नेभिगेशन
सबै कुरा

एमसीसी परियोजनाको पाँचवर्षे समयाबधि आजबाट सुरु हुँदै

१३ भदौ, काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच २०७४ भदौ २९ मा भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरुपमा लागू हुने मिति (इन्ट्री इन् टू फोर्स–इआइएफ) आजदेखि सुरु हुँदैछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समितिले भदौ १३ गतेलाई इआइएफ मिति तोक्ने निर्णय गरेको थियो ।

Extreme Energy

एमसीसी नेपाल कम्प्याक्टअन्र्तगत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम इआइएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि इआइएफ हो । 

सुरुआती सम्झौतामा विसं २०७७ असार १६ गते (२०२० जुन ३०) बाट इआइएफ सुरु हुने भनिएको थियो । एमसिसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा र कम्प्याक्ट लागू हुनुअघि पूरा गरिसक्नुपर्ने भनिएका काम समयमै नसकिँदा इआइएफ मिति घोषणामा ढिलाइ भएको थियो ।

अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न छ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

 इआइएफका लागि पूर्वसर्तका रुपमा रहेको जग्गा प्राप्तिको काम अझै बाँकी छ भने अरू सर्त पूरा भइसकेका छन् । एमसीसी कार्यक्रम कार्यान्वयनका लागि सम्झौतामा हस्ताक्षर गर्ने, परियोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्ने, नियामक निकायका रुपमा विद्युत् नियमन आयोग गठन गर्ने र बुटवल–गोरखपुर प्रसारणलाइन निर्माणमा भारतको सहमति लिनुपर्ने पूर्वसर्त पूरा भइसकेका छन् ।

एमसिए–नेपालअन्तर्गत बन्ने विद्युत् प्रसारण आयोजनाका लागि कूल एक हजार चार सय ७१ हेक्टर र नुवाकोटमा निर्माण गरिने रातामाटे सबस्टेसनका लागि करिब २० हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्दछ । प्रसारणलाइनमा पर्ने करिब आठ सय ५६ वटा विद्युत् प्रसारण टावर बनाउन एक सय चार हेक्टर जग्गा आवश्यक पर्नेछ भने भोगाधिकार क्षेत्रअन्तर्गत एक हजार तीन सय ४७ हेक्टर जग्गा रहेको छ । सबस्टेसनका लागि चाहिने जग्गाको विवाद बाँकी रहेको र प्रसारणलाइनका लागि चाहिने जग्गाको मुआब्जा वितरणको काम केही स्थानमा सुरु भइसकेको एमसीए–नेपालले जनाएको छ ।

पारिवारिक विवाद रहेको एक कित्ता जग्गाबाहेक रातामाटे सबस्टेसनका लागि आवश्यक सम्पूर्ण जग्गाको मुआब्जा वितरण गरिसकिएको छ । अहिले विद्युत् प्रसारण टावर निर्माणका लागि चाहिने जग्गा प्राप्ति र भोगाधिकार क्षेत्रमा पर्ने जग्गासम्बन्धी प्रारम्भिक कानुनी प्रक्रिया अगाडि बढिरहेको र केही स्थानमा मुआब्जा वितरणको काम पनि सुरु भइसकेको एमसीए नेपालले जनाएको छ ।

एमसिए–नेपालअन्तर्गत हुने खर्चमा नेपाल सरकारले बेहोर्नुपर्ने दायित्वको अंश सुरुआती सम्झौताको तुलनामा बढेको छ । सुरुआती सम्झौतामा एमसीसी परियोजनाका लागि कूल ६३ करोड अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो । जसमध्ये ५० करोड अमेरिकी डलर एमसीसी अनुदान र १३ करोड अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने कम्प्याक्टमा उल्लेख छ । 

गत जेठ ९ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल र एमसीसीबीच सम्पन्न सम्झौता संशोधन गरी नेपाल सरकारको योगदान वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि नेपाल सरकारले बेहोर्ने दायित्व छ करोड ७० लाख अमेरिकी डलर थप भई १९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ । यसरी समग्र परियोजनामा हुने खर्चको अनुमानसमेत ६३ करोड अमेरिकी डलरबाट बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ ।

एमसीएअन्तर्गतका आयोजनामा खर्च हुने गरी चालु आर्थिक वर्षका लागि सरकारले रू १० अर्ब ८४ करोड १७ लाख बराबरको बजेट विनियोजन गरिएको छ । जसमध्ये विद्युत् प्रसारण आयोजनातर्फ रू आठ अर्ब ७७ करोड ६३ लाख ६६ हजार, सडक मर्मत आयोजनातर्फ रू एक अर्ब ५० करोड ७६ लाख ५३ हजार, अनुगमन तथा मूल्याङ्कनतर्फ रू २१ लाख ९३ हजार, कार्यक्रम प्रशासनतर्फ रू ५५ करोड ५४ लाख ८८ हजार बराबर विनियोजन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देशभर संवाद अभियान चलाउने थापाको घोषणा

देशभर संवाद अभियान चलाउने थापाको घोषणा

सभापति थापाले आन्तरिक प्रतिस्पर्धाको तिक्तता छोडेर पार्टीसँग टाढिएका मतदाता र परिवारलाई पुनः जोड्न कांग्रेसले विशेष संवाद अभियान सञ्चालन गर्ने बताएका हुन् ।
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बैंकक प्रस्थान

यसैगरी थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रुपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया-प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी-त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन...