नेभिगेशन
समाज

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो ।

Ncell
Extreme Energy

आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लोपटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाएको बताए । विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु भएको थियो ।

त्यसयता ठेक्काको म्याद दुई पटक थप भइसकेको इञ्जिनियर सुवेदीले बताउनुभयो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन रु दुई अर्ब ५० करोड ३३ लाखमा ठेक्का लिएको थियो ।

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा रु एक अर्ब ३० करोड खर्च हुने जनाइएको छ । हाल पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इञ्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकदेखि सभागृह र जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ ।

आयोजनाअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।

“लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ, लेकसाइडको भित्री क्षेत्रमा पनि काम सुरु भएको छ”, इञ्जिनियर सुवेदीले भने, “न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ ।”

यसअघि विभिन्न कारण देखाउँदै काममा ढिलासुस्ती गरेको निर्माण कम्पनीले तिहारपछि कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापर्वाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको थियो ।

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इञ्जिनियर सुवेदीले बताए ।

पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गरिरहेको छ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इञ्जिनियर सुवेदीले बताए ।

तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मधेसवादी दलका नेताहरुसँग रवि लामिछानेको छलफल

मधेसवादी दलका नेताहरुसँग रवि लामिछानेको छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगरमा

गृहमन्त्री सुधन गुरुङ विराटनगर  पुगेका छन्। उनी केही बेरअघि विराटनगर पुगेका हुन् ।
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।