नेभिगेशन
सबै कुरा
श्रृङ्खला–१ :

EXCLUSIVE : एमाले सांसद एवम् व्यवसायी देवीप्रकाश भट्टचनमाथि सहकारीको ९७ करोड अपचलनको आरोप

काठमाडौँ । काठमाडौँको टोखामा रहेको जनहित बचत तथा ऋण सहकारी संस्थालाई गैरीधाराको प्रभु म्यानेजमेन्ट कम्पनीले रेमिट्यान्स सेवा लिन आग्रह गर्यो । 


Dish Home
Global Ime Bank

कम्पनीको शर्तअनुसार प्रभु मनी ट्रान्सफरमार्फतको रेमिट्यान्स उपभोक्तालाई दिन प्रभु म्यानेजमेन्टको सदस्य बन्नुपर्ने कुरा कम्पनीले सहकारीलाई बतायो । कम्पनीले सुरुमा ३ लाख रुपैयाँ सदस्य शुल्क लाग्ने र त्यसपछि रेमिट्यान्स सेवा दिइने जानकारी गरायो ।

खासमा रेमिट्यान्सको सदस्य एजेन्ट बनेर रेमिट्यान्स प्रवाह गर्न बीचमा अर्को कम्पनी चाहिँदैन । तर, प्रभु मनी ट्रान्सफरले गैरकानुनी ‘सुप्पर एजेन्ट’ कम्पनी प्रभु म्यानेजमेन्ट खडा गरेर सो काम देशभरी विस्तार गरिरहेको थियो ।

सहकारीले व्यवस्थापनमा सल्लाहपछि सदस्यका परिवारलाई सजिलो पनि हुने, दुई चार पैसा कमाई पनि हुने भन्दै रेमिट्यान्स सेवा लिने निर्णय गर्यो । त्यसका लागि सहकारीले प्रभु म्यानेजमेन्टसँग समझदारी गर्यो र सदस्य बापतको ३ लाख रुपैयाँ डिपोजिट गर्यो । वि.सं. २०८० मंसिर १४ गते म्यानेजमेन्टले सहकारीबाट डिपोजिट बापतको ३ लाख रुपैयाँ लियो । रेमिट्यान्स सेवा सुरु भयो । 


‘प्रभु म्यानेजमेन्ट कम्पनीसँग रेमिट्यान्स सम्झौता गरिएको र धरौटीबापत ३ लाख रुपैयाँ राखिएको हो,’ सहकारीका व्यवस्थापक सुरेन्द्र मर्हजनले सिधाकुरासँग भने । 

तर, प्रभु रेमिट्यान्सले पछिल्लो ४ महिनायता प्रणाली परिवर्तन गर्न भन्दै रेमिट्यान्स सेवा रोकेको उनले बताए । उनकाअनुसार प्रभु म्यानेजमेन्ट र प्रभु मनी ट्रान्सफरले रेमिट्यान्सबापत भुक्तानी गरेको रकम समेत नदिएपछि अन्य सहकारीहरू पनि समस्यामा पर्न थालेका छन् । 

‘कतिपय सहकारीहरुको रेमिट्यान्स भुक्तानीको रकम समेत फर्छ्यौट नगरेको भन्ने छ,’ व्यवस्थापक मर्हजनले सिधाकुरासँग भने, ‘हाम्रोमा ३ महिनादेखि रेमिट्यान्स रोकिएको छ । धरौटी फिर्ता भएको छैन । हामी बैठक बसेर  सो रकम फिर्ता ल्याउन कानुनी उपचारबारे छलफल गरिरहेका छौँ ।’

० ० ०

पोखरा महानगरपालिका ८ नयाँबजारमा रहेको कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाले पनि केही समयअघिसम्म प्रभु रेमिट्यान्सको काम गर्थ्यो । अहिले सो सेवा अवरुद्ध भएको छ । सहकारी संस्थाका व्यवस्थापक अर्जुनकुमार पौडेलका अनुसार प्रभु मनी ट्रान्सफरको एजेन्ट कम्पनी प्रभु म्यानेजमेन्टले सम्झौताअनुसार रेमिट्यान्स भुक्तानी गरेको रकम र सदस्यता शुल्क दुवै फिर्ता गरेको छैन् ।

‘अहिले सो कम्पनीको बिप्रेषण सेवा ठप्प छ । हामीले भुक्तानी गरेको बिप्रेषण बापतको ५ लाख पनि दिएको छैन् । सम्झौता बापतको धरौटी रकम पनि फिर्ता गरेको छैन्, अहिले त सम्पर्कमा पनि आउँदैनन्,’ व्यवस्थापक पौडेलले भने, ‘हामीले राष्ट्र बैंकलाई पनि लेखी पठाएका छौँ । ’ 

कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्थाकाअनुसार सहकारीहरुको ठूलो रकम मनी ट्रान्सफरमा सदस्यता शुल्कका नाममा उठाएर प्रभु समूहले निर्ब्याजी रकम चलाएर अपराध गरेको छ । सूर्य थापा नेतृत्वको संसदीय समितिलाई पनि यसबारे भनिएपनि सुनुवाइ नभएको सहकारीले जनाएको छ ।    

० ० ०

जनहित र कल्पवृक्ष त केही प्रतिनिधि सहकारी मात्रै हुन् । यस्ता सयौँ सहकारीको रकम अपचलनमा एमालेका सांसद एवम् व्यवसायी देवि प्रकाश भट्टचन मुछिएका छन् । 

नेपालको ठूलो मध्येको एक व्यवसायिक घरना ‘प्रभु ग्रुप’ र यसले सञ्चालन गरेको कयौँ व्यवसायमा सो रकम प्रयोग भएको भट्टचनका साझेदारहरुले आरोप लगाएका छन् । 

बैंक तथा फाइन्यान्स, इन्स्योरेन्स, मनोरञ्जन, अटोमोबाइल, यातायात, रेमिट्यान्स र पर्यटन गरी ७ विधाका फरक फरक क्षेत्रका दर्जनौँ कम्पनीमा गैरकानुनी लगानी गर्न प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन र उनको परिवारले प्रभु म्यानेजमेन्टमार्फत देशभरका ७ हजार बढी सहकारीको रकम दुरुपयोग गरेको पाइएको हो ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका बैंकर एवम् व्यवसायी भट्टचनले दुरुपयोग गरेको रकम फिर्ता नपाएपछि समस्यामा पर्न थालेको पीडित सहकारीहरुले बताएका छन् ।   

भट्टचन र उनको कम्पनी प्रभु ग्रुपमाथि मात्रै ९७ करोड बढी सहकारीको रकम अपचलन गरेको आरोप छ । प्रभु ग्रुप अन्तर्गतका दर्जनौँ कम्पनीको व्यवस्थापन हेर्ने माउ कम्पनी प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई नेकपा एमालेले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद बनाएको थियो ।

हाल प्रतिनिधिसभा सदस्य रहेका भट्टचनले संगठित र नियोजित रुपमा गैरकानुनी प्रक्रिया अवलम्बन गरेर देशभरका हजारौँ सहकारीहरुबाट रकम ल्याएर आफ्नो व्यवसायीक साम्राज्य खडा गरेको र ती मध्ये करिब ३ हजार सहकारीलाई बचत फिर्ता नदिएको पीडित सहकारीहरुको आरोप छ । 

यसमा धरौटी बापतको रकम ९७ करोड ३७ लाख ८० हजार २१३ रुपैयाँ छ भने रेमिट्यान्स भुक्तानी गरेको उधारो बाँकी रकम करिब ८ अर्ब हाराहारी रहेको सहकारीहरुले दाबी गरेका छन् । तर, भट्टचन आफ्नै पार्टीको सत्ता र आफ्नै नजिकको प्रधानमन्त्रीको बलमा अनुसन्धानको दायरामा आएका छैनन् ।   

सहकारीको रकम कसरी आयो प्रभु ग्रुपमा ?  

वि.सं. २०४७ साल देखि देवीप्रकाश भट्टचनले प्रभु ट्राभल्स सञ्चालनमा ल्याएका थिए । सोही ट्राभल्स हुँदै उनले २०५८ सालमा प्रभु मनी ट्रान्सफरको अनुमति पाए । 

वि.सं. २०६२/६३ को जनआन्दोलन पछि विदेशिने युवा बढेसँगै रेमिट्यान्स व्यावसायमा भट्टचनको सुखद दिन सुरु भए । यही बीचमा उनले प्रभु क्यापिटल नामक कम्पनी खोले । बढ्दो आम्दानी र फैलिँदो व्यावसायका कारण उनलाई आफ्नो उचाइ यतिमै रोक्न मन लागेन । उनले वि.सं. २०६६ मा सबै व्यावसायलाई एउटै छातामा राख्ने गरी प्रभु ग्रुप बनाए । त्यसै वर्ष डिस होमको लाइसेन्स लिए । 


वि.सं. २०६९ मंसिर १५ गते उनैले ३ जना व्यावसायिक साझेदारहरू अघि सारेर लैनचौरमा प्रभु म्यानेजमेन्ट कम्पनी खोले । प्रभु ग्रुप अन्तर्गतको यो कम्पनी पछि गैरीधारामा सर्यो ।  

सो कम्पनीमा भट्टचनले ५० लाख रुपैयाँ बराबरको ५० हजार कित्ता, म्याग्दीका दीलिप थकालीले २० लाख रुपैयाँको २० हजार कित्ता, काठमाडौँकी कुसुम लामाले पनि २० लाखको २० हजार कित्ता र बागलुङका दक्ष पौडेल ‘शुभाष’ ले १० लाख रुपैयाँको १० हजार कित्ता सेयर लिए । यो कम्पनी अहिले पनि प्रभु ग्रुप अन्तर्रगतको छाता संस्था अन्तर्गतको कम्पनी हो । 


यसको एक मात्र उद्देश्य थियो, बढ्दो रेमिट्यान्सको कारोबारमा छुट्टै कम्पनी खोलेर रेमिट्यान्सको भुक्तानीमा अर्को तह सृजना गरेर अकुत सम्पत्ति कमाउने । 

जसमा प्रभु मनी ट्रान्सफरबाट प्रभु म्यानेजमेन्टले बनाएको एजेन्टका लागि रेमिट्यान्सको कारोबार गर्दा प्रति कारोबार ५ रुपैयाँ कमिसन आउँथ्यो भने रेमिट्यान्स एजेन्ट सदस्य (अहिले पैसा डुबेका सहकारी) बनाउँदा २ देखि ३ लाख रुपैयाँ सदस्य शुल्क सङ्कलन हुन्थ्यो । जुन रकम कयौँ वर्षका लागि निर्ब्याजी चलाउन पाइन्थ्यो ।

चारै जना विश्वास पात्रहरू मिलेर खोलेको कम्पनीबाट सहकारीको रकम जम्मा गर्न सकिने उपाय राष्ट्र बैंकलाई समेत प्रभावमा पारेर उनै  भट्टचनले अघि सारेर रकम सङ्कलन गर्न सुरु गरेको अन्य सञ्चालकहरुको आरोप छ । 

‘सुरु सुरुमा त सहकारीहरू धरौटी राख्न मानिरहेका थिएनन्,’ एकजना पूर्व सञ्चालक भन्छन्, ‘त्यो बेला उनीहरूलाई यो रकम डुब्छ की भन्ने भय थियो । कतिपय बलिया संस्थाले भने देवी भट्टचनलाई नै साक्षी राखेर धरौटी दिएका थिए ।’

प्रभु म्यानेजमेन्टका साझेदारहरुका अनुसार प्रभु ग्रुपको सहायक कम्पनीका रुपमा देशभरका ७ हजार सहकारीको रकम म्यानेजमेन्ट कम्पनीमा भित्रिएको थियो । 

उनीहरुका अनुसार रेमिट्यान्सको भुक्तानी एजेन्ट बन्न ७ हजार सहकारी संस्थाहरूले सदस्यता शुल्कका नाममा प्रभु म्यानेजमेन्ट कम्पनीलाई रकम दिएको कम्पनीले जनाएको छ ।  

तर, सिधाकुरालाई प्राप्त कागजातअनुसार २०६९ मंसिर देखि २०८१ जेठ ९ गतेसम्म चार हजार पाँच सय ६९ वटा सहकारीले म्यानेजमेन्ट कम्पनीमा धरौटी राखेको देखिन्छ । जसमध्ये ३ हजार बढी सहकारीले ९७ करोड ३७ लाख ८० हजार २१३ रुपैयाँ फिर्ता पाएका छैनन् । 

प्रभु मनी ट्रान्सफरका अध्यक्ष भट्टचनले मनी ट्रन्सफरको गैर कानुनी सुप्पर एजेन्ट कम्पनीको रुपमा प्रभु म्यानेजमेन्ट कम्पनी खडा गरेर सो रकम आफ्नो कम्पनीमा ल्याउन सुरु गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले सो कम्पनीलाई राष्ट्र बैंकले नचिन्ने बताए । 

‘सो कम्पनी हाम्रो नियमन भित्र पर्दैन,’ पौडेलले सिधाकुरासँग भने, ‘अहिले यस्तो सुप्पर एजेन्ट राख्न नपाइने परिपत्र पनि भइसकेको छ । ’

नेपाल राष्ट्र बैंकको विप्रेषण (रेमिट्यान्स) विनियमावली अनुसार मनी ट्रान्सफर कम्पनीले सुप्पर एजेन्ट भनेर अर्को कुनै कम्पनी खोलेर कारोबार गर्न पाउँदैनन् । 

तर, भट्टचनले प्रभु मनी ट्रान्सफरको सुप्पर एजेन्टका रुपमा प्रभु म्यानेजमेन्ट र प्रभु पेमेन्ट प्राली नामक कम्पनी खडा गरेका थिए । सोही गैरकानुनी धन्दाको आडमा भट्टचनले व्यापारको अम्पायर खडा गरेको उनका साझेदारहरुको आरोप छ । 

सहकारीहरुले प्रभु मनी ट्रान्सफरको ‘सब एजेन्ट’ बनेर आफ्नो ग्राहकलाई रेमिट्यान्स सेवा दिन सो रकम प्रभु म्यानेजमेन्टलाई बुझाएका थिए । अहिले उनीहरुको रकम फसेको छ ।

सहकारीको पैसामा भट्टचनको मस्ती

अहिले देशभरका तीन हजार बढी सहकारीले आफ्नो पैसा फिर्ता पाएका छैनन् । यसबारे सिधाकुराले भट्टचनलाई जिज्ञासा राख्दा उनले आरोपको इन्कार मात्रै गरेनन्, प्रमाण देखाउन चुनौती दिए । 

उनले सहकारी ठग प्रभु म्यानेजमेन्टकी हालकी अध्यक्ष कुसुम लामा भएको भन्दै उनैलाई यसबारे जिज्ञासा राख्न भने । आफ्नो बदनाम गराउने प्रयास गरिएको र त्यसका विरुद्ध आफू कानुनी उपचारमा गएको भन्दै उनले आफूले न्याय पाउने दाबी गरे । 

‘मेरो चरित्र हत्याको प्रयास भएको छ । म माथि आरोप लगाइएको छ,’ सिधाकुरासँग ह्वाट्सएपमा कुरा गर्दै भट्टचनले भने, ‘सहकारी ठग त कुसुम लामा होनी । मैले त्यो कम्पनी छोडेको वर्षौँ भइसक्यो ।’ उनले आफुले उक्त आरोपबारे खण्डन गरेको एक सञ्चार माध्यमको समाचार पढ्न पनि सिधाकुरालाई आग्रह गरे । सो समाचारमा उनले आफ्नो बैंक स्टेटमेन्ट चेक गर्न दाबी गरेका छन् । 


तर, प्रभु म्यानेजमेन्टको सेयर लगत विवरण झिकाएर सिधाकुराले गरेको अध्ययनमा भट्टचनको यो दाबी मेल खाँदैन । उनी आफूलाई २०७१ साल पुसमा प्रभु म्यानेजमेन्टबाट बाहिरिइसकेको दाबी गर्छन् । त्यसपछि हालसम्म सो कम्पनीको अध्यक्ष कुसुम लामा छिन् । 

लामाका अनुसार भट्टचन प्रभु ग्रुप र प्रभु बैंक हाँक्न भन्दै सो कम्पनीबाट देखाउनका लागि मात्रै बाहिरिएका हुन् । उनले कम्पनीको आम्दानी, लगानी र नाफा, घाटाका सबै आर्थिक कारोबार आफैँले व्यवस्थापन गरिरहेका थिए ।। लामाले दाबी गरेको भट्टचन प्रभु म्यानेजमेन्टबाट नबाहिरिएको कुरालाई सो कम्पनीको सेयर लगत विवरणले थप पुष्ट्याइँ गर्छ । जुन कुरा देवी भट्टचनले हालसम्म लुकाएका थिए । 


सिधाकुरालाई प्राप्त सो विवरणअनुसार कम्पनी स्थापना गर्दा भट्टचनसँग ५० हजार कित्ता शेयर थियो । पछि विनोद थकालीले सो कम्पनी छोडेपछि उनको भागमा २०७० मा थप ५ हजार कित्ता शेयर थपियो । २०७१ पुस १३ मा कम्पनीको पुँजी वृद्धिसँगै उनको भागमा रहेको शेयर २ लाख ७५ हजार कित्ता पुग्यो र उनले त्यो सेयर आफ्नो सहोदर भतिजो मिजास भट्टचनको नाममा सारेको देखिन्छ । देवी बाहिरिएर मिजास कम्पनी सञ्चालकमा आउँदासम्म सो कम्पनीमा १६ सय ८७ सहकारीको रकम भित्रिइसकेको थियो । जसमध्येको सहकारीको ४० करोड ९७ लाख ९६ हजार २१३ रुपैयाँ अझै फिर्ता गरिएको छैन् ।  

कम्पनी स्रोतकाअनुसार त्यतिबेला मिजास नाबालक थिए । उनी एसएलसीपछि पढ्न भन्दै अमेरिका उडे । त्यो सेयर पुनः भट्टचनले आफ्नी सहोदर छोरी शिक्षा भट्टचनको नाममा ल्याए । २०७४ जेठ ११ गते शिक्षाका नाममा पुँजी वृद्धिसहितको प्रभु म्यानेजमेन्टको ६ लाख ४८ हजार कित्ता शेयर कायम भएको छ । जुन कम्पनीको कुल शेयरको ६० प्रतिशत हाराहारी हो ।

शिक्षा भट्टचन अहिले बाबु देवी भट्टचन अध्यक्ष रहेको ‘प्रभु ग्रुप’ की महाप्रबन्धक हुन् । मिजास अहिले पनि यही ग्रुपको कार्यकारी निर्देशकको भुमिकामा छन् ।


भट्टचनको भतिजो मिजास र छोरी शिक्षासम्म आइपुग्दा २०७७ असारसम्म प्रभु म्यानेजमेन्टमा ३ हजार ७ सय ९ सहकारीको रकम भित्रिएको थियो । जसमध्ये ९१ करोड २२ लाख एक हजार २ सय १३ रुपैयाँ अझै सहकारीहरुले फिर्ता पाएका छैनन् । 

आफू प्रभु बैंक, डिसहोम लगायतका कम्पनी हाँक्न निस्किएपछि भट्टचनले परिवारका नाममा शेयर ट्रान्सफर गरेको र कम्पनीको लेखा व्यवस्थापनका लागि आफ्नो विश्वास पात्र गणेश घिमिरेलाई लगाएको र उहीमार्फत सबै रकम अपचलन भएको हालकी सञ्चालक कुसुम लामाको आरोप छ ।

‘सहकारीको पैसा बोरामा हालेर ग्रुपका अन्य कम्पनीमा लगियो,’ लामाले सिधाकुरासँग भनिन्, ‘तर, हामी उनलाई विश्वास गरेर बसेकालाई अहिले फसाएर आफू सत्ता र शक्तिको आडमा बसेको छ ।’ 

जालसाँजी र विश्वासमा पारेर कम्पनी डुबाएर अहिले सोझा कर्मचारी र आफूलाई धोका दिएको भन्दै लामाले कानुनी लडाइँ लड्ने बताइन् ।  

किर्ते गरेर कर्मचारीमाथि शेयर हस्तान्तरण 

‘म त सोझो भोटेको छोरी रहेछु, मलाई सबै फसाएर देवी र अशोक भागेछन्,’ कुसुमले सिधाकुरासँग आफ्नो वृतान्त सुनाइन्, ‘कम्पनी अप्ठ्यारोमा पर्यो भनेर जब भन्न गएँ । उनीहरुले मलाई ‘यू क्यान गो टू कोर्ट’ भने ।’

देवीप्रकाश भट्टचनको व्यवसायिक साम्राज्य बनाउन २० वर्ष गरेको मेहनतलाई देवीले धोका दिएको कुसुमको आरोप छ । 

‘प्रभु ग्रुप अन्तर्गत कम्पनी थियो । संस्थापक देवी जी, अहिलेका परिवारका सदस्य शेयर सदस्य थिए । भएको सबै पैसा देवीले भनेअनुसारकै कम्पनीमा लगानी गर्दा र बैंकको ब्याज तिर्दा सकियो,’ कुसुम भन्छिन्, ‘सहकारीबाट धरौटी रकम उठाएकै हो । मैले अध्यक्ष भएपछि ६ करोड उठाएको छु । त्यो भन्दा बढी दायित्व झण्डै अर्ब रुपैयाँ देवी र उनका परिवारका सदस्य कम्पनीमा भएको बेला उठाइएको हो । त्यो उनीहरुले तिर्नुपर्छ ।’  

कुसुमका अनुसार आफू कतै नदेखिने गरी अरुलाई परिचालन गर्न भट्टचन खप्पिस थिए । सहकारीबाट उठाएको करोडौँ रकम तत्कालीन किष्ट बैंकको शेयर किनेर प्रभु बैंक बनाउन देखि सिम टिभी, हेल्लो पैसा, डीस होम, जानकी मेडिकल कलेज र पानीपोखरी अपार्टमेन्ट हुँदै दर्जनौँ कम्पनीमा भट्टचनले लगानी गरेका थिए ।

२०७७ साल असार १३ गते भट्टचनले विश्वासमा पारेर कम्पनीका अन्य २ जना स्टाफका नाममा छोरी शिक्षाको शेयर ट्रान्सफर गरेको प्रभु म्यानेजमेन्टको शेयर लगतमा खुलेको छ । 


ती विवरणहरुका अनुसार प्रभु म्यानेजमेन्ट स्थापना भएदेखि २०७७ सम्म देविको परिवार नै कम्पनीमा प्रत्यक्ष रुपमा संलग्न देखिन्छ । सहकारीबाट आएको अधिकाशं रकम सोही अवधीको छ । कसुम लामा र त्यहाँ रहेका कर्मचारीहरुलाई विश्वासमा पारेर देवीले नै छोरी शिक्षाको नाममा रहेको कम्पनीको शेयर अन्य २ जना कर्मचारीको नाममा २०७७ मा कायम गराएको कम्पनीले जनाएको छ । 

त्यसका लागि रकम व्यवस्थापन गर्न म्यानेजमेन्टमा छोरी शिक्षाले प्रभु मनी ट्रान्सफरबाट ६ करोड रुपैयाँ पठाएको विवरण पनि सिधाकुराले फेला पारेको छ । देवी र उनकी छोरीको विश्वासमा पर्दा अहिले ति सामान्य जागिरेहरु करोडौँ रुपैयाँको देवी भट्टचनको आर्थिक खेलो फड्कोको जालोमा फसेका छन् ।  

जब सहकारीहरु पैसा फिर्ता माग्न आए

अहिले आर्थिक रुपमा प्रभु म्योनेजमेन्ट प्राली टाट फर्किएको छ । दायित्व फिर्ता नदिई भट्टचनको परिवार कम्पनीको शेयर किर्ते गरेर कर्मचारीलाई भिडाएर भागेका छन् । 

अहिले प्रभु मनी ट्रान्सफरलाई पनि सुप्पर एजेन्ट राख्न राष्ट्र बैंकले रोक लगाइसकेको छ । जसका कारण प्रभु मनी ट्रान्सफरबाट देशभरका सहकारीहरुसँग रेमिट्यान्सको कारोबार बन्द भइसकेको छ । 

आफ्नै ग्रुप भित्रको कम्पनीमा भट्टचनले गरेको खेलो फड्कोका कारण सहकारीको रकम जोखिममा त परेकै छ, सहकारीको रकम फिर्ता गर्न सक्ने अवस्थामा समेत कम्पनी छैन् । 

सहकारीबाट लिएर अपचलन गरेको रकम फिर्ताका लागि भन्दै प्रभु म्यानेजमेन्ट प्रालीका साझेदारहरू आफ्नै पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनमाथि जालसाँझी, ठगी र व्यापारिक विश्वासघात गरेको अभियोगमा कानुनी लडाइँमा लागेका छन् । 

‘प्रभु ग्रुपका सबै कम्पनीमा भएको लगानी सहकारीको हो,’ हालकी अध्यक्ष लामाले सिधाकुरासँग भनिन्, ‘सर्ट टर्म लोन, अर्को व्यवसाय विस्तार, मिडिया म्यानेजमेन्टका लागि जस्ता शीर्षकमा उनले करोडौँ रुपैयाँ कम्पनीबाट लगेका छन् । तर, फिर्ता दिएका छैनन् । सो पैसा माग गर्दा उनी भागेका छन् ।’ यति मात्रै होइन म्यानेजमेन्टका नाममा बैंकबाट लिइएको करोडौँ रुपैयाँ ऋण पनि भट्टचनले तिरेका छैनन् ।

भट्टचन विरुद्ध उनकै साझेदार कुसुम लामा, कम्पनीका कर्मचारीहरू हेमकुमार महाजु, श्रुतिका तामाङ र केही सहकारीहरू प्रहरी देखि राष्ट्र बैंकसम्म पुगेका छन् । तर, सत्तापक्षीय दल एमालेका सांसद भएका कारण उनीहरूको उजुरीको कुनै सुनुवाइ भएको छैन् । कार्यलयमै पुगेर गरेको उजुरी दर्ता गर्न नमानेको उनीहरूको आरोप छ । प्रशासनको असहयोग पछि कुसुम लामा, हेमकुमार महाजु र श्रुतिका तामाङले हुलाकबाट रजिष्ट्री गरेर जाहेरी पठाएको विवरण सिधाकुराले प्राप्त गरेको छ ।

साझेदार र कर्मचारीहरुका अनुसार उनीहरु जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) मा ठगी र आपराधिक विश्वासघातको आरोपमा उजुरी लिएर पुगेका थिए ।  

तर, ति निकायले उजुरी नलिएपछि प्रहरी महानिरीक्षकको कार्यालय, गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयसहितमा सो उजुरी गत असोजमा पठाइएको थियो ।

महान्यायाधिवक्ता कार्यलयले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला प्रहरी परिसर काठमाडौँलाई एउटा जाहेरीमा भट्टचन लगायतमाथि अनुसन्धान अघि बढाउन गत असोज ११ गते पत्राचार गरेको छ । 

जिल्ला न्यायधिवक्ता सन्तोषराज कटुवालले हस्ताक्षर गरेको सो पत्रमा ‘कुसुम लामाले देविप्रकाश भट्टचनसमेत उपर दिनु भएको मुलुकी अपराध संहिता २०७४ को दफा २४९ र सोही संहिताको २५२ बमोजिम कसुर मुद्दामा दिनु भएको जाहेरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ (२) बमोजिम कार्यर्थ पठाइएको’ उल्लेख छ ।


तर, काठमाडौँ प्रहरीले त्यसमा कुनै अनुसन्धान अघि बढाएको छैन् । परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले थप तथ्य प्रमाणका साथ जाहेरीकर्ता उपस्थित नभएका कारण अनुसन्धान अघि नबढेको दाबी गरे । 

‘जिल्ला सरकारी वकिल कार्यालयबाट कारबाही अघि बढाउन पत्र आएको छ,’ एसपी अधिकारीले भने,‘आवश्यक सबै कागजात र प्रमाण नभएका कारण दर्ता भएको छैन् ।’


सीआइबीका अधिकारीहरुले भने राजनीतिक दबाबका कारण उजुरीमाथि थप छानबिन गर्न नसकेको बताउने गरेका छन् । ‘भट्टचन प्रकरण राष्ट्र बैंक ऐन, सहकारी र  कम्पनी ठगी कसुरमा अनुसन्धान हुने विषय हो’ उजुरीको प्रारम्भिक रुपमा जानकार एक अधिकृतले भने, ‘यो प्रकरणमा सहकारीको रकम संगठित रुपमा ठगी गरेको अपराध र सम्पति शुद्धिकरण पनि आर्कषित हुन्छ ।’ तर, भट्टचन भने सबै आरोप मिथ्या भएको भन्दै पन्छिन्छन् । 

'सहकारीको संगठित ठगी नै हो'

सहकारी क्षेत्रमा लामो समय काम गरेका पूर्वसचिव केदार न्यौपाने यो विवादबारे आफू पहिल्यै जानकार रहेको बताउँछन् । सहकारीको रकम यताउता गरेर लाभ लिनेहरुको सूची लामै रहेको भन्दै उनले यो प्रकरण इच्छाराज तामाङको जस्तै भएको सम्झन्छन् । ‘सहकारीको दोहन सत्ता शक्ति र पहुँचका भारमा नै भएको छ,’ न्यौपाने भन्छन्, ‘प्रभु प्रकरणको छानबिन हुनुपर्छ । सहकारीको रकम यसरी अपचलन गर्न पाइन्न ।’

त्यसो त नेपाल राष्ट्र बैंकको विप्रेषण नियमावलीमा पनि सुप्पर एजेन्टको काम गर्न पाउने कानुनी व्यवस्था छैन् । नियमावलीमा विप्रेषण कम्पनीले सब एजेन्ट तथा सब रिप्रिजेन्टेटिभ राख्न पाउने मात्रै भनेको छ । राष्ट्र बैंकका अधिकारीहरुकाअनुसार त्यो भनेको विप्रेषण सेवा प्रदायक र अर्को एक कम्पनी अनि ग्राहक हो । यसमा विदेशबाट पैसा पठाउनेदेखि प्राप्त गर्नेसम्म जम्मा ४ वटा मात्रै तह हुन्छ । तर, प्रभुको हकमा सुप्पर एजेन्टको अवधारणाबाट अर्को एक तह थप गरेको देखिन्छ । 


रेमिट्यान्स प्रवाहका लागि राष्ट्र बैंकले सीमित सहकारीहरुलाई तोकेको भएपनि प्रभु समूहले देशभरका सहकारीहरुबाट सदस्यता शुल्क उठाउन कसरी पायो भन्ने नै गम्भिर अनुसन्धानको विषय भएको अधिवक्ता मधु चौलागाईँ बताउँछन् । 

सहकारी ऐनले बचत तथा ऋण सहकारीहरु सबैलाई विप्रेषण सेवा प्रवाहको अधिकार नदिएको उनको भनाई छ । ‘प्रभुको हकमा हजारौँ सहकारीको रकम ल्याएर निजी व्यवसायमा लगाइएको छ,’ चौलागाईंले भने, ‘यो सङ्गठित रुपमा सहकारी ठगी हो । राज्यका निकायले यस सम्बन्धी उजुरीको छानबिन गर्नुपर्छ ।’ सहकारीको सदस्यबापतको डिपोजिट मात्रै नभई रेमिट्यान्स भुक्तानीको उधारो समेत अर्ब हाराहारीमा रहेको सहकारीहरुले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 
कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

कांग्रेसकै वडाध्यक्षकाे गोदामबाट लोड भएको थियो तस्करीको २५ करोड 

गत चैत ४ गते काठमाडौँको झोरबाट नियन्त्रणमा लिइएको २५ करोड विदेशी मुद्रा वडाध्यक्षकै गोदामबाट लोड भएको खुलेको छ । 
सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँड्ने बेहुला पक्षलाई ६ महिना कैद, दाइजो रकम फिर्ता गर्न अदालतको आदेश

जिल्ला न्यायाधीश मोहन सुबेदीको एकल इजलासले मंगलबार बाराको कलैया–४ निवासी २८ वर्षीय उमेश साह (बेहुला), उनका पिता बच्चालाल साह गोढ, दाजु राकेश कुमार साह र मुकेश कुमार साह,...
पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब भ्रष्टाचार ! 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा निर्माणका क्रममा नीतिगत निर्णयको आवरणमा चरणवद्ध रूपमा लुट मच्चाउँदै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । र हाल नागरिक उडड्ययन...