नेभिगेशन
समाज

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन गौरीघाट तयार, छठको रौनकले बागमती किनार झकिझकाउ

काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा चहलपहल बढेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर श्रद्धा र आस्थाको पर्व मनाउन व्रतालु तथा श्रद्धालुहरूको प्रतीक्षामा गौरीघाट सजिन थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती किनारमा घाट व्यवस्थापन, सरसफाइ, बत्ती र झिलिमिली सजावटका काम तीव्र पारिएका छन्। छठको पवित्र अनुष्ठानमा सहभागी हुने व्रतालुलाई सहज होस् भनेर पूजास्थलदेखि राति बस्ने व्यवस्थासम्म मिलाइएको छ।

Marvel
Extreme Energy

श्री छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक तयारी गरिरहेको छ। व्रतालुहरूका लागि घाटमा कार्पेट बिछ्याइएको छ भने राति जाग्राम बस्न तथा आराम गर्न ब्ल्याङ्केटको व्यवस्था गरिएको छ। घाटहरूलाई बत्ती र रंगीन सजावटले झकिझकाउ बनाइँदै छ।

समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताका अनुसार व्रतालुले आफ्नो पूजास्थल सहजै पहिचान गर्न सकून् भनेर घाटमा नम्बरिङ गरिएको छ। करिब ५०० वटा घाट व्यवस्थापन गरी गोलम्बर र घाटलाई ए, बी र आरलगायतका संकेतमार्फत छुट्याइएको उनले बताए।

यस वर्ष नयाँ व्रतालुको संख्या पनि थपिएको छ। करिब १०० जना नयाँ व्रतालुका लागि समेत घाट उपलब्ध गराउने व्यवस्था गरिएको गुप्ताले जानकारी दिए।

छठ आस्था र श्रद्धाको पर्व मात्रै होइन, सामाजिक सद्भाव र सहकार्यको पनि उत्सव हो। यही भावनालाई आत्मसात् गर्दै समितिले आर्थिक अवस्था कमजोर भएका तथा असहाय व्रतालुका लागि २० देखि २२ वटा घाट निःशुल्क उपलब्ध गराएको छ।

आवश्यकता भएका व्रतालुलाई पूजा सामग्री, कपडा, फलफूल र ठकुवा प्रसादसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

‘कुनै पनि व्रतालुलाई आवश्यक सामग्रीको अभाव हुन नदिन हामीले सबै व्यवस्था मिलाएका छौँ। छठी माताको आशीर्वादले तयारी राम्रोसँग अघि बढिरहेको छ,’ गुप्ताले भने।

गौरीघाटमा बाँदरको चहलपहलका कारण पूजाका लागि आवश्यक कपडाहरू भने तत्काल राखिएको छैन। ती सामग्री भोलिदेखि व्यवस्थित रूपमा राखिने समितिले जनाएको छ।

छठ प्रकृति र मानवबीचको आत्मीय सम्बन्ध दर्शाउने पर्व हो। सूर्यलाई जीवन र ऊर्जाको स्रोत मानेर गरिने यस पर्वमा व्रतालुहरू कठोर उपवास बस्छन्। नदी, तलाउ वा जलाशयको किनारमा उभिएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य र भोलिपल्ट उदाउँदो सूर्यलाई अन्तिम अर्घ्य दिएपछि छठको अनुष्ठान पूरा हुन्छ।

लोकआस्था, पारिवारिक सुख, सन्तानको कल्याण र समृद्धिको कामनासँग जोडिएको छठले जात, भाषा र समुदायको सीमाभन्दा माथि उठेर सबैलाई एउटै सांस्कृतिक धागोमा बाँध्ने गर्छ। गौरीघाटमा भइरहेको तयारीले पनि त्यही सामूहिक आस्था र सांस्कृतिक एकताको झल्को दिइरहेको छ।

बागमतीको किनारमा सजिँदै गरेका घाट, झिलिमिली बत्ती र पूजाको प्रतीक्षामा रहेका व्रतालुका स्थानले छठको उल्लासलाई क्रमशः जीवन्त बनाउँदै लगेका छन्। अब गौरीघाटमा सूर्यको आराधनासँगै श्रद्धा, समर्पण र सांस्कृतिक सद्भावको अनुपम दृश्य देखिनेछ।

Gaurighat-Chhath-Tayari--3458-1794558942.jpg

Gaurighat-Chhath-Tayari--3460-1794558941.jpg

Gaurighat-Chhath-Tayari--3464-1794558939.jpg

Gaurighat-Chhath-Tayari--3457-1794558937.jpg

Gaurighat-Chhath-Tayari--3461-1794558937.jpg

Gaurighat-Chhath-Tayari--3454-1794558935.jpg

Gaurighat-Chhath-Tayari--3462-1794558933.jpg

Gaurighat-Chhath-Tayari--3456-1794558931.jpg

Gaurighat-Chhath-Tayari--3463-1794558931.jpg

Gaurighat-Chhath-Tayari--3459-1794558928.jpg

Gaurighat-Chhath-Tayari--3455-1794558928.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधारका लागि सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ।
पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

पाँच वर्षभित्र पाँच लाख मेट्रिक टन ग्रीन युरिया उत्पादन गर्ने नेपालको लक्ष्य, लगानी आह्वान

नेपालले आफ्नै जलविद्युत् र स्वच्छ ऊर्जाको उपयोग गरी ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापना गर्ने योजना अघि सारेको छ।
भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको कारण अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।