नेभिगेशन
समाज

वैभव सूर्यवंशीको ऐतिहासिक इनिङ्स: ५३ बलमा २०४ रन, १५ वर्षको उमेरमै विश्व क्रिकेटमा कीर्तिमानको वर्षा

काठमाडौँ । भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले मात्र १५ वर्षको उमेरमा क्रिकेटको कीर्तिमानी किताबमा एकपछि अर्को ऐतिहासिक अध्याय जोडेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा उनले ५३ बलमा २०४ रनको विस्फोटक पारी खेल्दै नयाँ इतिहास रचेका हुन्।

Marvel
Extreme Energy

यूएईविरुद्धको उक्त खेलमा ५३ बल सामना गरेका वैभवले २०४ रन बनाउने क्रममा २८ छक्का र ७ चौका प्रहार गरे। उनले मात्र २८ बलमा शतक पूरा गरेका थिए भने ५२ बलमा दोहोरो शतक प्रहार गर्न सफल भए। वैभवको यही आक्रामक ब्याटिङको मद्दतले भारत 'ए' ले २५० रनको लक्ष्य मात्र १४.२ ओभरमा पूरा गर्‍यो।

वैभवले जनवरी २०२४ मा प्रथम श्रेणी (फर्स्ट क्लास) क्रिकेटमा डेब्यू गरेका थिए र सोही वर्ष सिनियर घरेलु क्रिकेटमा सेतो बलको खेल सुरु गरेका थिए। सन् २०२६ मा भारतको इङ्ल्यान्ड भ्रमणका क्रममा उनले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवसर पाए।

कीर्तिमानहरूको सूची
मात्र १५ वर्षको उमेरमा वैभवले विभिन्न प्रारूपमा थुप्रै कीर्तिमान आफ्नो नाममा दर्ता गराइसकेका छन् ।

लिस्ट 'ए' क्रिकेटमा सबैभन्दा छिटो शतक र दोहोरो शतक
यूएईविरुद्धको खेलमा ५३ बलमा २०४ रन बनाउँदै आउट भएका वैभव लिस्ट 'ए' क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक, शतक, १५० र २०० रन पूरा गर्ने ब्याटर बनेका छन्।

आईपीएलमा सबैभन्दा कम उमेरमा अर्धशतक र शतक
२८ अप्रिल २०२५ मा राजस्थान रोयल्सबाट गुजरात टाइटन्सविरुद्ध खेल्दा उनले १४ वर्ष ३२ दिनको उमेरमा यो कीर्तिमान रचेका थिए। उनले १७ बलमा अर्धशतक र ३५ बलमा शतक पूरा गरेका थिए। आईपीएलमा सबैभन्दा छिटो शतक प्रहार गर्ने सूचीमा उनी क्रिस गेल (३० बल) पछि दोस्रो स्थानमा छन्।

लिस्ट 'ए' क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक
२०२५–२६ को विजय हजारे ट्रफीको पहिलो खेलमा बिहारबाट अरुणाचल प्रदेशविरुद्ध खेल्दा उनले ८४ बलमा १९० रन बनाए। राँचीमा भएको उक्त खेलमा उनले १४ वर्ष २७२ दिनको उमेरमा लिस्ट 'ए' मा शतक बनाउने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए। उनले ३६ बलमा शतक र ५९ बलमा १५० रन पूरा गरेका थिए, जुन पुरुष लिस्ट 'ए' क्रिकेटमा १५० रन पुग्ने सबैभन्दा छिटो गति हो। उक्त खेलमा बिहारले ६ विकेट गुमाएर ५७४ रन बनाएको थियो।

टी२० क्रिकेटमा १०० छक्का हान्ने सबैभन्दा छिटो ब्याटर
१५ वर्षकै उमेरमा उनले मात्र ५१४ बल र २९ इनिङ्समा १०० छक्का पूरा गरे। इनिङ्सका आधारमा अस्ट्रियाका करणवीर सिंह (३३ इनिङ्स, ८१३ बल) दोस्रो स्थानमा छन् भने बलका आधारमा बेल्जियमका साबेर जखिल (६९९ बल) दोस्रो स्थानमा छन्।

लिस्ट 'ए' क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक
जुन २०२६ मा श्रीलंका 'ए' विरुद्धको त्रिकोणात्मक शृङ्खलाको फाइनलमा उनले मात्र ११ बलमा अर्धशतक प्रहार गरी २१ वर्ष पुरानो कीर्तिमान भङ्ग गरे।

आईपीएलमा १,००० रन बनाउने सबैभन्दा छिटो ब्याटर
गुजरात टाइटन्सविरुद्धको क्वालिफायर–२ मा ४७ बलमा ९६ रन बनाउने क्रममा उनले मात्र ४४० बलमा आईपीएलमा १,००० रन पूरा गरे। यसअघि यो कीर्तिमान आन्द्रे रसेल (५४५ बल) को नाममा थियो।

एकै टी२० प्रतियोगितामा सर्वाधिक छक्का
आईपीएल २०२६ मा उनले ३२७ बल सामना गर्दै ७२ छक्का र ७७६ रन बनाएर क्रिस गेलको कीर्तिमान (आईपीएल २०१२ मा ४५६ बलमा ५९ छक्का) तोडे। यही प्रदर्शनका लागि उनले 'अरेन्ज क्याप' पनि जिते।

पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक
इङ्ल्यान्डमा कठिन सुरुवात गरे पनि जिम्बावेविरुद्ध उनले १८ बलमै अर्धशतक प्रहार गरे। १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक बनाउँदै उनी पुरुष अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा कान्छा अर्धशतककर्ता बने।

अन्तर्राष्ट्रिय क्रिकेटमा 'प्लेयर अफ द सिरिज' बन्ने सबैभन्दा कान्छो खेलाडी
जिम्बावेविरुद्धको टी२० शृङ्खला भारतले ३–० ले जित्दा वैभवले १९६.१० को स्ट्राइक रेटमा १५१ रन बनाए र 'प्लेयर अफ द सिरिज' चुनिए। १५ वर्ष १२१ दिनको उमेरमा यो अवार्ड जितेर उनले महिला क्रिकेटमा भारतकी शेफाली वर्मा (१५ वर्ष २९६ दिन) र पुरुष क्रिकेटमा अफगानिस्तानका रहमानुल्लाह गुरबाज (१७ वर्ष ३०० दिन) को कीर्तिमान उछिने।

क्रिकेट जगतको प्रतिक्रिया
वैभवको यो प्रदर्शनपछि क्रिकेट जगतबाट बधाई र प्रशंसाको ओइरो लागेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै वैभवलाई विशेष प्रतिभाको संज्ञा दिएका छन्। उनले यूएईविरुद्ध २८ बलमा शतक र ५२ बलमा दोहोरो शतक प्रहार गरेकोमा वैभवको निडर ब्याटिङको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

श्रीलंकाका पूर्व क्रिकेटर एन्जेलो म्याथ्युजले कुनै पनि टोलीविरुद्ध ५३ बलमा २०४ रन बनाउनु सहज नभएको उल्लेख गर्दै वैभवलाई निकै विशेष खेलाडी बताएका छन्। त्यसैगरी भारतका पूर्व क्रिकेटर मोहम्मद कैफले ५३ बलमा २०४ रन र २८ छक्काले वैभव कीर्तिमान टुट्ने प्रतीक्षामा नभई आफैँ इतिहास रचिरहेको र 'सुपरस्टार' बन्ने बाटोमा रहेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् ।
उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।

भर्खरै