काठमाडौँ । कांग्रेसमा सेलाउनै लागेको झगडा शेरबहादुर देउवाको आगमनसँगै उत्कर्षमा पुगेको छ । विवाद र झगडा त यहाँसम्म पुगेको छ कि– कांग्रेसको सभापति को हो ? शेरबहादुर कि गगन थापा ?
शेरबहादुर देउवा र गगन थापा दुवै यस्ता नेता हुन्– जसले आफूलाई विद्रोहबाट स्थापित गराए । कुनै बेलाका विद्रोही नेता देउवा दुई–दुई पटक सिंगो कांग्रेसको सभापति बने, ५ पटक प्रधानमन्त्री बने ।
कांग्रेस भित्रैका अर्का विद्रोही नेता गगन थापाले देउवाले झैँ पार्टी फुटाएनन् । तर, जब उनी विशेष महाधिवेशनबाट सभापति बने, त्यसले पार्टीमा अर्को विभाजनको आधार तयार ग¥यो ।
कांग्रेसका नेताहरू विशेष महाधिवेशनपछि संस्थापन पक्ष र इतर पक्षका रुपमा विभाजित थिए । अर्थात– विशेष महाधिवेशनमा सहभागी नेताहरू संस्थापन र सहभागी नभएका नेताहरू इतर पक्ष ।
तर, साउन २८ गतेदेखि अवस्था बदलिएको छ । अवस्था बदलिएको भन्दा पनि बदलिएको देखाइएको छ ।
कांग्रेस एउटै छ, कार्यालय दुई वटा छन् । सभापति पनि दुई जना छन् । केन्द्रीय समिति पनि दुई वटा बनेको छ । एउटै नामका दुई वटा पार्टी सञ्चालनमा आएका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले सानेपास्थित साविकको केन्द्रीय कार्यालयबाट पार्टी हाँकीरहेका छन् । चौधौँ महाधिवेशनबाट निर्वाचित भएका तर, विशेष महाधिवेशनबाट अपदस्थ गरिएका शेरबहादुर देउवाले चुनदेवीस्थित सम्पर्क कार्यालयबाट कांग्रेसको अर्को खेमाको कमाण्ड सम्हालेका छन्– पार्टी सभापतिकै रुपमा । यतिमात्रै होइन, सभापतिकै रुपमा इतर खेमाले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भए, उद्घाटन गरे, सम्बोधन गरे ।
सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको थियो, सभापतित्व गरिरहेका थिए– गगनकुमार थापाले ।
ठीक त्यही समयमा शेरबहादुर देउवा सुकेधारास्थित एउटा पार्टी प्यालेसमा नेपाली कांग्रेसकै नाममा आयोजित राष्ट्रिय भेलाको उद्घाटन गर्दै थिए । सभापतिकै रुपमा सम्बोधन गर्दै थिए । शेरबहादुर देउवा तिनै नेता हुन्– जसले २४ वर्षअघि अर्थात २०५९ साल असारमा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित विशेष भेलालाई यसैगरी सम्बोधन गरेका थिए ।
त्यतिबेला र अहिलेमा केही फरक छ– त्यतिबेला उनी प्रधानमन्त्री थिए, अहिले छैनन् । त्यतिबेला उनी कांग्रेसको साधारण सदस्यबाट समेत निकालिएका थिए, अहिले सभापतिबाट निकालिएको अवस्था छ । फरक अर्को पनि छ– उतिबेला शेरबहादुर देउवा निकालिनुअघिसम्म कांग्रेसको केन्द्रीय सदस्य मात्रै थिए, अहिले दुई दुई कार्यकाल वरिष्ठ नेता र दुई दुई कार्यदल सभापतिको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
शेरबहादुर देउवा उनै नेता हुन्, जो गत वर्ष जेनजी आन्दोलन नभएको भए अहिले देशको प्रधानमन्त्री पदमा देउवा नै हुने थिए । तर, जेनजी आन्दोलनले उनको मुखैमा आएको प्रधानमन्त्री पद गुम्यो, तत्कालीन अवस्थामा देशकै ठूलो दल कांग्रेसको सभापति पद खोसियो, ओक्रोशित युवाहरूबाट कुटपिट सहनु प¥यो, घर र श्रीसम्पत्ति नै जल्यो ।
किशोरावास्थादेखि नै कांग्रेसमा लागेका, बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको माया र प्रशिक्षणमा हुर्किएका नेता शेरबहादुरले मुलुकको लोकतान्त्रिक आन्दोलनका क्रममा वर्षौं जेलनेल भोग्नु प¥यो । उनी जुनबेला मुलुकको राजनीतिमा उदाए, त्यतिबेला सुदूरपश्चिम नेपालको सुदूर पश्चिममा मात्रै थिएन, त्यहाँ पुग्न भारतको बाटो प्रयोग गर्नु पथ्र्यो । सम्भवतः सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्ने श्रेय डडेलधुराका उनै देउवालाई जान्छ ।
जेनजी आन्दोलनको एक वर्ष पुग्नै लाग्दा देउवा फेरि सक्रिय भएका छन् । सिंगापुर र हङकङमा पाँच महिना लामो उपचारपछि फर्केका देउवा फर्केकै दिन आफू पक्षीय नेताहरूले खोलेको कार्यालयमा गए, सभापतिको कार्यकक्षमा आसन ग्रहण गरे, भोलिपल्ट उनीपक्षीय नेताहरूले नै आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन गरे । उनले उद्घाटन मात्रै गरेनन्, आफू नै कांग्रेस सभापति भएको स्पष्ट सन्देश दिए ।
अब विशेष महाधिवेशनबाट निर्वाचित सभपाति गगन थापाको कुरा गरौँ । नेपालको समकालीन राजनीतिमा निकै आशा गरिएका नेता हुन् गगन थापा । विद्यार्थी आन्दोलनबाट स्थापित नेता गगनले देउवाले जस्तो कठोर जेल यातना त खेप्नु परेन तर, राज्यद्रोहको गम्भीर मुद्दा भने खेप्नु प¥यो ।
निकै पाका उमेरका नेताहरूको बर्चश्व रहेको कांग्रेसमा युवा विद्यार्थी गगनको उदय त्यति सहज थिएन । आँट गर्ने र सफलता हात नपारेसम्म लडिरहने उनको स्वभाव र लगनले नै उनलाई नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्य र कांग्रेस महामन्त्रीदेखि कांग्रेस सभापतिसम्म पु¥यायो ।
तत्कालीन राजा ज्ञानेन्द्रले जब शासनसत्ता आफ्नो हातमा लिए, निरंकुश राजतन्त्रविरुद्ध सडक तताउने आन्दोलनको नेतृत्वमा गगन नै थिए । पार्टीले गणतन्त्रमा जाने निर्णय गर्नु अगावै कांग्रेसमा गणतन्त्रको बहसलाई फैलाउने नेता पनि गगन नै हुन् । पार्टीभन्दा अगाडि बढेर गगनले गणतन्त्रको पैरबी गर्न थालेपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले नेविसंघको वीरगञ्ज महाधिवेशनबाट निर्वाचित सभापति गुरुराज घिमिरे र महामन्त्री गगन थापालाई बर्खास्त गरिदिएका थिए । गगन र गुरुले त्यतिबेला आफ्नो एजेण्डा स्थापित गर्न गिरिजाप्रसादसँग विद्रोह गर्नु परेको थियो । उनीहरूलाई सघाएका थिए– नेता नरहरि आचार्यले । अन्ततः कांग्रेसले नै गणतन्त्रमा जाने निर्णय गरेपछि पार्टीभित्र र बाहिर पनि गगन हाइहाइ भएका थिए ।
शेरबहादुर र गगनका बीचमा संयोग यस्तो पनि छ– शेरबहादुरले पनि गिरिजाप्रसाद सँग विद्रोह गर्नुप¥यो, गगनले पनि उनै गिरिजाप्रसादसँग । गिरिजाप्रसाद पनि उनै नेता हुन्, जसले आफैसँग विद्रोह गरेर अर्को पार्टी बनाएका देउवालाई फेरि कांग्रेसमा ल्याए अनि आफैले नेविसंघको महामन्त्रीबाट निकालेका गगनलाई गिरिजाप्रसाद कोइरालाले नै पहिलो संविधानसभामा सदस्य बनाए, पार्टीका नीतिगत निर्णयमा सहभागी गराए । यी दुईका बीचमा अर्को रोचक संयोग पनि छ ।
देउवाले कांग्रेसमा विद्रोह गर्दा देशमा माओवादीले सशस्त्र संघर्ष गरिरहेको थियो । सहर सरकारको, गाउँ माओवादीको भन्ने ‘न्यारेटिभ्स’ नै बनिसकेको थियो । माओवादीमाथि कारबाही गर्न देशमा संकटकाल लगाउने नेता देउवा नै हुन् । एकातिर देशमा माओवादीले सशस्त्र विद्रोह गर्दै थियो, अर्कातिर देउवाले कांग्रेसमा विद्रोह गर्दै थिए ।
अहिले जसरी देउवा पक्षको भेला चलिरहेको छ, २०५९ असारमा आयोजित त्यस्तै भेलालाई देउवा पक्षले विशेष महाधिवेशनमा रुपान्तरण गरेको थियो र त्यही भेलाले कांग्रेसलाई फुटाएको थियो ।
यता गगनले भने देशमा जेनजी विद्रोह लगत्तै कांग्रेस नेतृत्वमा विद्रोह गरे । गगनको विद्रोहको आधार जेनजी आन्दोलन नै थियो । जेनजी आन्दोलन लगत्तै तत्कालीन तीन ठूला दल कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई तत्काल पद त्याग गर्न आग्रह गरेका थिए । एमालेले महाधिवेशन गर्यो, माओवादीले विशेष महाधिवेशन गर्यो । तर, कांग्रेसले केन्द्रीय समिति बैठकमै डेढ महिना बितायो ।
गगनको प्रस्ताव थियो– कि तत्काल नियमित महाधिवेशन अर्थात– पन्ध्रौं महाधिवेशन गरौं, होइन भने विशेष महाधिवेशन गरौं र नीति र नेतृत्वको समीक्षा गरौं ।
तर, तत्कालीन नेतृत्व सहमत भएन । नियमित महाधिवेशनको मिति घोषणाको नाममा विशेष महाधिवेशन माग गरिएको प्रस्तावलाई पनि लत्याइयो ।
माग भएपछि विधानअनुसार गर्नैपर्ने विशेष महाधिवेशनमा पनि नेतृत्वले रुचि नदेखाएपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहलकदमी लिए र पुस अन्त्यमा विशेष महाधिवेशन गराए । भृकुटीमण्डपमा भएको त्यही विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चुन्यो । विशेष अधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो, त्यसलाई सर्वोच्चले सदर गरिदियो । पुसबाट सुरु भएको कांग्रेसको आधिकारिकता विवाद वैशाख ४ मा सर्वोच्चको फैसलासँगै सकिएको थियो । तर, अहिले फेरि त्यही विवाद बल्झिएको छ ।
सर्वोच्चले साउन २१ मा पुनरबलोकनका लागि निस्सा दिएपछि उत्साहित देउवा पक्षले चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति नै आधिकारिक दाबी गरिरहेको छ । चुनदेवी कार्यालयको चहलपहल र सुकेधारा सम्मेलन त्यसैको उदाहरण हो ।
सुकेधाराबाट देउवा पक्षले आफैलाई आधिकारिक घोषणा गरिरहँदा सानेपाले के गरिरहेको छ त ? सानेपामा जारी केन्द्रीय समितिको बैठक अन्तर्गत आजको बैठकको आरम्भमै उपसभापति विश्वप्रकाश शर्माले धारणा राखे र पार्टीमा एकताका लागि आह्वान गरे । उनको अभिव्यक्तिबाट बुझिन्थ्यो– सुकेधारा सम्मेलन युवा नेतृत्व स्वीकार गर्न नसक्नेहरूको हो । निवर्तमान सभापतिसहितका नेताहरूका नाममा उनले खुला रुपमा आग्रह गरे– युवा नेतृत्वलाई स्वीकार गर्नुस्, पार्टीलाई एकताबद्ध बनाउन सहयोग गर्नुस् ।
पुनरवलोकनका लागि निस्सा दिएको सर्वोच्चले कांग्रेसको मुद्दा कहिले टुंगो लगाउँछ, त्यो त यकिन छैन । तर, कांग्रेस एक छैन भन्ने चाहिँ यकिन भइसकेको छ । कांग्रेसको विधान र राजनीतिक दलसम्बन्धी ऐन अनुसार पनि आगामी मंसिरभित्र कांग्रेसको पन्ध्रौं महाधिवेशन भइसक्नुपर्छ । विधानमा कार्यकाल चार वर्ष हुने छ भने भनिएको छ, ऐनमा ५ वर्षभित्र कुनै पनि दलले महाधिवेशन गरिसक्नुपर्छ भन्ने उल्लेख छ । संस्थापन पक्षले असोज १६ देखि १९ सम्मका लागि महाधिवेशनको तिथिमिति तोकेको छ । देउवा पक्ष छुट्टै रणनीतिमा छ । सानेपाले तोकेको महाधिवेशनमा देउवा पक्ष सहभागी भएन भने के होला ? सर्वोच्चले देउवा नेतृत्वकै समितिलाई पुनरबहाली गरिदियो भने गगन–विश्वको अवस्था के होला ?