नेभिगेशन
समाज

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको बताए। ‘गोठमा गाईभैंसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्‍यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्,’ पुनले भने। भैंसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन्।

Ncell
Extreme Energy

लेकाली क्षेत्रमा पालन गरिने भैंसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैंसी र खसीबोकाको माग धेरै छ। यहाँका किसानले कोदो, मकै, जौँ, गहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ। पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ। आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उनले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए। ‘म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु,’ उनले भने।

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको संख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उनले अनुभूति सुनाए। पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन्। मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए। परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन्। हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन्। वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन्।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताए। घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ।

‘पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु,’ रोकाले भने। पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ। स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन्।

हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ। जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ। हिउँदेबाली जाँै, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरूदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ। यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्‍याउने गर्छन्। 

यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए। ‘युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौं, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो,’ वडाध्यक्ष रोकाले भने।

चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग संकलन गरिरहेको छ। म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ। यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ। - रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।