काठमाडौं । पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को घरठेगाना सोधिनन्। सिलाइको काममा सिपालु श्रीमान्ले परिवार पाल्न सक्ने विश्वासमा माइतीले विवाह गरिदिएका थिए। न उनले सोधखोज गरिन्, न माइतीले नै श्रीमान्को थातथलोबारे चासो राख्यो।
तर, श्रीमान्को मृत्युपछि त्यही सामान्यजस्तो लागेको विषय उनको जीवनको सबैभन्दा ठूलो समस्या बनेको छ। नेपालमै जन्मिएर जीवन बिताएकी पम्फा अहिले आफ्नै देशमा नागरिकताविहीन छिन्। उनको नागरिकता नहुँदा छोराहरूले नागरिकता पाएका छैनन्। नातिनातिनाको जन्मदर्तासमेत हुन सकेको छैन।
यसले उनको परिवारका तीन पुस्तालाई नै राज्यको पहिचानबाट बाहिर पार्ने जोखिम बढाएको छ।
‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ,’ पम्फा भन्छिन्।
२०२५ सालमा जन्मिएकी पम्फा १० सन्तानमध्ये जेठी हुन्। गरिबीले थिचिएको परिवारमा हुर्किएकी उनको विवाह माइती गाउँमा घुम्दै आएका एक युवकसँग भएको थियो। सिलाइको काम जानेका युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले विवाह गरिदिएका थिए।
‘केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो। न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ,’ उनी विगत सम्झिन्छिन्।
त्यसपछि सिलाइ र मजदुरी गरेर उनको दाम्पत्य जीवन बित्यो। रोजगारीको सिलसिलामा ३५ वर्षअघि श्रीमान्सँगै काठमाडौं आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ।
श्रीमान्को मृत्युपछि नागरिकता बनाउन खोज्दा समस्या सुरु भयो। माइतीपट्टि गएर नागरिकता बनाउने प्रयास गरिन्। तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले उनलाई फर्काइदियो। श्रीमान्को घरठेगाना थाहा नभएकाले उनीसँग अर्को विकल्प पनि थिएन।
‘श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ। तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए। श्रीमान्को थातथलो थाहा छैन। अब कहाँ जाऊँ ?’ उनी प्रश्न गर्छिन्।
नागरिकता नहुँदा पम्फाले मात्रै होइन, उनका छोराहरूले पनि अनेक समस्या भोगिरहेका छन्। दुई छोराले नागरिकता नपाउँदा रोजगारी, शिक्षा र बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको छ। ज्यामी काम गरेर जीविका चलाउँदै आएका छोराहरूले नागरिकता नभएकै कारण कामसमेत गुमाउनुपरेको उनको भनाइ छ।
अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानसमेत पाएका छैनन्।
‘आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो। मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,’ पम्फा भावुक हुँदै भन्छिन्।
आफूले भोगेको समस्या पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ। तर, नागरिकता र जन्मदर्ताको प्रक्रियामा देखिएको जटिलताले तीन पुस्ताकै भविष्य अन्योलमा परेको छ।
पहिचान नहुँदा कमाइसमेत अरूकै नाममा
नागरिकता नहुँदाको समस्या पम्फाको परिवारमा मात्र सीमित छैन। सडकमा बाल्यकाल बिताएका सञ्जय राई पनि किशोरावस्थामै नागरिकताविहीन छन्। आफन्तको पहिचान नखुलेका कारण उनले नागरिकता बनाउन सकेका छैनन्।
जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पाएका छन्। तर, नागरिकता नहुँदा काम गरेबापतको पारिश्रमिक लिनसमेत समस्या भएको छ।
उनले सञ्चालन गर्दै आएको टिकटक खाता अरूकै नाममा छ। उक्त खाताबाट आएको पाँच लाख रुपैयाँ पनि अरूले नै राखेको उनको गुनासो छ। मोबाइलको सिमकार्डसमेत अरूकै नाममा लिनुपर्ने बाध्यता छ।
‘नागरिकता नहुँदा बैंक खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ ?’ उनी प्रश्न गर्छन्।
साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग भेटेका उनले आफ्नो मात्र नभई आफूजस्तै नागरिकताविहीनहरूको साझा प्रश्न राखे, ‘सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ ?’
सञ्जयजस्तै अञ्जु गुरुसँग पनि नागरिकता छैन। बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताएकी उनले किशोरावस्थामै विवाह गरिन्। उनका श्रीमान् पनि सडक मानव हुन्। दुवैसँग नागरिकता छैन।
‘नागरिकता भए रोजगारी पाउने थिएँ। भविष्य उज्ज्वल हुन्थ्यो। अहिले अँध्यारोमा बाँचिरहेका छौँ। न पहिचान छ, न सम्मान नै,’ उनी भन्छिन्।
१५० सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन
साथसाथ संस्थाले हालै सडक बालबालिकाको अवस्थाबारे गरेको सर्वेक्षणले जन्मदर्ता र नागरिकताको समस्या व्यापक रहेको देखाएको छ।
सर्वेक्षणमा सहभागी १५० सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी नभएको पाइएको छ। अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ।
सर्वेक्षणअनुसार ६५ प्रतिशत बालबालिकाका अभिभावकसँग आवश्यक कागजात छैनन्। बाबुको पहिचान नभएका, बेपत्ता भएका तथा वैवाहिक अवस्थासँग सम्बन्धित समस्या भएका घटना ३५ प्रतिशत छन्। त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात छैन। यसले उनीहरूलाई औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट टाढा राखेको छ।
संस्थाले जन्मदर्ता हुन नसकेका घटनालाई विभिन्न समूहमा वर्गीकरण गरेको छ। जसअनुसार बाबुको कागजात नभएका ६५, बाबु बेपत्ता भएका ४५, बाबुआमा दुवैको कागजात नभएका ४५, आमाको कागजात नभएका २७, बहुविवाहका २५, विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच र सँगै बसोबास गर्ने जोडीका तीन घटना छन्।
यी तथ्यांकले अभिभावकको नागरिकता वा पहिचानसम्बन्धी समस्या बालबालिकाको जन्मदर्ता र त्यसपछि नागरिकता प्राप्त गर्ने प्रक्रियासम्म फैलिने जोखिम देखाउँछन्।
कानुन भए पनि कार्यान्वयनमा समस्या
कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए।
कागजात प्रमाणित नभएको वा अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापन गर्न अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ।
यस विषयमा समितिमा छलफल गरेर नागरिकता वितरण प्रक्रिया सहज बनाउन आवश्यक कार्यविधि तयार गर्ने पहल गर्ने उनले प्रतिबद्धता जनाए।
‘नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ। कानुन छ। यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,’ उनले भने।
अधिकारकर्मी एवं साथसाथ संस्थाकी स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताइन्।
‘कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्,’ उनले भनिन्।
पम्फा, सञ्जय र अञ्जुका भोगाइले नागरिकता नहुनु केवल एउटा कागजात नहुनु मात्र होइन भन्ने देखाउँछन्। यसले व्यक्तिको शिक्षा, रोजगारी, आर्थिक कारोबार, सामाजिक सम्मान र राज्यबाट प्राप्त हुने सेवासुविधासम्मको पहुँच रोक्छ।
एउटा पुस्ताले नागरिकता नपाउँदा अर्को पुस्ताको जन्मदर्ता रोकिने र त्यसले तेस्रो पुस्ताको पहिचानसमेत अन्योलमा पार्ने अवस्था छ। त्यसैले नागरिकता वितरणको कानुनी व्यवस्था हुनु मात्रै पर्याप्त छैन, पहिचान र कागजातविहीन अवस्थामा रहेका नागरिकका लागि सहज, व्यावहारिक र पहुँचयोग्य प्रक्रिया बनाउनु पनि उत्तिकै आवश्यक देखिन्छ।