नेभिगेशन
पूर्वाधार

१२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, अब झ्याप झ्याप बत्ती जान बन्द हुने

ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन बनाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले १२ वर्षदेखि अड्किएको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाली नागरिकका लागि विद्युत लाइफलाइनको रुपमा रहेको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणमा लामो समयदेखि देखा परेका अवरोध मन्त्रिपरिषद्बाट हटाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त प्रसारण लाइन विस्तारमा बाधक बनेको वनको जग्गालाई प्रयोग गर्न दिने निर्णय गरेसँगै अब ठूलो क्षमताको प्रसारण लाइन बन्ने र झ्याप झ्याप बत्ती जाने समस्या अन्त्य हुने मन्त्रालयले जनाएको छ । 

Ncell
Extreme Energy

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलकाअनुसार मन्त्रिपरिषद्ले 'नेपाल विद्युत प्राधिकरणलाई हेटौंडा ढल्केबर ४०० केभी विद्युत प्रसारणलाइन आयोजनाको मकवानपुर खण्डको एलाइनमेन्ट परिवर्तनको लागि संलग्न सर्तहरुको पालना गर्ने सर्तमा वन ऐन २०७६ को दफा ४२(१) बमोजिम मकवानपुर जिल्लाको हेटौँडा १५ मा रहेको रातोमाटे सामुदायिक वन उपभोक्ता समूह र बकैया– २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातिका १२९२ गोटा रुख/पोल हटाउन स्वीकृति दिने' निर्णय गरेको हो । 

यो निर्णयका लागि ऊर्जामन्त्री श्रेष्ठले मंगलबार मात्रै कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरेका थिए । साथै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि यो निर्णयको महत्त्वबारे छलफल गरेका थिए । आम नागरिकलाई सुविधा पुग्ने खालको विषय भएकाले प्रधानमन्त्री शाह पनि तत्कालै निर्णय गर्न तयार भएका थिए । साथै ऊर्जामन्त्री श्रेष्ठले प्रसारण लाइन मार्गमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग पनि सम्वाद र समन्वय गरेका थिए । 

नेपाल विद्युत प्राधिकरणका कायममुकाय कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले १२ वर्षदेखि रोकिराखेको ढल्केबर-हेटौँडा चार सय केभी प्रसारण लाइन निर्माणको बाटो खुलेको बताए । 'ढल्केबर-हेटौँडा ट्रान्समिसन लाइन धेरै पुरानो हो । सुनसरीको इनरुवासम्मै पुग्ने यो लाइन ३०० सय किलोमिटर हाराहारी छ । यसमा राइट अफ वे को एकदमै समस्या छ,' उनले भने, 'लामो समयदेखि वनको क्लियरेन्स पाएका थिएनौं । यो तार तान्नको लागि । माथि आरओडब्लु (राइड अफ वे) भएको रुख पनि काट्नुपर्यो । किनभने यो चार सय केभीको हाइ भोल्टेज लाइन हो । दायाँबायाँ गरेर ४६ मिटरको राइट अफ वेय (मार्ग) हुन्छ । त्यहाँ परेका रुखहरु पनि काट्नुपर्यो । त्यो जग्गा भोगादेश पनि लिनुपर्यो । त्यहाँ वनको जग्गा पनि पर्छ । त्यसैले लामो समयदेखि अड्किरहेको थियो । अब अहिले क्याविनेटबाट पास भयो । यो धेरै राम्रो भयो । एउटा ब्रेक थ्रु गर्यो । त्यसले गर्दा चार सय केभी लाइन हेटौँडासम्म जोड्न सकियो भने हाम्रो हाइवे तयार भयो । हेटौँडादेखि ढल्केवर हुँदै इनरुवासम्म हाम्रो ठूलो साइजको हाइवे (ट्रान्समिसन लाइन करिडोर) बन्छ । पहिला हाम्रो १३२ केभीको मात्रै करिडोर थियो, हेटौडादेखि पूर्वसम्मै । अब यो चार सय केभीको ठूलो हाइवे भएपछि यसको फाइदा पटक पटक रुख लाग्ने, डिस्टर्ब हुने अनि सिस्टम जाने, झ्याप झ्याप वत्ती जाने भनेर जुन जनताको गुनासो आउथ्यो, त्यसलाई यसले धेरै हदसम्म सिस्टम सेक्युर्ड, सेफ र रोबस्ट (बलियो पावर ग्रिड) हुन्छ ।'

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार हेटौँडादेखि बुटवलसम्म २२० केभीको सर्किट बनिसकेको छ । 'त्यसले गर्दा इस्ट वेस्ट हाइवे मजबुत भयो भने यसले रिलायबली पनि बढाउने भयो । अनि हामीले वर्खाको बेलामा जति पनि विजुली बढी हुन्छ, खेर जान्छ त्यो पनि व्यापार गर्ने मुख्य विन्दु ढल्केवरबाट मुजफ्फपुर ४०० सय केभी क्रस बोर्डर लाइनसम्म पुर्याउन सक्छौं । हेटौडासम्म आउने र त्यहाँबाट पूर्व जान नसक्ने समस्या यो बनिसकेपछाडि बलियो पूर्वाधार बन्छ । यताको बिजुली पूर्व जान सक्ने भयो । पूर्वमा भएको बिजुली पश्चिमतिर समेत पुर्याउन सक्ने भयो । यो एउटा हाइवे तयार भयो । अहिले केही ठाउँहरुमा असहज थियो । अब यसको फाइदा भनेको हामीसँग बढी भएको बिजुली भारतलाई निर्यात पनि गर्न सक्यौं । रोबस्ट लाइन (बलियो पावर ग्रिड) झ्याप झ्याप बिजुली जाने, सिस्टम डाउन हुने, सिस्टम कोल्याप्स हुने, लामो समय सिस्टम रिस्टोर गर्नका लागि समय लाग्ने, जनताले दुख पाउने यो कुराहरुबाट हामी निस्कन्छौं,' उनले भने ।  

यो प्रसारण लाइन बनेपछि तीन हजार मेगावाटसम्म आपूर्ति हुने उनले बताए । 'अब हामीले टावरहरु इरेक्सन (जडान) गर्नुपर्छ । त्यसमा चार तान्नुपर्छ । ठूलो क्षमताको हाइवे लाइन हो । २५ सय ३ हजार मेगावाटसाम्म बोक्छ । त्यो तार हेटौडासम्म आयो भने पूर्वतिर ढल्केवर साइडमा एउटा औद्योगिक क्रान्ति पनि आउन सक्ने भयो । उद्योगहरुमा पावर पुर्याउन सक्ने सकिने हाइवेलाइन बनेपछि । उद्योगधन्दा फस्टाउने हुन्छ । भोल्टेजको समस्या र झ्याप झ्याप जाने समस्या पनि कम हुने भयो । हामीलाई बढी भएको पश्चिमतिरमा भएको बिजुली पूर्वसम्म ल्याउन सक्ने भयौं,' उनले भने । 

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार काठमाडौँमा बढी भएको बिजुली त्रिशुली करिडोरमा जुन हाइड्रो पावरहरु छ, काठमाडौंमा राति खपत भएन भने हेटौँडामै आउँछ । १३२ केभीको मातातीर्थ कुलेखानी हुँदै पुरानो सर्किटबाट हेटौडा आउँछ । तर हेटौँडाबाट पूर्वतिर जान नसक्ने समस्या थियो । सानो लाइन भएर २०० मेगावाटमात्र जानसक्ने थियो । त्योभन्दा बढीको विद्युत पूर्व पठाउनै नसक्ने थियो । अब यो लाइन भयो भने २ हजार २५ सय मेगावाट जानसक्ने छ । हाइवे तयार भए पछि जति नै पावर बोकेर जान सक्ने हुन्छ । 

कामु कार्यकारी निर्देशक श्रेष्ठले अब प्रसारण लाइन निर्माण गर्नलाई डेढ महिना लाग्ने बताए । 'अधिकतम दुई महिला लाग्ला । दुई महिनापछि हाम्रो सिस्टम एकदम स्टेबल हुन्छ । बिजुली अझ बढी बेच्न सक्छौं । कहिलेकाही पूर्वमा भएको बिजुली बुटवलसम्म लान सक्छौं । बुटवलबाट पनि गोरखपुर क्रस बोर्डर लाइन बनाउँदैछौं । डिसेम्बरसम्म बनिसक्छ । हाम्रो लागि बुटवल र ढल्केवर सव स्टेसन महत्त्वपूर्ण हुन्छ,' उनले भने, 'यसअघि बिजुली भएर पनि प्रभावकारी वितरण गर्न सकेका थिएनौं । पूर्वमा बढी भएको बिजुली पश्चिम पुर्याउन नसक्ने, पश्चिममा बढी भएको पूर्वमा पुर्याउन नसक्ने, बिजुली भए पनि व्यवस्थापन गर्न ट्रान्समिसन करिडोरहरु धेरै पुरानो भएकाले सानो क्षमताको भएकाले व्यवस्थापन गर्न गाह्रो भयो । यसले गर्दा पटक पटक सिस्टम पनि ट्रपिङ गराउने, जनतालाई गुणस्तरीय बिजुली पुर्याउन प्राधिकरणले नसक्ने थियो । अब रिलायबिटी र बढी बिजुली एक ठाउँबाट अर्को ठाउँमा ओसार्न मद्दत गर्नेछ,' उनले भने ।  

कामु कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार अब १६ वटा टावर निर्माण गरिनेछ । दुईवटा एमसीए नेपाल र १४ वटा प्राधिकरणले बनाउनेछ । यो काम आगामी दुई महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।

के भन्छन् मन्त्री श्रेष्ठ ? 

मन्त्री श्रेष्ठले यसलाई नेपालको ऊर्जा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भनेका छन् । 

'करिब १२ वर्षदेखि विभिन्न कारणले रोकिएको नेपालको ऊर्जा पूर्वाधारको मेरुदण्ड मानिने हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणको बाँकी प्रक्रिया नेपाल सरकारको मन्त्रिपरिषद बाट आवश्यक निर्णय भएसँगै अगाडि बढेको छ। अब यो आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुने विश्वास लिएका छौँ,' उनले भने, 'यो प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ, सन्तुलित र भरपर्दो हुनेछ। पूर्वमा उत्पादन हुने विद्युत् पश्चिमसम्म र पश्चिममा उत्पादन हुने विद्युत् पूर्वसम्म सहज रूपमा प्रवाह गर्न सकिनेछ। यो वास्तवमै नेपालको ऊर्जा राजमार्ग (Energy Highway) का रूपमा स्थापित हुनेछ।'

यसले पटक–पटक हुने ट्रिपिङ तथा झ्याप्प–झ्याप्प बत्ती जाने समस्यालाई न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने मन्त्री श्रेष्ठको विश्वास छ । 'साथै, आन्तरिक खपतपछि बाँकी रहने विद्युत् निर्यातको क्षमता पनि उल्लेखनीय रूपमा विस्तार हुनेछ। हाल करिब १,००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने अवस्थामा रहेको नेपालले यस प्रसारण प्रणाली पूर्ण सञ्चालनमा आएपछि २,५००–३,००० मेगावाटसम्म विद्युत् छिमेकी मुलुकहरूमा निर्यात गर्न सक्ने आधार तयार हुनेछ,' उनले भने, 'यो उपलब्धि कुनै एक व्यक्ति वा संस्थाको मात्र होइन, सम्पूर्ण राज्य संयन्त्र र साझेदारहरूको साझा प्रयासको परिणाम हो। यो केवल एउटा प्रसारण लाइन होइन, नेपालको ऊर्जा भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक फड्को हो।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

बाल मन्दिर जग्गा प्रकरणमा तीन जना पक्राउ

सिआइबीका प्रवक्ता एसएसपी  अनुपम शमशेर जबराले बालमन्दिरको जग्गा अनाधिकृतरुपमा भाडा लगाइएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिए ।
एमाले पुनर्गठन सुझाव कार्यदलको बैठकमा ओली सहभागी हुने

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठकमा ओली सहभागी हुने

नेकपा एमालेको पुनर्गठन सुझाव कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने भएका छन् ।
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो