नेभिगेशन
समाज

धुर्मुस सुन्तलीः कलाकारिताले हाईहाई, समाजसेवाले खाइ न पाइ

काठमाडौँ । कुनै दिन सबैलाई हँसाउने सिताराम कट्टेल ‘धुर्मुस’, अहिले दिनरात रोएर हिँडेका छन् । कलाकारिताले सफलताको शिखरमा पुगेका उनलाई समाजसेवाले शून्यमा झारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिवारका सदस्यका अनुसार धुर्मुस शारीरीक तथा मानसिक दुबै रुपमा कमजोर भएका छन् । यो सबै हुनुको कारण चितनवमा अलपत्र गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने उद्देश्य र पछिल्लो समय सरकारी निकायबाट झेल्नुपरेको हैरानी र हन्डर हो । 

Ncell
Extreme Energy

२०७५ माघ १६ गते । काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको फ्रन्ट रोमा बसेका थिए तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका तत्कालिन महामन्त्री सशांक कोइराला, तत्कालिन खेलकुदमन्त्री लगायत उच्च पदस्थहरु । उक्त कार्यक्रमको आयोजना गरेको थियो धुर्मुस सुन्तली फाउन्डेसनले । र तिनै उच्च पदर्थ नेताहरुसँगै थिए धुर्मुस पनि । 

भूकम्पछि जनताको बस्ती सफलतापूर्वक निर्माण सम्पन्न गरेका धुर्मुस सुन्तलीको चर्चाको कुनै सिमा थिएन । धुर्मुसलाई प्रधानमन्त्री बनाउनुपर्ने माग त्यतिबेला ज्यादै नै भएको थियो । त्यतिबेला नेपाली क्रिकेटले सफलताको खुड्किला एकपछि अर्को गर्दै उक्लिरहेको थियो । दुईओटा बस्ती निर्माण सकेर जनताको हाइहाइ भएका धुर्मुस सुन्तलीले जनभावना अनुसार क्रिकेट रंगशाला बनाउने प्रस्ताव गरे । 

देशभर रंगशाला निर्माणको उपयुक्त स्थानको खोजी भयो । उनीहरुले चितवनमा रंगशाला बनाउने निधो गरे । चितवनको रामपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको कृषि क्याम्पसले रंगशाला निर्माणको लागि २० बिघा ६ कठ्ठा जमिन उपलब्ध गराउने सहमति भरतपुर महानगरलाई दियो । 

यो कार्यक्रम त्यही रंगशाला निर्माणको औपचारिक घोषणाको लागि आयोजना गरिएको थियो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, खेलकुदमन्त्री समेत साक्षी राखेर धुर्मुस सुन्तलीले रंगशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए । 

त्यतिबेला रंगशाला निर्माणको लागि ३ अर्ब ५५ करोड लागत अनुमान गरिएको थियो । सो रंगशालामा ३० हजार दर्शक अट्ने र ३ हजार दर्शकका लागि बस्ने प्याराफिट हुने भनिएको थियो । राज्य हुँदा हुँदै दुई जना व्यक्तिले यति ठूलो महत्वकांक्षी योजनाको घोषणा गर्दैगर्दा सरकारका नेतृत्वकर्ताहरु मुखदर्शक बनिरहेका थिए र धुर्मुसलाई उक्साईरहेका थिए । 

रंगशालाको निर्माण अघि बढ्न थाल्यो । धुर्मुस सुन्तली देश विदेशबाट सहयोग जुटाउनतिर लागे । उनीहरुले मेची महाकाली अभियान चलाए, महायज्ञ लगाए, कुर्सीमा नाम लेखाए बापत रकम तोके, नगद जिन्सी जे हुन्छ त्यही सहयोग ग्रहण गर्न थाले । 

सुरुवातमा क्रिकेट स्टेडियम निर्माणको कार्य उत्साहजनक नै चल्यो । उनीहरुले नमुना ग्राउण्ड तयार गरे । त्यहाँ च्यारिटी खेल पनि खेलाए । निर्माणले गति लिदै गयो । 

तर बिस्तारै धुर्मुस सुन्तली ठूलो दलदलमा फस्दै गए । सरकारी तथा केही व्यक्तिहरुले कबोल गरेको रकम उठ्न सकेन । तत्कालिन बागमति प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले ३० करोड उपलब्ध गराउने घेषणा गरेका थिए । भरतपुर महानगरले १६ करोड दिने बताएको थियो । चितवन महानगरले त आफ्नो योजनामै रंगशाला निर्माणलाई राखेको थियो । 

तर न त सरकारी निकायले भनेजस्तो रकम विनियोजन गर्यो न त रकम कबोल गरेर चर्चामा आएका व्यक्तिहरुले नै आफ्नो प्रतिवद्धता पुरा गरे । सरकारी र व्यक्तिगत प्रतिवद्धता गरिएको रकम आउने विश्वासले धुर्मुस सुन्तलीले धमाधम निर्माण अघि बढाईरहेका थिए । तर उनीहरुले श्रमिकको ज्याला, सप्लायर्सको उधारो चुकाउन सकेनन् । २०७८ साउन २२ गतेबाट रंगशाला निर्माणको काम ठप्प भयो । यो समयसम्म रंगशालाको ३९ प्रतिशत काम भईसकेको थियो । 

यो समयसम्म पहिले प्रधानमन्त्री बनाउनुपर्छ भनिएका धुर्मुसको छिटपुट आरोप र आलोचना सुरु भइसकेको थियो । फाउन्डेसनको पैसा फिल्ममा लगानी गरेको, आफैँले फिल्म खेलेर चर्को पारिश्रमिक लिएको, फाउन्डेसको पैसामा अनियमितता गरेको लगायतका आरोपहरु उनीहरुमाथि लगाइएको थियो । रंगशालाको काम ठप्प भएपछि भने उनीमाथि चौतर्फी आलोचना सुरु भयो । 

२०७८ साउन २२ गतेबाट रंगशाला निर्माण ठप्प भएपछि नागरिकहरुले धुर्मुस सुन्तलीसँग आन्दानी र खर्चको हिसाब माग गरेको थिए । तर लामो समयसम्म उनीहरुले सार्वजनिक रुपमा खर्च विवरण बुझाएनन् । सोही समयमा उनीविरुद्ध अख्तियारमा उजुरी समेत परेको थियो । 

धुर्मुस सुन्तली फाउन्डेसले २०७८ पुस २ गते औपचारिक रुपमा हात उठायो र स्वमित्व लिइदिन भरतपुर महानगरलाई आग्रह गर्यो । भरतपुर महानगरले केही ढिला गरी रंगशालामा भएका कामको स्वतन्त्र लेखापरीक्षण गरायो । 
महानगरले गरेको उक्त स्वतन्त्र लेखापरीक्षणका क्रममा सरकारी निकायबाट ११ करोड ८४ लाख ९२ हजार प्राप्त भएको देखियो । जबकी बागमति प्रदेश र भरतपुर महानगरले ले मात्रै ३० र १६ गरी ४६ करोड उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए । 

उक्त लेखापरीक्षणमा धान्यान्चलबाट ९ करोड ४१ लाख, सर्वसाधारणको व्यक्तिगत सहयोगबाट ६ करोड ६९ लाख, मेची महाकाली अभियानबाट १ करोड ८ लाख, कुर्सी बुकिङबाट ३८ लाख ३६ हजार, अन्यय कोषबाट २ करोड १४ लगायत गरी कुल ३९ करोड ८० लाख ३८ हजार ५ सय ८८ रुपैयाँ रकम प्राप्त भएको देखियो । 

महानगरको लेखा परीक्षण्मा ५७ करोड ९२ लाख ८५ हजार ७ सय ३८ रुपैयाँ बराबरको खर्च भएको देखियो । खर्चमध्ये १८ करोड ४३ लाख ऋण देखियो । 

महानगरको स्वतन्त्र लेखापरीक्षण प्रतिवेदनमा अध्ययन गर्न संघीय युवा तथा खेलकुद मन्त्रालयमा पठाइयो । त्यसपछि मन्त्रालयले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । अहिलेसम्म गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको आन्दानी, खर्च र त्यहाँको संरचनाबारे ६ ओटा अध्ययन भएर प्रतिवेदन बनिसकेका छन् । 

फाउन्डेसन र भरतपुर महानगरपालिका, भरतपुरकै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रले अलग अलग प्राविधिक मूल्यांकन गरेका छन् । 

पछिल्लो समय त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ कलेजले प्रविधिक मूल्यांकन गरेको छ । २०८२ भदौ १६ गते पुल्चोक इन्जिनियरिङ कलेज, भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेसन बीच प्राविधिक मूल्यांकन गराउने त्रिपक्षीय समझदारी भएको थियो । सोही सहमति अनुसार सहायक डिन डा. सुरज लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा फाउन्डेसनले ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँ बराबरको काम गरेको जनाएको छ । 

उक्त प्रतिवेदनमा नमुना क्रिकेट मैदान निर्माण गर्दाको खर्च, कालो माटो र सो को ढुवानी को २३ लाख ७४ हजार, मैदानमा दुवो रोप्दा खर्च भएको ३९ लाख ३७ हजार रुपैयाँ जोडिएको छैन । 

र यही प्रतिवेदनसम्बन्धी समाचारहरु बाहिरिएपछि सञ्जालमा धुर्मुसको चर्चा बढेको हो । धुर्मुस अहिले पनि रंगशालाको ऋण भुक्तानीको लागि मन्त्रालय र चितवन धाइरहेका छन् । 

गत कात्तिक २३ गते मन्त्रिपरिषद्ले अलपत्र परेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको योजनामा समेटेर तिनै तहको सरकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेको थियो । यस वर्ष सरकारले उक्त योजनाका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

फउन्डेसनको ऋण र सरकारले बिनियोजन गरेको रकमको तालमेल त अझै पनि मिलेको छैन । ऋण तिर्नको लागि अझै ३ करोड ४३ लाख रुपैयाँ कम हुने देखिन्छ । अहिले १५ करोड नै ऋण तिर्न पाएपनि आफ्नो टाउकोमा रहेको ठूलो भारी कम हुने आशामा धुर्मुस देखिन्छन् । 

धुर्मुस सुन्तली फाउन्डेसनले महानगरलाई स्वामित्व हस्तान्तरण गरेपछि अहिले भरतपुर महानगरले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई निर्माणको जिम्मा दिएको छ । २०८३ पुस २२ गते रंगशाला निर्माण सम्पन्न गर्नेगरी ७८ करोड ५० लाख ११ हजार १८९ रुपैयाँमा ठेक्का लगाइएको छ । 

रंगशाला सरकारको जिम्मा लगाएर त्यहाँ भएको कामको मूल्यांकन गरी तिर्न बाँकी रहेको रकमको जिम्मेवारी सरकारले लिगिदियोस र रंगशालामा खर्च भएको पैसा र मेहनत खेर नजाओस् भनेर धुर्मुस मन्त्रालय धाउन थालेको ५ वर्ष बढी भइसेकेको छ । तर उनी अहिलेसम्म यो दलदलबाट उत्रन सकेका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

सेना परिचालनपछि नियन्त्रणमा आयो देवानगञ्जको अवस्था, बजार क्षेत्र सामान्य बन्दै

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना भएका थिए । घटनापछि बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयवासी...
सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

सुनसरी घटनामा छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

छलफल  लेखा समितिको बैठक कक्षमा हुने छ । छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टी समेत आमन्त्रण गरिएको छ ।
सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सुनसरी घटना प्रधानमन्त्री कार्यालयको विज्ञप्तीः शान्ति र सद्भाव कायम गर्न आग्रह

सो कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज विज्ञप्ति जारी गरेर घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइएको जनाउँदै घटनाको सत्य तथ्य छानबिन गरी आगामी दिनमा...
नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

नेपाल सरकार र जापान सरकारबीच ४१० मिलियन जापानी येन बराबरको अनुदान सम्झौता

प्रत्युत्तरमा अर्थमन्त्री डा. वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासन मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु...

भर्खरै