नेभिगेशन
समाज

अध्यादेश रोक्न राष्ट्रपतिलाई दबाब किन ?

काठमाडौँ । सरकारले चौबीस घण्टाको अन्तरालमा ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानका जानकारहरुसँग परामर्श गर्दैछन् । पौडेलले यसअघि जेनजी आन्दोलनका बेला पनि संविधानका जानकारहरुलाई शीतलनिवास बोलाएर छलफल गरेका थिए । त्यतिबेला बोलाइएका अधिकांशलाई आज पनि शीतलनिवास बोलाइएको छ ।

सरकारले सिफारिस गरेका अध्यादेशलाई लिएर राजनीतिक र कानुनी बजारमा दुईथरि चर्चा भइरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो– संसद बोलाएर विधेयक ल्याउनु पर्थ्यो, सदनको मर्यादा नै मिचियो ।

Ncell
Extreme Energy

दोस्रो– सरकारले तत्काल काम गर्नुपर्ने छ, सदनमा विधेयक लगेर कानुन बनाउन समय लाग्छ ।

पहिलो तर्क विपक्षीहरुको हो । दोस्रो सरकार पक्षको ।

दुई दिनदेखि मुलुकको राजनीति यिनै दुई तर्ककको वरिपरि घुमिरहेको छ । विपक्षी दलहरुले मोर्चाबन्दी गरेका छन्, सत्तारुढ दलले पनि आफ्नो भनाइ सार्वजनिक गरेको छ । अनि आफूलाई संविधान र कानुनका जानकार भन्नेहरुले पनि आ आफ्नो तर्क विभिन्न माध्यमबाट सार्वजनिक गरिरहेका छन् ।

गत साता, अघिल्लो दिन सरकारले संसदको बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्यो, राष्ट्रपतिले अधिवेशन आह्वान गरिदिए । भोलिपल्ट फेरि सरकारले अधिवेशन स्थगित गर्न सिफारिस गर्यो, उनले सिफारिस बमोजिम आह्वान भइसकेको अधिवेशन स्थगन गरिदिए ।

यसमा राष्ट्रपतिको चित्त बुझेको थिएन ।

लगत्तै सरकारले अध्यादेश जारी गर्न सिफारिस गर्यो ।

संसद् अधिवेशन सम्मुखमा छ, अध्यादेश टेबलमा छ । यसको अर्थ सरकारले जस्ताको तस्तै जारी गर्न भनेको छ । अर्कोतिर विपक्षी दलहरुले सदन रोकेर अध्यादेश ल्याउन खोजिएको भन्दै अध्यादेश जारी नगर्न आग्रह गरेका छन् । यस्तो अवस्थामा राष्ट्रपतिले के गर्लान् ? धेरैको चासो छ ।

यसरी सबैको चासो बढाउने अध्यादेश के के हुन् ? तिनका बारेमा पनि बुझौं ।

सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेका ६ वटा अध्यादेश 
१. संवैधानिक परिषद् सम्बन्धी अध्यादेश 
– संवैधानिक निकायमा नियुक्ति प्रक्रिया व्यवस्थित र पारदर्शी बनाउने
– बैठक तथा सिफारिस कार्यविधि सुधार गर्ने 
२. सहकारी ऐन संशोधन अध्यादेश 
– बचत तथा ऋण सहकारीलाई कडाइका साथ नियमन गर्ने
– इजाजतपत्र अनिवार्य गर्ने 
– समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न ‘चक्रीय राहत कोष’ स्थापना गर्ने 
३. विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश 
– विश्वविद्यालय÷प्रतिष्ठानमा भएका राजनीतिक नियुक्ति तथा मनोनयन पुनरावलोकन गर्ने 
– नयाँ पदमुक्ति व्यवस्थासँग मिलाउने 
४ केही नेपाल ऐन संशोधन अध्यादेश  
– २० वटा कानुन संशोधन गर्ने
– भूमि, नापी, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती, बिमा लगायत क्षेत्रमा कानुनी अवरोध हटाउने  
५ सार्वजनिक पदाधिकारी पदमुक्ति अध्यादेश  
– राजनीतिक रूपमा नियुक्त सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्ने विशेष व्यवस्था
६ सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश  
– सार्वजनिक खरिदलाई समयसापेक्ष बनाउने

स्वाभाविक रुपमा कानुन संसदबाट बनाउनुपर्छ । प्रक्रियागत रुपमा संसदबाट कानुन बनाउँदा समय लाग्छ । सरकारलाई अहिले नै कानुन चाहिएको छ, प्रक्रिया अपनाउँदा समय लाग्छ । त्यसैले त संविधानमै अध्यादेशको व्यवस्था राखिएको हो । अहिले सरकारले पनि त्यही गरेको हो । तर, यसमा कतिपयले नियत भिडाउन खोजेका छन् ।

अध्यादेश भन्नासाथ आलोचना गरिहाल्ने कि त्यसका उद्देश्य पनि हेर्ने ? अहिलेको प्रश्न यही हो ।

अध्यादेशका उद्देश्य हेर्दा नराम्रो लाग्नुपर्ने वा मान्नुपर्ने कुनै कारण छैन । सरकार परिणाम दिने गरी काम गर्न चाहन्छ,  भएका कानुनले सहयोग गर्दैन । सरकार परिणाम दिने काम गर्न चाहन्छ, राज्य संयन्त्रले साथ दिँदैन । यही भएर बालेन सरकारले एकसाथ ६ वटा अध्यादेश ल्याएको हो । कारण यही हो, उद्देश्य यही हो, नियत भने पनि यही हो ।

संविधानअनुसार राष्ट्रपतिले १५ दिनभित्र अध्यादेश जारी गर्नुपर्छ । नगर्ने हो भने फिर्ता गर्नुपर्छ । अहिले अध्यादेश जारी गर्दा विपक्षीले सरकारसँगै राष्ट्रपतिको पनि आलोचना गर्नेछन्, नगर्ने हो भने सरकार र राष्ट्रपतिसँगको दूरी बढ्ने छ । अझ असजिलो त के छ भने अध्यादेश जारी नगर्ने हो भने राष्ट्रपतिले त्यसको कारण खुलाउनुपर्ने हुन्छ, जसले सरकारलाई झनै चिढ्याउन सक्छ । सरकारसँग सम्बन्ध नचिढ्याउन पनि राष्ट्रपतिले शीतलनिवास पुगेका ६ वटा अध्यादेश जारी गर्नु उचित हुन्छ । सम्भवतः संविधानका जानकारहरुले राष्ट्रपतिलाई यही सुझाव दिने छन् । 

विगतका अभ्यासः जसरी पनि राष्ट्रपति विवादमा

के देशमा पहिलो पटक अध्यादेश जारी हुन लागेको हो ? यो पनि होइन । बहुदल आएपछि पटक पटक अध्यादेश जारी भएका छन् । कतिपय अध्यादेश सदनबाट अस्वीकृत पनि भएका छन्, कतिपय अध्यादेश जारी गरेर पनि फिर्ता लिइएका छन् । समग्रमा भन्ने हो भने अहिलेसम्म सयौं अध्यादेश जारी भएका छन्, सरकारले अध्यादेश सिफारिस गरेका छन्, राष्ट्र प्रमुखले जारी गरेका छन्, बहुदलकालमा होस् कि गणतन्त्रकालमा ।

धेरै अगाडि जानै पर्दैन । पछिल्ला ५ वर्षको मात्रै रेकर्ड हेर्यो भने सरकारको चाहनामा पटक पटक अध्यादेश जारी भएका छन् । यतिसम्म कि संसद अधिवेशन अन्त्य गरेको भोलिपल्टै समेत अध्यादेश ल्याइएको छ । ओलीले सदन अन्त्य गरेर ल्याएको नागरिकता अध्यादेश त सर्वोच्चले नै खारेज गरिदिएको थियो । कहिले पार्टी फुटाउन अध्यादेश ल्याइएको छ, कहिले जुटाउन । कहिले संवैधानिक परिषदमा बहुमत जुटाउन अध्यादेश ल्याइएको छ, कहिले कुनै व्यक्तिलाई लक्षित गरेर अध्यादेश ल्याइएको छ । संक्षेपमा भन्ने हो भने प्रधानमन्त्री र उनी नेतृत्वको सरकार वा दलको चाहनामा अध्यादेश ल्याइएको छ ।

अघिल्लो पटक संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्दा तत्कालीन राष्ट्रपति विद्या भण्डारी आलोचनामा परिन् । भूमि सम्बन्धी अध्यादेश फिर्ता गर्दा गत वर्ष वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलकै आलोचना भयो ।

कार्यकारी सरकार हो, सरकारसँग राजनीतिक दल हुन्छ, गठबन्धन हुन्छ । त्यसैले पनि राष्ट्रपति एउटा तोकिएको दायरामा हुन्छन्, सीमामा हुन्छन् । सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्दा उनको जति आलोचना हुन्छ, त्यो भन्दा बढी आलोचना अध्यादेश फिर्ता गर्दा हुन्छ ।

संविधानको धारा ११४ मा ‘सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्न सक्नेछन्’ भन्ने उल्लेख छ । यो व्यवस्था उनको विवेक प्रयोगका लागि राखिएको होइन, उनको सम्मानका लागि राखिएको हो । अहिले कतिपयले ‘सक्नेछन्’ भनिएको छ, ‘गर्नुपर्ने’ त भनिएको छैन नि भन्ने तर्क पनि गरिरहेका छन् । संविधानका जानकारहरुका अनुसार, विशेष परिस्थितिमा बाहेक राज्य सञ्चालनका नियमित काममा यस्ता तर्कको कुनै अर्थ हुँदैन ।

अहिले अध्यादेश जारी भए पनि केही दिनभित्रै सुरु हुने संसदमा सरकारले पेश गर्नुपर्ने छ । साठी दिनभित्र संसदले पारित नगरे अध्यादेश आफैं खारेज हुने छ ।

त्यसो भए आलोचना किन त ? 

अहिले प्रधानन्यायाधीशसहित संवैधानिक अंगका आधा दर्जन पद रिक्त छन् । संवैधानिक अंगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले सिफारिस गर्नुपर्छ । संवैधानिक परिषदले पूर्णता त पाएको छ, तर, सर्वसम्मतिको सम्भावना कमजोर देखिएको छ । किनभने परिषदका दुई सदस्य– विपक्षी दलको नेता र राष्ट्रिय सभा अध्यक्ष सरकारको ‘फेवर’मा नरहन सक्छन् । त्यसैले सरकार बहुमतीय प्रक्रियामा प्रवेश गर्न खोजेको हो ।

सरकारले अध्यादेशमार्फत २० वटा भन्दा बढी कानुन एकै साथ संशोधन गर्दै छ । त्यसरी संशोधन गर्दा ‘सर्भिस डेलिभरी’मा सजिलो हुनसक्छ । यसमा अन्य दलहरुको खासै आपत्ति नहोला ।

तर, राजनीतिक नियुक्तिहरुको ‘पदमुक्ति’  र नयाँ नियुक्तिमा भने धेरैको चासो छ । राजनीतिक नियुक्ति पाएका झण्डै १२ सयको पद एकैचोटी जान सक्छ । यसअघि नियुक्ति कस कसले र कसरी पाएका थिए ? सायद यसको जवाफ भनिरहन नपर्ला ।

सरकार र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर नियुक्ति लिएकाहरुको पद जाने भएपछि नियुक्ति पाएकाहरु मात्रै होइन, नियुक्ति दिलाउनेहरु समेत तिल्मिलाएका छन् । उनीहरुले कानुनी छिद्र र संवैधानिक प्रावधानको व्याख्या गरिरहेका छन्, व्याख्या गर्न लगाएका छन् ।

सामान्यतया राजनीतिक नियुक्ति पाएकाहरुले सरकार फेरिएसँगै पद त्याग गर्नुपर्ने हो । रास्वपाले चुनाव लगत्तै त्यसरी नियुक्ति लिनेहरुलाई मार्ग प्रशस्त गर्न भनेकै हो । सरकारले पनि अप्रत्यक्ष रुपमा आग्रह गरेकै हो । तर, नयाँ सरकार बनेको एक महिना बित्दा समेत केही पदाधिकारीहरुले बाहेक पद त्याग नगरेपछि सरकार सामूहिक रुपमा पदमुक्त गर्ने अवस्थामा पुगेको हो ।

हो, सिधा भन्न सकिन्छ– विगतमा ओली, देउवा र प्रचण्डले नियुक्त गरेका पदाधिकारीबाट अहिले रास्वपा सरकारले अपेक्षाकृत परिणाम दिन सक्दैन । ती पदाधिकारीबाट सरकारले आवश्यक सहयोग पनि पाउन सक्दैन । यति मात्रै होइन, राजनीतिक नियुक्तिलाई पारदर्शी बनाउनुपर्ने हुन्छ, योग्यता र क्षमताका आधारमा नियुक्ति दिनुपर्ने हुन्छ । मेरिट र प्रतिस्पर्धाका आधारमा नियुक्ति दिइनुपर्छ । अनि मात्र सरकारले चाहेजस्तो परिणाम आउन सक्छ, सरकारका सबै निकायको काम प्रभावकारी हुनसक्छ ।

अहिले रास्वपा सुविधाजनक बहुमतमा छ । उसले आफूले चाहेजस्तो कानुन सदनबाट पनि बनाउन सक्छ । चाहेजस्तो अध्यादेश ल्याउन पनि सक्छ । कम्तीमा यो संसद रहँदासम्म सरकार रास्वपाकै हुने छ । कानुन बनाउँदा होस् वा अध्यादेश ल्याउँदा, त्यसको जस अपजस रास्वपाले पाउने हो । यसमा न राष्ट्रपतिलाई विवादमा ल्याउनु उचित हुन्छ, न उनलाई दबाब दिनु नै हितकर हुन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

मेडिकल व्यवसायी प्रसाईंमाथि साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतमा...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् ।
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक, बिल अपलोड गर्न अनुरोध

उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार...
जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

जग्गाको निस्सा दिलाइदिने भन्दै पैसा असुलेको गुनासोपछि कारबाही गर्ने समितिको चेतावनी

समितिले आज विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रुपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको छ। निस्सा...