काठमाडौँ । भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकीको बाढीले दिएको पीडा सेलाउन नपाउँदै नेपालमा फेरि त्यस्तै बाढीसहितको विपत्ति आउन सक्ने प्रक्षेपण भएको छ । बंगालको खाडीमा विकसित अर्नब चक्रवात बुधबार बिहानै भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने र जोखिम निम्त्याउन सक्ने अनुमान छ ।
बंगालको खाडीबाट जमिनी सतहमा प्रवेश गरिसकेको यो आँधीको असर भारत हुँदै विहीबारसम्म नेपाल प्रवेश गर्ने मौसम विज्ञान विभागले बताएको छ । भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएपछि विभागले वक्तव्य जारी गर्दै भोलिसम्म अर्नव नेपाल आइपुग्ने बताएको हो ।
नेपालमा अर्नव चक्रवातको असर कस्तो पर्छ रु यसले निम्त्याउन सक्ने जोखिम के के हुन् रु जोखिम न्यूनीकरणका लागि सरकारले कसरी पूर्वतयारी गरिरहेको छ रु अनि हामी नागरिकले कसरी सतर्कता अपनाउने रु यी सबै विषयमा चर्चा गर्नेछु । सुरुमा भारतमा कस्तो असर देखिएको छ, त्यसको सानो जानकारी लिऔं ।
भारतको आन्ध्र प्रदेशमा बुधबार बिहानैदेखि हावाहुरीसहित भारी वर्षा भइरहेको छ । चक्रवातको प्रभाव ओडिशासम्म फैलिइसकेको छ । प्रभाव विस्तार हुँदै जाँदा आन्ध्र प्रदेश र ओडिशाका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय मिडियाहरुले हावाहुरी र भारी वर्षाले भौतिक सँगै मानवीय क्षतिसमेत भइसकेको खबर सार्वजनिक गरिरहेका छन् ।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीच, पुदुचेरीको यानमको दक्षिणतर्फको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको हो। चक्रवात प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो । चक्रवातका कारण काकिनाडा र विशाखापट्टनममा रूख ढलेका छन्, विद्युत्का तार चुँडिएका छन् र सडक अवरुद्ध भएका छन्। अनाकापल्ली र विशाखापट्टनम जिल्लाका केही स्थानमा मंगलबार बिहान साढे ८ बजेदेखि बुधबार बिहान ३ बजेसम्म २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। चक्रवातले समुद्रमा पानीको सतह बढाउने र तटीय क्षेत्रका होचा भूभाग डुबानमा पार्ने जोखिमसमेत रहेको भारतको मौसम विभागले जनाएको छ।
चक्रवातकै कारण भारतीय दक्षिण पूर्वी राज्यहरुमा यातायात र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन्। झारखण्डका राँची, पश्चिमी सिंहभूम, पूर्वी सिंहभूम र सिमडेगा जिल्लामा विद्यालय बन्द गरिएको छ । कतिपय हवाई उडानसमेत बन्द गरिएको छ भने रेलवे सेवा पनि स्थगित गरिएको छ ।
भारतमा विपत्ति ल्याइसकेको अर्नव चक्रवातको असर बिहीबार बिहानदेखि नेपालमा पनि पर्र्ने पूर्वानुमान छ । नेपाली आकाशको माथिल्लो वायुमण्डलमा बादलहरू प्रवेश गर्ने क्रम सुरू भइसकेको र त्यसले भोलि बिहानदेखि नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा गराउने विभागको पूर्वानुमान छ । बुधबार रातिदेखि नै वर्षाको सम्भावना रहेको विभाग बताउँछ । बुधबार रातिदेखि नै केही स्थानमा वर्षा हुनसक्ने भए पनि मुख्य असर बिहीबार साँझदेखि देखिने छ । बुधबार हिमाली भूभाग, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्छ । त्यस्तै बुधबार राति कोशी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बिहीबार रातिदेखि शुक्रबार दिउँसोसम्म भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुनसक्छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो प्रक्षेपण अनुसार नै भारी वर्षा भयो भने हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्छ, पहाडी क्षेत्रमा पहिरोको जोखिम हुनसक्छ भने तराई, मधेशमा डुबानको जोखिम हुनसक्छ । विशेषगरी हिमाली क्षेत्रमा हुने पदयात्रा र पहाड तथा तराईमा पाकेको धानबालीमा यसले विशेष असर पुर्याउन सक्छ ।
मौसमविदहरुले चक्रवातको असर भारतीय क्षेत्रमा जति बलियो देखिएको छ, नेपालसम्म आइपुग्दा भने केही कमजोर हुने विश्लेषण गरेका छन् । नेपाल आउँदा आँधीको तीव्रता घटे पनि यसले नेपालको हिमाली क्षेत्रमा धेरै हिउँ पार्न सक्छ र पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा गराउन सक्छ । विभागले जारी गरेको पछिल्लो सूचनामा गण्डकी प्रदेशदेखि पूर्व कोशी प्रदेशसम्मका हिमाली जिल्लामा रेड अलर्ट जारी गरिएको छ । सावधानी भने सबै हिमाली जिल्लामा अपनाउनुपर्ने छ । विभागका अनुसार, वर्षा र हिमपात निम्त्याउने प्रणाली भारतको बिहार र उत्तर प्रदेशको बीच भागतिरबाट भैरहवाआसपास हुँदै नेपाल प्रवेश गर्ने छ । विभागले उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमआँधीको समेत जोखिम रहने भन्दै हिमाली क्षेत्रमा पदयात्रामा जोखिम हुन सक्ने बताएको छ । विहीबारदेखि शनिबारसम्म हिमाली क्षेत्रमा पदयात्रा नगर्न र त्यस क्षेत्रमा पुगिसकेका पदयात्रीहरुलाई सुरक्षित स्थानमा फर्कन पनि विभागले सुझाव दिएको छ ।
यसपालिको वर्षाले मुख्यगरी भित्र्याउने अवस्थामा रहेको धानबालीमा नोक्सान गर्न सक्छ । धान काटिसकेको भए उठाउन र नकाटेको भए केही दिन धान नकाट्न पनि विभागले आग्रह गरेको छ । यसअघि असोजमा पनि बङ्गालको खाडीमा यस्तै चक्रवात बन्ने आकलन गरिए पनि त्यसले चक्रवातको रूप लिन सकेन। तर पनि असोज ९ देखि ११ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा भयो । त्यही क्रममा कालीगण्डकी नदी प्रणालीमा ठूलो बाढी आयो र जनधनको क्षति पुर्यायो ।
बिहीबारदेखि आँधीको असर नेपालमा देखिन थाल्छ । जोखिमको पूर्वानुमान पनि छ । कात्तिक १२ गतेदेखि १४ गतेसम्म देशका सबैजसो प्रदेश प्रभावित हुने पूर्वानुमान छ। चक्रवातका कारण चट्याङ र हावाहुरीसहित भारी वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम छ । अब प्रश्न उठ्छ– यसरी जोखिमको प्रक्षेपण भइरहँदा सरकारले जोखिम न्यूनीकरणका लागि के कस्ता पूर्वतयारी गरेको छ त रु
यही जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले ९ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्रालयले उच्च सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशनसहित सर्कुलर जारी गरेको हो ।
यस्तो छ गृह मन्त्रालयको सर्कुलर
१. कार्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउने।
२. धानबाली काटिसकेको भए कार्तिक १२ गते ९बिहीबार० अघि नै भित्र्याइसक्ने।
३. पर्यटकहरू उच्च पहाडी र हिमाली क्षेत्रमा नजाने, गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहने।
४. आवश्यक परेमा स्थानीय प्रशासनले सवारी आवागमन बन्द गर्ने, गराउने। सवारी आवागमन बन्द गर्नुपूर्व सो को अग्रिम जानकारी सर्वसाधारणसम्म पुर्याउने व्यवस्था मिलाउने।
५. सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउने। सो अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्ने, नगराउने।
६. सम्बन्धित सबै निकायले जोखिमबारे आम सर्वसाधारणलाई विभिन्न माध्यमबाट सुसूचित गर्ने। प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
७. जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकलगायतले पूर्वसूचनाअनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति, घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, गराउने।
८. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल मौसम विज्ञान विभाग लगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक पूर्वसूचना तथा पूर्वचेतावनी पालना गर्ने, गराउने।
९. मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा मद्दत माग्न १२३४ वा १०० वा १११४ मा सम्पर्क गर्ने।
सरकारले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गरिरहेको छ । आफ्ना सबै संयन्त्रलाई तयारी अवस्थामा राखेको छ । पूर्वतयारी हामी नागरिकले पनि गर्नुपर्छ । कम्तीमा आगामी तीन दिन अत्यावश्यक बाहेक अवस्थामा यात्रा नगरौं, किसानहरुले काटी सकेको धान छ भने उठाऔं, नकाटेको भए नकाटौं–डुबाउन सक्छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पदयात्रा नगरौं, हिमाल आरोहण नगरौं । पर्यटकको उच्च चाप हुने क्षेत्रमा सबै संयमता र सतर्कता अपनाऔं, नदी किनार र तटीय क्षेत्रमा रहेकाहरुले उच्च सावधानी अपनाऔं, नदी तटीय र पहिरोको जोखिमयुक्त स्थानमा रहेकालाई सुरक्षित स्थानमा सारौं । आँधीको असर रोक्न सकिँदैन, तर सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।