नेभिगेशन
सबै कुरा

खाडीको कहर : दलाल र साहुको ऋणले वियोग

काठमाडौँ । आज भन्दा दुई साता अघि दुबईको निकै व्यस्त सडकको एक छेउ मर्मत गर्दै थिए पाँचथरका कालुमान लिम्बू । वैदेशिक रोजगारीको लामो रापताप भोगेका कालुमानको टिकटिके मोबाइलमा नेपालबाट फोन आयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

लगातार फोन बजेपछि साबेल छेवैमा राखेर कालुमान सडकको कुनापट्टि ढल्किएर फोन उठाए । फोनमा छोरी एकोहोरो डाको छोडेर रोइन र भनिन् ‘माइलो भाइ माइलो भाइ ... । कालुमान बोल्न सकेनन् । एकछिन छोरी रोइरहेको फोनमा सुनिरहे । केहीबेरको सन्नाटापछि छोरीलाई सानो स्वरमा सोधे, ‘टिकालाई के भयो ?’ यताबाट छोरीले भनिन् ‘उ हामीबाट सधैँका लागि बिदा भयो ।’

वैदेशिक रोजगारीमा जान छोरा टीकालाई कालुमानले गाउँबाट ऋण खोजेर काठमाडौँ पठाएका थिए । छोराको मलेसिया रोजगारी होला भन्दा भन्दै समय घर्किदैँ गयो । लिएको ऋण चुक्ता गर्ने भाका आयो तर टीका उड्न पाएनन् । 

छोरा जाँदै गर्ला बरु आफैँ दुबई गएर कमाउँछु र तिर्छु भन्दै कालुमान आफैँ ५१ वर्षको उमेरमा रोजगारीका लागि उडे । तरु, यता टीकालाई त्यही वैदेशिक रोजगारीको पीडाले मृत्युको बाटो राेज्न बाध्य गरायो । 

टिका माङ्ला लिम्बू, कालुमानका माइलो छोरा थिए । छोराले मलेशिया जान्छु भनेपछि कालुमानले गाउँमा सय कडा तीनमा ऋण खोजेर काठमाडौँ पठाए । 

गाउँकै गुमप्रसादको सम्पर्कबाट मलेसियामा रहेका मोरङ शनिश्चरेका दीपक दमाईले उनीहरूलाई मलेसिया बोलाउने भन्दै पैसा उठाएका थिए ।

दीपकले भने अनुसार नै टिकाले २ लाख ८० हजार रुपैयाँ दिएका थिए । दीपकले नै भिसाका लागि प्रक्रिया सुरु भएकाले भिसा आउनेबेलासम्म होटलमै बस्न टीका लगायतलाई भनेका थिए । त्यस समय खाना बस्दा लाग्ने सबै खर्च दिपकले हालिदिने उनले आश्वासन पनि दिए । 

टिकासहित पाँचथरकै दिलबिक्रम सम्बाहाम्फे, सूर्यबहादुर सम्बाहाम्फेले दीपकलाई पैसा पठाएका थिए । केही दिनमा भिसा आउँछ भनेका दीपक भिसा कुरेर गौशालाको उदयपुर गेष्टहाउस एण्ड रेष्टुरेन्ट बसेका टिकाहरुको सम्पर्कबाट टाढिए । 

पैसा खाएर दलाल भागेपछि टीका दलालले बस्न भनेको होटलकाे परिबन्धमा परे । त्यहाँ खाएको र बसेको तिर्न उनीसँग पैसा भएन । उनी त्यहीँ भाँडा माझ्न बसे । 

बाबु कालुमानका अनुसार केही दिन अघि मात्रै टिकाले यो घटनाबारे बताएका थिए । ‘विदेश पठाउन लिएको ऋण तिर्न तीन महिना अघि मात्रै म यता आएँ,’ कालुमानले भने ‘साहूको ऋण र दलालको ठगीमा परेको कुरा छोरोले केही दिनअघि मात्रै सुनाएको थियो । तर उसले यस्तो अप्रिय निर्णय लिएछ ।’

कालुमानका लागि विदेशमा श्रम परिवारको सपना टाल्ने बाटो हो । ५१ वर्षको उमेरका उनको जीवनको उर्वर समय मलेशिया, कतार र अरबको बालुवामा पोखिएको छ । 

खाडीमा सिंचित कालुमानको पसिनाले परिवार हुर्काउने बढाउने त छँदै थियो । एकपछि अर्को पारिवारिक बज्रपातले भने उनलाई कहिल्यै छोडेन । 

कालुमान विदेशमै हुँदा २०७३ सालमा उनले श्रीमती र भाईको परिवारसहित पाँच जनालाई एकै घटनामा गुमाए । जंगली च्याउ खाँदा बिरामी परेकी उनकी श्रीमती र भाइबुहारीको सिंगो परिवारलाई उनले गुमाएका थिए । 

‘सो घटनामा परिवार बचाउन सकेको उपचार गरे,’ उनी भन्छन्, ‘न परिवार जोगाउन सकेँ न सम्पत्ति नै बाँकी रह्यो ।

कालुमानका अनुसार श्रीमतीसहित परिवारका ५ जनाको मृत्युपछि ८२ वर्षीय आमा पनि बिरामी पर्न थालिन् । हुर्किएका छोराहरुले घर धान्लान र आफ्नो बुढ्यौली अब घरमै बिताउँछु भन्ने ठानेको कालुमान बताउँछन् । तर,गएको बर्खामा उनको घर भत्कियो । त्यसपछि माइलो टीकाले विदेश जान रहर गरेको उनी सुनाउँछन् ।

गाउँकै अन्य तीन जना साथीसहित टीका मलेसिया जाने सपना बोकेर काठमाडौँ आएको टीकाका काका राजकुमार सम्बाहाम्फे बताउँछन् । असारमा बस्न थालेको होटलमा भदौसम्म पनी दीपक भन्ने एजेन्ट सम्पर्कमा आएनन् । होटलमा डेढलाख बढी बिल उठेको थियो । गाउँबाट सँगै आएका अन्य तीन जनाअलिअलि पैसा तिरेर होटल छोडर फुत्कीए पनि टीकाको थाप्लोमा भने एक लाख १० हजार रुपैयाँ होटलको ऋण थपिएको काका राजकुमार बताउँछन् । 

टीकाका गाउँले लोकमान सेर्माका अनुसार होटलको पैसा तिर्न नसकेपछि टीकाले सोही होटलमा भाँडा माझ्न थाले । खाना र बस्नेगरी महिनाको ६ हजार तलब पाउने  र त्यो सुबिधा रकम होटलमा तिर्न भएको बाँकीबाट काटिने सम्झौता थियो । 

टिका काठमाडाैँमा बाँच्ने आधारमा मात्रै खोजिरहँदा उता उनलाई मलेसिया पठाउन ६ महिनाको भाका राखेर लिएका ऋण साहुले फिर्ता माग्न थालेका थिए । टिकाका बाबु कालुमान र दाई सन्तोषले फेरि विदेशिने विकल्प खोज्न थालेका थिए । भत्किएको घर नयाँ बनाउने सोचेपनि ऋणमाथि ऋण थपिने भएपछि बाबु कालुमान र दाइ सन्तोषले म्यानपवारमा पासपोर्ट बुझाए ।

यसअघि पनि अरबमा निमार्णक्षेत्रमा काम गरेको अनुभव भएकाले कालुमानको भिसा लागि हाल्यो । फेरि डेढलाख ऋण गरेर बुबा दुबई उडेको दाजु सन्तोष लिम्बू बताउँछन् । 

उनका अनुसार बुबा उता काम थाल्नु भयो भाइ होटलमै बस्थ्यो । उनी गाउँ फर्किए । एक दिन टीकाले होटलमा काम गर्ने प्रतिक खतिवडा नामक साथीमार्फत मोहम्मद नाम गरेको एक एजेन्ट भेटे । ति एजेन्टले एक लाख ७० हजार रुपैयाँ तिरेमा कुवेत जान पाइने आशा देखाए ।

मलेसिया जाने आशामा डुबेका उनले कुवेत जान मन बनाए र भर्खर काम सुरु गरेका बुबालाई फोन गरेर पैसा मागेको र बुबाले दुवईमा चिनजानकाहरुसँग ऋण खोजेर १ लाख ७० हजार रुपैयाँ टिकाले भनेको एजेन्टलाई पठाइदिएको दाई सन्तोष बताउँछन् । 

‘अब कुवेतको भिषा आउनेमा भाई र म निकै आशावादी थियौँ,’ दाजु सन्तोष भन्छन्, ‘तर यता अर्को एजेन्ट पनि सम्पर्क बिहिन भएछ । यो थाहा पाएको केही दिनमा त भाई मृत भेटियो ।’ 

होटल सञ्चालकका अनुसार अघिल्लो साँझ सामान्य अवस्थामा सुतेका टीका बिहान उठाउन खोज्दा नबोलेपछि खोजी भएको थियो । उनले आफु सुत्ने ठाउँमै प्राण त्याग गरेका थिए । 

भाईको मृत्युको खबर पाएलगत्तै पाँचथरबाट दाई सन्तोष र छरछिमेकीहरु काठमाडौँ आएर प्रहरीमा जाहेरी दिए । आत्महत्या दुरुत्सान मुद्धामा प्रहरीले प्रतिकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । तर, टीकालाई फसाउने दुवै एजेन्टहरु अहिलेसम्म फेला परेका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

कांग्रेसमा नेताहरुको एउटा तप्का ‘आउट’ भएकै हो ?

अवस्था यस्तो आएको छ कि, दुवै पक्ष आ आफ्नै निर्णय र अडानमा अडिग रहने हो भने कांग्रेसमा नेताहरुको एउटा तप्का आगामी १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैन...
यी पाँच कोणबाट हुन सक्छ राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान

यी पाँच कोणबाट हुन सक्छ राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान

आधुनिक विज्ञान, प्रविधि र अन्तर्राष्ट्रिय गुप्तचर निकायसमेतको सहयोगको आधारमा यो घटनाको पुनरवलोकन वा अनुसन्धान गर्ने आधारहरू अझै पनि जीवित छन् ।
कुनैबेलाका चर्चित, अहिले गुमनाम नेताहरु !

कुनैबेलाका चर्चित, अहिले गुमनाम नेताहरु !

मुलुकको राजनीतिमा कहिलेकाहीँ कुनै व्यक्ति निकै चर्चित बन्छन् । तर, छोटो समयमै हराउँछन् । कोही व्यक्ति यस्ता हुन्छन्– जो कुनै एक कालखण्डमा मात्रै होइन, पुस्तौं पुस्तासम्म पछ्यान्इन्छन् ।...