नेभिगेशन
समाज

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुनसहित नेपाली र चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका व्यक्तिको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई आज सार्वजनिक गर्ने तयारी छ।

Ncell
Extreme Energy

प्रहरीले विशेष सूचना पाएपछि सुन राखिएको घर र त्यसमा संलग्न व्यक्तिहरूमाथि निगरानी थालेको थियो। एक साताभन्दा लामो समयसम्म सूक्ष्म निगरानी गरेपछि मात्रै सुन बरामद गरिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।

‘हाम्रो उद्देश्य सुन मात्र समात्नु थिएन, त्यसका मालिक पनि समात्नु थियो,’ ती अधिकृतले भनेका छन्।

प्रहरीले सुन बरामद गरेपछि त्यससँग जोडिएका तीन चिनियाँ नागरिकबारे थप जानकारी पाएको थियो। घरधनीको विवरण पनि प्रहरीले यसअघि नै सङ्कलन गरिसकेको थियो। घटनाको अनुसन्धानका क्रममा केही व्यक्तिलाई पक्राउ गरिए पनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

१० किलो तयारी सुन, ११ किलो प्रशोधन गर्न बाँकी

प्रहरीले बूढानीलकण्ठस्थित घरबाट १० किलो तयारी अवस्थामा रहेको सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुन बरामद गरेको हो। सुनलाई ढिक्का बनाउन प्रयोग गरिने उपकरणसमेत फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रहरी टोली घरभित्र प्रवेश गर्दा त्यहाँ रहेका व्यक्तिले प्रहरीमाथि नै आक्रमण गर्ने प्रयास गरेका थिए। प्रहरीलाई आक्रमण गरेर भाग्न खोजे पनि उनीहरू सफल भएनन्।

प्रहरीले पछिल्ला केही वर्षयताकै सुनसम्बन्धी ठूलो कारबाहीका रूपमा यस घटनालाई लिएको छ। बरामद सुनको स्रोत, त्यसलाई नेपाल ल्याउने तरिका, भण्डारण र सम्भावित तस्करी सञ्जालबारे अनुसन्धान भइरहेको छ।

विमानस्थलबाट बाहिरिएको आशंका

प्रहरी स्रोतका अनुसार बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको हुन सक्ने प्रारम्भिक आशंका छ। सुनलाई प्रशोधन गरी ढिक्का बनाएर भारततर्फ तस्करी गर्ने गरिएको हुन सक्ने अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ।

सुन भण्डारण गरिएको सूचनाबारे गृहमन्त्री सुधन गुरुङसम्म पनि जानकारी पुगेको स्रोतले जनाएको छ। पक्राउ परेकाहरूसँग सोधपुछ भइरहेको र त्यसबाट सुनको कारोबारमा संलग्न अन्य व्यक्ति तथा समूहबारे खुल्न सक्ने प्रहरीको अपेक्षा छ।

प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने तयारी गरेको छ।

फेरि चर्चामा सुन तस्करी

नेपालमा यसअघि पनि विमानस्थल र अन्य नाकाबाट ठूलो परिमाणमा सुन तस्करी भएका घटना सार्वजनिक भएका छन्। २०७४ सालमा सुन तस्करीका भरिया सनम शाक्यको हत्या भएपछि एउटै समूहले चार वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको अनुसन्धानबाट खुलेको थियो। ३३ किलो सुन हराएपछि त्यसको खोजी गर्ने क्रममा शाक्यको हत्या भएको घटना सार्वजनिक भएको थियो। त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। उक्त प्रकरणमा प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

त्यसपछि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र लुकाइएको ६० किलो सुन बरामद भएको थियो। उक्त प्रकरणमा चिनियाँ गिरोहको संलग्नता खुलेको थियो।

चीनबाट हवाई मार्गका साथै रसुवा र तातोपानीजस्ता स्थल नाकाबाट पनि सुन आउने गरेको विगतका अनुसन्धानले देखाएका थिए। पछिल्लो घटनामा बरामद भएको सुन कहाँबाट ल्याइएको हो र त्यसको अन्तिम गन्तव्य कहाँ थियो भन्ने विषय भने अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

तटबन्ध बनेपछि सुरक्षित महसुस गर्दै कुतियाकवरवासी

महाकाली र जोगबुढा नदीको बाढी र कटानको जोखिम झेल्दै आएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका बासिन्दा पक्की तटबन्ध निर्माण भएपछि राहत महसुस गर्न थालेका छन्।