नेभिगेशन
मुख्य समाचार

बजेट अभावमा गत वर्ष रोकिएको गैँडा गणना यसपाली गरिने

चितवन । बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना यस वर्ष आनुवंशिक (जेनेटिक) विधिबाट गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चार÷चार वर्षमा गर्दै आएको गैँडा गणना गत वर्ष रोकिएको थियो । 

यस वर्ष बाघ गणनासमेत गर्ने तयारी छ । बाघ गणनापछि गैँडा गणनाको तयारी गरेको विभागले विगतको भन्दा फरक विधि प्रयोग गरेर गणना गर्ने तयारी गरेको हो । विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरिएको छ । 

समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले केही दिनमा नै प्रोटोकल तयार गरी बैठक बसेर छलफल गरिने बताए । यो विधिबाट गैँडा गणना गर्दा वैज्ञानिक र दीर्घकालीन दृष्टिले उत्तम हुने उनको भनाइ छ । नेपालमा यो विधिबाट हिउँ चितुवाको मात्रै गणना गरिँदै आएको छ । 

भारतमा केही महिनाअघि हात्तीको यही विधिबाट गणना गरिएको जनाउँदै उनले विगतमा गणना गर्दै आएको विधिभन्दा कम खर्चिलो र सुरक्षित हुने बताए । विगतमा ब्लक छुट्याएर प्रत्यक्ष गणना विधि प्रयोग गरिँदै आएको थियो । यो विधिबाट गणना गर्दा निकै खर्चिलो हुने र जोखिमपूर्ण हुने गरेको छ । 

आचार्यका अनुसार सन् २०२१ मा गैँडा गणना गर्दा रु तीन करोड हाराहारी खर्च भएको थियो । सो क्रममा एक जना प्राविधिक हात्तीबाट लडेर गम्भीर घाइते भएका थिए । यसरी गणना गर्दा तीन साता समय लाग्ने गर्दछ । त्यसमा ठूलो सङ्ख्यामा हात्ती लगायतका सवारीसाधनसहित प्राविधिक जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ । 

आचार्यले अहिलेसम्म प्रयोग गरिएको प्रत्यक्ष र ‘फोटो आइडी’ विधिबाट भन्दा आनुवंशिक विधिबाट गणना गर्दा वैज्ञानिक आधारमा सबैले मान्ने विधि भएकाले यसतर्फ विभागको ध्यान गएको बताए । अन्तिम टुङ्गो लगाउन बाँकी रहेको भन्दै उहाँले आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर (मल) सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने बताए । 

आउँदो पुसमा बाघ गणना गर्ने तयारी गरिएको छ । बाघ रहेका पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागेको छ । 

बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैतमा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ ।  

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ । 

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब १०० को हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा ८०० गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८ र शुक्लाफाँटमा १८ पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

१५औँ महाधिवेशनका सन्दर्भमा काँग्रेसमा नेताहरुबीच मतभेद, बैठक पुनः बुधबार बस्ने

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पेचिलो बन्दै गएको १५ औँ महाधिवेशनको कार्य तालिकाको सन्दर्भमा सदस्यहरुको फरक फरक धारणा आएको हो ।
मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद्को मंगलबारका निर्णय यस्ता छन्

मन्त्रिपरिषद् बैठकको यही कात्तिक २४ गतेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउँदै

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव...
रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

रविन्द्रसँग रविले भने: ‘म यिनीहरूसँग लड्ने नै हो, म त आनन्दमै छु पीडामा त यिनीहरू छन्’

मिश्रले रवीको केसलाई तात्कालिन सरकारले प्रतिशोध साँधेकोमा आफू स्पष्ट रहेको बताएका छन् । उनले अहिलेको सरकारले त्यसो नगर्नेमा आफू आशावादी रहेको समेत उल्लेख गरे । उनले भने, ‘धेरै...