काठमाडौं । भोटेकोशीमा हिमज्वारभाटा उर्लिएको आज महिना दिन हुनलाग्यो। भोटेकोशी बाढीका कारण मानवजातिले ठूलो मानव मूल्य चुकाउनुपयो। ऊर्जा एवम् भौतिक पूर्वाधारको क्षेत्रमा तिरेर साध्यै नलाग्ने मूल्य हाम्रो भागमा पर्यो।
सँगै यसले केही जटिल प्रश्न पनि छाडेर गएको छ।
भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्।
२० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्। जसले हाम्रो हिमालय क्षेत्रमा दिनप्रतिदिन देखापरेको विचलन, त्यसबाट सिर्जित बहुआयामिक विध्वंसका केही कारण बाहिर ल्याएको छ।
ती वैज्ञानिकहरूले भोटेकोशी हिमबाढीमा विभिन्न जटिल प्राकृतिक प्रक्रियाको शृंखलाले भूमिका खेलेको दाबी गरेका छन्। तीमध्ये धेरै प्रक्रिया मानवसिर्जित जलवायु परिवर्तनकै कारण रहेको निष्कर्ष निकालेका छन्।
गत भदौ १० गते लाङटाङ लिरुङ हिमालमुनिको करिब २ हजार फिट चौडाइको विशाल चट्टानी भाग र हिमनदीको बरफको ठूलो हिस्सा छुट्टिएर करिब ७ हजार फिट तल रहेको नदीमा बजारिएको यसअघि नै बाहिर आएको तथ्यसँग ती वैज्ञानिकहरू पनि सहमत देखिएका छन्।
त्यसबाट निस्किएको ऊर्जा ५.२ म्याग्निच्युडको भूकम्पबाट निस्कने ऊर्जासँग बराबर रहेको उनीहरूको पनि निष्कर्ष छ।
हिमालबाट खसेको उक्त चट्टान र बरफ यति ठूलो ऊर्जा र शक्तिका साथ तल बजारिएको थियो कि बरफ लगभग तत्कालै पग्लिएको थियो।
यद्यपि केही हिस्सा तल बेत्रावतीधामसम्म आइपुगेको स्थानीयहरूले बताएका छन्।
हिमपहिरोबाट उत्पन्न भएको पानीको भीषण प्रवाहले लेदो र गेग्रान मात्र होइन विशालकाय ढुंगासमेत बगाएर तटीय क्षेत्रमा लगेको थियो।
ल्हेन्देको जलाधार क्षेत्र वरपर पुरिएको बरफमा समेत उक्त प्रवाह ठोक्किएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ। जसले गर्दा पनि भोटेकोशीमा पानीको मात्रा एक्कासि बढ्न पुगेको हुनसक्ने निचोड उनीहरूको अध्ययनको छ।
यसले थप ठूलो बाढीको लहर सिर्जना गरेको थियो, जुन अत्यन्त तीव्र गतिमा २० माइलभन्दा बढी तलसम्म पुगेको थियो।
नेदरल्यान्ड्सको युट्रेच विश्वविद्यालयका हिमाली जलवैज्ञानिक वाल्टर इम्मरजिलका अनुसार यो हिमालयमा यसअघि देखिएको भन्दा बिल्कुलै अभूतपूर्व विपत्ति हो।
आखिर त्यति ठूलो हिमपहिरो कसरी खस्यो?
२० जना वैज्ञानिकहरूले साझा प्रयासबाट यसको उत्तर खोज्ने प्रयास गरेका छन्।
चरम मौसमी घटनामा जलवायु परिवर्तनको भूमिकाबारे अध्ययन गर्ने ‘वर्ल्ड वेदर एट्रिब्युसन’ (डब्लूडब्ल्यूए) सञ्जालमा आबद्ध हिमनदी तथा जलवायु वैज्ञानिकहरूको टोलीले बुधबार आफ्नो विश्लेषण सार्वजनिक गरेका छन्।
वैज्ञानिकहरूका अनुसार यो विपत्ति कुनै एउटा चरम मौसम घटनाका कारण मात्र भएको थिएन। बरु धेरैवटा प्राकृतिक प्रक्रिया एकसाथ सक्रिय भएका थिए । उनीहरूका अनुसार जीवाश्म इन्धनको प्रयोगबाट दशकौँदेखि भइरहेको तापक्रम वृद्धिले ती प्रक्रियालाई थप जटिल र जोखिमपूर्ण बनाएको थियो।
यो अध्ययन वैज्ञानिक रूपमा समीक्षा गरिएका विधिमा आधारित भए पनि स्वयं अध्ययन भने अहिलेसम्म सहकर्मी वैज्ञानिकहरूबाट समीक्षा चाहिँ भइसकेको छैन।
२०७२ को भूकम्पले कमजोर बनाएको थियो हिमाल?
हामी सबैलाई थाहा छ, २०७२ वैशाख १२ र २९ को महाविनाशकारी भूकम्पले ९ हजार बढीको ज्यान लिएको थियो। कैयन्लाई अंगभंग बनाएको थियो। हाम्रो हिमालय क्षेत्रलाई पनि विदीर्ण तुल्याएको थियो।
मध्यपहाड तथा त्यसभन्दामाथि भूकम्पका कारण बनेका दरार, नयाँ पहिरा, चिराहरू अहिले पनि देख्न सकिन्छ। यसले निरन्तर भूक्षय गराएको मात्रै होइन तटीय क्षेत्रको नदीनालामा भेलबाढीको नयाँ जोखिम पनि बढाएको छ।
उक्त भूकम्पका कारण रसुवामा पनि ठूलो मानवीय हताहती भएको थियो। बस्ती, मानवजीवन जोखिममा परेका थिए। कतिपय स्थानमा बस्ती स्थानान्तरणसमेत गरिएको थियो।
अध्ययनमा संलग्न वैज्ञानिकहरूले सन् २०१५ को अप्रिलमा गएको ७.८ म्याग्निच्युडको भूकम्पले पनि लाङटाङ लिरुङको दक्षिणी भागमा चट्टान र बरफको पहिरो खसालेको र त्यसले हिमालको ढलानलाई कमजोर बनाएको हुनसक्ने औंल्याएका छन्।
त्यसपछि उक्त क्षेत्रमा पहिरो जाने दर तीव्रतररूपमा बढेको अध्ययनको निचोड छ ।
अर्थात्, गत भदौको महाविनाशकारी पहिरो अचानक सिर्जना भएको एउटा पृथक् घटना मात्र नभई लामो समयदेखि हिमालमा भइरहेका विचलनको उत्कर्ष पनि हुनसक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
प्रश्न छ तापक्रम वृद्धिले कसरी जोखिम बढायो?
भनिरहनु परेन, कोइला, पेट्रोल, डिजेल जस्ता इन्धन बाल्दा र विभिन्न मानवीय गतिविधिको कारण वायुमण्डलमा कार्बन डाइअक्साइड र अन्य हरितगृह ग्यासहरू निस्कने प्रक्रिया पछिल्ला दशकमा झन् ठूलो मात्रामा बढेका छ। कार्बन उत्सर्जनको यो प्रक्रियामा विश्वमा प्रयोगमा आएका नयाँनयाँ प्रविधिले झन् बढी योगदान पुयाइरहेका छन्।
जसले हाम्रो हिमालको जीवनलाई ठूलो दख्खल पुयाइरहेका छन्।
भोटेकोशी भेलबाढीमा जलवायु परिवर्तनको भूमिकाबारे पनि वैज्ञानिकहरूले अध्ययन गरेका थिए। त्यसमा उनीहरूले विभिन्न प्रक्रिया एकसाथ सक्रिय रहेको निष्कर्ष निकालेका छन्।
वैज्ञानिकहरूले यसमा अर्को निचोड पनि निकालेका छन्।
हिमालयमा वायुमण्डलको तापक्रम शून्य डिग्री सेल्सियस पुग्ने उचाइ अर्थात् ‘जिरो डिग्री लाइन’ प्रत्येक दशकमा ३२० फिटभन्दा बढी माथि सर्दै गएको उनीहरूको अध्ययनले देखाएको छ। तापक्रम बढेसँगै नेपालको उच्च हिमाली क्षेत्रमा रहेको पर्माफ्रस्ट अर्थात् हिमढिक्का; जसलाई हामी बरफ, चट्टान, बालुवा र माटोको मिश्रणले बनेको जमिन पनि भन्छौं, त्यसले चट्टान र माटोलाई एकआपसमा बाँधेर राख्ने काम गर्छ। यो निरन्तर क्षीण हुँदै गएको, पग्लिने उपक्रम बढेको वैज्ञानिकहरूले बताएका छन्।
इम्मरजिल भन्छन्– पर्माफ्रस्ट पग्लिँदा चट्टानको पकड गुम्छ र बढी पानी हिमाली ढलानभित्र सहजै छिर्न सक्छ।
भोटेकोशी भेलबाढीको अर्को कारण पनि वैज्ञानिकहरूले पत्ता लगाएका छन्। जुन हिमनदी पग्लिनु पनि रहेको छ। अध्ययन अनुसार लाङटाङ–लिरुङ हिमनदी पछिल्ला दशकहरूमा उल्लेख्य रूपमा पातलिँदै र साँघुरिँदै गएको छ। विशेषगरी सन् २०१० पछि यसको क्षयीकरण तीव्रतर रूपमा भएको पाइएको छ।
यसले हिमालको भिरालो जमिनलाई थप अस्थिर बनाएको छ। तल्लो क्षेत्रमा रहेका पर्माफ्रस्ट निरन्तर पग्लँदा हिमनदीबाट निस्कने पग्लिएको पानी परिवर्तित चट्टानका चिराभित्र पस्ने अवस्था सिर्जना गरेको वैज्ञानिकहरूले बताएका छन्।
के पहिरोअघि मौसमले पनि जोखिम बढाएको थियो?
वैज्ञानिकहरूले पहिरो आउनुअघिको मौसमको अवस्थासमेत अध्ययन गरेका थिए।
गत वर्षको असोजको पुछार र कात्तिकको सुरुआतमा उक्त क्षेत्रमा असाधारण रूपमा बाक्लो हिमपात भएको थियो। त्यसपछि यस वर्ष असारको पुछार र साउनको सुरूआत तथा भदौमा स्थानीय स्तरमा अहिलेसम्मकै सबैभन्दा बढी तापक्रमसमेत रेकर्ड भयो।
यसले ठूलो मात्रामा हिउँ तथा बरफ पग्लिने अवस्था सिर्जना गरेको र त्यसबाट निस्केको पानीले हिमाली ढलानलाई थप कमजोर बनाएको हुनसक्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ।
ऐतिहासिक तथ्यांक र जलवायुका विभिन्न मोडल प्रयोग गरेर गरिएको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण उक्त क्षेत्रमा जुलाई र अगस्टको तापक्रम अहिले विगतको तुलनामा करिब १.५ डिग्री सेल्सियस (२.७ डिग्री फरेनहाइट) बढी भएको छ।
त्यस्तै, उक्त क्षेत्रमा वार्षिक औसत तापक्रम करिब २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) बढेको छ। यो विश्वव्यापी औसत तापक्रम वृद्धिभन्दा उल्लेख्य रूपमा बढी हो।
तर विश्वव्यापी तापक्रम वृद्धिले उक्त क्षेत्रमा हिमपात र वर्षाको मात्रा बढाएको भन्ने सम्बन्ध भने त्यति स्पष्ट नदेखिएको पनि अध्ययनले देखाएको छ। यसको एउटा प्रमुख कारण जटिल र दुर्गम हिमाली क्षेत्रमा मौसम तथा वर्षाको पर्याप्त मापन र निगरानी गर्न कठिन हुनु रहेको वैज्ञानिकहरूले बताएका छन्।
हामी सबैलाई थाहा छ। हिमाली क्षेत्रमा मौसम केन्द्र छैनन्। केन्द्र भएका ठाउँमा पनि विवरण स्पष्ट र अद्यावधिक छैनन्। रसुवामा पनि केञ्जिनभन्दा माथि मौसम केन्द्र छैनन्।
वैज्ञानिकहरूको साझा निष्कर्ष छ– भोटेकोशी भेलबाढीमा जलवायु परिवर्तनले भूमिका खेलेकोमा कुनै शंका छैन।
बेलायतको इम्पेरियल कलेज लन्डनकी जलवायु वैज्ञानिक प्राध्यापक फ्रिडेरिके ओट्टो भन्छिन् यसमा मानवसिर्जित जलवायु परिवर्तनले यो विपत्तिको पूर्वतयारीमा भूमिका खेलेकोमा बिल्कुलै कुनै शंका छैन।
अध्ययनमा संलग्न वैज्ञानिकहरूले यो हिमपहिरोको आकार, गति र जटिलताका हिसाबले यसअघि उक्त क्षेत्रमा देखिएका घटनाभन्दा आधारभूत रूपमा फरक रहेको निष्कर्ष निकालेका छन्।
घटनापछि नेपालका विज्ञ, अन्तर्राष्ट्रिय अन्वेषकहरू कतै पूर्वसूचना प्रणाली कमजोर तथा कामयावी भएन कि भन्ने विश्लेषण गरिरहेका छन्। चीनतर्फबाट प्रभावकारी सूचना नआएकैले जनधनको क्षति भयो कि भन्ने बुझाइ पनि छ।
वैज्ञानिकहरूले यो प्रश्न पनि उत्तर खोजेका छन्।
उनीहरूले भनेका छन्, कुनै पनि विद्यमान पूर्वसूचना प्रणालीले पर्याप्त समयअगावै चेतावनी दिन सक्ने अवस्था थिएन।
वैज्ञानिक फ्रिडेरिक ओट्टोका अनुसार यो त्यस्तो प्रकारको घटना हो जसको सामना गर्न र त्यसअनुसार अनुकूलन गर्न हाम्रो क्षमताको सीमाभन्दा बाहिर छ।
उनले जीवाश्म इन्धनबाट हुने प्रदूषण तत्काल र तीव्र रूपमा घटाउन नसके भविष्यमा पनि यस्तै स्तरका थप विपत्तिहरू अनिवार्य रूपमा देखिने समेत चेतावनी दिएकी छन्।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको सहयोगमा।