नेभिगेशन
पूर्वाधार

माइतीघर डुबानका यी पाँच कारण

काठमाडौँ । माइतीघरमण्डल क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिएकी थिइन् ।

कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरुमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ । माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भागमा ९० सेन्टिमिटरको ढल छ । यो ढल प्रणाली तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या भई पानी सडकमा बाहिरिने गरेको प्रतिवेदनमा उल्लेख छ । 

Ncell
Extreme Energy

यसबाहेक, टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडक तिर फर्कने (ब्याक फ्लो) समस्याले गर्दा. पनि माइतीघर जलमग्न हुने गरेको देखिएको छ ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र सहरी विकास र व्यवस्थापनका कारणहरूलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा औँल्याएको छ । विगतमा माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूले ‘प्राकृतिक जलाधार’ को काम गर्थे । जसले वर्षाको पानीलाई जमिनमुनि सोस्ने गथ्र्यो  । तर, अहिले  ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिलको कार्यालय लगायतका ठूला भवनहरू निर्माण भएपछि जमिन कंक्रिटले ढाकियो । यसकारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ । यसले गर्दा सतहमा बग्ने पानीको मात्रा अत्यधिक बढ्न गई माइतीघर चोकमा सिधै केन्द्रित हुने गरेको प्राविधिक टोलीको निष्कर्ष छ ।

अतिक्रमणको समस्या पनि माइतीघर डुबानमा उस्तै जिम्मेवार देखिएको छ । अनुगमनका क्रममा कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी भवनका संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको पाइएको छ । ढलको पाइपभित्र प्लास्टिकजन्य फोहर, बोतल र ढुङ्गा–गिट्टी थुप्रिनुले पानीको बहावलाई थप रोकेको छ । यस समस्यालाई समाधान गर्न कार्यवाहक प्रमुख डंगोलले अनुगमनकै क्रममा स्थानीय प्रशासन र साझेदार निकायहरूको सहकार्यमा सबै प्रकारका अवरोध हटाउन निर्देशन दिएकी थिइन् ।

प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू पनि सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यसले वर्षाको पिक समयमा आउने पानीलाई केही बेर भण्डारण गरी पछि बिस्तारै निकास दिन सहयोग पुग्नेछ ।

त्यस्तै, टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्न, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्न र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्न प्रतिवेदनले जोड दिएको छ । 

सडक, खानेपानी, ढल र विद्युत जस्ता निकायहरू बिच समन्वयको अभावमा एउटाले बनाउने र अर्काेले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले विशेष महत्वका साथ उठाएको छ ।

प्रतिवेदनले औंल्याएका डुबानका प्रमुख कारणहरू

ढल प्रणालीमा इन्जिनियरिङ त्रुटिः माइतीघर क्षेत्रमा भित्रिने ढलको माथिल्लो भाग ९० सेन्टिमिटरको भए पनि तल्लो भागमा पुगेपछि ६० सेन्टिमिटरमा साँघुरिएको छ । यसरी ‘बोटलनेकिङ’ हुँदा पानीको चाप बढेर सडकमा बाहिरिने गरेको छ ।

टुकुचा खोलाको ब्याक फ्लोः टुकुचा खोलाको सतह बढेको बेला ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतिर फर्किने समस्या रहेको छ।

प्राकृतिक जलाधारको विनाशः माइतीघर चोकसँगै जोडिएका खुला क्षेत्रहरूमा ठूला भवनहरू (जस्तैः जिल्ला प्रहरी परिसर र सरकारी वकिलको कार्यालय) निर्माण भई जमिन कंक्रिटले ढाकिएका कारण पानी सोसिने प्राकृतिक प्रक्रिया बन्द भएको छ।

अतिक्रमण र फोहर थुप्रिने समस्याः ढलमाथि नै व्यक्तिगत तथा सरकारी संरचनाहरू निर्माण भएकाले नियमित सरसफाइमा अवरोध पुगेको छ भने पाइपभित्र प्लास्टिक, बोतल र ढुङ्गा–गिट्टी थुप्रिँदा पानीको बहाव रोकिएको छ।

समन्वयको अभावः सडक, खानेपानी, ढल र विद्युत्जस्ता निकायहरूबीच समन्वय नहुँदा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटी रहेको छ।

प्रतिवेदनका प्रमुख सिफारिसहरू

तत्कालका लागिः ढल निकास मार्गमा रहेका अवरोध हटाउने, म्यानहोलहरूको उचाइ बढाउने र नियमित सरसफाइ गर्ने।

दीर्घकालीन समाधानका लागि–

माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको सार्वजनिक जग्गाभित्र जमिनमुनि ठूलो क्षमताको पानी भण्डारण ट्याङ्की निर्माण गर्ने ।

टुकुचा खोलाको निकास विन्दुमा ’नन रिटर्न भल्भ’ जडान गर्ने ।

समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्ने र माइतीघर क्षेत्रको क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्ने ।

विभिन्न सरकारी निकायहरूबीच एकीकृत प्रणाली विकास गर्ने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

पिल्लर भत्किएको दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक टोलीद्वारा अध्ययन सुरु

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा–चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए...
उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा पार्थिव शरीर तीन दिनदेखि अस्पतालमै

आर्थिक अवस्था कमजोर रहेको परिवारले उपचारको बाँकी रकम भुक्तानी गर्न नसक्दा सोविताको पार्थिव शरीर घर ल्याएर अन्तिम संस्कार गर्न सकेको छैन । सोविताले भदौ ३१ गते विष सेवन...
लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई अर्थ समितिकाे निर्देशन

समितिका सभापति डा कृष्णहरि बूढाथोकीले समितिको बैठकले कम्पनीको प्राथमिक शेयर (आइपिओ) निष्काशन अनुमति दिनुअघि उक्त कम्पनीको पुँजी पर्याप्तता, प्रविधि, नेटवर्थ, वासलात प्रतिफल लगायतका आधारमा स्तरीकरण र प्राथमिकीकरण गरी...
सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

सुस्ताबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौली क्षेत्रमा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार नारायणी नदीको बाढीले बगाएर सुस्ता गाउँपालिका–४ पुर्याएको गैँडालाई उद्धार गरी सौराहा ल्याइएको थियो ।

भर्खरै