मुस्ताङ । तीन वर्षअघिसम्म नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नागरिकको सीमापार आवतजावतमा सीमित थियो। कोभिड महामारीअघि पनि चीनको तिब्बती भूमिस्थित झोङ्वासेन पठारमा असार र भदौमा सीमित समयका लागि मात्रै नाका खुल्थ्यो।
नेपाल–चीन सीमावर्ती क्षेत्रका नागरिकका लागि दैनिक उपभोग्य वस्तु खरिद गर्न चीन पक्षले तिब्बती भूमिमा अल्पकालीन अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्दै आएको थियो। तर, कोभिड महामारीपछि चीनले चार वर्षसम्म एकपक्षीय रूपमा कोरला नाका पूर्ण रूपमा बन्द गर्यो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणपछि २०८० कात्तिक २७ गतेदेखि कोरला नाका उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकका लागि बाह्रै महिना खुला गरियो। लामो समय बन्द रहेको नाका खुलेपछि सीमावर्ती क्षेत्रमा खुसी छायो।
नाका खोल्नुअघि चिनियाँ पक्षले नेपाली प्रतिनिधिलाई सहभागी गराएर आतसबाजीसहित औपचारिक कार्यक्रम गरेको थियो। सुरुमा उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुला गरिएको नाकामा पछि तल्लो मुस्ताङका नागरिकलाई पनि सीमापार पास वितरण गरी नेचुङ–लिजी आवतजावत सहज बनाइयो।
तर, नाका बाह्रै महिना खुले पनि सुरुका दिनमा निकासी तथा पैठारीको कारोबार स्थानीयस्तरमै सीमित थियो। सीमावर्ती तथा तल्लो मुस्ताङका नागरिकले घरायसी प्रयोजनका दैनिक उपभोग्य वस्तु चीनको लिजी हाटबजारबाट खरिद गरेर ल्याउँथे। चिनियाँ पक्षले पनि नेपालीलाई सीमित मात्रामा सामान ल्याउन अनुमति दिएको थियो।
त्यस समयमा मुस्ताङ भन्सार कार्यालयले वार्षिक १० देखि १५ करोड रुपैयाँ मात्रै राजस्व उठाउँदै आएको थियो।
मुख्य आयात–निर्यात मार्ग बन्दै
सामान्य अवस्थामा सीमित कारोबार हुँदै आएको कोरला नाका गत वर्ष भदौ ३१ गतेपछि भने क्रमशः गतिशील बन्न थाल्यो।
गत वर्ष असार र भदौमा आएको बाढी, पहिरो र नदी कटानका कारण उत्तरतर्फका तातोपानी र रसुवागढी नाका बन्द भएपछि कोरलालाई वैकल्पिक आयात–निर्यात मार्गका रूपमा अघि बढाइयो। नाका पूर्ण रूपमा सञ्चालन गर्ने निर्णयसँगै मुस्ताङ भन्सार कार्यालयमा कर्मचारी थपिए र निकासी तथा पैठारीको परिमाण बढ्न थाल्यो।
२०८२ भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट राजस्व सङ्कलनमा पनि उल्लेख्य वृद्धि हुन थाल्यो। सीमावर्ती क्षेत्रका नागरिकले रोजगारीका अवसरसमेत पाउन थाले।
यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाको महत्त्व झन् बढेको छ। तातोपानी नाका पनि सञ्चालनमा आउन सकेको छैन। उत्तरतर्फका तीन नाकामध्ये अहिले कोरला मात्रै मुख्य रूपमा सञ्चालनमा रहेको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवाको बाढीपछि केरुङ नाकामा रोकिएका १७६ वटा मालवाहक कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भइरहेका छन्।
‘केरुङ नाकाबाट कोरला नाकातर्फ डाइभर्ट भएका कन्टेनरमध्ये केही सोमबार आइपुगेका छन् भने बाँकी पनि बुधबारभित्र आइपुग्ने जानकारी छ,’ उनले भने, ‘मुस्ताङ भन्सारको सडक मार्ग आसपास करिब २०० भन्दा बढी कन्टेनर छन्। भन्सार यार्डमा लोड गरिएका मालवस्तुसहित करिब १५० भन्दा बढी कन्टेनर रोकिएका छन्।’
दसैँ, तिहारलगायत चाडपर्व नजिकिँदै गएकाले केरुङबाट डाइभर्ट भएका मालवस्तुको पैठारी बढ्ने उनले बताए। उनका अनुसार चीनबाट तयारी लत्ताकपडा, शृङ्गारका सामग्री, औद्योगिक कच्चा पदार्थ, फलफूल तथा खाद्य पदार्थ बोकेका कन्टेनर कोरला नाकातर्फ डाइभर्ट भएका छन्।
दैनिक ५० भन्दा बढी कन्टेनर
रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाका हुँदै मालवस्तु ढुवानी गर्न दैनिक ५० भन्दा बढी कन्टेनर चीनको लिजी क्षेत्रमा प्रवेश गर्ने गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार रसुवागढी नाका बन्द हुनुअघि ४० दिनमा कोरला नाकाबाट भित्रिएका मालवस्तुको पैठारीबाट ५२ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। भदौ १० गतेपछि मात्रै मुस्ताङ भन्सार कार्यालयले थप २६ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २० गतेसम्म मुस्ताङ भन्सारबाट ७८ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।
रसुवागढी नाका बन्द भएपछि नौ दिनको अवधिमा कोरला नाका हुँदै नेपाल भित्रिएका ८८ वटा मालवाहक कन्टेनर र १३० वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ।
यसअघि चालु आर्थिक वर्षको साउनदेखि भदौ १० गतेअघिसम्म कोरला नाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारीसाधन र १३३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो।
भन्सार प्रमुख चुडालका अनुसार भदौ १० अघिको ४० दिनमा दैनिक औसत चार–पाँच विद्युतीय सवारीसाधन र तीन–चार कन्टेनरको जाँचपास हुने गरेकोमा भदौ १० पछि दैनिक औसत १५ भन्दा बढी विद्युतीय सवारीसाधन र १० भन्दा बढी कन्टेनरको जाँचपास हुन थालेको छ।
‘अघिल्लो ४० दिनमा १६३ वटा विद्युतीय सवारीसाधन जाँचपास भएकामा पछिल्लो १० दिनमा मात्रै १३० वटा जाँचपास भएका छन्,’ चुडालले भने, ‘त्यसैगरी अघिल्लो ४० दिनमा १३३ वटा कन्टेनर जाँचपास भएकामा पछिल्लो १० दिनमा ८८ वटा जाँचपास भएका छन्।’
भदौ १० अघिको ४० दिनमा दैनिक औसत १ करोड ३० लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा भदौ १० पछिको दैनिक औसत राजस्व २ करोड ८८ लाख रुपैयाँभन्दा बढी पुगेको उनले बताए।
नौ अर्ब राजस्वको लक्ष्यभन्दा बढी उठ्ने अनुमान
मुस्ताङ भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। उक्त वर्ष चीनबाट कोरला नाका हुँदै १४ अर्ब ४० करोड रुपैयाँभन्दा बढी मूल्यका मालवस्तु आयात भएका थिए भने २० करोड ५० लाख रुपैयाँभन्दा बढीका मालवस्तु चीनतर्फ निर्यात भएका थिए।
गत वर्ष कोरला नाका हुँदै चीनबाट भित्रिएका तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको थियो।
चालु आर्थिक वर्षमा सामान्य अवस्थामा ९ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि रसुवागढी र तातोपानी नाका बन्द भएपछि कोरला नाकाबाट लक्ष्यभन्दा बढी राजस्व उठ्ने अनुमान गरिएको भन्सार प्रमुख चुडालले बताए।
चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि कोरला नाकामै पार्किङ गरिएका छन्। पछिल्लो समय कोरला नाकादेखि न्हेचुङ भन्सार आसपाससम्म कन्टेनर र विद्युतीय सवारीसाधनको चाप बढेको छ।
विगतमा उपल्लो मुस्ताङका नागरिकमा केन्द्रित रहेको कोरला नाका गत वर्ष भदौदेखि सामान्य रूपमा निकासी–पैठारीका लागि सञ्चालन हुँदै आएको थियो। अहिले रसुवागढी र तातोपानी नाका बन्द भएपछि भने यो नाका नेपाल–चीन व्यापारको मुख्य वैकल्पिक मार्गका रूपमा चलायमान बनेको छ।