नेभिगेशन
समाज

‘तिलमायाको चिहान’: २६ वर्षमै पुरिएको सपना

नवलपरासी । त्रिभुवन विमानस्थल बाहिर प्रस्थान कक्षको बायाँ छेउमा रोकिएको छ बा १९ च ८३१४ नम्बरको एउटा शव वाहन । शव वाहनको छेउमा सुक्सुकाउँदै टोलाइरहेकी छिन् नवलपरासीकी मनमाया सार्की । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
Tilmaya-12-1742826593.jpg
तिलमायाकी दिदि मनमाया सार्की

३ वर्षअघि, 
विमानस्थलको प्रस्थान कक्षबाट यसरी नै सुक्सुकाउँदै मलेसिया उडेकी थिइन्, मनमायाकी बहिनी तिलमाया सार्की । 
आज उनै तिलमाया नेपाल फर्कीदै थिइन् । उनी नियमित यात्रु आउने कक्षबाट आइनन्, विमानको कार्गो भागमा राखिएको कफिनमा चिर निद्रामा आउँदै थिइन् तिलमाया । 
केही बेरमा विमानस्थलका कर्मचारी र वैदेशिक रोजगार प्रवर्धन बोर्डका कर्मचारी विमानस्थल भित्रबाट एउटा लामो ट्रलिमा सेतो कफिन लतार्दै आए ।  मनमायालाई विमानस्थल गोदाम छेउको गेटतर्फ आउन भने । मनमाया जान सकिनन् । उनीसँगै आएका उनका देवर हातमा केही कागज बोकेर सेतो कफिनको छेउमा पुगे । 

Ncell
Extreme Energy

Tilmaya-09-1742826096.jpg
विमानस्थलका कर्मचारीले कफिनमा लेखिएको विवरण र मनमायाको देवरले हातमा लिए विवरण जुधाए । विवरण मिल्यो । कफिनमा लेखिएको थियो मृतकको नाम तिलमाया सार्की । 
तिलमाया, सानै उमेरमा गरेको बिहे सफल भएन । छोरी जन्मिएपछि श्रीमानले अर्के बिहे गरे । उनी वृद्ध आमासँगै माइती बस्न लागिन् । माइतीको आर्थिक अवस्था कमजोर थियो, हुर्कीदै गरेकी छोरीको भविष्यको चिन्ताले तिलमायालाई मलेसियाको टिकट काट्ने बाटोमा पुर्याएको थियो । 
तिलमायाकी दिदि मनमायाका अनुसार घरेलु कामदारका रुपमा मलेसिया हिड्नुअघि वृद्ध आमा धनमाया सार्कीको काखमा छोरी राख्दै भनेकी थिइन्, “म केही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछु” । 
मलेसिया पुगेपछि कम्पनीमा काम राम्रै चल्दै थियो । वृद्ध आमा, नाबालक छोरी र आफन्तहरुँग तिलमायाको कुरा भइरहन्थ्यो । 

घर माथिबाट हेलिकप्टर उड्दा आमा यसैमा उडेर विदेश गएको भन्ने गर्थिन् । जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन कि, ‘अब तिम्री आमा गएको त्यो लोकमा फोनको घण्टी बज्दैन छोरी ।’

अन्तिम पटक वैशाख २८ गते आमा ख्वाउने औँशीका दिन तिलमायाले ७० वर्षीय आमालाई फोन गरेकी थिइन् । आफ्नो अवस्था बारे खासै केही नबताएकी तिलमायाले धेरैबेर आमा र छोरीसँग कुरा गरेकी थिइन् । 
त्यसपछि वृद्ध आमाको फोनमा तिलमाया नामबाट कहिल्यै फोन बजेको छैन । आमा ख्वाउने औँसीका दिनको बोली नै अन्तिम बोली भयो । त्यसपछि उनको फोन कहिल्यै आएन । बरु केही दिनमा खबर आयो, तिलमायाको हत्या भयो । 
एक पाकिस्तानीले तिलमायाको हत्या गरेको खबर पुष्टि हुनै झण्डै तीन साता लाग्यो । 
त्यसपछि शव ल्याउनका लागि वृद्ध आमा र दिदिले कम्ती संघर्ष गर्नुपरेन । झण्डै ११ महिनापछि मलेसियाबाट तिलमायाको शव आयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तिलमायाको शव बोकेर शववाहन नवलपरासी तिर लाग्यो ।

मङ्गलबार एकाबिहानै नवलपरासीपूर्वको कावासोती नगरपालिका–०३ को हसौरास्थित धनमाया सार्कीको आँगनमा छोरी तिलमायाको शव आइपुग्यो । जुन आँगनबाट ३ वर्षअघि तिलमाया मलेसिया हिँडेकी थिइन् । 
मधुरो घाम लाग्दै गर्दा धनमायाको आँगनमा शोकमग्न भीड जम्मा भइसकेको थियो । आँगनको बिचमा राखिएको कफिन आफन्तले घेरेका थिए ।  परदेशी भूमिमा श्रम बेच्न गएकी  तिलमाया अब कहिल्यै नफर्किने गरी आफन्तका बिचमा बाकसभित्र थिइन् । 
तिलमायाकी ६ वर्षीय छोरी हजुरआमा धनमायाको काखमा लुटपुटीएकी थिइन् । हजुरआमा, ठुलीआमा र आफन्त रोएको देखेर उनी पनि रोहीरहेकी थिइन् । उनलाई अहिलेसम्म त्यो सेतो बाकसभित्र आमा छिन् भन्ने थाहा थिएन । 
उनले कहिलेकाँही घर माथिबाट हेलिकप्टर उड्दा आमा यसैमा उडेर विदेश गएको भन्ने गर्थिन् । पछिल्लो ११ महिनादेखि आमाको फोन नआउँदा हजुरआमा, ठुलाआमालाई आमा कहाँ हराइन् भन्दै न्यास्रो मान्ने गर्थिन् । 
जब साँझ पथ्र्यो, उनी आमालाई खोज्थिन्, जब बिहान उठ्थिन् मोबाइलमा आमाको म्यासेन्जरमा फोन हान्थिन् । अवोध उनलाई कसैले भन्न सक्ने पनि थिएन कि, ‘अब तिम्री आमा गएको त्यो लोकमा फोनको घण्टी बज्दैन छोरी ।’

Tilmaya-04-1742826156.jpg
धनमाया, नातिनीको अनुहार हेर्छिन्, आँसु पुछ्दै आँगनमा राखिएको कफिन हेर्छिन् । घरको माहोल शोकमग्न छ । छिमेकीहरू मौन छन् । आफन्तहरु अन्तिम संस्कारको तयारी गर्दैछन् । 
छोरीको अन्तिम अनुहार हेर्न पाउँ भन्दै धनमायाले गरेको बिलौनपछि विभिन्न निकायको सहयोगमा तिलमायाको शव ११ महिनापछि आँगनमा आइपुगेको थियो । 
आफन्तहरुले तिलमायाको शव भएको कफिन खोले । सेतो कफिनभित्र सेतै कात्रोले बेरिएकी थिइन् तिलमाया । 

Tilmaya-01-1742826245.jpg
जब कफिन खोल्दै आफन्तहरुले तिलमायाको अनुहार हेर्न लागे कोलाहाल मच्चियो । सुन्दर भविष्यको कल्पना गरेर विदेसिएकी छोरीको मृत अनुहार देख्दा धनमाया मुर्छा परिन् । 
आमालाई त्यस्तो अवस्थामा देखेपछि तिलमायाकी ६ वर्षीय छोरी चिच्याएर रुन थालिन् । आफन्तहरुले आशुँ थाम्न सकेनन् । 
घरबाट तिलमायाको शव दाहसंस्कारका लागि निकालियो । गाउँले तथा आफन्तहरुले चिहान खने । तिलमायाको इहलिला माटोसँगै पुरियो । तिलमायासँगै पुरियो छोरीको भविष्य सुन्दर बनाउने सपना, तिलमायासँगै बिलिन भयो ६ वर्षीया छोरी र ७० वर्षीया धनमायाको भरोसा । 

Tilmaya-10-1742826294.jpg
तिलमायाकी आमा धनमाया सार्की

तिलमायाका छिमेकीहरु तिलमायाले जस्तो कसैले भोग्न नपरोस् भनेर कामना गर्छन् । 
तिलमायाको शव नेपाल ल्याउन समन्वय गरेको कावासोती नगरपालिका अन्तर्गतको सुरक्षित आप्रवासन केन्द्रले छोरीका लागि प्राप्त हुने राहत रकमका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । 

Tilmaya-02-1742826314.jpg

Tilmaya-1742826320.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

डडेल्धुराको अजयमेरुमा ७ परिवारलाई लालपुर्जा वितरण

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ । कोरियाको रोजगार अनुमति प्रणाली ९इपिएस० का लागि आवेदन दिएका...
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि टेकुबाट एलपी ग्यास वितरण सुरु

हालै मन्त्री यादवले बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन, उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास पाउने वातावरण बनाउन तथा वितरण प्रणालीलाई थप प्रभावकारी र पारदर्शी बनाउन नेपाल आयल...