नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो। पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई-दुईपटक नेतृत्व गरिसक्नुभएको छ। गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसक्नुभएका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष हुनुहुन्छ। संस्कृतिविद् टण्डनसँग दसैँको सांस्कृतिक पक्षमा रही राष्ट्रिय समाचार समिति (रासस) का उपसमाचारदाता पूर्णप्रसाद मिश्रले गरेको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ।
दसैँको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई कसरी बुझ्न सकिन्छ?
नेपालमा वर्षैभरि विभिन्न किसिमका चाडपर्व आइरहन्छन्। त्यसमध्ये पनि विजयादशमी अर्थात् बडादसैँको ठूलो महत्त्व छ। एउटा त यो संस्कृतिभित्रको पनि अभिन्न अङ्ग भयो। नवरात्र यसैभित्र पर्छ। नवरात्रले गर्दा यो साधनाको पर्व पनि भयो। अब यो साधनाको पर्व भएको हुनाले आफैँले आफैँलाई चिन्ने अवसर पनि यसको एउटा ठूलो सांस्कृतिक अभिन्न अङ्ग हो। यसको अत्यन्त ठूलो महत्त्व छ।
दसैँ भन्नासाथ जुनसुकै नेपाली, जहाँसुकै गएको होस्, घर सम्झिने एउटा प्रमुख पर्व हो। दसैँपछि मनाइने तिहार, छठ, लोसार र आ-आफ्नो चलनअनुसारका अरू पर्व पनि छँदै छन्।
पछिल्ला वर्षमा नेपालीहरू ‘डायस्पोरा’मा पनि धेरै छन्। जहाँ रहेको भए पनि, जहाँ बसेको भए पनि, दसैँमा घर जाने या नजाने भन्ने चर्चा उनीहरूका बीचमा हुन्छ। हामी नेपालीलाई जहाँ रहेको भए पनि सम्झेर घर आउने बनाउने पर्व पनि दसैँ नै हो। यो पर्व यति व्यापक छ कि, यसलाई कसैले “हैन, यो त म मान्दिनँ, यो गर्दिनँ” भन्दाभन्दै पनि यसले सबैलाई समेट्न सक्ने भएकाले दसैँ दिनानुदिन राष्ट्रिय पर्वका रूपमा रहेको छ।
राष्ट्रिय पर्व किनभने हामीले दसैँमा जति लामो छुट्टी अरू कुनै पनि चाडपर्वलाई दिँदैनौँ। यद्यपि, पहिलाको भन्दा बिदा घट्दै गएको छ, विद्यालयमा घट्दै गएको छ, कार्यालयमा घट्दै गएको छ। हिजोको जुन किसिमको पर्वोत्सवमा यसको भव्यता थियो, त्यो घट्दै गइरहेको छ। तर यसो हुँदाहुँदै पनि विजयादशमी भनेको नेपालीहरूको एउटा ठूलो चाड हो। अब हिन्दू धर्म तथा हिन्दू धर्मावलम्बीहरूका लागि मात्र नभएर यो त सबै नेपालीको चाडका रूपमा स्थापित भएको छ। यस पर्वले अनेकतामा एकताको भावनासहित सबै नेपालीलाई जोडेको छ।
नेपाल एकीकरण हुनुभन्दा अघि यहाँ विभिन्न भुरे-टाकुरे राज्यहरू थिए। त्यसबखत ५२ भन्दा बढी राज्य थिए। पृथ्वीनारायण शाहले जुन किसिमले एकीकरण गर्नुभयो। त्यसपछि गोरखामा चलिरहेको विजयादशमीलाई गोरखामै छोडेर आएको भए पनि हुन्थ्यो नि, तर त्यसो नगरिकन त्यहाँको दसैँघरबाट जमरा विधिपूर्वक काठमाडौँ भित्र्याएर दसैँलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिएको विषय आफैँमा अति महत्त्वपूर्ण छ।
यसले नेपालको पर्वहरूमध्ये कुन पर्वलाई हामी राष्ट्रिय पर्वका रूपमा मनाउन सक्छौँ भन्ने कुराको बीजारोपण त्यही बेलादेखि नै, अर्थात् विसं १८२५ देखि नै पृथ्वीनारायण शाहले गर्नुभएको थियो। जसका कारण अहिले पनि सप्तमीको दिनमा गोरखाबाट जमरा ल्याउने र त्यसपछि सरकारी कार्यक्रमसहित भव्यताका साथ विधिवत् रूपमा काठमाडौँको हनुमानढोकामा भित्र्याइने चलन छ। त्यसले पनि यसको सांस्कृतिक महत्त्व अत्यधिक छ। यसरी दसैँले जुन किसिमको गरिमा र महत्त्व पाएको छ, अरू चाडपर्वहरूले पाएका छैनन्।
दसैँले नेपालीलाई जोड्ने काम पनि गरेको छ। पहाड होस्, तराई वा हिमाल, जहाँ होस्, सबैतिर आ-आफ्नो किसिमले दसैँ मनाइने गरिन्छ। हिमालतिर टीका लगाउने अथवा जमरा लगाउने चलन छैन। त्यहाँ यसलाई भाइचाराको पर्व, एकापसमा शुभकामना साटासाट गर्ने र मनोरञ्जन गर्ने पर्वका रूपमा मनाउँछन्।
नेपालमा मुस्लिम, क्रिस्चियन पनि छन्। उनीहरूले पनि यसलाई आफ्नै किसिमले मनाउन थालेका छन्। विजयादशमीलाई स्वीकार गर्छन्। यस पर्वमा उनीहरूका बीचमा शुभकामनाको आदानप्रदान गर्ने, भेटघाट गर्ने र एकापसमा रमाइलो गर्ने तौरतरिका छ। यसले पनि दसैँको महत्त्वलाई झल्काउँछ। अब त दसैँ नेपालमा मात्र सीमित नभएर विश्वव्यापी रूपमा विस्तार भएको छ। जहाँ-जहाँ नेपालीहरू पुगेका छन्, अहिले ती ठाउँमा पनि विजयादशमी भव्य रूपमा मनाउने चलन चलेको छ।
पछिल्लो समयमा यसभित्र रहेको साधनाको पक्ष भने ओझेल परेको छ। अध्यात्मको पक्ष भने बिलाउन लागेको वा हराउन लागेको हो भन्ने देखिन्छ। दसैँ भन्नेबित्तिकै खाइपिईमा रमाउने चलन बढेको छ। दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई पनि सँगै लैजाने चुनौती भने थपिएको छ।
विदेशी पर्यटकका लागि पनि दसैँ महत्त्व र कौतूहलको विषय बनेको छ। यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने लाग्छ। अहिले पोखरा, काठमाडौँलगायत विभिन्न ठाउँमा विदेशीले पनि सामूहिक रूपमा टीकाटालो गरी उत्सवका रूपमा मनाउने चलन बढेको छ। अन्यत्र पनि यो क्रम बढेको देखिन्छ। स्वदेशी मात्र नभएर विदेशीले पनि टीका लगाउने, जमरा थाप्ने र त्यसपछि आफूलाई एउटा गौरवको अनुभूति गर्ने परम्परा हुँदै गएको छ।
आफ्ना अग्रज वा आफूभन्दा ठूलासँग आशीर्वाद लिने, आफूभन्दा सानालाई आशीर्वाद दिने, शुभकामना आदानप्रदान गरी रमाउने र आशीर्वादमा पनि सुख, शान्ति, आनन्दको कामना गर्ने परम्परा छ। यस्तो चलन विश्वमा विरलै पाइएला। जुनसुकै धर्म, सम्प्रदायका मानिसले अवलम्बन गर्दा पनि नराम्रो हुने केही छैन। होला, त्यसमा रहेका कतिपय कुरालाई आ-आफ्नो ढङ्गले व्याख्या गर्ने, परिभाषित गर्ने कुरालाई त स्वाभाविक रूपमै लिनुपर्दछ।
नेपालमै पनि हामीकहाँ कोही रातो टीका लगाउँछन्, ठीकै छ। कोही सेतो टीका, अक्षतालाई दहीमा मात्रै मुछेर लगाउँछन्, त्यो पनि ठीकै छ। कोही जमरा लगाउँछन्, कोही लगाउँदैनन्, त्यो पनि चलिरहेको छ। यसैले यो विविधताभित्र पनि जुन किसिमले विजयादशमी अटाएको छ, यसले सबैलाई एक किसिमले एकताबद्ध गर्ने काम गरिरहेको छ। यसभित्रको त्यो महानता, यसभित्र रहेका विभिन्न किसिमका अर्थकारी कुरा र राम्रा कुराले गर्दा नै यो सम्भव भएको हो।
दसैँ-संस्कृतिबाट बिलाउन लागेका अर्थात् लोप हुन लागेका साधना एवं आध्यात्मिक पक्ष के-के हुन्?
हिजोको दिनमा नवरात्र भनेको साधनाको पर्व थियो। नौ दिनसम्म नवदुर्गा देवी भवानीको पूजाआराधना गर्ने, त्यसपछि त्यो पूजाआराधना भनेको नेपालको सन्दर्भमा हेर्दा सात्त्विक, राजसी र तामसी पूजा तीनै प्रकारको देखिन्छ। अब तीनै थरीले आ-आफ्नो श्रद्धा-विश्वासअनुसार साधना गर्थे। अहिले साधनाको पक्ष अलिकति हराउँदै जान लागेको महसुस हुँदै गइरहेको छ।
हरेक दिन जुन साधना गरिन्छ, त्यो साधना भनेको आफैँले आफैँलाई चिन्ने हो, आफैँभित्रको पशुता हटाउनका लागि हो। आफैँभित्रका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता जति पनि अवगुण छन्, ती अवगुण मबाट हराऊन् र मलाई दुर्गा भगवतीले यस्तो आशीर्वाद, कृपा गरून् कि ममा ती कुरा नहुन् भनेर साधना गर्ने र त्यो साधना गरिसकेपछि दसैँको दिनमा जुन टीका-प्रसाद हुन्छ, त्यो आफैँले पनि ग्रहण गर्ने, अरूलाई पनि त्यसबाट आशीर्वाद दिने चलन हो। अब त्यसमा अहिले बाहिरी अवशेष बाँकी भयो। त्यसको भित्री तत्त्व, त्यसको भित्री साधनाको पक्ष र बुझ्नैपर्ने पक्ष, दर्शनको पक्ष, जीवनको एउटा जीवनोपयोगी पक्ष थियो, त्यो चाहिँ बिर्सिंदै, हराउँदै जान लागेको अनुभूति भएको छ।
पछिल्ला वर्षहरूमा संस्कृति र नैतिक शिक्षाले स्थान नपाउँदा केही समस्या देखिएको हो। संस्कृतिको पढाइ विद्यालयदेखि नै दिन खोजेनौँ। नैतिकताको शिक्षा भने लोप भएर गयो। त्यसले गर्दा हाम्रो संस्कृति भनेको के हो? हामीलाई केले जोडेको छ? हामीलाई किन हाम्रा संस्कृतिप्रति गर्व लाग्छ र यो प्यारो हुन्छ? हाम्रा संस्कृतिलाई किन ग्रहण गर्नुपर्छ? त्यसभित्र भएका विकृतिलाई हटाउँदै पनि जानुपर्छ, फाल्दै पनि जानुपर्छ। त्यसभित्र भएका सबल पक्षलाई ग्रहण गर्दै जानुपर्ने हो। त्यो बढाउने पक्षमा हामीकहाँ कतिपय कुरा त्यसअनुसार भइरहेका छैनन्। त्यसतर्फ अब सोच्ने समय आएको छ।
दसैँको बेलामा घर लिपपोत हुन्थ्यो। १५-२० दिन अगाडिदेखि नै गाउँका मानिस जम्मा भएर सामूहिक रूपमा गाउँटोल, छिमेक सरसफाइ गर्ने, कुवा, पँधेरो, इनार, विद्यालय, मठमन्दिर, विहार, गुम्बा सरसफाइ गर्ने, ध्वजापताका फैलाउने, फहराउने गरिन्थ्यो। अब आज त्यो हराउँदै जान थालेको छ।
घरमा पनि लिपपोत गर्दा कसैले रातो माटो ल्याएर, कसैले कमेरो ल्याएर लिपपोत गर्ने चलन थियो। अब त्यो हिजोको वास्तुशैलीअनुसारका घरका लागि उपयुक्त थियो। अहिले नयाँ किसिमको आधुनिक वास्तुशैलीमा गइसक्यौँ। अब कमेरो, चुन अथवा रातो माटो प्रयोग नहुने भए। विकल्पमा अरू रङहरू आउन थाले। कतिपय कुरामा परिवर्तन आएको छ। अब त्यो परिवर्तनलाई समयअनुसार यसरी नै परिवर्तन हुँदै जान्छ भनेर स्वीकार्नुपरेको छ। कमेरो लगाउँछौँ भनेर अहिलेको आधुनिक घरमा लगाएपछि त काम लाग्दैन। यसैले कतिपय कुरामा परिवर्तन पनि आउँदै गइरहेका छन्।
दसैँ संस्कृतिभित्र नै विभिन्न स्वरूपले मनाउँदा कसैले बलि दिने, कसैले बलि नदिने परम्परा छ। यो बलि संस्कृति पहिलेदेखि चल्दै आएको हो अथवा पछि गएर यसको सुरुआत भएको हो?
समाजमा विभिन्न किसिमका मान्छे हुन्छन्। मान्छेमा आ-आफ्नो किसिमको बुद्धिको तह हुन्छ। ज्ञानको तह हुन्छ, दर्शनको तह हुन्छ। यसअघि मैले भनिसकेँ, सात्त्विक, राजसी र तामसी पूजापद्धति छ। सात्त्विकतालाई अपनाउनेहरूले कसैले पनि पशुपक्षीको बलि दिँदैनन्।
बलि भनेको उपहार हो। उपहार भनेको केको दिन्छन् भन्दा उनीहरू आफैँभित्रको अज्ञानता, अन्धकार र अवगुणहरूको बलि देवी दुर्गा भवानी अथवा आफूले जसलाई आराधना गर्छन्, चाहे भगवान् शिव, चाहे विष्णु, चाहे राम, चाहे कृष्ण, चाहे बुद्ध, कसलाई आराध्य मान्ने हो, त्यो हटाइदिनका लागि भगवान्सँग प्रार्थना गर्छन्, साधना गर्छन्, पूजाआराधना गर्छन्।
अर्को राजसी र तामसी पूजाविधि छ। राजसी र तामसीमा तन्त्रको प्रधानता पनि पाइन्छ। तन्त्रप्रधानताका कारणले गर्दा पशुबलि यसमा छिरेको छ। नेपालको इतिहासलाई हेर्ने हो भने हाम्रो इतिहासको एउटा प्रामाणिक इतिहास लिच्छविकालबाट सुरु हुन्छ। किंवदन्तीमा, वंशावलीमा त्यसभन्दा अगाडिदेखि किराँत, महिषपाल, गोपालवंशलगायतको पनि पाइन्छ। प्रमाण नभएको हुनाले त्यतिखेरका कतिपय कुरा अहिले हामीले किंवदन्ती र लोकोक्तिको भरमा नै बुझ्नुपर्ने अवस्था छ।
पशुबलिको जुन चलन छ, त्यो मल्लकालतिर प्रवेश भयो। हरिसिंह, जो कर्नाटकवंशी थिए, उनी भक्तपुरमा आएपछि सुरु भएको हो।
राजाका रूपमा हरिसिंह भक्तपुरमा आएपछि तुलजाको प्रवेश भयो। तुलजाको प्रवेश भएपछि नेपाली इतिहासको मूर्तिकलाको क्षेत्रमा हेर्ने हो भने जति पनि देवी, मातृका, दुर्गाभवानीका मूर्ति देख्छौँ, ती धेरैजसो मल्लकालकै छन्। ती पनि हरिसिंह यता आइसकेपछि १३औँ, १४औँ शताब्दीदेखि बनेको पाइन्छ। भगवती वा अष्टमातृकाको कुरा गरौँ, चाहे पलाञ्चोक भगवतीको कुरा गरौँ, सबै देवदेवी जति पनि छन्, मल्लकालमा मैथिली प्रभाव परेको देखिन्छ।
नेपाली कलामा पाल, मैथिल प्रभाव परिसकेपछि देवीहरूको प्रधानता भयो। देवीहरूको प्रधानताका कारणले गर्दा पशुबलिले प्रवेश पायो। त्यसअघि नेपालमा बलि दिने चलन थिएन।
मूर्तिकला अध्ययन गर्यौँ भने पनि त्यही नै देख्न सक्छौँ। त्यसपछि नेवार समुदायमा यसको अत्यधिक प्रचारप्रसार भयो। खासगरी पालहरूको प्रवेशले गर्दा बङ्गालमा चलिरहेको मातृशक्तिप्रतिको धारणा र दर्शनले यहाँ पनि प्रवेश पायो। पण्डितहरू आए, ग्रन्थ आए, पूजापद्धति आए। त्यस्तैगरी यता मैथिलहरूको कर्णाटकबाट प्रवेश भयो। यसरी दुई धारबाट नेवारी संस्कृतिमा जोडियो। त्यसमा आफ्नैपन आयो, नेपालीकरण भयो। त्यसभन्दा अगाडिको जुन प्रभाव छ, त्यसमा पाल र मैथिलहरूको प्रभाव देखिन्छ।
पशुबलि सुरु भएपछि तन्त्रप्रधान भयो। पशुबलिलाई हाम्रै धर्म हो, योबाहेक अर्को छैन भन्ने जस्तो स्थिति आयो। अहिले त मानिसहरूमा चेतना आएर पशुबलि त कसरी धर्म हुन सक्छ भन्ने चर्चा-परिचर्चा, विचार-विमर्श हुन थालेको छ। विगत केही वर्षदेखि देवीका मठमन्दिरमा गएर हेर्ने हो भने पशुबलिमा निकै कमी भएको पाइन्छ। पशुको सट्टा नरिवलको बलि दिऊँ, कुभिण्डोको बलि दिऊँ वा घिरौँलाको बलि दिऊँ भन्नेहरू पनि त्यत्तिकै देखिन्छन्।
पहिलापहिला इष्टदेवी, कुलदेवीमा पनि पशुबलि दिने व्यापक चलन थियो। अब त्यो पनि बिस्तारै हटाउँदै, पशुबलि नदिने, बरु अरू नै बलि, सात्त्विक बलि दिने भन्ने क्रम पनि चल्दै गइरहेको छ। यसले गर्दा समाजमा परिवर्तन आउँदै गरेको आभास हुन्छ।
इतिहासलाई हेर्ने हो भने नेपालमा कुनै बेला सतीप्रथा थियो। सतीप्रथालाई कुनै बेला यो धर्मको अभिन्न अङ्ग हो भन्यौँ। बिस्तारै सुधारवादी नेताहरू आए, सुधारवादी अग्रजहरू आए, सुधारवादी आचार्य, सुधारवादी गुरुजनहरू आए। त्यसलाई बुझाउन सक्ने व्यक्तित्वहरूले त्यतिखेरका राजसत्तामा भएका मानिसहरूलाई बुझाउँदा त्यो इतिहासको कालखण्डमा अतीत बनेर गयो।
यस्तै कतिपय कुरा, जसलाई अहिले हामी संस्कृति भनिरहेका हुन्छौँ, त्यो संस्कृति पनि बिस्तारै परिवर्तन हुँदै, संशोधन हुँदै, परिमार्जन हुँदै जान्छ। यदि संशोधन, परिमार्जन भएन भने फेरि त्यो एउटा पोखरीको पानीजस्तो हुन्छ। कतै पनि जान पाएन भने गन्हाउन थाल्छ। संस्कृति भनेको झरनाजस्तो हुनुपर्छ। झरनाको पानी जसरी कलकलाउँदो गरी छङछङ-छङछङ गर्दै बगेर नदीमा जान्छ।
त्यसभित्रका विकृति बिस्तारै समयअनुसार आफैँ पाखा लाग्दै, पन्छिँदै हट्दै जान्छन्। अनि मानिसमा एउटा चेतना र जागरण पनि बढ्दै जान्छ। त्यो चेतना र जागरण बढ्दै गइसकेपछि कतिपय कुरा समयसापेक्ष रूपमा बदलिँदै जान्छन्।
संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई दुःख दिने, कसैलाई पिरलो गर्ने, कसैलाई आँसु आउने काम भयो भने त्यो संस्कृतिभित्र पर्दैन। बिस्तारै नबुझेकोलाई पनि बुझाउँदै जानुपर्छ र साथसाथै त्यसलाई व्यावहारिक रूपमा अवलम्बन गर्दै गयो भने कतिपय संस्कृतिभित्र रहेका विकृति स्वतः हट्दै जान्छन्।
दसैँ, तिहार, छठलगायत हाम्रो महत्त्वपूर्ण धर्म-संस्कृतिको उजागर एवं संरक्षण गर्दै समयसापेक्ष एवं व्यावहारिक पक्षलाई पनि आत्मसात् गरी नेपाल र नेपालीको गौरवलाई अझ उच्च पार्नका लागि हाम्रा चाडपर्वहरू साबित हुनेछन्।