नेभिगेशन
समाज

छठमा धाप ड्यामको पानी बगाएर बागमतीको बहाव बढाइँदै

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने छठ पर्वको तयारी भइरहेको छ । तराईमा मात्रै मनाइने छठ पर्व आजभोलि राजधानीमै बाक्लिँदै गएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्वदेशमा मात्रै होइन, विदेशी भूमिमा छरिएर बस्नेका लागि छठ पर्वको उत्तिकै रौनक छाएको देखिन्छ । आस्था, विश्वास र सद्भावको पर्वका रूपमा मनाइने छठ पर्व आगामी सोमबार देशभर मनाइने तयारी भइरहेको छ । छठ पर्वलाई लक्षित गर्दै गाउँघर, टोलतिरका पोखरी तथा नदीहरूको सरसफाइको काम  सुरु हुन थालेको छ । उपत्यकामा छठ पर्व मनाउने तयारीका साथ बागमती नदीलाई सरसफाइ गर्ने गरिन्छ ।

Extreme Energy
Everest cinsult

यसैगरी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी बागमती नदीमा बगाउने तयारी गरिरहेको छ । बागमती नदीको पानीको बहाव बढाउन र ब्रतालुलाई स्नानका लागि सहज होस् भनेर आयोजनाले ड्याममा जम्मा भएको पानी नदीमा छोड्ने तयारी गरेको हो ।

उपआयोजना निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आइतबार मध्याह्नदेखि नै पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्छ, त्यसर्थ हामीले अघिल्लो दिनबाटै पानी छोड्ने तयारी गरेका हौँ”, उनले भने, “विशेष दिनहरूमा हामीले ड्यामको पानी बागमतीमा छाड्दै आएका छौँ ।”

प्रतिसेकेण्ड ४०० लिटर पानी छाड्ने

समितिले बागमती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी छठ पर्वका दुई दिनसम्म छाड्ने तयारी गरिरहेको छ । “यसरी पानी छाड्दा बागमती नदीमा घुँडासम्म पानी आउँछ र ब्रतालुलाई नदीमा स्नान गर्न र अघ्र्य चढाउन सहज हुने छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पानी छाड्नका लागि आग्रह गर्नेछौँ ।”


मेलम्ची खानेपानी विकास समिति भन्छः आवश्यकताअनुसार पानी छाड्ने छौँ

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले मेलम्ची नदीमा छठकै अवसरमा पानी छाड्नका लागि आधिकारिक रूपमा माग भएमा आवश्यकताअनुसार पानी छाड्न सकिने बताए ।

मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउनका लागि हरेक वर्ष आयोजना नै बन्द हुने गरेको छ । आयोजना बन्द भएको समयमा धाप ड्यामकै पानी ल्याएर काठमाडौँका उपभोक्तालाई वितरण हुँदै आएको थियो ।

सुन्दरीजल खानेपानी प्रशोधन परियोजनाका प्रमुख हेम बुढाथोकीले अहिलेसम्म आधिकारिक रूपमा बागमती नदीमा पानी छाड्नका लागि माग नभएको बताए । “गत वर्षको मनसुन अवधिमा मेलम्ची बन्द हुँदा हामीले धाप ड्यामकै पानी सापटी लिने गरेका थियौं र छठ जस्ता महत्वपूर्ण पर्वमा मेलम्चीको पानी बागमतीमा बगाएर बहाव बढाउन सहयोग गरेका थियौँ”, उनले भने, “यस वर्ष भने हामीले धाप ड्यामबाट सापटी पानी ल्याएका छैनौँ, तर आधिकारिक रूपमा माग भएमा पानी छाड्न सक्छौँ ।”

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका अनुसार छठ पर्व छिटो परेको र दसैँ अवधिमा भएको भारी वर्षाका कारण यस वर्ष वागमती नदीमा पानीको बहाव धेरै घटेको छैन । आवश्यकता परेमा मात्रै मेलम्चीबाट पानी मागेर बगाउन सकिने समितिको भनाइ छ ।

धाप ड्याम एकः महत्व अनेक 

काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप ड्याम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको छ । यससँगै ड्यामले बागमती नदीमा पानीको बहाव बढाएर नदीको सौन्दर्यता कायम गर्न सहयोग पुगेको समितिले जनाएको छ ।

धाप ड्यामले बढाउँदै पर्यटकीय चहलपहल

धाप ड्यामको निर्माण कार्य सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको समितिले जनाएको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झन्डै एक दशकअघि सुरु भएको थियो । तीन वर्षअघि यसको उद्घाटन गरिएको हो ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका सूचना अधिकृत शिवलाल गैरेले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढेको जानकारी दिएका छन् । “पहिलाको भन्दा अहिले धेरै नै चहलपहल बढ्न थालेको छ, धाप ड्यामको सौन्दर्यता हेर्न आउने पर्यटकहरू प्रायः ट्रेकिङ रुटबाट हिँडेर आउने गर्छन्”, उनले भने, “सडक पूर्वाधार राम्रो भएमा अझै पर्यटक आगमन बढाउन सकिन्छ, यसका लागि सरोकारवाला निकायबीच समन्वय बढाउन आवश्यक छ ।”

वर्षातमा पानी जम्मा, हिउँदमा बागमतीमा छाड्ने लक्ष्य

धाप ड्याममा वर्षाको समयमा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा बागमती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षातको समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड ४०० लिटरको दरले बागमतीमा छाड्ने आयोजनाको लक्ष्य थियो ।

एसियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वहरूमा बागमती नदीमा पानी छाड्ने गरिन्छ । ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर रहेको छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ ।

दैनिक पानी छाड्न सम्भव भएन

धाप ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रूपमा बागमती नदीमा पानी छाड्ने सरकारको लक्ष्य कार्यान्वयनमा चुनौती देखिएको छ । नदीको बहाव बढाउन आवश्यकताअनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रूपमा पानी छाड्न नसकिएको उपनिर्देशक नेपालले बताए । “हिउँदको सुक्खा अवधिमा बागमतीमा पानीको बहाव बढाउनका लागि प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ, तर त्यो परिणामले खासै उपलब्धि नदिने रहेछ”, उहाँले भन्नुभयो, “परिणाम देखिन प्रतिसेकेण्ड ४००  लिटर पानी आवश्यक पर्छ, तर त्यति बगाउन ड्यामको क्षमता नभएकाले सुक्खा अवधिमा दैनिक पानी बगाउन सकेनौं ।”

छठ पर्वको महत्व

छठ पूजा विशेष गरी नेपालका तराई क्षेत्रका नेपालीको प्रमुख पर्व हो । यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ । यस पर्वमा महिलाले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन् ।

छठ पर्व चार दिनसम्म चल्ने गर्छ । यस पर्वमा निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्व हुन्छ । छठ पूजा कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ । यसमा नुहाउने, खाने, खरना, संध्याअघ्र्य र बिहानको अघ्र्य दिने जस्ता विभिन्न चरण हुन्छन् । मानव र प्रकृतिबीचको सम्बन्ध सुदृढ गर्ने पर्वका रूपमा छठलाई लिने गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

प्रधानमन्त्री बालेनले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

जसअन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपमार्फतै प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको...
बिहारमा नितिश युग समाप्त, को हुन् नवनिर्वाचित मुख्यमन्त्रीमा सम्राट चौधरी ?

बिहारमा नितिश युग समाप्त, को हुन् नवनिर्वाचित मुख्यमन्त्रीमा सम्राट चौधरी ?

सम्राट चौधरीको राजनीतिक यात्रा रोचक मानिन्छ । राजनीतिमा प्रारम्भिक प्रवेश उनले १९९० को दशकमा राष्ट्रिय जनता दल (आरजेडी) बाट गरेका थिए । पछि सन् २०१८ मा उनी भाजपा...
दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित  गरी हात्रलमण गरेको र हानिन शहरका  घरहरूमा विस्फोट गराएको पनि बताएको छ ।