नेभिगेशन
उद्यम

सुन्तलाले फेरिँदै सलकपुरको अर्थतन्त्र, बगान हेर्न दैनिक सयौँ पर्यटक

झापा । कुनै समय सामान्य कृषि गाउँका रूपमा चिनिने इलामको सलकपुर अहिले सुन्तला खेती र ग्रामीण पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको छ। सुन्तला बिक्रीबाट मात्रै वार्षिक तीनदेखि चार करोड रुपैयाँसम्म गाउँ भित्रिन थालेको छ। त्यसमाथि सुन्तला बगान घुम्न, बोटबाटै फल टिपेर खान र गाउँको प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकले स्थानीय अर्थतन्त्रमा थप चहलपहल बढाएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इलामको रोङ गाउँपालिका–६ मा पर्ने सलकपुरमा अहिले सुन्तलाका बगान पहेँलपुर छन्। बोटमा लटरम्म फलेका सुन्तला पाकेर पहेँलिन थालेपछि गाउँमा पर्यटकको आवागमन बढेको छ। पूर्वीनाका काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा रहेको यो गाउँ सुन्तला स्वाद लिन चाहने आन्तरिक र भारतीय पर्यटकको रोजाइमा पर्न थालेको छ।

Marvel
Extreme Energy

वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक औसत एक सय पर्यटक पुग्ने गरेका छन्। शुक्रबार र शनिबार भने पर्यटकको सङ्ख्या बढेर तीन सयदेखि पाँच सयसम्म पुग्छ।

गाउँमा करिब ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। वडा कार्यालयको अनुमानअनुसार यहाँ वार्षिक ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ। मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम हुँदा उत्पादन अझ बढ्ने गरेको छ।

सुन्तला खेतीबाट गाउँका एक सयभन्दा बढी घरपरिवारले आम्दानी गर्दै आएका छन्। गाउँमा रहेका ३० वटा ठूला सुन्तला बगानले उत्पादन र पर्यटन दुवैलाई जोडिरहेका छन्।

बजारभन्दा सस्तो बगानमै सुन्तला

सलकपुरको सुन्तला स्थानीय बजारमा मात्र सीमित छैन। झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म यहाँको सुन्तला पुग्ने गरेको छ। सीमावर्ती भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तलाका रूपमा यसको बिक्री र प्रचार हुँदै आएको छ।

स्थानीय देबेन खड्काका अनुसार बजारमा प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म पर्ने सुन्तला बगानमै पुग्ने पर्यटकले १३० रुपैयाँमा किन्न पाउँछन्। स्वादिलो र रसिलो भएकाले व्यापारीसमेत बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।

खड्का स्वयंले पनि १० रोपनी जमिनमा सुन्तला खेती गरेका छन्। उनका अनुसार यस वर्ष विगतका तुलनामा उत्पादन राम्रो भएको छ।

सुन्तला खरिदका लागि मात्र नभई बगानको अनुभव लिन पनि पर्यटक आउने गरेका छन्। बोटबाटै सुन्तला टिपेर खाने, बगानमा तस्बिर खिच्ने र गाउँको वातावरणमा रमाउने पर्यटकको आकर्षण बढेको छ।

सुन्तलासँगै घरबास व्यवसाय विस्तार

सलकपुरमा सुन्तला खेतीले कृषि आम्दानी बढाउनुका साथै घरबास (होमस्टे) व्यवसायलाई पनि टेवा दिएको छ।

स्थानीय खड्काका अनुसार गाउँका करिब ३० घरमा घरबास सञ्चालनमा छन्। विशेषगरी शुक्रबार र शनिबार पाहुनाको चाप बढ्ने गरेको छ। झापाका बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट पर्यटक आउने गरेका छन्।

इलाम, झापा, मोरङ र सुनसरीका पर्यटकसँगै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत सलकपुर पुग्ने गरेका छन्।

निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पैदलयात्रा गर्ने र सवारीसाधनबाट गाउँ पुग्ने पर्यटकको सङ्ख्या पनि बढ्दो छ। सुन्तला बगान घुमेपछि नजिकैको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकका लागि सलकपुर थप आकर्षक बनेको छ।

७७ वर्षअघि सुरु भएको खेती अहिले व्यावसायिक

सलकपुरमा सुन्तला खेतीको इतिहास पनि पुरानो छ। विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले यहाँ सुन्तला खेती सुरु गरेका थिए। उनले दार्जिलिङबाट ल्याएका बिरुवा रोपेर सुरु गरेको खेतीले अहिले व्यावसायिक रूप लिएको छ।

सुरुमा दार्जिलिङबाट ल्याइएका बिरुवा रोपिए पनि अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन्।

पुराना बोट रोगका कारण मर्न थालेपछि किसानले नयाँ बगान विस्तार गर्न थालेका छन्। यसले सलकपुरमा सुन्तला खेतीलाई निरन्तरता दिने प्रयास भइरहेको देखाउँछ।

सलकपुरसँगै कुवापानी र जौबारी क्षेत्र पनि सुन्तलाका लागि परिचित छन्। यी क्षेत्रमा सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादन हुँदै आएको छ।

यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हरेक वर्ष आयोजना हुने सुन्तला महोत्सवमा समेत प्रदर्शन तथा बिक्रीका लागि लगिने गरिएको छ।

कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सके ग्रामीण अर्थतन्त्र कसरी चलायमान हुन सक्छ भन्ने उदाहरण सलकपुर बन्दै गएको छ। यहाँ सुन्तला बेचेर किसानले आम्दानी गरिरहेका छन् भने बगान हेर्न आउने पर्यटकका कारण घरबास, स्थानीय व्यापार र सेवा व्यवसायले पनि लाभ लिन थालेका छन्। यसरी एउटै कृषि उत्पादनले गाउँको पहिचान, आम्दानी र पर्यटनको सम्भावना विस्तार गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप उद्यम
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई, साढे ३ करोडमा सम्झौता

वर्षौंदेखि फोहोर व्यवस्थापनको समस्या झेल्दै आएको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ र फोहोर व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ।
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले आज अधिकांश स्थानको मौसम मुख्यतया सफा रहने भएको छ। केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली हुने जल तथा मौसम...
डलर स्थिर, युरो र पाउन्डको मूल्य घट्यो

डलर स्थिर, युरो र पाउन्डको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ।
नागरिकता नहुँदा तीन पुस्ता नै अनागरिक हुने चिन्ता

नागरिकता नहुँदा तीन पुस्ता नै अनागरिक हुने चिन्ता

पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को घरठेगाना सोधिनन्। सिलाइको काममा सिपालु श्रीमान्ले परिवार पाल्न सक्ने विश्वासमा माइतीले विवाह गरिदिएका थिए। न उनले सोधखोज गरिन्, न माइतीले नै श्रीमान्को थातथलोबारे...