नेभिगेशन
मुख्य समाचार

यस्तो छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महागनरपालिकाका मेयर बालेन शाहले आर्थिक वर्ष २०८२र०८३ का लागि नीति तथा कार्यक्रम 
प्रस्तुत गरेको छन् । यस्तो छ बालेन प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठः
काठमाडौँ महानगरपालिकाका उपप्रमुख, नगर सभाका सदस्यहरु र कर्मचारी साथीहरू,
सर्वप्रथम काठमाडौँ महानगरपालिका, नगरसभाको १७औं अधिवेशनमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु ।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम यस सम्मानित सभा समक्ष पेश गर्न पाउँदा मलाई हर्ष र गौरवको अनुभूति भएको छ । म ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु । साथै, स्थानीय सरकारको सबलता र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण गर्न योगदान गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा सम्मान व्यक्त गर्न चाहन्छु ।
गत आर्थिक वर्षमा नगर सभाले स्वीकृत गरेका नीति तथा कार्यक्रमबाट प्राप्त मार्ग निर्देशन र बजेटको कार्यान्वयनबाट प्राप्त उपलब्धिको समीक्षा  गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्ताव गरेको छु । काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा र सहरी सभ्यताको त्रिवेणीबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । परिवर्तित परिवेश र काठमाडौँवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखी तयार गरिएको यस नीति तथा कार्यक्रमले समग्रतामा मौलिक, ऐतिहासिक साँस्कृतिक, पर्यटकीय  र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने कुरामा म विश्वस्त छु ।


आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नगरसभाको यस बैठकमा प्रस्तुत काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौँ महानगरपालिकालाइ दिशानिर्देश हुने अपेक्षा गरेको छु ।


नगरसभाका सदस्य महानुभावहरू,
अब म काठमाडौं महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, वातावरणमैत्री र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्दै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तर अभिवृध्दि, सांस्कृति तथा सम्पदा संरक्षण र दिगो सहरी विकास सुनिश्चित गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रम सम्मानित नगरसभा समक्ष प्रस्तुत गर्न चाहन्छु । 


आर्थिक वर्ष २०८१/८२ मा कार्यान्वयन हुन बाँकी नीति तथा कार्यनीतिहरु र सम्पन्न हुँन बाँकी योजना तथा कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ । आवधिक, रणनीतिक तथा क्षेत्रगत नीति तर्जुमालाई पूर्णता दिईनेछ। 


संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बाट  प्राप्त अधिकारहरूको अधिकतम उपयोग गर्दै स्थानीय स्वायत्तता, न्याय र सुशासन सुदृढीकरणका लागि स्थानीय सतर्कता एकाई गठन, ई-कोटेसन प्रणालीको संचालन, Service Rating System संचालन साथै समयमै सेवा दिनुपर्छ भन्ने कानुनी बाध्यतालाई कार्यान्वयनमा ल्याउनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ। 


दीगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण गरी स्वेच्छिक स्थानीयकरण मूल्यांकन गरिनेछ। यसका लागि आगामी आर्थिक बर्ष देखि बजेट विनियोजन प्रणालीलाई सोही अनुरुप कार्यान्वयन गरिनेछ।


स्थानीय उत्पादन, रोजगारी, उद्यमशिलता र लगानीमैत्री वातावरणलाई प्रवर्द्धन गर्दै समावेशी आर्थिक विकासको आधार सुदृढ गरिनेछ। एक वडा एक उत्पादन नीति,  Incubation Center, समवेशिता लक्षित उद्यमशिलता अनुदान/विउ पूँजी कार्यक्रम, सहकारी सुधार योजना जस्ता कार्यक्रमहरुलाई थप परिस्कृत गर्दै निरन्तरता दिईनेछ। 


समानता, समावेशीकरण र सामाजिक न्यायमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक लगायत सबै नागरिकको सहभागिता र पहुँच सुनिश्चित गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, संस्कृति र युवा सशक्तिकरणका माध्यमबाट समुन्नत र सभ्य समाज निर्माणका लागि आवश्यक कार्यक्रम ल्याइनेछ। 


"बालापनको रक्षा, भविष्यको सुरक्षा" कार्यक्रम मार्फत बाल संरक्षण प्रणालीको स्थापना गरि बाल अधिकारको पूर्ण सुनिश्चितता गरिनेछ। साथै हिंसा पीडित, जोखिममा परेका बालबालिका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका निम्ति अस्थायी संरक्षण गृह स्थापना गरी सञ्चालन ल्याइनेछ ।


सामुदायिक विद्यालयमा "स्पोर्टस् एकेडेमी", डिजिटल कक्षा, STEM शिक्षा र उद्यमशीलता क्लब स्थापनाका साथै अपाङ्गता, अटिज्म र फरक क्षमता भएका विद्यार्थीहरुका लागि विशेष शिक्षण केन्द्र र पहुँच अनुकूल पूर्वाधार निर्माण गरी समग्र शैक्षिक सुधारका लागि कार्यक्रमहरु ल्याइनेछ। सार्वजनिक पुस्तकालय तथा खुल्ला अध्ययन केन्द्रको स्थापना गरिनेछ ।


बालबालिकाको समग्र शारीरिक, मानसिक तथा सामाजिक विकासका लागि प्रत्येक सामुदायिक विद्यालयमा गुणस्तरीय प्रारम्भिक बाल विकास (ECD) केन्द्रको स्थापना गरिनेछ। बालबालिकाको स्वास्थ, पोषण र प्रारम्भिक सिकाइको वातावरण सुनिश्चित गर्दै पोषणयुक्त आहाराको नियमित व्यवस्था, शिक्षक क्षमता अभिवृद्धि, बालमैत्री पूर्वाधार निर्माण तथा अभिभावक सहभागिता अभिवृद्धि कार्यक्रमहरू संचालन गरिनेछ।


आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र प्रविधिमैत्री बनाई सबै नगरवासीसम्म पुर्‍याउने, स्वास्थ्य पूर्वाधारको विकास, जनशक्ति व्यवस्थापन, रोकथाममूखी कार्यक्रम, मानसिक स्वास्थ्य, पोषण, आयुर्वेद चिकित्सालाइ प्रवर्तन गर्दै दीगो र समावेशी स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक कार्यक्रम प्रभावकारी बनाई “स्वस्थ्य शहर” बनाउनका लागि आवश्यक कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनेछ।


काठमाडौं महानगरको मौलिक कला, संस्कृति, भाषा र सम्पदाको संरक्षण, पुनःस्थापना तथा नवप्रवर्तन मार्फत डिजिटल प्रविधिको उपयोग, सामुदायिक सहभागिता, “लाइभ हेरिटेज” अनुभव, रात्रीकालिन पर्यटन र वातावरणमैत्री जस्ता कार्यक्रम मार्फत् पर्यटकीय पूर्वाधार प्रवर्द्धन गरी, सांस्कृतिक पर्यटनलाई स्थानीय रोजगारी,  शिक्षा र अन्तर्राष्ट्रिय बजारसँग जोड्दै क्रमशः समृद्ध सांस्कृतिक अर्थतन्त्र निर्माणमा जोड दिइनेछ । 
जलवायु संकट र फोहोर व्यवस्थापनलाई दीर्घकालीन समाधान गर्न “Zero Waste City” अभियान, Source Segregation, Waste-to-Energy, सामुदायिक पुनः प्रयोग केन्द्र, शहरी वन जस्ता अवधारणाहरुको कार्यान्वयन  र नागरिक सचेतनामूलक कार्यक्रम मार्फत नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वातावरणमैत्री र दिगो सहरी विकास प्रणाली निर्माणका लागि कार्यक्रमहरू ल्याइनेछ ।


विपद् व्यवस्थापनको लागि पूर्व तयारी, प्रतिकार्य र पुनर्स्थापनालाई समग्ररूपमा समेट्दै भू-सूचना प्रणाली (GIS) स्थापना, खुला ठाउँ संरक्षण, Emergency Operation Center को संचालन, निजी क्षेत्र र नागरिक समाजसँग सहकार्यजस्ता नवप्रवर्तनात्मक उपायमार्फत मानव केन्द्रित, प्रविधिमैत्री एकीकृत विपद् व्यवस्थापन प्रणाली निर्माण गरिनेछ।सामुदायिक आपतकालीन टोली, भवन बीमा र STP जडान विस्तार गरिनेछ। डुबान समस्या समाधान, आगलागी नियन्त्रण, भूकम्प जस्ता जोखिम व्यवस्थापनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ। 


प्रविधि, संस्कृति र जीवनशैलीको संगम मार्फत महानगरलाई डिजिटल युगको “स्मार्ट सिटी” तथा अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्न, IT हब, Co-working Space, डिजिटल नोम्याड फ्रेन्डली पूर्वाधार, बहुभाषिक सूचना प्रणाली निर्माण तथा विकास गरिनेछ । साथै किफायती जीवनशैलीको प्रवर्द्धन गर्दै महानगरलाई फिल्म सिटी रुपमा विकास, धार्मिक/आध्यात्मिक पर्यटन प्रवर्धन र 'Live, Work & Explore Kathmandu' जस्ता अभियानमार्फत काठमाडौंलाई नवप्रवर्तन, अध्यात्म, पर्यटन र जीवनशैलीको आकर्षक केन्द्र बनाइनेछ ।


संयुक्त राष्ट्र संघको Smart & Inclusive City मापदण्ड, ISO 37122 Smart City Indicators, तथा संघीय मापदण्ड अनुसार “Smart City”  का लागि आवश्यक पूर्वाधार निर्माणलाइ प्रथामिकता दिइनेछ ।“Cosmopolitan City” घोषणाका लागि आवश्यक मापदण्डहरू क्रमिक रूपमा पूरा गरी संघीय सरकारसँग आवश्यक पहल गरिनेछ। स्मार्ट सहरहरूको अन्तर्राष्ट्रिय सञ्जालमा सहभागी हुँदै काठमाडौंलाई Sister City सम्बन्ध विस्तार, अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा साझेदारी तथा असल अभ्यासको आदानप्रदान गरी अन्तर्राष्ट्रियकरण गरिनेछ। 


बालबालिका, युवा तथा परिवार लक्षित खेल मैदान, सामुदायिक मनोरञ्जन केन्द्र, खुला व्यायामस्थल र विशेष आवश्यकता भएका व्यक्तिका लागि Inclusive Recreation Zone निर्माण गरिनेछ। साथै ज्येष्ठ नागरिकको पहुँच, सुरक्षा र सम्मान सुनिश्चित गर्न "Senior Citizen Friendly Zone", बहुउपयोगी सेवा केन्द्र, नियमित स्वास्थ्य परीक्षण तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ।


स्थानीय खाद्य सुरक्षाको सुदृढीकरण, स्वच्छ तथा व्यवस्थित हाटबजार सञ्चालन, होटल– रेष्टुरेन्ट होस्टेल तथा खाद्य व्यवसायहरूको गुणस्तरीय सेवा सुनिश्चित गर्न नियमित अनुगमन, दर्ता र मापदण्डमा आधारित नियमन प्रणाली लागू गरिनेछ । अन्य पालिकाहरूसँग MoU गरी Agropooling तथा Metromart कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ, जसबाट सुरक्षित, स्वदेशी र ताजा खाद्य आपूर्ति सुनिश्चित गर्दै “Safe Food Kathmandu” अभियानमार्फत उपभोक्तासम्म गुणस्तरीय खाद्य वस्तु आपूर्तिका लागि प्रबन्ध मिलाइनेछ।


सार्वजनिक सुरक्षाको लागि नगर प्रहरीको क्षमता अभिवृद्धि, स्मार्ट गस्ती प्रणाली, CCTV विस्तार, रात्रीकालीन निगरानी प्रणाली तथा डिजिटल रिपोर्टिङ प्रणाली विकास गरिनेछ।


हाल संचालन मा रहेका PPP मोडलमा संचालित आयोजनाहरुको कार्यान्वयन प्रभावकारिता अध्ययन तथा सम्झौताहरुको समयानुकुल पुनरावलोकन गरिनेछ। पूर्वाधार विकास, सेवा प्रवाह र नवप्रवर्तनात्मक कार्यक्रमहरूमा निजी क्षेत्रको दक्षता, पूँजी र प्रविधिको उपयोग गर्न सार्वजनिक–निजी साझेदारी (PPP) नीति तयार गरी पारदर्शी प्रक्रिया र स्पष्ट मापदण्डका आधारमा PPP मोडलमार्फत सहकार्य गरिनेछ।


दिगो, समावेशी र प्रविधिमैत्री सहरी पूर्वाधार निर्माणका लागि डिजिटल नक्सांकन, सेवा बिन्दुहरुको लागि आफ्नै पूर्वाधार, स्मार्ट सडक तथा ट्राफिक प्रणाली, खुला चोक र पैदलमैत्री क्षेत्र विकास, भूमिगत तथा एकीकृत संचार प्रणाली बिस्तार, स्मार्ट स्ट्रीट लाइट जडान, साना सहरी पार्क निर्माण, नविनतम निर्माण प्रविधिको प्रयोग, One-Door Construction Approval प्रणाली र सामुदायिक सहभागितामा आधारित योजना तर्जुमा तथा कार्यान्वयन गरी सुरक्षित र व्यवस्थित काठमाडौं निर्माणमा जोड दिइनेछ । 
अन्त्यमा, 
प्रस्तावित नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यक्रम र बजेट यसै सभाबाट स्वीकृत भए वमोजिम हुने व्यहोरा जानकारी गराउँदै नीति, कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्न हामी सबैको सामूहिक प्रतिवद्धता र सोही बमोजिमको क्रियाशीलता आवश्यक हुन्छ ।
महानगरवासी, नागरिक समाज, विभिन्न तहका सरकारका निकाय, निजी क्षेत्र, महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको निरन्तर सहयोग, समन्वय र सक्रिय सहभागिताको अपेक्षा गर्दै हालसम्म प्राप्त साथ, सहयोग र समन्वयको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

तीन पूर्व सचिवहरु रास्वपाको विज्ञ सल्लाहकार मनोनित

नियुक्त भएका तीनैजना विज्ञ सदस्यहरू विगतमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, जल तथा ऊर्जा आयोग लगायतका निकायहरूमा नेतृत्वदायी भूमिकामा रहीसकेका छन् ।
मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ

मन्त्री राजकुमारलाई घुस दिने विचौलीया पूर्वमन्त्री तथा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ
केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन:  प्रधानमन्त्री ओली

आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।
अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

अश्लीलता फैलाएको भन्दै शान्तिश्री,प्रियंका देखि रामजी खाँड सहितका ३ गीतविरुद्द साइबर ब्युरोमा उजुरी

संस्थाका अनुसार, ती गीतमा प्रयोग गरिएका शब्द, हाउभाउ र प्रस्तुत शैलीले सामाजिक र सांस्कृतिक संवेदनशीलतालाई ठेस पुर्‍याएको छ। आइतबार अपरान्ह संस्थाका पदाधिकारीहरू साइबर ब्युरो कार्यालयमा पुगेर औपचारिक उजुरी...

भर्खरै