नेभिगेशन
समाज

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

भद्रपुर (झापा) : “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उहाँकी आमा लालमाया विश्वकर्माबीच भएको अन्तिम कुराकानी थियो । आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।

Ncell
Extreme Energy

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उहाँका सपना, योजना र परिवारका आशा सबै निभाइदियो । उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक हुनुहुन्थ्यो ।

सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो । बिहीबार दिउँसो मात्रै उहाँको शव झापा आइपुग्यो र शुक्रबार अन्त्येष्टि गरियो । “छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ”, सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भन्नुभयो, “नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो ।”

सविन टीकाराम र लालमायाका जेठा छोरा हुनुहुन्छ । उहाँले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्नुभएको थियो । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार हुनुहुन्थ्यो ।

डिप्लोमा सकेपछि उहाँले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा छ महिना ‘इन्टर्नसिप’ गर्नुभएको थियो । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गर्नुभयो । “छोराले जे काम गरे पनि मन लगाएर गथ्र्यो”, आमा लालमाया सम्झनुहुन्छ, “सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।”

त्यसपछि सविन ठूलीआमा (लालमायाको काकाकी छोरी) सँगै गोवाको एक होटलमा कामका लागि पुग्नुभयो । केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गर्नुभयो र विगत छ महिनादेखि त्यहीँ कार्यरत हुनुहुन्थ्यो । कामको वातावरण, तलब र भविष्यप्रति उहाँ सन्तुष्ट हुनुहुन्थ्यो  ।

घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिनुभएको थियो । “म काममा व्यस्त थिएँ”, लालमाया सम्झनुहुन्छ, “छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।”

एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गर्नुभयो । तर कल उठेन । “काममै व्यस्त होला भन्ने लाग्यो”, उहाँ भन्नुहुन्छ, “तर सधँै बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।” सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक हुनुहुन्थ्यो ।

“उक्त ठाउँमा काम गर्दा मेरो छोरा निकै खुसी थियो”, लालमायाले आँखा भरिँदै भन्नुभयो, “तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।” सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि विगत चार वर्षदेखि कुवेतमा काम गर्दै आउनुभएको थियो । दुवैजना छोराको शव घर आइपुगेकै दिन बिहीबार मात्रै नेपाल फर्किनुभयो ।

“घरको आर्थिक अवस्था कमजोर थियो”, लालमाया भन्नुहुन्छ, “त्यसैले श्रीमान् विदेशमै रहनुभयो । म पनि घरको अवस्था केही उकास्न सकिन्छ कि भनेर कुवेत गएँ ।” उहाँका अनुसार सविनले होटल म्यानेजमेन्ट डिप्लोमा गरेपछि आफैँले रोजगारी खोज्दै भन्न थालेका थिए, “अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दुःख दिन्न ।”

सविनको कामप्रतिको इमानदारी देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए । “उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्”, बुबा टीकाराम बताउनुहुन्छ, “हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दुःख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।”

सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । दाइ कहिले फर्किन्छन् भनेर सोध्ने उनीहरूका प्रश्नको जवाफ कसैसँग छैन ।

भारतको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रूपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रूपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा (मामाको छोरा) ले जानकारी दिनुभयो ।

“गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो”, उहाँले भन्नुभयो, “त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।” आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन । सविन विश्वकर्माको कथा केवल एक दुर्घटनाको विवरण मात्र होइन, परदेशी श्रम, परिवारको जिम्मेवारी र अधुरै रहन पुगेका सपनाको कथा हो –जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाइँदै बकर इद (इदुल जोहा)

मनाइँदै बकर इद (इदुल जोहा)

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल...
समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार समस्याग्रस्त घोषित २०  सहकारीका १० हजार भन्दा कम बचत मागदाबी भएका साना बचतकर्ताहरुको बचत फिर्ताको कार्य चरणबद्ध रुपमा भईरहेको छ। तर हालसम्म चक्रिय...
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ को आवेदन

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ को आवेदन

आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको कामपाले जानकारी दिएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत...
‘३० दिन भयो, अझै घर छैन’ भन्दै सुकुमबासीको प्रदर्शन(तस्बिरहरु)

‘३० दिन भयो, अझै घर छैन’ भन्दै सुकुमबासीको प्रदर्शन(तस्बिरहरु)

आफूहरु बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।