशूली–३ ए उद्धारस्थलमा एउटै स्पष्ट Command and Coordination System कायम गरियोस्।
२. माननीय श्री सागर ढकालज्यू र माननीय श्री राम न्यौपानेज्यूलाई तत्काल साइटबाट फिर्ता बोलाई स्पष्ट जिम्मेवारी निर्धारण गरियोस् ।
३. प्रमाणित तथा जिम्मेवार प्राविधिक टोलीको सिफारिसबिना कुनै प्राविधिक हस्तक्षेप नगरियोस् ।
४. Excavator, Dozer, Breaker लगायत आवश्यक उपकरण तत्काल परिचालन गरियोस् ।
५. उद्धारसम्बन्धी अपुष्ट तथा भ्रामक सूचना नियन्त्रण गरी एकद्वार आधिकारिक सूचना प्रणाली स्थापना गरियोस् ।
६. नेपाल विद्युत् प्राधिकरणले गरेको उद्धार तथा लजिस्टिक सहयोगलाई औपचारिक रूपमा अभिलेख तथा मूल्यांकन गरियोस् ।
७. उद्धार कार्यमा संलग्न सबै पक्षलाई व्यक्तिगत प्रचारभन्दा परिणाममुखी र समन्वयित रूपमा काम गर्न स्पष्ट निर्देशन दिइयोस् ।
हामी कुनै व्यक्ति वा राजनीतिक व्यक्तित्वको विरोध गर्न खोजिरहेका छैनौं । हामी अनावश्यक हस्तक्षेपको विरोध गरिरहेका छौं।
उहाँहरूसँग साँच्चिकै उपयोगी विशेषज्ञता छ भने स्वागत छ । तर यदि विशेषज्ञताको नाममा साइटमा थप अन्योल, गलत सूचना र अव्यवस्थित निर्देशन मात्र थपिने हो भने कृपया उद्धार टोलीलाई काम गर्न दिनुहोस्।
सामाजिक सञ्जालमा उद्धार भएको देखाउनु र वास्तविक उद्धार गर्नु फरक कुरा हो र सबैभन्दा महत्वपूर्ण :
हामीलाई हाम्रा साथीहरू जीवित र सुरक्षित चाहिएका छन् ।
धन्यवाद ।
भवदीय,
त्रिशूली–३ ए आयोजनासँग प्रत्यक्ष रूपमा जोडिएका इन्जिनियर तथा प्राविधिकहरूको तर्फबाट