उक्त घटनाबारे जाँचबुझ गर्न गठित समितिले घटनाबारे विस्तृत अध्यनगरी प्रतिवेदन सभामुखलाई हस्तान्तरण गरेकाे हाे ।
Watch On
प्रतिवेदनमा उक्त दिनकाे घटनामा संसदीय मर्यादाको उल्लघंन भएको, नियमावली कार्यान्वयनमा कमजोरी देखिएको, संयमताको अभाव रहेको तथा व्यवस्थापकीय चुनौतीहरू विद्यमान रहेको निष्कर्ष निकालेको छ ।
समितिले कारवाही गर्ने नगर्ने भन्नेबारे विशेषाधिकार सभामुखकै रहेकाे बताएकाे छ ।
जेठ १७ घटनामा जाँचबुझमा समितिले के देख्याे ? प्रतिवेदनमा यस्ताे लेखिएकाे छ:
जाँचबुझ समितिले जेठ १७ गते प्रतिनिधि सभाको बैठकभित्र भएको घटनासम्बन्धी प्रहरी मुचुल्का, सूचनापत्र, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीका बयान तथा अन्य सम्बन्धित दस्तावेजहरूको अध्ययन गरेको थियो । आधिकारिक श्रव्य दृश्य फुटेजहरूबाट प्राप्त विवरण अनुसार :
दिएको विवरणको मूल मर्म, वाक्य संरचना र शब्दहरूमा कुनै परिवर्तन वा थपघट नगरी (कुनै शब्द तलमाथि नपारी) केवल व्याकरण, शुद्धाशुद्धि (हिज्जे) र सङ्केत चिह्नहरू मात्र मिलाउँदा उक्त पाठ यस्तो बन्दछ:
प्रतिनिधि सभा बैठकको घटनासम्बन्धी प्रतिवेदन
मिति २०८३ जेठ १७ गतेको बैठक सुरु हुनासाथ प्रधानमन्त्रीले हात उठाई समय माग गर्नुभएकोमा सभामुखबाट अनुमति भएपश्चात् रोष्ट्रम पुगी सदस्यहरूलाई प्रश्नोत्तरका लागि आह्वान गर्नुभएकोमा विपक्षी दलका माननीय सदस्य युवराज दुलाल र माननीय सदस्य ऐनबहादुर महरले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ मिचिएको सम्बन्धमा नियमापत्ति गर्नुभएको।
तत्पश्चात् प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको। प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएपश्चात् प्रधानमन्त्री बैठकबाट बाहिरिने क्रममा माननीय ध्रुव राई लगायतका केही विपक्षी सदस्यबाट उठेर विरोध गर्ने कार्य सुरु भएको।
सभामुखबाट विपक्षी सदस्यहरूबाट भएको व्यवहारप्रति ध्यानाकर्षण भएको र माननीय आरेन राईको भाषा सुधार गर्न र माननीय सदस्यहरूको व्यवहारलाई मर्यादित बनाउनका लागि ध्यानाकर्षण गराउनुभएको।
यसैबीच सत्तापक्ष र विपक्षी केही सदस्यहरूबीच भनाभन तथा विवादको स्थिति देखिएको। सभामुखले विपक्षी दलका सदस्यहरूलाई आफ्ना भनाइ राख्न समय दिनुभएको र तत्पश्चात् सभा सुचारु भएको।
आकस्मिक समयमा सदस्यहरूले बोलिसकेपश्चात् प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति माननीय गणेश पराजुलीलाई नियमावलीमाथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न सभामुखबाट अनुमति दिनुभएको र प्रस्ताव पेस भएपछि छलफल सुरु भएको।
छलफलपश्चात् बैठक सुरु भएको ५ घण्टा ५२ मिनेट जाँदा सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ उपर माननीय नरेन्द्रकुमार केरुङले राख्नुभएको संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको।
बैठक सुरु भएको ५ घण्टा ५३ मिनेट जाँदा प्रतिपक्ष बेन्चका सबै सदस्यले आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको।
सभामुखबाट माननीय सदस्य बासना थापाहरूलाई आफ्नो कुरा राख्न समय दिनुभएको, निज सदस्यले आफ्नो कुरा राखेपश्चात् पनि विपक्षी बेन्चका सबै सदस्यहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको।
बैठक सुरु भएको ६ घण्टापश्चात् राप्रपाका सदस्यहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो भने अन्य विपक्षी बेन्चका सदस्यहरूले वेल घेराउ गर्नुभएको, त्यसपश्चात् नाराबाजी गर्दै वेल घेराउ गर्ने कार्य भइरहेको।
नाराबाजीका क्रममा विपक्षी सदस्यहरूबाट 'सभामुख महोदय हाम्रो माग सम्बोधन भएन, संसदीय मर्यादा कायम गर, ढोका बन्द गरियोस्, सभामुख निष्पक्ष बन्नैपर्छ पर्छ, सभामुख महोदय प्रतिपक्षको बहुमत हुँदा कसरी पास, अल्पमतले पारित गर्न पाउँदैन पाउँदैन, यस्तो सभामुख चाहिँदैन चाहिँदैन, राजीनामा दे राजीनामा दे' जस्ता शब्दहरू सुनिएको।
बैठक सुरु भएको ६ घण्टा ८ मिनेट जाँदा निरन्तर वेल घेराउ गरिरहेका विपक्षी दलका केही सदस्यहरू र मर्यादापालकबीच ठेलामठेल भएको देखिएको। सोही समयमा सभामुखबाट माननीयहरूलाई सभाको मर्यादामा रहन र सभाको मर्यादा कायम गर्न निर्देशन दिनुभए तापनि वेल घेराउ गरिरहेका सदस्यहरू र मर्यादापालकहरूबीच ठेलामठेल चलिनै रहेको।
यसै क्रममा वेल घेराउ गरिरहेका एकजना सदस्यले सभामुखको डायसमाथि चढ्न खोजेको देखिएको र उहाँलाई मर्यादापालकहरूले तल झारेको देखिएको, त्यसपछि मर्यादापालकहरूले सभामुखलाई अगाडिबाट घेरेर सुरक्षा दिनुपर्ने अवस्था सिर्जना भएको।
बैठक सुरु भएको ६ घण्टा १० मिनेट जाँदा मर्यादापालकहरूले सभामुखको देब्रेपट्टि रहेको टेबललाई अगाडि–पछाडि गरी मिलाउन खोजेको देखिएको। यद्यपि वेल घेराउ गर्नुभएका सदस्यहरू र मर्यादापालकबीच ठेलामठेल कायम नै रहेको।
६ घण्टा १० मिनेट जाँदा माननीय सदस्य विष्णुबहादुर खड्काले कुर्सीमा खुट्टाले हानेको देखिएको। सभामुखले माननीय सदस्यहरूलाई सभाको मर्यादामा रहन निर्देशन दिँदै हुनुहुन्थ्यो, यसैबीच माननीय सदस्य सन्तोष सुब्बाले टेबलमाथि चढेर सभामुखपट्टि औँला ठड्याउनुभएको देखिएको र उहाँ सभामुखको डायसतर्फ अगाडि बढ्न खोज्दा मर्यादापालकहरूले उहाँलाई रोकिरहेको देखिएको।
यसैबीच माननीय सदस्य रिङ्गला यादव पनि टेबलमा चढेर “ओई मर्यादापालकहरू......“ भनी मर्यादापालकलाई औँला देखाउँदै गरेको देखिएको र उहाँ निरन्तर टेबलमै उभिएर नारा लगाइरहेको। उहाँ केही समयपश्चात् पुनः टेबलमा चढी सभामुखतर्फ अगाडि बढ्न खोजेको र मर्यादापालकहरूलाई औँला उठाई केही भनिरहेको देखिएको।
६ घण्टा १३ मिनेट जाँदा विरोधकै क्रममा माननीय सदस्य गणेश पराजुली बसिरहनुभएको कुर्सी धकेलिएपछि उहाँ उठेको देखिएको, माननीय सदस्य अशोककुमार चौधरी पनि सँगसँगै उठ्नुभएको र उहाँ कुर्सीमाथि टेकेर टेबलमाथि चढ्दै गरेको देखिएको तथा माननीय सदस्य समीक्षा बास्कोटा, गणेश कार्की र प्रकाशचन्द्र परियारले उहाँलाई तानेर तल झारेको देखिएको।
तत्पश्चात् ६ घण्टा १३ मिनेट जाँदा माननीय सदस्य नीता घतानीले कुनै वस्तुले सत्तापक्षका माननीयतर्फ प्रहार गरेको देखिएको।
यससँगै माननीय सदस्य रिङ्गला यादवले सत्तापक्षको टेबलमा चढेर सत्तापक्षातर्फ आक्रोशित मुद्रामा हात ठड्याएको देखिएको।
यसैबीच माननीय सदस्य खगेन्द्र सुनारले दुई पक्षको बीचमा गई झडप हुनबाट रोक्न खोजेको देखिएको। यसैबीच ६ घण्टा १३ मिनेट जाँदा उक्त विरोधका बीच कसैले सत्तापक्षातर्फ माइक स्ट्यान्ड फालेको देखिएको।
६ घण्टा १४ मिनेट जाँदा माननीय सदस्यहरू एक–आपसमा ठेलामठेल गरिरहेको र लगातार विरोध भइरहेकोमा ६ घण्टा १७ मिनेट जाँदा सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको।
१५ मिनेटका लागि स्थगित भएको बैठक सुरु गर्नका लागि जनाउ घण्टी बज्न सुरु भएदेखि नै विपक्षी दलका माननीय सदस्यहरू सभामुख आउने दुवैवटा ढोकामा उहाँलाई रोक्नका लागि बसिरहेको देखिएको।
सभामुख सभाहलमा प्रवेश गर्ने क्रममा उहाँलाई ढोकामा रोक्न खोजेको देखिएको। तत्पश्चात् विपक्षी माननीय सदस्यहरूले सभामुखको आसन अगाडिको टेबललाई ठेलेको र टेबलका केही भागहरू भाँच्चिएको देखिएको। सभामुखले विरोधका बीच बैठक सुरु गर्नुभएकोमा मर्यादापालकहरूले कुसन उठाएर सभामुखलाई सुरक्षित राख्न खोजेको देखिएको।
सभामुखले प्रतिनिधि सभा नियमावलीको मस्यौदामाथिका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिरहँदा माननीय सदस्य रिङ्गला यादव सभामा रहेको टेबलमाथि चढी नारा लगाइरहेको र अरू माननीय सदस्यहरूले उहाँलाई तानेर तल झार्न खोज्नुभएको देखिएको। सोही क्रममा माननीय सदस्य रिङ्गला यादवले सभामा रहेको कुर्सी उचालेको र अन्य माननीयहरूले रोक्न खोजेको देखिएको। सोही क्रममा सत्तापक्षका केही माननीय सदस्य पनि अगाडि वेलतर्फ बढेको देखिएको।
तत्पश्चात् माननीय सदस्य क्षितिज थेवेले भुइँमा झरेको माइक र स्ट्यान्ड टिपेर पछाडि माननीय सदस्यलाई समाउन दिएको र माननीय सदस्यले टेबलमा राखेको देखिएको र अर्का माननीय सदस्यले ढलेको कुर्सी मिलाइरहेको देखिएको।
केही समयपश्चात् माननीय सदस्य रिङ्गला यादव पुनः सभाको टेबलमाथि चढी नाराबाजी गरिरहेको र उहाँ सभामुखको डायसतर्फ अन्य माननीय सदस्यहरूको काँधमा टेकी अगाडि बढ्न खोजेको र सो क्रममा मर्यादापालकको टोपी खसेको देखिएको। विरोध र ठेलामठेल चलिरहेको समयमा उहाँ माननीय सदस्यले पुनः टेबलमाथि उभिएर “यस्तो सभामुख चाहिँदैन“, “देश जलाउने सभामुख चाहिँदैन’ जस्ता नाराबाजी गरिरहेको देखिएको।
यसैक्रममा सत्तापक्षका माननीय सदस्य दीपक साहले कोहीसँग मोबाइलबाट भिडियो कल गरिरहेको देखिएको।
नियमावली मस्यौदा समितिका सभापति माननीय गणेश पराजुलीले प्रतिनिधि सभाको नियमावली, २०८३ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै गर्दा माननीय सदस्य ऐनबहादुर महरले पोडियमतर्फ जानका लागि टेबलबाट माननीय सदस्यहरू र मर्यादापालकहरूको काँधमा चढी अगाडि बढेको र मर्यादापालकहरूले उहाँलाई तल झारिरहेको र सो क्रममा मर्यादापालकहरूको टोपी तल खसेको देखिएको। यसै क्रममा नियमावली बहुमतबाट पारित भएको घोषणा भएको।
दोस्रो बैठक
बैठक सुरु हुनु अगाडिदेखि नै विपक्षी दलका माननीय सदस्यहरू रोष्ट्रम अगाडि उभिएर विरोधमै रहेको देखिएको र सभामुखको प्रवेशपश्चात् “राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे“ जस्ता नाराबाजी भइरहेको देखिएको। नाराबाजी र होहल्लाकै बीच प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी एवं टेबल गर्नुभयो। तत्पश्चात् सभामुखबाट १५ मिनेटका लागि बैठक स्थगित भयो।
तेस्रो बैठक
बैठक सुरुको जनाउ घण्टी बजेदेखि नै विपक्षी दलका माननीय सदस्यहरू रोष्ट्रम अगाडि उभिएर विरोधमै रहेको र बैठक नसकिउन्जेलसम्मै विरोध कायमै रहेको देखिएको। नाराबाजी र होहल्लाकै बीच माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको। उक्त विधेयकमाथिको छलफलमा भाग लिन कुनै पनि माननीय सदस्यहरूको नाम प्राप्त नभएकाले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेको र बहुमतबाट स्वीकृत भई बैठक स्थगित भएको।
मर्यादापालकबाट प्राप्त जानकारी अनुसार:
केही सदस्यहरूले टेबलमाथि चढेर नाराबाजी गरेका र केही सदस्यहरू भिडमाथि चढेर डायसको माइक तान्ने प्रयास गरेका।
उक्त भिड उत्तेजित भई सदस्यहरूबीच धकेलाधकेल भएको र सो क्रममा सभामुखको आसनको टेबलको बार भत्किएको र समय–सूचक बत्तीको तार चुँडिएको।
सोही क्रममा सदस्यहरू बस्ने बेन्चको पहिलो लहरमा राखिएको प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको नेमप्लेट फुटेको। तत्पश्चात् सदस्यहरूबीच हातहालाहालको अवस्था सिर्जना हुन लागेकोमा दुवै पक्षका सदस्यहरूबाट परिस्थिति बिग्रन नदिइएको।
मर्यादापालकले छेक्ने क्रममा मर्यादापालकहरूको टोपी र पोशाक तानातान भई केहीको टोपी हराएको, केहीलाई सामान्य चोटपटक लागेको तथा हराएको टोपी भोलिपल्ट फिर्ता भएको।
विरोधपछिको दोस्रो बैठकमा सबै विपक्षी सदस्यहरूले सभामुख आउने ढोकाहरू घण्टी बज्नुअघि नै छेकेर बस्नुभएको। जसले गर्दा सभामुखलाई डायसमा ल्याउने क्रममा पश्चिममर्फको ढोकामा सदस्यहरूलाई हटाउने क्रममा धकेलाधकेल हुँदा केही सदस्यहरू लड्नुभएको।
पहिलो बैठकमा विरोध भएपछि दोस्रो बैठकमा राष्ट्रिय सभामा खटिएका सबै मर्यादापालकहरूलाई बोलाई राखिए तापनि तत्कालीन अवस्थामा अगाडिको स्थान (वेल) ज्यादै कम हुँदा मर्यादापालकहरूले सुरक्षाका लागि बनाउनुपर्ने सुरक्षा घेराहरू बनाउन नसकेकाले विपक्षका सदस्यहरू डायस नजिक आउन सफल भएको।
मर्यादापालकहरू र सचिवालयबाट सभा व्यवस्थापनमा खटिएका कर्मचारीहरूबीच सुरक्षा सतर्कता सम्बन्धमा आवश्यक समन्वय हुन र मर्यादापालकहरूलाई आवश्यक भौतिक सामग्रीहरू (जस्तैः प्रत्यक्ष प्रसारण डिस्प्ले स्क्रिन, कार्यकक्ष आदि) उपलब्ध हुन जरुरी रहेको छ।
बैठकको सूचनापत्रको विवरण अनुसार:
दिउँसो १:२५ बजे सभामुखको अध्यक्षतामा सभाको पहिलो बैठक प्रारम्भ भएकोमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमपश्चात् विपक्षीबाट विरोध भई बैठक बेलुका ७:४० मा स्थगित भएको र ८:५० मा पुनः प्रारम्भ भएको बैठक पुनः सुचारु गर्ने प्रयास गर्दा विपक्षी सदस्यहरूबाट निरन्तर विरोध प्रदर्शन भएको।
राति ९:४५ बजे सभामुखको अध्यक्षतामा सभाको दोस्रो बैठक प्रारम्भ भई राति ९:५० मा स्थगित भएको।
राति १०:०५ बजे सभामुखको अध्यक्षतामा सभाको तेस्रो बैठक प्रारम्भ भई राति १०:१५ मा स्थगित भएको।
अवरोधको शृङ्खला: विपक्षी दलका सदस्यहरू वेलमा आई नाराबाजी गरेपछि बैठक पटक–पटक स्थगित भएको।
डायस तान्ने प्रयास: केही सदस्यहरूले सभामुखको आसन तान्ने र अडियो कन्फ्रेन्सिङ सिस्टममा भौतिक बल प्रयोगको प्रयास गरेको।
प्रहरी मुचुल्काबाट प्राप्त विवरण अनुसार:
अडियो कन्फ्रेन्सिङ सिस्टम: सभामुखको डायस अगाडि रहेका दुईवटा माइकसहितको स्ट्यान्ड ढलेको, डायस अगाडि रहेको खाली ठाउँमा कार्पेटमाथि माइकका तारहरू र माइक यत्रतत्र अवस्थामा रहेको।
सभामुख अगाडिको डायस: सम्माननीय सभामुख बस्ने कुर्सी अगाडिको टेबलको दायाँ कुना चर्किएको र उक्त टेबलको अगाडिपट्टि जोडिएको काठको बार फुटेको।
ढोका: प्रतिनिधि सभा हलको उत्तरतर्फ रहेको छिर्ने ढोकाको दायाँ पल्लामा चोट लागेको र छेस्किनी फुटेको।
अन्य सामग्री: हलभित्र महिला सदस्यले लगाउने क्लिप र पेन होल्डर फुटेको अवस्थामा फेला परेको।
नियमावली उल्लङ्घनमा के छ कारबाहीको व्यवस्था?
प्रतिनिधि सभा नियमावली, २०८३ मा भएको व्यवस्था अनुसार:
नियम ३०. चेतावनी: बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ।
नियम ३१. बैठक कक्षबाट निष्कासन:
१. नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन।
२. उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछ।
३. उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन। यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ।
नियम ३२. सदस्यको निलम्बन:
१. सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानाजानी बारम्बार बाधा दिने वा अभद्र व्यवहार गर्ने वा संविधान वा यस नियमावलीको जानाजानी उल्लङ्घन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले तोक्न सक्नेछ।
२. उपनियम (१) बमोजिम नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछ र सो प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइने छैन।
३. उपनियम (२) बमोजिमको प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्यले त्यसपछिको बढीमा पन्ध्र दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउने छैन।
४. उपनियम (३) बमोजिम निलम्बन भएको सदस्यले बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ।
५. निलम्बित सदस्य उपनियम (४) बमोजिम बैठक कक्षबाट बाहिर नगएमा सभामुखले निजलाई बाहिर निकाल्न मर्यादापालकलाई आदेश दिन सक्नेछ।
६. यस नियमबमोजिम कोई सदस्य निलम्बन भएमा वा त्यस्तो निलम्बन फुकुवा भएमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ।
७. उपनियम (३) बमोजिम निलम्बित तथा नियम ३१ बमोजिम निष्कासित सदस्यले पूर्वसूचना दिइसकेको प्रस्ताव निलम्बित अवस्थामा बैठकमा प्रस्तुत गर्नुपर्ने भएमा सभामुखले सो प्रस्ताव पेस गर्नका लागि अन्य कुनै सदस्यलाई अधिकृत गर्न सक्नेछ।
नियम ३३. सुव्यवस्था कायम राख्ने सभामुखको विशेष अधिकार:
१. यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भङ्ग गरेमा वा गर्न लागेमा वा सभाको प्रतिष्ठामा आँच आउने किसिमले बैठक कक्षभित्र ध्वंसात्मक कार्य गरेमा वा बल प्रयोग गरेमा वा गर्न लागेमा वा कुनै भौतिक हानि–नोक्सानी पुर्याएमा सभामुखले निजलाई बैठक कक्षबाट तत्काल निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्नेछ। यसरी निष्कासित सदस्यलाई सभामुखले बढीमा पन्ध्र दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ।
२. उपनियम (१) बमोजिम निलम्बित सदस्यले सो अवधिभर सभा र कुनै समितिको बैठकमा उपस्थित हुन पाउने छैन।
३. यस नियमबमोजिम कुनै सदस्य निलम्बन भएमा वा त्यस्तो निलम्बन फुकुवा भएमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ।
४. यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको वा बैठक कक्षमा भौतिक हानि–नोक्सानी पुर्याएको कुरा सभामुखलाई बैठक समाप्त भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढीमा पन्ध्र दिनसम्मका लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्नेछ। तर सभामुखले यसरी कारबाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित मौका दिनुपर्नेछ।
नियम ३४. कारबाही फिर्ता हुन सक्ने: यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि निष्कासित वा निलम्बित सदस्यले चित्तबुझ्दो सफाइ पेस गरेमा वा आफ्नो भूल स्वीकार गरी माफी मागेमा सभामुखले त्यस्तो सदस्यलाई माफी दिई कारबाही फिर्ता लिन सक्नेछ।
नियम ३५. बैठक स्थगित गर्ने अधिकार: बैठक कक्षभित्र अव्यवस्था भएमा वा हुन लागेमा वा बैठक नियमित रूपमा सञ्चालन गर्न बाधा पर्ने देखिएमा सभामुखले सो दिनको कुनै समयसम्म वा आफूले तोकेको अवधिसम्मका लागि बैठक स्थगित गर्न सक्नेछ। सभामुखले गरेको त्यस्तो स्थगनमाथि कुनै सदस्यले प्रश्न उठाउन पाउने छैन।
नियम २६०. नियमावलीको व्याख्या: यस नियमावलीको व्याख्या गर्ने अधिकार सभामुखलाई हुनेछ र निजको निर्णय अन्तिम हुनेछ। त्यस्तो निर्णयको जानकारी बैठकलाई दिनुपर्नेछ।
गत जेठ १७ गते भएको घटनाको छानबिन गर्न जेठ १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद डीपी अर्यालले जाँचबुझ समिति गठन गर्न निर्देशन दिएका थिए।
समितिमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए।
समितिले स्थलगत मुचुल्काको अध्ययन, श्रव्यदृश्य प्रमाण सङ्कलन, प्रत्यक्षदर्शीको बयान तथा सम्बन्धित दस्तावेजहरूको विश्लेषण गरी प्रतिवेदन तयार पारेको संसद सचिवालयले जनाएकोछ।
समितिले गत जेठ २५ गते प्रारम्भिक प्रतिवेदन सभामुख अर्याललाई बुझाएको थियो।
उनले नेकपा एमाले हालकै अवस्थामा अघि बढ्न सक्छ कि सक्दैन, विद्यमान पार्टी नेतृत्वको व्यवहार तथा आचरण बारे तपाईको धारणा के छ ?, पार्टी नेतृत्वको कार्यशैली बारे तपाईको भनाइ...बिहीबार, असार २५, २०८३
केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) रविन्द्र बम बैतडी लगायत रहेका छन् ।बिहीबार, असार २५, २०८३
नेपाल र भारतबीचको सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटी लगायतका क्षेत्रमा रहेका विभिन्न द्विपक्षीय...बिहीबार, असार २५, २०८३
छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी ...बिहीबार, असार २५, २०८३