नेभिगेशन
समाज

फेसबुक लगायतलाई बन्द गर्ने धम्की, जुवा खेलाउने एपलाई लाइसेन्स प्रदान

काठमाडौँ । नेपाल सरकारले एक साता भित्र दर्ता नभए सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जाल बन्द गर्ने हरप्रयास गरिरहेको सरकारले जनतालाई लुटिरहेको एप भने दर्ता गरेपनि नियमन गर्न नसकेको तथ्य भेटिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अनलाईन स्ट्रिमिङको आवरणमा खुल्लमखुल्ला जुवा खेलाइरहेको एप पोप्पो लाइभको बारेमा हामीले यसअघि नै २ ओटा श्रृङ्खलामार्फत खुलासा गरिसकेका छौँ ।  

Ncell
Extreme Energy

पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास

निरन्तर खबरदारी गर्दा पनि वेवास्था गर्दै आएको सरकारले पोप्पो एप दर्ता भैसकेपछि यसको नियमनमा रुची देखाएको छैन । केही समयअघि टेलिग्राम बन्द हुँदा पोप्पोबाट ठगिएका नागरिकहरु पोप्पो पनि बन्द हुनेमा निकै आशावादी बनेका थिए । तर सरकारले त्यो एपको बारेमा बुझ्नु त परको कुरा उल्टै दर्ता गरेर खुल्लमखुल्ला नागरिक लुट्नको लागि लाईसेन्स दिएको छ । 

सर्वोच्च अदालतले विदेशी सामाजिक सञ्जाललाई पनि अनिवार्य दर्ता गर्नु भनी निर्देशनात्मक आदेश गरेपछि भदौ ९ गते मन्त्रीपरिषद्बाट भएको निर्णय अनुसार भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ७ दिन भित्र सुचिकरण हुन निर्देशन दिइएको छ । नभए बन्द गर्ने भनिएको छ । सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकारकाअनुसार अहिलेसम्म ५ ओटा सामाजिक सञ्जाल दर्ता हुन आएका छन् । अन्य २ दर्ताको प्रक्रियामा छन् । दर्ता हुनेहरुमा टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ रहेका छन् । 

पोप्पो लाइभ करिब १ महिनाअघि दर्ता हुन आएको थियो । यसको बाहिरी आवरण र भित्री धन्दा निकै फरक छ । यो एपको दुनियाँ कति भयंकर छ भन्ने विषयमा हामीले यसअघि नै भिडियो बनाईसकेको छौँ । हामीले रिपोर्ट प्रसारण गरेको केही समयपछि यो एप दर्ताको लागि मन्त्रालय पुगेको पाइएको छ । 

यो एपले आफूलाई लाइभ स्ट्रिमिङ एप भनेर परिचित गराएको छ । सुरुमा यो एप खोल्दा त्यस्तै लाग्छ । लाखौँ प्रयोगकर्ताहरु यो एपमा लाइभ बसिरहेका हुन्छन् । टिकटकमै जस्तै यहाँ पनि गिफ्ट साटासाट चलिरहेको हुन्छ । 
एप इन्स्टल गरेर अकाउन्ट बनिसकेपछि सुरुमा अरु मानिसहरुले होस्ट गरेको लाइभमा जोइन हुनुपर्छ । लाइभ होस्ट गरेर बसेकाहरुलाई गिफ्ट दिनुपर्छ । त्यो गिफ्ट सित्तैमा पाइदैन । किन्नुपर्ने हुन्छ । जसका लागि यो एपका एजेन्टहरुबाट क्वाइन किन्नुपर्ने हुन्छ । १ लाख क्वाइन किन्नको लागि नेपाली १६०० रुपैयाँ पर्छ ।  

त्यो क्वाइनलाई गिफ्टमा कन्भर्ट गरेर लाइभ बसेकाहरुलाई दिन सकिन्छ । त्यहाँ तोकिएका ४ स्टेप पार गरेपछि । पुरुषहरुले आफैँले होस्ट गरेर फेस लाइभ गर्न पाउनुहुन्छ । तर महिलाले भने एपमा अकाउन्ट बनाउनेवित्तिकै लाइभ होस्ट गर्न पाउँछन् । किनभने यो एपले महिलालाई बढी टार्गेट गर्छ । 

तपाईँ लाइभ बस्दैगर्दा पोप्पोले अर्को पैसो कमाउने सर्टकर्ट बिधि खुल्ला गरिदिन्छ । त्यो हो जुवा खेल्ने । त्यहाँ स्पिन गरेर खेल्ने खेल हुन्छ । यसमा पनि क्वाइन किन्नु अनिवार्य नै छ । तपाईँले १६०० रुपैयाँमा किनेको १ लाख क्वाइन गेमका लागि कन्भर्ट गर्दा ७० हजार क्वाइन मात्र हुन्छ । अब तपाईँले आफूसँग भएको क्वाइन दाउमा राखेर स्पिन गर्दै गेम खेल्न थाल्नुहुन्छ । लगातार ५ पटक ६ पटकसम्म स्पिन गर्दा तपाईँले एउटै संकेत पार्नुभयो भने तपाईँले हालेको दाउ बराबरको क्वाइन जित्नुहुन्छ र पछि त्यसलाई पैसामा कन्भर्ट गराउन सक्नुहुन्छ । 

यहाँनिर रोचक कुरा के छ भने नयाँ प्रयोगकर्ताले सुरुसुरुमा आफूले हानेको दाउ जित्छन् । लाइभ बसेर पैसा कमाउन नसकेका उनीहरु गेम खेलेर पैसा कमाइदो रहेछ भनेर दंग पर्छन् । नयाँ प्रयोगकर्तालाई यो एपले यसरी विश्वास दिलाईदिन्छ कि उसलाई यो एपको कुलत लाग्छ । अब उसको कन्फिडेन्स बढ्दै जान्छ । उ जोस्सिदै ठूलो ठूलो दाउ खेल्दै जान्छ । जोसै जोसमा उसले आफ्नो बैंक खाता रित्तिएको पत्तै पाउँदैन । किनभने यो एपको एलगोरिदम नै प्रयोगकर्ताले हार्ने गरी विकास गरिएको हुन्छ । यसरी नै लाइभ बस्दै जुवासम्म पुगेर लाखौँ ठगिएर फर्किएका धेरै प्रयोगकर्ताहरुले आफू ठगिएको भन्दै हामीसँग गुनासो गरेका छन् । 

कानुनले के भन्छ ? 
मुलुकी अपराध संहिता २०७४ ले संहिता अनुसार जुवा भन्नाले कुनै संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने खेल वा प्रक्रिया सम्झनु पर्छ । संहिताको दफा १२५ मा जुवा खेल्ने र खेलाउनेलाई के हुन्छ भनेर उल्लेख गरिएको छ । 

उक्त दफामा उल्लेख भए अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनछ । दोस्रो पटकमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। साथै, जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चल अचल सम्पत्ति जफत गर्ने कानुनी प्रावधान छ । 

सोही दफामा तर देहायको कुनै खेल वा कार्यक्रमलाई जुवा मानिने छैन भनिएको छ । जस्तै कुनै सार्वजनिक महोत्सव, मेला, पर्व, चाड, प्रदर्शनी वा समारोहमा मनोरञ्जनका लागि कुनै सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी नेपाल सरकारको स्वीकृति लिई सञ्चालन हुने खेललाई जुवा मानिने छैन भनिएको छ । त्यस्तै अधिकार प्राप्त अधिकारीको स्वीकृति लिई सञ्चालन भएको चिठ्ठालाई पनि जुवा मानिने छैन भनिएको छ ।

कानुनले मनोरञ्जनको लागि सरकारी निकायको स्वीकृति लिइ खेलाइएको खेललाई जुवा नमान्ने भनेको छ । अब पोप्पोले यही बुँदाको फाइदा उठाउन सक्ने जानकारहरु बताउँछन् । अहिले उसले मनोरञ्जनको प्रयोजनको लागि भन्दै एग्रिमेन्ट गराएर जुवा खेल्ने सेगमेन्टमा पठाउने गरेको छ । अनी यता सरकारी निकायमा दर्ता पनि भएको छ । अब उसले सरकारमा दर्ता गरेर गरेर जुवा अड्डा चलाउन पाउने भएको छ । तर सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुर भने त्यस्तो नहुने बताउँछन् । अब दर्ता गरेपछि अनुसन्धान गर्न र कारबाही गर्न झन् सहज हुने उनको दावी छ । 

‘यस्तै समस्या नियमन गर्नको लागि दर्ताको व्यवस्था ल्याइएको हो । अब प्रहरी अनुसन्धानका लागि उसले आफ्नो विवरण दिनुपर्ने हुन्छ । पहिले कहाँ कसलाई खोज्ने भन्ने थिएन । अब त दर्ता भएको छ ।’ प्रवक्ता ठाकुरले भने । 
प्रहरी अनुसन्धानबाट दोषी ठहर भए कारवाही हुने प्रवक्ता ठाकुर बताउँछन् । तर दर्ताको लागि आएका खण्डमा आफूहरुले दर्ता गर्नुपर्ने उनको तर्क छ । 

आवरण नै परिवर्तन गरेर मन्त्रालयमा दर्ता
करिब १ महिनाअघि हामीले यो एपको बारेमा समाचार बनाउँदा र अहिले यो एपको सम्पूर्ण अवरण नै परिवर्तन भएको पाइएको छ । यो एपको नाम लेखिएको थियो ‘पोप्पो लाइभ–लाइभ स्ट्रिम’ । त्यस्तै वेबसाइटमा पनि ‘लाइभ स्ट्रिमिङ प्लेटफर्म’ भनेर खुलाएको थियो । विश्वभरका देशहरूलाई जोड्ने, वास्तविक मानवीय समुदाय निर्माण गर्ने र रमाइलो तथा रोचक मनोरञ्जन प्लेटफर्म तयार पार्ने, उच्चस्तरीय अनलाइन स्टारहरू निर्माण गर्ने उद्देश्य रहेको यो एपको दावी थियो । त्यस्तै यसले आम मानिसहरूको स्टार बन्ने सपनालाई निरन्तर प्रयासमार्फत साकार पार्न चाहेको दावी गरेको थियो ।

संसारभरका व्यक्तिसँग सम्बन्ध स्थापना गर्न र नयाँ साथीहरु बनाउन यो एपले सहयोग गर्ने वेबसाइटमा बताइएको छ । त्यो समयमा यो कहाँबाट कसले अपरेट गर्छ भन्ने केही खुलाइएको थिएन । वेबसाइटको अन्तमा लेखिएको थियो, ‘यो वेबसाइट आधिकारिक रूपमा सञ्चालन गरिएको होइन । यो तपाईं जस्तै पोप्पो एजेन्सी पार्टनरद्वारा सञ्चालित हो ।’ 

तर अहिले यो वेबसाइटको सम्पूर्ण आवरण नै परिवर्तन भएको छ । सम्पर्क विवरण परिवर्तन गरी पोप्पो लाइभद्वारा अपरेट गरिएको उल्लेख गरिएको छ । त्यसैगरी सम्पर्कको लागि २ ओटा इमेल ठेगाना राखिएको छ भने बिभिन्न एग्रिमेन्टको लागि कन्डिसनहरु राखिएको छ । त्यतिमात्र होइन एजेन्टको कमिसन नै फिक्स गरेर खुलाइएको छ । 

प्रयोगकर्ताहरु अनुसार अहिले एप चलाउने क्रममा पनि धेरै परिवर्तनहरु गरिएको छ । पहिले ४ लेभल पार गरेपछि जुवा खेल्न सकिनेमा अहिले एग्रिमेन्ट गरेर मात्र खेल्न पाइन्छ । अहिले मनोरञ्जनको लागि मात्र हो भनेर प्रयोगकर्तालाई एग्रिमेन्ट गराइन्छ र त्यसपछि मात्र जुवा खेल्ने सेगमेन्टमा प्रवेश दिइन्छ । 

पोप्पोलाई जुवा खेलाउन लाइसेन्स प्रदान 

अहिले पोप्पो लाइभलाई पनि सूचना तथा सञ्चार मन्त्रालयले दर्ता गरिदिएको छ । मन्त्रालयमै दर्ता भईसकेपछि अब त्यो अवैध मानिने छैन । किनभने सरकारी अधिकारीको स्वीकृति भयो भने जुवा खेलाउन पाइन्छ । 

यो एपले सयौँ मानिसहरुको घरबार उजाडेको छ । कतिपयको परिवारलाई यो एपबाट लुटिएको बारेमा पनि जानकारी छैन । उनीहरुले आफू आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेको गुनासो हामीलाई सुनाएका छन् । कतिपय मानिसहरु समाजमा इज्जत जाने र कानुनले पनि जुवा खेल्ने र खेलाउने दुबैलाई दोषी करार गर्ने गरेका कारण यसको विषयमा खुल्न चाहेका छैनन् । त्यही अवस्थामा अहिले सरकारले पोप्पोलाई आधिकारिक रुपमै जुवा खेलाउन लाइसेन्स दिएको छ । 

यसघिका श्रृङ्खलाहरु

पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

विष्णु ढुंगाना सिधाकुरा डट कमका संवाददाता हुन् । 

The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

पानीको मुहान, धारा, इनार सफा गरेर नेवार समुदायले मनाए सिथि नखः पर्व (तस्बिरहरु)

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन...
काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

काभ्रे, झापा र उदयपुरका स्थानीय तहबाट पनि सुरु भयो मालपोत सेवा

यसअघि काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाबाट नापी तथा मालपोत सेवा औपचारिक रूपमा सुरु गरिएको थियो। यससँगै हालसम्म कागेश्वरी मनोहरा, शिवसताक्षी, भुम्लु र चौदण्डीगढी गरी चार स्थानीय तहबाट स्थानीय स्तरमै...
झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

गत हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका थिए । उनीहरूले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम...
नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

प्रहरीसँग सम्बन्धित १० हजार ९७५ वटा गुनासो दर्ता भएका छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित पाँच हजार ४५, गृह मन्त्रालयसँग सम्बन्धित तीन हजार १२८, एकीकृत डाटा व्यवस्थापन...

भर्खरै