नेभिगेशन
समाज

जब शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमै सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन कार्यभार सम्हाल्न केशरमहलस्थित मन्त्रालय आउने तयारी हुँदा कर्मचारीमा उनलाई कसरी स्वागत गर्ने भन्ने अन्योल देखिन्थ्यो । मन्त्री पुनले राष्ट्रपति भवनमा सपथ लिनुअघि आफूलाई खादा लिएर बधाई दिन नआउन र मन्त्री नभन्न सामाजिक सञ्जालमार्फत अपिल गरेकाले खादा, माला र फूलबाट स्वागत गर्न मन्त्रालयका कर्मचारीहरू हच्किएका थिए । तथापि, फूलका केही गुच्छा र एउटा रुद्राक्षको माला लिएर कर्मचारीहरू स्वागतका लागि मन्त्रालय परिसरमा उभिएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज सार्वजनिक बिदा भएकाले कर्मचारीको भीडभाड थिएन । पानी परेकाले कर्मचारी र सञ्चारकर्मीहरू परिसरको ओत लाग्ने ठाउँमा  बसेका थिए । मन्त्री पुनभन्दा केही मिनेट अगाडि शपथ ग्रहण कार्यक्रमबाट केशरमहल आएका मन्त्रालयका सचिवहरूका हातमा अरु कर्मचारीले मन्त्रीलाई स्वागतका लागि पुष्पगुच्छा दिए । 

Ncell
Extreme Energy

एकछिनपछि मुस्कानसहित एक हात हल्लाउँदै मन्त्री पुन  मन्त्रालय छिरे । उनले रातो रङ्गको गलबन्दी जस्तो खादा लगाएकाले रुद्राक्षको माला लगाइदिन कर्मचारीलाई केही सजिलो भएको देखिन्थ्यो ।

केशरमहलस्थित मन्त्रालयमा पदबहालीसँगै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठन कार्यादेश समावेश गरिएको प्रस्ताव स्वीकृत गरे । समितिका लागि समिति बनाउन नहुने र समितिमा राखिएकाहरूले साँच्चिकै निस्वार्थ भएर योगदान दिनुपर्ने उनको जोड थियो । यसका लागि बजेट पनि आवश्यक हुने भन्दै उनले चासो राखेका थिए । तत्पश्चात् मन्त्रालयका विभागीय प्रमुखलाई निर्देशन दिँदै मन्त्री पुनले युवा पुस्ताको चाहनाबमोजिम नयाँ एवं सुधारका काममा सुझाव दिन विज्ञ र कर्मचारीलाई आग्रह गरे । 

उनले आफू एक्लैले गरेर केही नहुने भएकाले शुद्ध मनले नयाँ सोचसहित सुझाव दिन सबैलाई आगह गरे । “म जस्तोसुकै परिस्थितिमा पनि काम गर्न पछि नहट्ने मान्छे हुँ । मन्त्री हुँदैमा ठुलो मान्छे भएको छैन । दैनिक काममा मेरो खास रुचि हुँदैन”, मन्त्री पुनले भने, “जेनजी समूहको आन्दोलनको मर्मअनुसार मुलुकमा भ्र्रष्टाचार र बदमासी हुनु भएन । म जेनजीहरूको दाइ हुँ । शिक्षा मन्त्रालयमा पनि कुनै बदमासी छ भने रोकिनुपर्छ । ढिलासुस्ती हुनु भएन ।’’

उनले आफूले २०८० वैशाख १८ मा गरेको धर्नापछि विकास बजेटको एक प्रतिशत रकम वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विनियोजन गर्न ६० दिनभित्र विधेयकको मस्यौदा तर्जुमा गर्न  तत्कालीन सरकारसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको स्मरण गरे । सीमित स्वार्थका लागि देशको स्वार्थलाई ओझेल नपार्न आग्रह गर्दै मन्त्री पुनले प्रतिनिधिसभा नरहेको अवस्थामा विद्यालय शिक्षा विधेयक ल्याउन नसकिने स्थितिमा कसरी काम गर्ने भन्ने विकल्प ल्याउन तथा कार्यविधिबाट काम गर्न सकिने अवस्थाबारे जानकारी दिन आग्रह गरे । 

विज्ञान तथा प्रविधि क्षेत्रमा मन्त्रालय स्थापना भएको ३० वर्ष भए पनि खास केही काम गर्न नसकिएको टिप्पणी गर्दै मन्त्री पुनले यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट खोज्नुपर्नेमा जोड दिए । 

दृष्य बदलियो...

वैज्ञानिक खोज, अनुसन्धान, पुस्तक लेखन र आफ्नो पुस्तक बेच्न आफैँ देशका विभिन्न ठाउँमा घुम्दै आउनुभएका मन्त्री पुन आफू मन्त्री हुनुलाई एक प्रकारले दृष्य परिवर्तनको संज्ञा दिए । “सिनेमामा झैँ मेरो जीवनमा पनि दृष्य बदलिएको छ । डाँडाकाँडामा हुने मान्छे एकैपटक मन्त्रालयमा आएको छु”, उनले भने, “मन्त्री भएपछि आविष्कार केन्द्रमा बस्न मिल्दैन । म जहाँ काम गर्छु, त्यही बस्ने हो । यसकारण मलाई मन्त्रालयमा एउटा सुत्ने ठाउँ र भान्छाको व्यवस्था गर्न निर्देशन दिन्छु ।’’ 

मन्त्री पुनले आफूलाई मन्त्रालय बाहिर जाँदा व्यक्तिगत सुरक्षा कर्मचारी नचाहिने स्पष्ट गर्दै सरकारी बाहेकका काममा जाँदा सरकारी गाडी प्रयोग नगर्ने घोषणा पनि गरे । 

उनलाई सचिवहरू चूडामणि पौडेल र विश्वबाबु पुडासैनी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालगायतले स्वागत गरेका थिए । गत भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी र तोडफोड भएकाले हाल केशरमहलबाट मन्त्रालयको काम सञ्चालन भएको हो ।

रोमन म्यागसेसे पुरस्कार विजेता मन्त्री पुन नेपाली वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी तथा हिमालयका दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट प्रविधिको प्रयोगमा योगदान गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । 

उनको कार्यलाई अशोका फाउन्डेसन, रोमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैङ्कले मान्यता दिएको छ । नेब्रास्का विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर पुनले विदेशमा अध्ययन र अध्यापनपछि आफू जन्मिएको म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँमा ताररहित इन्टरनेटको सफल सञ्चालन गरेका थिए । पछिल्लो समय उनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका साथै वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि अभियान सञ्चालन गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै