नेभिगेशन
समाज

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको छ। क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै २,६६५ रोपनी ६ आना १ पैसा १ दाम, रसुवामा ५९१ रोपनी ९ आना १ पैसा २ दाम र धादिङमा २२ रोपनी ३ पैसा १ दाम जग्गा पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ।

Ncell
Extreme Energy

पहिचान गरिएका जग्गामा सरकारी तथा सार्वजनिक प्रकृतिका जग्गासँगै निजी, वन, नेपाल विद्युत् प्राधिकरण, सरकारी विद्यालय, सिँचाइ तथा निकुञ्जअन्तर्गतका जग्गासमेत छन्। ठूलो हिस्सा सरकारी र वन क्षेत्रको जग्गा रहेको समितिको अध्ययनले देखाएको छ।

समितिले पुनःस्थापनाका लागि सुरक्षित स्थानलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ। प्रभावित परिवारको साविक बस्ती नजिक भए पनि उच्च प्राकृतिक जोखिम रहेको स्थानमा पुनःस्थापना गर्न नहुने प्रतिवेदनमा उल्लेख छ। पहिचान गरिएका क्षेत्रको थप सामाजिक, आर्थिक, प्राविधिक, वातावरणीय तथा सामुदायिक अध्ययन र स्थानीयस्तरमा परामर्श गरेर मात्रै अन्तिम निर्णय लिनुपर्ने समितिको सुझाव छ।

बाढीबाट प्रभावित भई अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न स्थानीय तहबाट सिफारिस भएका जग्गाको विभिन्न सरकारी निकायका GIS Data (Topographic, Cadastral Map, Pre/Post Disaster Satellite Imagery, Existing Settlement, Land Use Map, DEM, Landslide Susceptibility Map, Drinking Water Sources, Transportation / Road Network, River Network आदी) को Multi-Criteria Analysis (MCA) प्रयोग गरी सम्भावित पुनःस्थापना क्षेत्र पहिचान गरिएको छ। उपलब्ध अभिलेख, जोखिमको अवस्था र स्थलगत अवलोकनसँग तुलना गरी सम्भावित जग्गाको उपयुक्तता परीक्षण गरिएको थियो।

पुनःस्थापनालाई केवल घर बनाउन जग्गा उपलब्ध गराउने कार्यक्रमका रूपमा अघि नबढाई सडक, खानेपानी, सरसफाइ, विद्युत्, विद्यालय, स्वास्थ्य, सञ्चार र खुला क्षेत्रलगायतका आधारभूत पूर्वाधारसहित एकीकृत बस्ती विकासको योजना बनाउन समितिले सुझाव दिएको छ। प्रभावित परिवारको सामाजिक, धार्मिक, सांस्कृतिक तथा परम्परागत रहनसहनलाई समेत पुनःस्थापना योजनामा समेट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

समितिले जग्गा उपलब्धताको अवस्था हेरी गैरवन तथा गैरसंरक्षित क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताएको छ। त्यस्ता जग्गा उपलब्ध नभएको अवस्थामा मात्र वन वा संरक्षित क्षेत्र प्रयोग गर्ने विषयमा सम्बन्धित कानुन संशोधन वा विशेष कानुनी व्यवस्था गरेर प्रक्रिया अघि बढाउनुपर्ने सुझाव दिइएको छ।

२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई पुनःस्थापना गर्न आवश्यक जग्गा पहिचान गरी प्रतिवेदन पेस गर्न भदौ २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा केन्द्रीय समिति गठन गरिएको थियो। समितिमा गृह, संघीय मामिला, पूर्वाधार विकास, भूमि व्यवस्थापन तथा अभिलेख, नापी, वन तथा भू–संरक्षण, खानी तथा भूगर्भ, जलस्रोत तथा सिँचाइलगायतका निकायका प्रतिनिधि सदस्य छन्।

समितिलाई बाढीबाट प्रभावित भई अन्यत्र बसोबासको विकल्प नभएका परिवारको संख्या यकिन गर्ने, पुनःस्थापनाका लागि आवश्यक जग्गा पहिचान गर्ने, पहिचान भएका जग्गाको स्थलगत अध्ययन तथा प्रारम्भिक विपद् जोखिम मूल्यांकन गर्ने र जग्गा प्रयोगका लागि आवश्यक कानुनी प्रक्रिया तथा उपाय सिफारिस गर्ने जिम्मेवारी दिइएको थियो। साथै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पुनःस्थापनाको लागि जग्गा पहिचान तथा खोजी गरी सिफारिस गर्ने र जिम्मेवारी समितिलाई दिइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको खुल्यो पहिचान

मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ भएको पुष्टि भएको हो।
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।