नेभिगेशन
समाज

३२ वर्षमा पनि पूरा भएन वाग्मती स्वच्छ र हराभरा बनाउने उद्देश्य

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका वाग्मती र यसका सहायक नदी नालालाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले सरकारी निकाय खडा भएको ३२ वर्ष पूरा हुँदा नदी स्वच्छ हुन सकेको छैन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदीनालालाई स्वच्छ बनाएर यसका किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्वका धरोहरको जगेर्ना गर्न विसं २०५१ चैत २८ गते तत्कालीन सरकारले पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गरेको थियो । सरकारले यस्तो संरचना बनाएको तीन दशक बढी भएपनि वाग्मती किनारमा ढल मिसाउने कार्य भने रोकिएको छैन । ढलका कारण वाग्मती कालो देखिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

Ncell
Extreme Energy

समितिको अधिकार एवं कार्यक्षेत्र सीमित भएको भन्दै एक वर्ष पनि नपुग्दै विसं २०५२ मङ्सिर ६ गते अधिकार सम्पन्न वागमती ढल निर्माण सुधार आयोजना कार्यान्वयन तथा अनुगमन समितिका रूपमा यसको क्षेत्र विस्तार गरिएको थियोे । गठन भएको १६ वर्षपछि २०६५ साल जेष्ठ २६ गते अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति भनी यसको नाममा परिवर्तन गरियो ।

समितिले वाग्मती नदीको किनारामा बहाव क्षेत्र कायम हुनेगरी पूर्वाधार निर्माणका कामजस्तै ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम निर्माण तथा ढल प्रशोधन केन्द्रको निर्माण तथा सञ्चालन गर्दै जाने उद्देश्य रहेको समितिका सूचना अधिकारी उद्धव नेपालले बताए । सचेतनामूलक कार्यक्रमको माध्यमबाट आम सरोकारवालामा नदीको बढ्दो प्रदूषणप्रति चासो र चिन्ता जगाउनु पनि समितिको उद्देश्य रहेको उनले सुनाए । 

हिन्दुको पवित्र तीर्थस्थल एवं सभ्यताको प्रतीकको रूपमा रहेको वाग्मती नदी पछिल्लो चार दशकयता मानवीय अतिक्रमणको कारणले प्रदुषणको चपेटामा परेको छ । मुलुकको अमूल्य निधिको अस्तित्व नै सङ्कटमा परेपछि सचेत नागरिक समाजको चर्को दबाबका साथै सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ नदी प्रदूषणमुक्त गर्ने कार्यको थालनी गर्नु नै वर्तमान समितिको अस्तित्वको आधारशिला हो भन्छन् सूचना अधिकारी नेपाल ।

राजधानीको बढ्दो जनसङ्ख्या, अनियन्त्रित शहरीकरण, अव्यवस्थित ढल निकास र औद्योगिक एवं अन्य फोहरमैला निस्कासनको सम्पूर्ण विकृति व्यहोर्न बाध्य बनाइएको वाग्मती नदीको शुद्धीकरणको लागि समिति बनेको तीन दशक पूरा भए पनि अझै लक्ष्य भने नभेटिएको बताउँछन् काठमाडौँ महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसी । महानगरपालिकाले नदी स्वच्च बनाउन सहयोग गर्न खोजे पनि सम्बन्धित निकायले भने कम चासो दिने गरेको उनकाे भनाइ छ ।

समितिको नाम परिवर्तनसँगै कार्यक्षेत्र पनि वाग्मती नदीको उद्गमथलो शिवपुरी जलाधारदेखि चोभारसम्मको नदीलाई स्वच्छ र सफा राख्न काम गर्ने भनी थपिएको पनि दशकौँ भइसकेको छ । वाग्मती नदीमा कुनै प्रकारको दूषित (ठोस वा तरल) पदार्थ मिसाउन नपाउने र कुनै तरल पदार्थ मिसाउनै परेमा पानी प्रशोधन गरेर मात्र मिसाउन पाउने व्यवस्था गर्नको निमित्त नदी किनारामा ढल निर्माण गर्ने जिम्मेवारी पनि समितिलाई नै दिइएको छ । तर समितिको कार्यालय रहेको ५० मिटरकै दूरीमा रहेको गौरीघाटमा ढल मिसिँदा पनि समिति मूकदर्शक बनेको छ ।

काठमाडौँ उपत्यकाका नदीमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण, सञ्चालन तथा संभार गर्ने, नदी कटान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने, नदी किनारामा आवश्यकताअनुसार सडक निर्माण र वृक्षरोपण गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ तर विगत एक वर्षअघिदेखि नै समितिको नेतृत्व रिक्त रहेको पनि सूचना अधिकारी नेपालले सुनाए । 

काठमाडौँ उपत्यकाका अन्य नदीको वहावक्षेत्र र हरितक्षेत्र अतिक्रमण भइरहेकाले त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि नाममा विभिन्न मितिमा गरिएको परिवर्तनसँगै समितिलाई नै दिइएको छ । तर समितिले सुरू गरेका काम पनि सम्पन्न हुन नसकेको भनी संसद्मै आवाज उठ्न थालेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद रमा कोइराला पौडेलले भक्तपुरको हनुमन्ते नदी किनारमा ढल बिच्छ्याउन सुरू गरे पनि अलपत्र छोडेको भन्दै छिटो पूरा गर्न सरकार भएका निकायको ध्यानाकर्षण गराए । 

वाग्मती सफाइ महाअभियान १३औँ वर्षमा, ढल सिधै वाग्मतीमा 

वाग्मती सफाइ महाअभियान सुरू भएको १३ औँ वर्ष प्रवेश गरेको छ । सफाइ महाअभियान हिँड्दैछ पाइला मेट्दैछ भनेजस्तै जति सफा गरे पनि नसकिने अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाको बजेटमा चावहिल पीपलबोटबाट झारिएको ढल सिधै पशुपति क्षेत्रस्थित गौरीघाटमा ढल मिसाइएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरू भएको सफाइ महाअभियान सोमबारदेखि १३औँ वर्षमा प्रवेश गरेको हो । बाह्र वर्षसम्म सफाइ गर्दा पनि वाग्मती भने कालो देखिन्छ । अझ पशुपतिनाथ मन्दिरको माथि गौरीघाटमै ढल मिसिँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यहाँबाट अधिकार सम्पन्न वाग्मती समितिको कार्यालय करिब ५० मिटरको मात्र दूरीमा रहेको छ ।

माता पार्वतीको तपस्थली गौरीघाटसँगैको वाग्मती नदीमा सिधै ढल मिसाइएको आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछानेले जानकारी दिए । काठमाडौँ महानगरपालिका–७ द्वारा चावहिल गौरीघाट हुँदै पिपलबोट सडक ढलानको क्रममा कम क्षमताको ढल बिछ्याउँछदा ढलको ओभरफ्लो साइड ड्रेनमा जोडेर सिधै वाग्मतीमा पठाइएको उनले सुनाए । 

पशुपतिनाथ मन्दिरभन्दामाथिको वाग्मती नदीमा ढल मिसाएपछि सम्पदाप्रेमी, वाग्मती सफाइका अभियानकर्मी सरोकारबालाले यसको बिरोध गरेका छन् । ढलको साइज सानो र नियमित सरसफाइ नभएपछि गौरीघाट चोकबाट गुह्येश्वरीको फोहर पानी प्रशोधन केन्द्रतर्फ पठाइएको ढलको फोहर पानी सिधै गौरीघाटमा झर्न थालेको छ । 

यसअघि कामपा–७ का वडा अध्यक्ष विमलकुमार होडाले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा ७२ इन्चको ढल बिच्छ्याउन माग राखी निवेदन दिएका थिए । यसलाई कार्यान्वयनको निम्ति ताकेता नगरी ढल मिसाइएको भन्दै सम्पदाप्रेमीले आपत्ति जनाएका छन् ।

वडा अध्यक्ष होडा भने ढलमा ओभर फ्लो भएर र आकाशेपानी बढी भएर वाग्मतीमा ढल मिसिएको स्वीकार गर्छन् । यसका लागि जिम्मेवारी तोकिएको अधिकार सम्पन्न वाग्मती समितिले केही नगर्दा यस्तो अवस्था आएको उनकाे भनाइ छ ।   

पशुपतिनाथ मन्दिरमा शुद्ध जल चढाउने व्यवस्थाका लागि विसं २०५१ मा अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो । समितिको स्थापना भएर काम सुरू भएको तीन दशक वर्ष पूरा भइसक्दा पनि वाग्मती भने अझै प्रदुषित बन्दै गएको देखिन्छ । समितिका सूचना अधिकारी नेपाल वडा अध्यक्ष होडाले ठूलो ढल राख्न निवेदन दिएको स्वीकार गर्दै त्यसका लागि नापजाँचको काम भइरहेको बताउँछन् । आवश्यक हो, होइन पहिचान गरेर मात्र ठूलो ढल राखिने उनकाे भनाइ छ ।

(रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा...
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ...
दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।