नेभिगेशन
समाज

जेनजी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

काठमाडौँ । छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई । काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर ती फगत स्वप्न हुन् । उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसक्नुभएको छ । तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन् । आशाले ठाउँ ओगट्ने रहेछ । 

Ncell
Extreme Energy

दशैँ आयो, गयो । तिहार पनि गयो । चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने । अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन । दिपेशलाई मासु औधी मनपथ्र्यो । आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ । दसैँका लागि घरमा बङ्गुर पालिएको थियो ।

उनी भावुक हुँदै भन्छीन्, “दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ ।” तर, भदौ २३ को जेनजी आन्दोलनमा उनी सहिद भए । मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो ।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ  प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो । छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन ।

अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी गराएका थिए । भीममायाले आन्दोलनमा नजाउ भनेको उनले मानेनन् । प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिराखेकी थिइन । 

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो । ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो । उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राइन । 

छोराको फोन फिर्ता लिएपछि काठमाडौँ बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए । भीममायाको मनमा भक्कानियो । छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे ।

तर उनको अवस्था अत्तोपत्तो भएन । तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आएकी थिइन । घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो ।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन ।

उनीहरुले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे । घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पुर्‍याइयो भन्ने यकीन भएन । 

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश 

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो । परिवारमा गरिबी, खानको पनि दुःख थियो ।

त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिन्छन् दिपेशका बुवा ढलकबहादुर ।  “गाउँका कसैलाई मोटरसाइकलमा पुर्‍याउनु पर्‍यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ”, ढलकबहादुर  छोरालाई सम्झिदै भन्छन्, “संसारलाई पुर्‍याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो ।  भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो ।” 

दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन गरेका थिए । १९ वर्षीय उनी एक वर्ष अघि काठमाडौँ आएर उनले घर निर्माणको काम गरे । तर ठेकेदारले पैसा नदिएपछि उनी घर फर्किएका थिए ।

दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउछन् । पछिल्लो पटक उनी गत जेठमा काठमाडौँ आएका थिए । लगत्तै सफाइ कम्पनीमा काम गर्न थालेका थिए ।

काठमाडौँमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्थेए । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए । दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उनको योजना थियो ।

“अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो”, भीममाया भन्छीन् “घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो । अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ ।”

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा । दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन् ।

बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आएका थिए । घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए ।

छोराको साहदतपछि उनलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाडेका छन् । दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट रु २५ हजार प्राप्त गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट रु १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन् । 

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् ।  सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।