नेभिगेशन
सबै कुरा

सहकारीमा २ अर्ब उठाएर ढोरपाटनका मेयर ४ महिनादेखि गायब

२२ भदौ, काठमाडौं । इमेज सहकारीका नाममा बागलुङ र पोखराका करिब ४ हजार बचतकर्ताको करिब २ अर्ब रकम उठाएर सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित ८ जना सञ्चालक ४ महिनादेखि फरार छन् । अध्यक्ष नेपाली ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । नगरपालीकामा निमित्तको जिम्मा उपमेयर धनबहादुर कायतको टेवलमा छोडेर हिँडेका मेयर जेठको ७ गतेबाट बेपत्ता छन् ।                                                   

बचतकर्ताको पैसामा मोज-मस्ती, भुक्तानी खोज्दा फरार

Dish Home
Global Ime Bank

पछिल्लो एक दशक बागलुङमा इमेज सहकारीले स्थानीयको विश्वास जितेको थियो । चोकमा मकै पोल्ने, पानी पुरी बेच्ने, सुन व्यवसायीदेखि निमार्ण व्यवसायीहरुले समेत पैसा जम्मा गर्न इमेज सहकारी बाहेक अरु वित्तिय संस्था कमै रोजे । कारण थियो, यसका सञ्चालक देव कुमार नेपालीप्रतिको विश्वास । 

बागलुङको पश्चिम क्षेत्र अर्नाकोटमा गरिब परिवारमा जन्मिएका थिए नेपाली । नेपालीले दिएको एक अन्तर्वार्तामा उनका बाबु लालबहादुर नेपालीले कपडा सिलाएबापत ‘बाली’का रुपमा आउने अन्नबालीले परिवारको छाक चल्थ्यो । 

उनलाई बाल्यकालदेखि नै चिन्ने बुर्तिबाङका स्थानीयहरुका अनुसार २०५० को दशकमा उनी पश्चिमाञ्चलमा भलिबलका राम्रा खेलाडी थिए । 

त्यहीबेला उनी निमार्ण व्यवसायीहरुसँग नजिकिए । द्वन्द्वरत माओवादी नेताहरुसँग पनि उनी नजिकिएका थिए । केही समयमा नै बुर्तिबाङ बजारमा पहिलो पक्की घर उनले नै बनाए । तर नेपाल बैंकले घर लिलाममा राखेपछि बुर्तिबाङ छाडेर कास्की पोखरा झरेका उनले साइकल पसल सुरु गरे । साइकल पसल देखिएपनि तिब्बतियनहरुसँग नजिकिएका नेपालीले उनीहरुकै सहयोगमा घरजग्गाको कारोबार थाले । सोही समयमा पोखराको सुर्यदर्शन सहकारीका लगानीकर्ता समेत भए । सुर्यदर्शन सहकारी पनि अहिले टाट पल्टीएको छ । 

तर सञ्चालकहरुमा कुरा नमिलेपछि सुर्यदर्शन सहकारीकै व्यवस्थापनको एउटा टिम लिएर पोखरामा इमेज बचत तथा ऋण सहकारी खोले । स्रोतका अनुसार सहकारीको मुख्य उदेश्य नै घरजग्गा कारोबार थियो । 

उनले नेकपा माओवादीका नेता देव गुरुङसँग मित लगाएका छन् । यही साइनोबाट माओवादीका अन्य नेताहरुसँग नजिक हुँदै कारोबार गर्न प्रयोग गरे । 

पोखरामा कारोबार सुरु गरेको केही वर्षमै २०६९ मा बागलुङ बजारको लोकतान्त्रिक चोकमा इमेज बचत तथा ऋण सहकारीको शाखा विस्तार गरे । त्यसको केही वर्षपछि बुर्तिबाङ र गलकोटमा समेत शाखा विस्तार गरे । 

अन्य सहकारीले भन्दा आकर्षक ब्याज दिने प्रलोभन देखाएपछि अन्य सहकारी तथा बैंकमा भएको रकम समेत झिकेर इमेजमा बचत गर्न थाले ।

बैंकको भन्दा शानदार कार्यालय देखेका बचतकर्ताहरुले देव कुमार नेपालीलाई आँखा चिम्लिएर विश्वास गरेका थिए । 

पोखरा र  बागलुङमा पुग्ने  प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग देवकुमार नेपालीको राम्रो उठ्बस हुन्थ्यो । 

जिल्ला प्रसाशन कार्यालय बागलुङका एक कर्मचारीका अनुसार सिडिओ सापहरुलाई चाडपर्वमा देवकुमारले सुनका औँठी समेत उपहार दिन्थे । 

बागलुङमा हुने अधिकांस कार्यक्रममा सबै भन्दा धेरै चन्दा सहयोग गरेर देवकुमार नेपाली प्रमुख अतिथि हुन्थे । गाँउ गाँउमा हुने सामान्य र्काक्रममा पनि उनी हेलिकप्टर लगेर पुग्थे । हेलिकप्टरमा उनीसँग जिल्लाकै प्रमुखहरु हुन्थे, साथै काठमाडौंबाट सहकारी क्षेत्रका अभियन्ताहरु नै पुगेका हुन्थे । 

हेलिकप्टरमा गाँउ–गाँउ पुगेका देवकुमारलाई गाँउलेहरुले बाजागाजासहित फुलमाला र अविरजात्रा गर्थे ।

 

यही सेन्टीमेन्ट क्याच गरेर देवकुमार २०७४ सालको स्थानीयतह निर्वाचनको मुखमा नेकपा माओवादी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेर मेयरको टिकट फुत्काए । 

पश्चिम क्षेत्रमा वर्षौदेखि पार्टीमा खटिएका नेकपा एमालेका नेताहरुलाई पछि पार्दै उनले केपी शर्मा ओलीलाई नै प्रभावित पारेर मेयरको टिकट फुत्काएका थिए । र उनले जिते पनि । 

सहकारी सञ्चालक नै मेयर भएपछि बचतकर्ताहरु आफ्नो बचत सुरक्षित रहेकोमा ढुक्क थिए । यही विश्वासमा देवकुमार दोस्रो पटक पनि मेयरमा निर्वाचित भए । 

मेयर भएपछि कहिले आफ्नै खर्चमा खरका धुरी भएका घर टिनले विस्थापित गरिदिन्छु भने त कहिले सबै विद्यालयहरुलाई व्यक्तिगत खर्चमा गुणस्तरीय बनाउँछु भने । 

ती घरहरु बनेनन् बरु उनले बुर्तिबाङ बजारमै हेलिप्याड सहितको दरबार होटल बनाए । उनी बुर्तिबाङबाट बागलुङ पोखरा गर्दा समेत हेलिकप्टर प्रयोग गर्थे । 


यी सबैको आयस्रोत पोखरा र बागलुङका स्थानीयको विश्वास जितेर उठाएको पैसा थियो । 

अहिले तिनै मेयर देवकुमार नेपाली सर्वसाधारणले इमेज बचत तथा ऋण सहकारीमा जम्मा गरेको करिब २ अर्ब हिनामिना गरी ४ महिनादेखि फरार छन् । 

नक्कली ऋणीदेखि नक्कली खरिदसम्म, बचतकर्ताको पैसा व्यक्तिगत खातामा


जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङको इमेज बचत तथा ऋण सहकारीबाट १ हजार ४ सय ८१ जनाको को १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ हिनामिना गरेका छन् । पोखरामा भने ५ सय २५ बचतकर्ताबाट ५७ करोड ९४ लाख हिनामिना गरेका छन् ।

बागलुङको सहकारीका अध्यक्ष नेपाली आफैँ छन् भने पोखरामा आफ्ना सहयोगी चित्रबहादुर भण्डारीलाई अध्यक्ष बनाएका छन्, जबकी भण्डारी बागलुको सहकारीका सञ्चालक पनि हुन् । 

प्रहरी कार्यालय बागलुङले सहकारीको रकम अपचलन गरेको भन्दै देवकुमार नेपालीसहित ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । उनीहरूमध्ये सञ्चालक चित्रबहादुर भण्डारी, बागलुङ कार्यालयकी लेखा प्रमुख लालमती रोका र प्रबन्धक शक्ति किसान  पुर्पक्षकालागि थुनामा पुगेका छन् । मेयर नेपालीसहित ८ जना भने फरार छन् । 

जिल्ला सरकारी वकिलका कार्यालय बागलुङले अदालतमा पेश गरेको अभियोग पत्रमा दुबै सहकारीमा आफ्नै परिवार र सहयोगीहरुलाई राखेर सहकारीको बचत व्यक्तिगत प्रयोजनमा लगाएको उल्लेख गरिएको छ । बचतकर्ताको पैसा लगानी गर्न सेयर सदस्य, निक्षेप, कर्जा, खाता र धितोसमेत सबै फर्जी बनाएको देखिएको छ । 

अनुसन्धानका क्रममा नेपालीले हुँदै नभएको सम्पत्ति सहकारीलाई बेचेको भनी सहकारीबाट ३० करोड रुपैयाँ भुक्तानी लिएका छन् । साथै उनले बचतकर्ताहरुको नागरिकता दुरुपयोग गर्दै नक्कली ऋणका फाइल बनाएर ४८ करोड ऋण आँफैले निकालेका छन् । 

नेपालीले १० लाखसम्मको हरहिसाब मात्रै सहकारीको प्रणालीमा राख्ने गरेपनि त्यस भन्दा ठुलो कारोबार भनै सिधै आफ्नो व्यक्तिगत खाताबाट गर्ने गरेका थिए । 

त्यसका लागि उनले इमेज सेभिङ र इमेज जनरल नामका नक्कली खाता बनाएर बचतकर्ताको पैसा आफ्नो खाता पुर्याउँथे । 

जसका कारण सरकारलाई तिर्नुपर्ने ब्याजकर समेत लुकाउन सफल भएका थिए । 

संस्थाका अध्यक्ष र सञ्चालकको मिलेमतोमा सरकारलाई तिर्नुपर्ने ब्याजकर बापतको रकम पनि लुकाएका छन् । 

सहकारीमा तरलता अभाव भएको भन्दै सूचना टाँस गरेका देवकुमारले फरार हुनु अघिल्लो रात २ः१५मा कार्यालयमा प्रवेश गरी १० लाख  रुपैयाँ भन्दामाथिको निक्षेप विवरणको फाइल लगेको सीसीटीभी फुटेजबाट खुलेको थियो । 

भिडियोमा अध्यक्ष देवकुमारसहित ओमकुमार नेपाली र उपाध्यक्ष डोरबहादुर परियारले कार्यालय खोल्न लगाएर तीन वटा फाइल लगेका थिए । 

साथै इमेज सहकारीले राष्ट्रिय सहकारी बैंकलाई १ करोड ११ लाख ६९ हजार २६५ रुपैयाँ तिर्नुपर्ने थियो । उक्त ऋण तिर्न भन्दै इमेजबाट रकम निकालेर आफूले चलाएका छन् । सहकारीको रेकर्डमा भने ऋण तिरेको नक्कली कागज राखेका छन् । 

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सहकारीको वित्तिय विवरण अनुसार नगद खाता र बैंक मौज्दातमा हुनुपर्ने करिब १० करोड रुपैयाँको हिसाब किताब नै छैन । 

नगद मौज्दात रहेको भनिएको ४ करोड ८१ लाख ५४ हजार ६९४ रुपैयाँ सहकारीको वासलातको सम्पत्ति अन्तर्गतको बैंक मौज्दातको रकममा देखिएको ४ करोड ९९ लाख ८० हजार ९१४ रुपैयाँ कुनै पनि खातामा जम्मा भएको देखिएको छैन । 

सहकारीले २४ असोज २०७० देखि २९ चैत २०७९ सम्म कृत्रिम कर्जा मात्रै १ अर्ब ३० करोड ८३ लाख ९८ हजार ६६८ रुपैयाँ प्रवाह गरेको थियो । त्यसमध्ये ४८ करोड ५१ लाख ८९ हजार ८७८ रुपैयाँ अध्यक्ष देवकुमारले हिनामिना र अपचलन गरेको प्रहरीको निष्कर्ष छ ।

देवकुमारको ठगी यतिमा मात्रै सिमित छैन । उनले इमेज सहकारीलाई स्थिर सम्पत्ति बेचेको भन्दै आफ्नै नाममा अर्को खाता खोली ३० करोड लिएका छन् । 

सहकारीकै पैसाले देवकुमार र आफन्तको नाममा घरजग्गा

सहकारीमार्फत सर्बसाधारणको करोडौँ उठाएका देवकुमारले आफ्ना नाममा मात्रै ३३ कित्ता जग्गा जोडेका छन् । सहकारीका सञ्चालक चित्रबहादुर भण्डारीको नाममा बागलुङको बुर्तिबाङमा १३ कित्ता जग्गा छ । त्यस्तै डोरबहादुर परियारको नाममा बुर्तिबाङमै ५ कित्ता छ । यस्तै लक्ष्मी सेन सुनारको नाममा रूपन्देही र बागलुङको बोहोरागाउँमा गरी दुई स्थानमा जग्गा रहेको देखिन्छ । सहकारीका सचिव सुनिल नेपालीको नाममा बुर्तिबाङको पाँच स्थानमा जग्गा छ । बागलुङ कार्यालयकी लेखा प्रमुख लालमती रोकाको नाममा कास्कीको शिशुवामा दुई कित्ता जग्गा छ ।


देवकुमारको कर्मभूमि कम्युनिकेसन एण्ड पब्लिकेसन बुर्तिबाङमा ४० हजार कित्ता, ढोरपाटन वाटर इनर्जीमा १८ हजार र दरबार होटल ढोरपाटनमा २ लाख ५० हजार कित्ता सेयर लगानी भेटिएको छ ।

‘रेड नोटीस’को सिफारिस भएको हो, जारी भने भएको छैन 

२ पटकसम्म जनताबाट निर्वाचित मेयर देवकुमार अहिले प्रहरीको फरार सूचीमा छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी योगेन्द्र खड्काका अनुसार ४ महिनासम्म देवकुमारको कुनै पत्तो नभएपछि थप खोजीका लागि प्रहरी प्रधान कार्यालयमा लेखिएको बताएको छ । उनका अनुसार इन्टरपोलमा रेड नोटिस जारी गर्न सिफारिस गरिएको छ । अध्यागमनको रेर्कड अनुसार नेपालको विमानस्थल प्रयोग गरी उनी विदेश गएको देखिएको छैन । 

यता नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता कुवेर कडायतले भने ‘रेड नोटीस’ जारी नभएको बताएका छन् । ‘जिल्लाबाट आउने सिफारिसहरुको आवश्यकता हेरी प्रक्रिया अघि बढ्छ तर अहिलेसम्म रेड कर्नर नोटीस जारी भएको छैन’, कडायतले भने । 

देवकुमार ४ महिनादेखि वेपत्ता हुँदा सरकारी तवरबाट उनको खोजीका लागि पहल भएको छैन । 

स्रोतका अनुसार देवकुमारका छोराबुहारी हङकङमा बस्दै आएका छन् । उनका छोरा सन्तोष नेपाली समेत केही समयअघि चेक अनादारमा मुद्दा परेपछि  हङकङ पुगेका थिए । मेयर देवकुमार पनि नेपालमा हिसाब बिग्रीएपछि स्थलमार्ग हुँदै भारत पुगेको भारतबाट हङकङ पुगेको हुनसक्ने स्रोतको दाबी छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय...
यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

यी हुन् १७ अर्ब ८६ करोड ७० लाख अवैध कारोबार गर्ने २१ जना 

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । 
वित्तिय पीडितहरुद्वारा काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन

वित्तिय पीडितहरुद्वारा काठमाडौँमा अर्धनग्न भएर प्रदर्शन

आफुहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतिघरमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।
यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।